साहित्य सन्ध्यामा ‘सामाजिक विभेदको अन्त्यमा प्रगतिशील साहित्यको भूमिका’ विषयक परिचर्चा र ‘मुक्ति र चाहना’ नाटक लोकार्पित

रमेश पोखरेल, साहित्य सन्ध्या, काठमाडौँ
मिति ः २०७६।६।४

साहित्य सन्ध्याको नियमित मासिक ४०० औँ शृङ्खला असोज ४ गते शनिबार अपराह्न १ बजे आर.आर.क्याम्पसको पत्रकारिता सभाकक्षमा सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षतामा ‘सामाजिक विभेदको अन्त्यका लागि प्रगतिशील साहित्यको भूमिका’ विषयक अन्तरक्रिया र ‘मुक्ति र चाहना’ नाटकको लोकार्पण तथा परिचर्चा एवम् कविगोष्ठीको आयोजना गरी सम्पन्न भयो ।
प्रगतिशील लेखक सङ्घ नेपालका अध्यक्ष प्रा.डा.जीवेन्द्र देव गिरीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त विशेष समारोहमा साहित्यकार एवम् सामाजिक रूपान्तरण अभियानका अभियन्ता देविका तिमिल्सिना, आर.आर.क्याम्पसका सहायक क्याम्पस प्रमुख डा.हरिप्रसाद सिलवाल, वरिष्ठ कवि विधान आचार्य, जनसांस्कृतिक महासङ्घका महासचिव प्रेमनाथ अधिकारी, साहित्यकार डम्बर पहाडी, मानीय खेम नेपाली, माननीय सानु सिवा पहाडी, साहित्यकार कुसुम ज्ञवाली, प्राज्ञ अरुणा हिम्बाङ, वरिष्ठ कवि उमेश उपाध्याय, प्राज्ञ नन्दु उप्रेती, युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानका उपाध्यक्ष डा.फणीन्द्रराज निरौला, सोही प्रतिष्ठानका महासचिव डा.लेखप्रसाद निरौला, प्रा.डा.खेमनाथ दाहाल, साहित्य सन्ध्याका सल्लाहकार वरिष्ठ कवि वासुदेव अधिकारी अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो ।
सन्ध्याको उपाध्यक्ष रमेश पोखरेलले सञ्चालन गर्नुभएको उक्त विशेष समारोहमा प्रमुख अतिथि प्रा.डा.जीवेन्द्र देव गिरी, साहित्य सन्ध्याका अध्यक्ष राम विनय, अतिथिहरू डा.हरिप्रसाद सिलवाल, वरिष्ठ कवि विधान आचार्य र नाटककार डम्बर पहाडीले संयुक्तरूपमा गीतकार, सङ्गीतकार, गायक डम्बर पहाडीद्वारा लिखित नाटक ‘मुक्ति र चाहना’को लोकार्पण गर्नुभएको थियो ।
लोकार्पित नाटकका बारेमा टिप्पणी गर्नुहुँदै डा.हरिप्रसाद सिलवालले जनकवि, जनकलाकार, एलाकका प्रवर्तक, जनगीतियात्राका अभियन्ता डम्बर पहाडी सिङ्गो जीवनभर नेपाली समाजको रूपान्तरण अभियानमा समर्पित अथकित स्रष्टा हुन् । उनको सङ्घर्षशील, जुझारु व्यक्तित्व विभिन्न सङ्घसंस्थामा समेत आवद्ध रहेर क्रियाशील रहेको छ । २०४८ सालमा ‘नझुकेको स्वाभिमान’ नाटक लेखेर नाटककारको परिचय दिइसकेका उनले नाटकमार्फत नेपाली समाजका नराम्रा पक्षको चित्रण गर्ने र आलोचनात्मक चेतना सम्प्रेषण गर्नुका साथै रूपान्तरणको स्पष्ट आग्रह गरेका छन् । उनका कवितामा पनि रूपान्तरणप्रेमी प्रगतिवादी चेतना प्रतिविम्बित भएको पाइन्छ । एघारओटा दृश्यमा संयोजन गरिएको यो नाटकलाई दोभान साहित्यिक पत्रिकाले प्रकाशन गरेको छ । केही परम्परित नाट्यकला र केही नवीनतम् शैलीको प्रयोग गरिएको यो नाटक ठिक्कको आयाममा रहेको र प्रखर वैचारिक सन्देश सम्प्रेषण गर्न सफल रहेको छ । हाम्रो समाजलाई रुढि, विभेद, विचलन आदि नकारात्मक कुराबाट मुक्त गरी सामाजिक रूपान्तरण गर्नुपर्ने पक्षलाई नाटकमा नाटकीकरण गरिएको छ । समाजमा छुवाछुत घिनलाग्दो छ, विभेद डरलाग्दो छ र त्यसैमा रूपान्तरण टडकारो आवश्यकता बनेर रहेको छ । अन्तरजातीय विवाहलाई नाटकले प्रोत्साहन गरेको छ, समाजका फरक चिन्तन बोक्ने मान्छेको चित्रण गरिएको छ, नाटककार फरक गर्भाङ्ग प्रयोग गरेर आफैँ उपस्थित भएका छन् । संवादात्मकरूपमा गीत र कविताहरू आएका छन् । नाटकमा कामअनुसारका पात्र छन् र ती सबल छन्, अभिनेयात्मकता पनि सबल छ । मानिसको जात मानिस मात्र हो भन्ने यथार्थलाई औँल्याउँदै ग्रामीण सामाजिक परिवेश चित्रण गरिएको छ, भूकम्पीय जोखिमको चित्रण गर्दै प्राकृतिक प्रकोपले सबैलाई समान त्रास उत्पन्न गराइदिएको छ तर समाजले भने जातको छेकबार लगाइदिएको छ ! त्यसैगरी मानवीय सहयोगमा पनि जातपातको आवश्यकता पर्दैन तर समाजमा विभेद चाहिँ जबरजस्ती लादिएको छ ! यिनै जीवन्त दृष्टान्तका माध्यमबाट नाटकमा मानवीय समन्वयको सन्देश दिइएको छ, भेदभावको सन्देश सम्प्रेषण गरिएको छ । लामो कालखण्डदेखि समाजमा रहेको छुवाछुत प्रथामुक्त समाज निर्माण गर्नुपर्छ भन्ने प्रखर सन्देश नाटकले सम्प्रेषण गरेको छ । केही भाषिक त्रुटि छन् । संवाद कम गरेर अभिनेयात्मकता बढाउन सकिएको भए नाटक अझ उत्कृष्ट हुने थियो भन्ने धारणा राख्नुभयो ।
प्रमुख अतिथि प्रा.डा.जीवेन्द्र देव गिरीले सामाजिक रूपान्तरणको अभियानमा इमान र निष्ठाका साथ समर्पित डम्बर पहाडीको नाटकको लोकार्पण भएको छ, उहाँलाई हार्दिक बधाई छ । साहित्य सन्ध्याले विगतको निरङ्कुश कालखण्डदेखि मूल प्रवाहमा रहेर सशक्तढङ्गले सामाजिक रूपान्तरणको दुन्दुभि बजाइरहेको छ, अब हाम्रो सिर्जनाले निर्जन बनेका गाउँ ऊर्वर पार्ने र आत्मनिर्भर पार्ने चेतना सम्प्रेषण गर्नुपर्ने आवश्यकता रहेको छ, समाज भाँड्ने खालका गतिविधिका विरुद्धमा पनि आबाज उठाउनुपर्ने आवश्यकता रहेको छ । त्यसतर्फ सबैको ध्यान जाओस् भन्ने आग्रह गर्नुभयो ।
लोकार्पित नाटकका नाटककार डम्बर पहाडीले नेपाली समाजमा विद्यमान रहेको समाजिक विभेदको अन्त्य भइसकेको छैन तर जनताको तहमा सचेतना भने अत्यन्त आवश्यक रहेको छ भन्ने ठानेर नाटक लेखेको हुँ । पढेर यथोचित प्रतिक्रिया पाउने आग्रह गर्नुहुँदै केही एलाक वाचन गर्नुभयो ।
‘सामाजिक विभेदको अन्त्यका लागि प्रगतिशील साहित्यको भूमिका’ विषयमा अन्तरक्रियाको थालनी गर्दै सामाजिक रूपान्तरण अभियानका अभियन्ता साहित्यकार देविका तिमिल्सिनाले समाजका सबै नागरिकले समान हक र अधिकार नपाउनु नै विभेद हो । समाजले कोही कसैलाई अपमानित गर्नु नै पीडितले विभेद व्यहोर्नु हो । समाजमा रहेको शोषण, हैकमवाद आदिका कारणले विभेद सिर्जना भएको छ । हाम्रो देशको जुनसुकै शासनव्यवस्थामा पनि छुवाछुत, विभेद र शोषण हटेको छैन, जस्ताको तस्तै छ । त्यसका लागि स्रष्टाले सिर्जनाका माध्यमबाट सचेतना अभियान सञ्चालन गर्नु आवश्यक रहेको छ । हाम्रा सिर्जनाले चेतना सम्प्रेषणमा, आधारभूत आवश्यकता परिपूर्ति गर्ने पक्षमा, बराबरी हकअधिकार पाउनुपर्ने पक्षमा वहालत गर्नु अत्यन्त आवश्यक रहेको छ । अग्रज स्रष्टाहरूका साहित्यसिर्जनाले सामाजिक रूपान्तरणको अभियानमा महत्त्वपूर्ण योगदान गरेका छन् । परम्परागत रुढि एवम् कुरीतिको विरोध गर्दै रूपान्तरणको आग्रह गर्नु प्रगतिवादिता हो र यस पक्षमा विविध विधाका माध्यमबाट साहित्यकार बोलिरहेकै छन् । छाउपडी जस्ता अन्धविश्वासको पनि विरोध गरिरहेकै छन् र समाजमा चेतना फैलाउने काम गरेका छन् । साहित्यकारका जागरणका अथक प्रयास उल्लेखनीय छन् । स्रष्टाका सिर्जनाले राजनीतिलाई पनि घच्घच्याउने महत्त्वपूर्ण कार्य गरेका छन्, अझै गरिरहनु आवश्यक छ भन्नेसमेतको विशद चर्चा गर्नुभयो ।
गोष्ठीमा कणाद महर्षि, मुकुन्द न्यौपाने, बैरागी जेठा, कात्यायन, ललिता दोषी, जयन्ती स्पन्दन, तारा गाउँले, रामबहादुर पहाडी, कुसुम ज्ञवाली, नारायण परिश्रमी, भलादमी भोला, रामकुमार पण्डित क्षेत्री, मिसन अधिकारी, नन्दु उप्रेती, उमेश उपाध्याय, गोविन्दप्रसाद आचार्य, अनिता लामा, उर्मिला पन्त पाण्डेय, डा.खेम दाहाल, वासुदेव अधिकारी, डा.जनपाली, माननीय खेम नेपाली, कृतिका आचार्य, गीता सापकोटा, पदम मुनारी बाहिङ, गायत्री चापागाईँ, गोपाल मैनाली बेनीबहादुर थापा, दुर्गा रिमाल अधिकारी, सन्तोष सिंखडा, शिवप्रसाद आचार्य, देविका तिमिल्सिना, सीताराम नेपाल, धनबहादुर मगर र राम विनयले आआफ्ना कविता, गीत, गजल, हाइकु वाचन गर्नुभएको थियो ।
वाचित सिर्जनामामाथि टिप्पणी गर्नुहुँदै वरिष्ठ कवि विधान आचार्यले विचार र भावनालाई समन्वय गरेर गरिएको सिर्जना उत्कृष्ट र सुन्दर हुन्छ । आज वाचित अधिकांश कविताले रूपान्तरणको आग्रह गरेका छन् । कविताले विचार बोकेन र स्वान्तसुखाय मात्र बोल्यो भने त्यो कविता हुनसक्त्रैन । कवितामा नवसिर्जनाका कुरा आएका, विभेदका विरुद्धका चुनौती कवितामा मुखरित भएका, नवनिर्माणका कुरा आएका, आशावादितका कुरा आएका छन् । केही कवितामा अलि निराशा पनि अभिव्यक्त भएको पाइन्छ त्यसमा स्रष्टाको ध्यान जानु आवश्यक छ । देवीले वलि माग्दिनन् मान्छेको ढोँग मात्र हो भन्ने यथार्थ पनि कवितामा प्रतिविम्बित भएको छ । सुनामीले नवनिर्माण गर्ने कुरा पनि कवितामा आएका छन् । समग्रमा आजको गोष्ठी उपलब्धिमूलक रहेको छ भन्ने धारणा व्यक्त गर्नुभयो ।
धरणीप्रसाद गौतमले लोकार्पित नाटकका स्रष्टा डम्बर पहाडीलाई बधाई दिनुभयो भने साहित्य सन्ध्याका पूर्व सचिव कुसुम ज्ञवालीले आपूm क्यानडामा रहेको र त्यहाँ अर्थात् विदेशमा रहेका आधा करोड नेपालीका सन्ततिले नेपाली भाषा, संस्कृति बिर्सिने अवस्था रहेकाले हामी स्रष्टा सबैले आफ्ना रचना अडियोभिजुअल गरेर प्रविधिका माध्यमबाट संसारभर पुर्याउनुपर्ने दायित्व हामीमा रहेको हुँदा त्यसतर्फ ध्यान दिन आग्रह गर्नुभयो ।
सभाध्यक्ष राम विनयले आजको यो विशेष समारोह ४०० औँ नियमित शृङ्खला हो । आज एउटा नाटक लोकार्पित भयो भने ‘सामाजिक विभेदको अन्त्यका लागि प्रगतिशील साहित्यको भूमिका’ विषयमा अन्तरक्रिया सम्पन्न भयो । ३४ जना स्रष्टाले आआफना रचना वाचन गर्नुभयो । बहस चलाइदिने देविका तिमिल्सिना र नाटकका बारेमा समीक्षा गरिदिने डा.हरिप्रसाद सिलवाल धन्यवादका पात्र हुनुहुन्छ । निमन्त्रणा स्वीकार गरी आइदिने सबैप्रति हामी आभारी छौँ । फेरि अर्का शृङ्खलामा कुनै विशेष विषयमा बहस गर्नेगरी उपस्थित हुने छौँ भन्नुहुँदै गोष्ठीको समापन गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *