‘समाजसेवी शिवप्रसाद पोखरेल’ स्मृतिग्रन्थ लोकार्पित

रमेश पोखरेल, काठमाडौं

वि.सं.१९९९ साल पुस १५ गते पूर्वी पहाडको माम्खामा जन्मिएका शिवप्राद पोखरेलको क्यान्सर रोगका कारण २०५५ भदौ ११ गते झापाको भद्रपुर नगरपालिका वडा नं.७ चन्द्रगढीमा देहावसान भएको हो । शिवप्रसाद पोखरेल स्मृति प्रतिष्ठानद्वारा शिवप्रसाद पोखरेलको देहावसान भएको २६ वर्षपछि प्रकाशित गरेको ‘समाजसेवी शिवप्रसाद पोखरेल स्मृति ग्रन्थ’को असोज २० गते सोमबार नवमीका दिन बानेश्वर स्थित आनन्द बैङ्क्वेटसमा आयोजित विशेष समारोहमा राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले लोकार्पण गर्नुभयो ।
पूर्व सांसद एवम् शिवप्रसाद पोखरेलका कान्छा भाइ पुष्पराज पोखरेलको सभापतित्वमा सम्पन्न उक्त विशेष समारोका प्रमुख अतिथि राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष गणेशप्रसाद तिमिल्सिना हुनुहुन्थ्यो भने विशिष्ट अतिथिमा शिवप्रसाद पोखरेलका सहपाठी वामपन्थी आन्दोलनका अग्ुवा एवम् पूर्व मन्त्री राधाकृष्ण मैनाली उपस्थित हुनुहुन्थ्यो । अतिथिहरूमा डा.रामप्रसाद दाहाल, संविधानविद् काशीराज दाहाल, शिवप्रसाद पोखरेल स्मृति प्रतिष्ठानकी संरक्षक महेन्द्रकुमारी पोखरेल, दायित्व वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्त, साहित्यकारत्रय मुक्तिनाथ न्यौपाने, कलाधर काफ्ले र गोपाल पराजुली, पुस्तकका सम्पादक सविन पोखरेल, आफन्त तथा मान्यजन उपस्थित हुनुहुन्थ्यो ।
डा.प्रेणित पोखरेलले सञ्चालन गरेको उक्त विशेष समारोहमा उपस्थित सम्पूर्णलाई पुस्तकका सम्पादक सविन पोखरेलले स्वागत गर्नुभएको थियो र पुस्तक प्रकाशनको उद्दृेश्यमाथि प्रकाश पार्नुभएको थियो । महेन्द्रकुमारी पोखरेल, काशीराज दाहाल, रामप्रसाद पन्तले शुभकामना व्यक्त गर्नुहुँदै स्मृतिग्रन्थको प्रकाशनले अग्रजको सम्मान गरेको, श्रद्धा गर्ने सत्कर्मको थालनी गरेको, गुणग्राहिता प्रदर्शन गरेको हुँदा र सम्झनामा रहेका पात्रलाई पुस्तकाकार रूप दिने प्रयत्न आफैँमा अनुकरणीय एवम् सराहनीय रहेको मात्र छैन इतिहासको अभिलिखित भएको छ र अरूलाई पनि हौसला प्रदान गर्ने कार्य भएको हुँदा अनुकरणीय कार्य भएको धारणा राख्नुभयो ।
डा.रामप्रसाद दाहालले चार वर्ष लगाएर सविन पोखरेलले तयार पारेको यो स्मृतिग्रन्थमा परिवारको इतिहास अभिव्यक्त हुने परिवारका, अग्रजका तस्बिर राखिएको छ; मेरो आफ्नो भूमिका रहेको छ र सम्पादकको आफ्नो दृष्टिकोणसहितको मन्तव्य समावेश गरिएको छ । प्रकाशक प्रतिष्ठानको तर्फबाट महेन्द्रकुमारी पोखरेलको प्रकाशकीय रहेको छ भने सम्पादकले विभिन्न व्यक्तित्वसँग गरेका कुराकानीमा आधारित भएर लामो परिचय समावेश गरेका छन् र त्यसका अलावा शिवप्रसाद पोखरेलसँग सङ्गत गरेका, कुनै न कुनै प्रभाव ग्रहण गरेका विभिन्न चालिस जना व्यक्तिहरूका संस्मरण, गीत, कविता यसमा समावेश गरिएका छन् र यो मूलतः संस्मरण ग्रन्थ हो भन्ने पुस्तकको सङ्क्षिप्त परिचयसहित यसको लोकार्पणको आजको विशेष समारोहका लागि प्रमुख अतिथिका रूपमा उपस्थित भइदिन सम्माननीय अध्यक्षज्यूसँग अनुरोध गर्यौँ, उहाँले सहजै स्वीकार गरिदिनुभयो, विशिष्ट अतिथिका रूपमा आइदिन शिवप्रसाद पोखरेलका सहपाठी वामपन्थी आन्दोलनका अगुवा एवम् पूर्व मन्त्री राधाकृष्ण मैनालीज्यूलाई आग्रह गर्यौँ, उहाँ पनि सहजै स्वीकार गरी आइदिनुभयो । सबै अतिथिहरू र यहाँहरू आजको दसैँको महत्त्वको दिनमा पनि समय निकालेर आइदिनुभयो सबै सबैमा हार्दिक आाभार व्यक्त गर्दछु भन्नुभयो ।
विशिष्ट अतिथि पूर्व मन्त्री राधाकृष्ण मैनालीले हामी सबै सबैमा यो दसैँले सद्भाव र सत्प्रेरणा प्रदान गरोस् । स्कुले जीवनमा झापामा शिवप्रसाद पोखरेलसँग रहेको मेरो मित्रताका कारण आजको यो विशेष समारोहमा मलाई आउँने उत्प्रेरणा प्राप्त भयो । स्कुले जीवनपछि हामी छुट्यौँ तापनि शिवप्रसाद पोखरेलको परिवार इमानदार, नैतिकवान् र पेसा अँगालेको परिवार हो; यो परिवारले गलत धन्धा गरेन । असल, मिलनसार, सत्कर्ममा विश्वास गर्ने मेरो मित्र शिवको त्यो संस्कार परिवारमा सरेछ र यो परिवारले लेखनकर्मका माध्यमबाट पितृको सम्मान गर्ने असल परम्पराको थालनी मात्र गर्नुभएन, पवित्र र वैज्ञानिक कार्यको थालनी गर्नुभएको छ, इतिहास अभिलिखित गर्नुभएको छ, हिजोको इमानको खोजी गर्नसकियो भने मात्र भोलिलाई चिन्नसकिन्छ भन्ने दृष्टान्त पेस गर्नुभएको छ । म यो सत्कर्मका लागि हार्दिक धन्यवाद दिन्छु भन्नुभयो ।
प्रमुख अतथि राष्ट्रिय सभाका सममाननीय अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले यो स्मृतिग्रन्थ तपाईँ परिवारका सदस्यहरूले बुबाप्रति गर्नुभएको सम्मानको उपज हो । बुबाको सत्प्रेरणाले सिङ्गो परिवारमा सकारात्मक प्रभाव पारेको र सत्कर्ममा हिँडाएको दृष्टान्त पनि यस ग्रन्थले पेस गरेको छ । अग्रजको सम्मान गर्ने र इतिहासको सुरक्षा गर्ने तपाईँहरूको यो सराहनीय प्रयत्न हो, मिहिनेतपूर्वक गरिएको यो सत्कर्मले अरूलाई पनि हौसला प्रदान गर्दछ । सङ्घीय लोकतन्त्रको स्थायीत्वका लागि र मुलुकको समृद्धिका लागि अनि प्राकतिकरूपमै सुन्दर यो देशको समग्र समृद्धिका लागि यस्तै यस्तै रचनात्मक कामका माध्यमबाट हामी सबै लाग्नसकौँ । सन्ततिले आफ्ना पितृको सम्झना र सम्मानका लागि यस्तै रचनात्मक काम गर्ने प्रेरणा सबैलाई प्राप्त होस् किनभने मरेपछि दिइँने तर्पणले कही अर्थ राख्दैन भन्नुभयो ।
विशिष्ट समारोहमा उपस्थित सबैलाई ससिम पोखरेलले धन्यवाद अर्पण गरेका थिए भने सभाध्यक्ष पुष्पराज पोखरेलले आदरणीय साहिँलो दाजु शिवप्रसाद पोखरेल परिवारकै पहिलो कलेज पढ्ने व्यक्तित्व भएको र उहाँले बाँचेको इज्जत, सम्मान र प्रतिष्ठायुक्त जीवन परिवारकै लागि अनुकरणीय रहेकोले त्यो अनुकरणीय जीवनका सकारात्मक पाटाहरूलाई अभिलेखीकरण गर्नुपर्दछ भनेर भतिजहरूको गरेको स्मृतिग्रन्थको प्रकाशन अनुकरणीय रहेको धारणा राख्नुहुँदै दसैँका दिनमा पनि उपस्थित भइदिएर हौसला प्रदान गरिदिनुहुने सम्माननीय अध्यक्षज्यू, पूर्व मन्त्री राधाकृष्ण मैनालीज्यू तथा सम्पूर्णमा हार्दिक आभार व्यक्त गर्दै समारोहको समापन गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *