‘ मूर्च्छित स्वरहरू’ को विमोचन सम्पन्न

काठमाडौं, २०७१ साल चैत्र २८

घिमिरेबन्धु राष्ट्रिय प्रतिष्ठानद्वारा आयोजिक विशेष समारोहमा रञ्जन घिमिरे ‘कल्पित’द्वारा लिखित कवितासङ्ग्रह “मूर्च्छित स्वरहरू” राष्ट्रकवि माधव घिमिरे तथा नेपाल प्रज्ञा-प्रतिष्ठानका उपकुलपति डा. विष्णुविभु घिमिरेद्वारा संयुक्त रुपमा विमोचन सम्पन्न भयो ।

image

घिमिरेबन्धु राष्ट्रिय प्रतिष्ठानको चौथो साधारण सभा समेत सम्पन्न गरिएको सो समारोहमा राष्ट्रकवि घिमिरेले घिमिरे प्रतिष्ठानले राष्ट्र निर्माणमा आफ्नो भूमिकालाई अझै प्रभावकारी बनाउनुपर्ने कुरामा जोड दिनुभयो । नयाँ प्रतिभाबाट कृति प्रकाशन हुनु घिमिरेहरुका लागि गौरव विषय भएको बताउनुभयो ।

image

यसैगरी नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. विष्णुविभु घिमिरेले घिमिरे प्रतिष्ठानले नव स्रष्टाहरुलाई स्थान दिएकोमा कार्यक्रमको सराहाना गर्दै आगामी दिनमा प्रतिष्ठानले अझै राम्रो काम गरोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो । उहाँले कवितासंग्रहमा समाविष्ट कविताहरु सरल र विचार प्रधान भएको बताउनु भयो ।

यसैगरी कवितासंग्रहमाथि समीक्षात्मक मन्तव्य व्यक्त गर्दै कार्यक्रमका अतिथि एवं नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ सदस्य नर्मदेश्वरी सत्यालले संग्रहमा संगृहीत कविताहरुले समसामयिक उच्छृंखलता र समग्र समाजको कार्यशैलीमा देखिएको फितलोपनप्रति व्यङ्ग्य गरेको बताउँदै समाजमा व्याप्त विकृति र विसंगतिले समाजमा पारेको प्रभावलाई कविताहरुमा उदांगो रुपमा प्रहार गरिएको छ भन्नु भयो ।

कविताहरुमा समसामयिकताको यथार्थभाव पाइन्छ भने सबल नागरिक र सुदृढ समाजको परिकल्पना गरिएको पाइन्छ भन्दै सत्यालले स्रष्टा रञ्जन घिमिरे ‘कल्पित’लाई बधाइ तथा शुभकामना व्यक्त गर्नुभयो ।

समारोहमा पूर्व गृह तथा परराष्ट्रमन्त्री माधव घिमिरे, साहित्यकार एस.पी. आशा, पूर्व अमेरिकी राजदूत शंकर शर्मा, साहित्यकार रमण घिमिरे लगायत विशिष्ट व्यक्तित्वको उपस्थिति रहेको थियो । समारोह घिमिरेबन्धु राष्ट्रिय प्रतिष्ठानका अध्यक्ष माधव घिमिरेको अध्यक्षता तथा महासचिव बद्रीनाथ घिमिरेको सञ्चालनमा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *