अविरल जन साहित्य यात्रा२५’ मा प्रखर प्रगतिवादी कवि डा.देवी नेपालका प्रतिनिधि कविता वाचन

रमेश पोखरेल, काठमाडौं
मितिः २०७३।१।१०।६

वैशाख १० गते शुक्रवार अपराह्न ठिक ३ बजे राष्ट्रिय नाचघर, जमलको सानो सभाकक्षमा सांस्कृतिक संस्थान र राष्ट्रिय जन सांस्कृतिक महासङ्घको आयोजना तथा जन साहित्यिक मञ्च, नेपालको व्यवस्थापनमा संयुक्त रूपमा अविरल जन साहित्य यात्रा२५’ सम्पन्न भयो । हरेक महिनाको दोस्रो शुक्रवार पारेर ठिक ३ बजे महासङ्घको सभाकक्षमा वरिष्ठदेखि हालसम्मका साहित्यकारका एकल रचना वाचन गर्ने विशेष कार्यक्रम निरन्तर रूपमा सम्पन्न गर्ने यो अभियानको आज पच्चिसौँ शृङ्खला सम्पन्न गर्न लागिएको जानकारी सहित जन साहित्यिक मञ्च, नेपालका महासचिव विनोद मञ्जनले कार्यक्रमको सञ्चालन गर्दै उक्त विशेष समारोहको अध्यक्षताका लागि जन साहित्यिक मञ्च, नेपालका अध्यक्ष राम विनयलाई आग्रह गर्नु भयो । प्रमुख अतिथिका रूपमा लेखक तथा नेकपा एमालेका वरिष्ठ नेता एवम् पूर्व प्रधान मन्त्री माधवकुमार नेपाल उपस्थित हुनु हुन्थ्यो भने विशेष अतिथिमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, एमाले केन्द्रीय सदस्य एवम् राष्ट्रिय जन सांस्कृतिक महासङ्घका अध्यक्ष खगेन्द्र राई र नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा.डा.जीवेन्द्र देव गिरी उपस्थित हुनु हुन्थ्यो । त्यसै गरी अतिथिहरूमा डा.विजय सुब्बा, डा.फणीन्द्र निरौला, डा.लेखप्रसाद निरौला, वरिष्ठ कविहरू वासुदेव अधिकारी, कणाद महर्षि, सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापा, डा.रामप्रसाद ज्ञवाली, डा.विन्दु शर्मा, प्रा.जगत् उपाध्याय प्रेक्षित्, समालोचक हेमनाथ पौडेल, राष्ट्रिय जन सांस्कृतिक महासङ्घका का.वा.महासचिव प्रेमनाथ अधिकारी, सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नागे, देवी नेपालका बुबा र आमा अनि उहाँकी जीवन सङ्गिनी टीका नेपाल, कवि अनिता लामा, बलिदान सिनेमाका निर्माता श्याम सापकोटा, सङ्गीतकार अशोक राई, वरिष्ठ पत्रकार श्याम रिमाल, प्रलेस सचिव एवम् पत्रकार प्रकाश सिलवाल उपस्थित हुनु हुन्थ्यो ।

प्रमुख अतिथि माधवकुमार नेपालले कवि देवी नेपाललाई माला लगाइ दिनु भयो र सम्मान पत्र अर्पण गर्नु भयो । विशिष्ट अतिथि कुलपति गङ्गाप्रसाद उप्रेतीले टीका लगाइ दिनु भयो भने जन साहित्यिक मञ्च, नेपालका अध्यक्ष राम विनयले वाचन सहयोगी कविहरू जन गायक रामकृष्ण दुवाल, यशोदा अधिकारी, सुदेश सत्याल र प्रेक्षा लम्साललाई टीका लगाइ दिएर सम्मान गर्नु भयो ।

image

समारोहका नायक डा.देवी नेपालको व्यक्तित्वमाथि प्रकाश पार्दै समालोचक डा.रामप्रसाद ज्ञवालीले नबुझेर केही मान्छेले छन्दको जमाना गयो भन्ने गरेका प्रति टिप्पणी गर्दै यो संसार, प्रकृति नै छन्दमय छ, । मान्छेको व्यक्तित्व भनेको निजी कमाइ हो । सकारात्मक सोचाइ राख्ने व्यक्तिको व्यक्तित्व नै उज्यालो हुन्छ । रूप, बोली, व्यवहार, सिर्जना, मिलनसारिता, हरेक क्षणको सदुपयोग, मौलिक व्यक्तित्वको स्थापना आदि कुराले व्यक्तित्व निर्माण गरि रहेका हुन्छन् । एउटा सर्जकलाई प्रचारित प्रशारित हुन सजिलो छ तर स्थापित हुन भने गारो छ । यी सबै कोणबाट मूल्याङ्कन गर्दा फिट लाग्छन् देवी नेपाल । उनीसँगको लामो यात्रामा सज्जन, सकारात्मक सोच राख्ने, व्यक्तित्व निर्माणमा सचेतताका साथ सक्रिय रहने र उस्तै परे एकै रातमा एउटा किताब लेख्ने अविश्रान्त व्यक्तित्व, छन्द प्रशिक्षण स्वदेशका २०० ठाउँमा पुगेर गरि सकेका र भारतको आसाम तथा मलेसियासम्म पुगेर छन्द प्रशिक्षण गरेका, चुनौती पूर्ण कामहरू गर्न रुचाउने व्यक्तित्वका रूपमा आफूले देवी नेपाललाई चिनेको हुँ । जीवन भनेको किराना पसल जस्तै हो सबैथोक भएर पनि अपूर्ण तर देवी नेपालको जीवन व्यवस्थित छ । उनका कविता सुन्नका लागि मान्छेहरू टिकट काटेर आउँछन् । उनको अर्काे विशेषता भनेको अर्काको कुरा काटेर समय नखर्चने, तोकिएको समयमा तोकिएको काम फत्ते गर्ने, कर्म महत्त्वपूर्ण कुरा भन्ने तथ्यलाई पुष्टयाँइँ गर्ने, दुर्जनलाई पनि सम्मान गर्ने आफ्नो बशमा राख्ने, सदैव शिरमा राष्ट्रवादी भावना बोकेर हिँड्ने यी स्रष्टामा कहिल्यै अहङ्कार नआओस् भन्दै शुभ कामना दिनु भयो र जन साहित्यिक मञ्च, नेपालले आफ्नो सङ्गठनका स्रष्टाको व्यक्तित्व उजागतर गर्ने यो विशिष्ट खाले कार्यक्रमलाई निरन्तरता दिएकोमा खुसी समेत व्यक्त गर्नु भयो ।

विशेष समारोहका आकर्षण डा.देवी नेपालले राष्ट्रिय जन सांस्कृतिक महासङ्घ र यसको सक्रिय घटक संस्था जन साहित्यिक मञ्च, नेपालले चलाइ रहेको यो गरिमामय अभियानको परिकल्पना महासङ्घका अध्यक्ष खगेन्द्र राईले गर्नु भएको हो र यसको थालनी नै सामाजिक रूपान्तरणको अभियानको समग्र नेतृत्व गरि रहनु भएका सबैका आदरणीय अग्रज डा.मोदनाथ प्रश्रितबाट गरिएको हो । यो अभियानको नामाकरणमा मेरो पनि संलग्नता रहेको थियो र आज रजत शृङ्खलामा प्रस्तुत हुने अवसर मलाई प्राप्त भयो र यो विशेष समारोहको आयोजना पनि भएको छ । मलाई सुनि दिन सिङ्गो मुलुक चलाइ सकेका आदरणीय व्यक्तित्व माधवकुमार नेपाल आइ दिनु भएको छ, आदरणीय गुरुहरू डा.मोदनाथ प्रश्रित, गङ्गाप्रसाद उप्रेती, प्रा.डा.जीवेन्द्र देव गिरी हुनु हुन्छ, जन्म दिने बुबाआमा हुनु हुन्छ, परिवारका सदस्य हुनु हुन्छ, साहित्यिक मित्रहरू हुनु हुन्छ । म सबै सबैमा हार्दिक आभार व्यक्त गर्दछु । मलाई मुलुकमा देखिएका समस्याको निराकरण राजनीतिले मात्र गर्छ भन्ने लाग्दैन, यसमा सांस्कृतिक समावेशीकरण हुनु पर्छ भन्ने लाग्छ, सलाद जस्तो देश हुनु पर्छ भन्ने लाग्छ र मुलुक विखण्डित रूपमा होइन सिङ्गो रूपमा रहनु पर्छ भन्ने लाग्छ । सायद यो सबैलाई लाग्ला । त्यसैले मैले स्वदेशमा देखेका र भोगेका अनि विदेशमा सुनेका, भोगेका तमाम खाले पीडालाई कवितामा अभिव्यक्त गर्ने प्रयत्न गरेको छु भन्ने पृष्ठभूमि सहित प्रकृति र देश’, स्वप्नदोष’, एक चिहान’, युवा’, अनुत्तरित प्रश्नहरू’, देश हार्दै छ आज’, गजल’, परिवर्तन’ र मित्रलाई सन्देश’ शीर्षकका शार्दूलविक्रीडित, मालिनी, पञ्चचामर, मन्दाक्रान्ता, अनुष्टुप, रूपाली छन्दका अत्यन्तै शक्तिशाली कविता गजल वाचन गर्नु भयो भने सहयोगी कविहरू जन गायक रामकृष्ण दुवालले गजल’, यशोदा अधिकारीले मन्दाक्रान्ता छन्दको ‘चेतना फुल्नु पर्छ’ शीर्षकको, सुदेश सत्यालले प्रश्न नयाँ नेपालको’ शीर्षकको शार्दूलविक्रीडित छन्दको, प्रेक्षा लम्सालले खै एकताको बल’ शीर्षकको शार्दूलविक्रीडित छन्दकै अत्यन्त शक्तिशाली र सम्मोहनकारी कविता वाचन गर्नु भयो ।

सामालेचक डा.विन्दु शर्माले वाचित कवितामाथि सङ्छिप्त टिप्पणी गर्नु हुँदै वाचित कविता सरल भएकाले थप व्याख्याको आवश्यकता नरहेको, सात ओटा कविता राजनीतिक परिदृश्यका वाचित भएका, अन्य कवितामा पनि सामाजिक विषय वस्तु, सांस्कृतिक पक्ष समेटिएको, अभिधात्मक शैलीको प्रयोग भएको, विम्बको सुन्दर प्रयोगले अभिव्यक्तिलाई साङ्केतिक पार्न सहयोग पुर्याएको, जनताका लागि साहित्य भन्ने मान्यता बोक्ने कवि भएकाले उनका कविता स्पष्ट रूपमा जन साहित्य भन्न सकिने खालका रहेका हुँदा कविको यो प्रखरता अझ चुलिँदै जाओस् भन्ने शुभ कामना दिनु भयो ।

विशिष्ट अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले आकृतिमा सुन्दर र ओजस्वी कविता सुन्न पाइएको, प्रगतिवादी खेमाका कविलाई स्थान दिएर स्रष्टाको क्षमता उजागर गर्ने काम अविरल जन साहित्य यात्रामा भइ रहेको, आजका प्रखर छन्दकविको यो सिर्जना यात्रा अझ शिखरमा पुगोस् भन्ने कामना गर्नु भयो ।
विशिष्ट अतिथि खगेन्द्र राईले काठमाडौँमै क्रियाशील स्रष्टाका सिर्जना वाचन गरी टिप्पणी गरिनु र मोफसलका स्रष्टालाई काठमाडौँमा बोलाएर कविता सुन्नु, उसको व्यक्तित्व चर्चा गर्नु र समग्र व्यक्तित्व उजागर गर्नु राम्रो कुरा हो, शीतको थोपा उठाउने कार्य त हो तर सबै स्रष्टाको क्षमता पहिचान गर्न र उजागर गर्न काठमाडौँ बाहिर नै यस्ता विशेष खाले कार्यक्रम गर्न सके ज्यादै उपयुक्त हुने धारणा सहित प्रखर कवि देवी नेपालका असाध्यै मन छुने कविता सुन्न पाएकाले सुखद अनुभूति भएको बताउनु भयो ।
विशिष्ट अतिथि डा.मोदनाथ प्रश्रितले प्रतिभाशाली, ओजस्वी, देशभक्त कविका कविता सुन्न पाइएको, कविले युगले मागेको कुरा दिनु नै प्रगतिशीलता हो भन्ने यथार्थलाई राम्ररी आत्मसात गर्न सकेका, राजनीति अल्मलिएको वेला सुस्पष्ट विचारका साथ साहित्य यसरी सशक्तताका साथ आउनु अत्यन्त महत्त्वपूर्ण कुरा हो, त्यसमा पनि वर्तमान गन्तव्यलाई सुपष्ट दिशा दिने कविता आज यहाँ वाचित भएका छन् । भाषामाथि कविको ज्यादै बलियो पकड छ, शैली, प्रस्तुति र छन्दको बेजोड सन्तुलन छ त्यसैले कविलाई हार्दिक बधाईका साथ उत्तरोत्तर प्रगतिको कामना गर्दछु । आजको यो विशेष समारोहमा प्रमुख अतिथिको कार्यक्रमभरिको उपस्थिति स्रष्टाका लागि र सिर्जनाका लागि प्रेरणादायी छ भन्नु भयो ।

प्रमुख अतिथि माधवकुमार नेपालले साहित्य समाजको ऐना हो, प्रतिविम्ब हो । साहित्यले सबै नेपालीको मन र मुटु समेट्नु पर्छ, यो अहिलेको आवश्यकता हो किनभने यतिखेर नेपाली समाजमा दूरत्वको र जातीयताको दुर्भावना हुर्किएको छ । यस्तो कुप्रवृत्तिको अन्त साहित्यले मात्र गर्न सक्छ । अझ भनौँ साहित्यले समाजलाई गाँस्न फेबिकोलको काम गर्छ । नेपालीको स्वाभिमान, हाम्रो भौगोलिक अखण्डता र नेपालीबिचको सद्भाव कसरी कायम गर्ने भन्ने चिन्ताभावका साथ साहित्य सिर्जना गरिनु पर्दछ । सबै भाषा र संस्कृतिलाई समेटेर नेपाली साहित्यको सिर्जना गरिनु पर्दछ । यतिखेर विखण्डनको डढेलो सल्काउने दुश्प्रयास भइ रहेको छ र त्यसको समनका लागि साहित्य लेखिनु पर्दछ भन्ने मलाई लागेको थियो । आज देवी नेपालका कविता सुनि सकेपछि खाना खान बस्दा खाना, सजावट र त्यसको स्वाद आकर्षक हुनु जति आवश्यक छ ठिक त्यस्तै सुस्वादु कविता सुन्न पाइयो, अझ मेरै चाहना बमोजिमका कविता सुन्न पाइयो साथै समाज रूपान्तरणका लागि भाषा र साहित्यको ठुलो भूमिका हुन्छ भन्ने मेरो मान्यता अत्यन्त मिठास पूर्ण रूपमा कवितामा उनेर कविले अभिव्यक्त गरेको सुन्दा ज्यादै खुसी अनुभूत भएको छ भन्नु हुँदै कविको कलम अझ सशक्त बन्दै जाओस् भन्ने शुभ कामना समेत दिनु भयो ।

वैचारिक सङ्गठन, साहित्यिक अभियान र अध्यापन एवम् प्रशासकको भूमिका आदि विविध क्षेत्रमा सक्रिय रूपमा समर्पित हुँदै प्रगतिवादी साहित्यका फाँटमा लेखन तथा प्रशिक्षणका माध्यमबाट आफूलाई स्वदेश तथा विदेशमा सशक्त स्रष्टाका रूपमा स्थापित गर्न सफल भइ रहेका अहिलेका पुस्ताका जाज्वल्यमान कवि डा.देवी नेपालका कविता सुन्न उपस्थित भइ दिनु भएका सबै साहित्यकारहरूलाई सभाध्यक्ष राम विनयले हार्दिक स्वागत गर्नु भएको थियो ।

जन साहित्यिक मञ्च नेपालका उपाध्यक्ष रमेश पोखरेलले सरल एवम् सबैसँग घुलमिल हुने व्यक्तित्व, नेतृत्वदायी भूमिका निर्वाह गर्ने कौशल, आफ्ना कवितामा सरलताका माध्यमबाट गम्भीर भाव सम्प्रेषण गर्ने क्षमता, सामाजिक रूपान्तरण अभियानका सशक्त अभियन्ताको पहिचान कायम राख्न सफल, छोटो समयमै प्रगतिको शिखरमा पुगेका व्यक्तित्व, शास्त्रीय छन्दलाई बिरालाले मुसो खेलाए झैँ खेलाउन सक्ने विशिष्ट क्षमताका धनी डा.देवी नेपाललाई हामीले यो शृङ्खलामा प्रस्तुत गर्यौँ । हाम्रो निमन्त्रणा, स्रष्टा स्वयम्को निमन्त्रणा स्विकारेर आइ दिनु हुने प्रमुख अतिथिज्यिू लगायत सबै सबै आदरणीय व्यक्तित्वलाई हार्दिक आभार, हामीसँग सहकार्य नै गरी सभाकक्ष उपलब्ध गराइ दिने सांस्कृतिक संस्थान र महाप्रबन्धक राजेश थापाज्यू तथा अन्य सहयोग गर्ने सबै सबै मित्रलाई हार्दिक धन्यवाद एवम् आभार व्यक्त गर्दै जेठको २६ औँ शृङ्खलामा नेपाल गन्जमा रहेर सिर्जनारत स्रष्टा हरि तिमिल्सिनालाई प्रस्तुत गरिने जानकारी सहित कार्यक्रमको समापन गर्नु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *