सबै नेपाली भाइ हौं

–मुक्तिनाथ शर्मा

मानिन्छ देश नेपाल छ यो स्वर्ग समानको
यस्को अस्तित्व उच्चा छ सुरम्य प्रकृति छ जो
अग्ला हिमचुली देखि पहाड र मधेशको
भू–बनोट भएकाले बस्ती उच्च स्वदेशको ।।

चीसो हावा यहिं चल्छ गर्मीको स्वाद केही छ
जीव जन्तु घना जङ्गल् जमीन अनुसार छ
यसै कारणले गर्दा यसको सान उच्च छ
सन्सार मान्छ यो देश साच्चैं स्वर्ग समान छ  ।।

यो ऋषिमुनिको देश बुद्धको जन्मभूमि हो
लडाकु हरुको बस्ती यो शान्त कर्मक्षेत्र हो
चार जात र छत्तीस बर्णको फूलबारी यो
खै के बिग्रन गो ऐले भाडिने छाँट देखियो ।।

यहाँ बाहुन वा क्षेत्री बैस्य शूद्र् हुदै हुदै
नाना जात र जातीमा नेपालीहरु बाँडिदै
रहेको जो अवस्था छ त्यो धेरै दुःखदायी छ
गम्भीर रुपमा सोच्न पर्ने नेपालीलाई छ ।।

राइ थकाली वा लामा थारु यादव बाहुन
घर्ती दमाइं वा सार्की कामी सेर्पा र गुरुङ
मगर् तमाङ नेवार गिरीे दराइ जाती छौं
जति नै जात जाती छौं सबै नेपाली भाइ हौं ।।

तराइ भोट पाहाड जहाँ जहाँ रहौं सबै
साख्खै दाजु र भाइ हौ. दिदी र बहिनी सबै
अशिक्षा गरिवी रोग भोक निष्कृयता संग
हाम्रो लडाइ चल्नु छ पछौटे पनका संग ।।

परन्तु अहिले हामी नाना जात र जातीमा
बाडिने आँट गर्दै छौं झगडा राजनीतिमा
यस्तो हुन नहुने हो यो साँच्चै दुःखदायी छ
सबै मिलिजुली बाँचौं यहि नै सुखदायी छ ।।

जात नेपाली हौं हामी बर्ग नारी र पुरुष
यहि भाव समेटेर गरौं उन्नति पौरख
सन्सार भरमा मित्र हाम्रा हुन्छन् अवस्य नै
सान मान उचो हुन्छ प्रगति हुन्छ दिन्दिनै ।।

बानेश्वर, काठमाण्डौ

Leave a Reply

Your email address will not be published. Required fields are marked *