तस्वीर वरीपरी

– बिप्र

अन्जानमै काटिएछ
जिन्दगीका अँध्यारा पाटाहरु ।

श्रीमान दा भिन्चीको
मोनालिसाको
अद्भुत मुस्कानले भन्दा
तिम्रो तस्वीरको
उज्यालोपनले
सारा उपग्रहहरु – झिलिमिली छन् |

आफ्नै दैनिकीको रंगमंचमा
दृश्यहरुको आलापसंगै
तिमी त
एउटा दर्शकको अँगालोमा
यसरी बाँधीइसकिछौ
की अब –
तिम्रो बिछोड
मैले आँखा चिम्लनुको
अस्थायी – परिकल्पना मात्र हो |

अब अर्थहरुको एकाकार गर
अनि यो बुझ –
”अन्जानमै काटिएछ
जिन्दगीका अँध्यारा पाटाहरु”

अहो ! के सोचिरहेकी छौ अझैसम्म –
लाज ?
अथवा –
अनुकरण गरिरहेकीछौ –
श्रीमती दा भिन्चीको
अथवा –
नजानी नजानी
प्रशारण गरिरहेकीछौ
एक-दुइ खण्ड प्रकास –
तिम्रो तस्वीरको – ती बाहुहरुमा ?

मलाइ – तिमी अँगालोबाट
एक क्षणका निमित्त हटेको राम्रो लाग्छ

मेरो क्यामेराको लेन्समा
कैद गर्न नसकेको
तिम्रो तस्वीर
मेरा आँखाहरुमा झुण्ड्याएर
मैले यथार्थमा
आँखा चिम्म गर्नु पनि त छ ।

त्यसपछि
तिमी त्यहि
अँगालोमा बाँधिनु
र हेर्नू
मान्छेहरुहरुले –
लेखाजोखा गर्दै गरेको
तिमी र म बीचको सामिप्यता |

Leave a Reply

Your email address will not be published. Required fields are marked *