प्रेमदिवस, मैना सुनार र रातो धर्ती

– राम प्रसाद प्रसार्इं

भैँसी चढेर ठुला भएकाहरुले
भैँसीमा महिषासुरैमात्र देखिरहेसि
यसपालिको प्रेमदिवसमा
मैना सुनारलाई रातो कलम दिन मन लागेको छ मलाई
लोभ लालच बोकाएर
निम्तोमाथि निम्तो थोपर्ने काठ्माण्डौले
जवानी र जुझारूपना चुसेर
खोस्टा जिन्दगी गामबस्ती फिर्ता गरेसि
यसपालिको प्रेमदिवसमा
मैना सुनारलाई रातो पासपोर्ट दिन मन लागेको छ मलाई

हिलोमा फुलेको कमलमा
कमलाको सुन्दरता भजाउनुभन्दा
हिल र हिलाका अर्धघुलित मुर्च्छनाहरुमा
हिल्लारीका पदछापहरु

सल्लेरीका निःशर्त सुसेलीहरुसँग
हाम्रा पाखा पखेराका स्पन्दनहरुले
नागवेली र गन्तव्य पथहरुमा
प्रेमिल दिवस मनाइरहनेछन्
यस्तै त
जनयुद्ध फाँटमाथि विस्तारै विस्तारै
कुबेरमण्डी र धनयुद्धमा रक्ताम्मे
लतपत्तिएका कान्लाहरु जनयुद्ध दिवस मनाइरहेको देखेसि
यही समयहीन असहजताको विम्वानुभूतिमा
यसपालिको प्रेमदिवसमा
मैना सुनारलाई रातो धर्ती दिन मन लागेको छ मलाई

यिनै मखुण्डाहरुले
भोलि फागु मनाउँदै होली पनि खेल्नेछन्
शहादतका हरिया डालाहरु देखाउँदै
क्रान्ति र प्रतिक्रान्तिको ढोल पिट्दै
अरुहरुका मुखारी लगाउँदै
हरितक्रान्तिका चश्माहरु झुण्ड्याउँदै
हरियो चट्के झण्डा देखाउँदै
चिरशान्तिको कामनाका लागि रूद्राक्ष जप्दै र जपाउँदै
निर्लज्ज र नटवरलाल अनुहारहरुमा
गर्नेछन्
शान्ति, क्रान्ति र जनजीविकावाला प्लास्टिक सर्जरी
त्यसैले
यसपालिको प्रेमदिवसमा
मैना सुनारलाई रातो धर्ती दिन मन लागेको छ मलाई

Leave a Reply

Your email address will not be published. Required fields are marked *