साहित्य सन्ध्या पुरस्कार तथा सम्मान उमानाथ घिमिरे सागरलाई

रमेश पोखरेल, उपाध्यक्ष
साहित्य सन्ध्या, काठमाडौँ
मितिः २०७०।५।१

साहित्य सन्ध्याको  ३३० औँ कार्यक्रम एवम् ३० औँ साहित्य सन्ध्या पुरस्कार तथा सम्मान आज विशेष समारोहको आयोजना गरी नेपाल सांस्कृतिक सङ्घको सभाकक्ष डिल्लीबजारमा नेकपा एमालेका प्रभावशाली नेता के.पी.शर्मा ओलीले हाल मोरङको विराटनगरमा रहेर प्रगतिवादी साहित्यको साधना गरि रहनु भएका ६८ बर्से स्रष्टा उमानाथ घिमिरे ‘सागर’लाई प्रदान गर्नु भयो । साहित्य सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न भएको उक्त विशेष गोष्ठीको सञ्चालन सन्ध्याका उपाध्यक्ष रमेश पोखरेलले र स्वागत कोषाध्यक्ष गोपालकुमार मैनालीले गर्नु भएको थियो ।

Sandhya-01052070-1

नेकपा एमाले स्थायी समिति सदस्य तथा प्रचार विभाग प्रमुख प्रदीप ज्ञवाली विशिष्ट अतिथि रहनु भएको उक्त विशेष समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकूलपति गङ्गाप्रसाद उप्रेती विशेष अतिथि हुनु हुन्थ्यो भने अतिथिहरूमा वरिष्ठ एवम् वयोवृद्ध पत्रकार भैरव रिसाल, पुष्पलालका समकक्षी वयोवृद्ध हर्ष स्याङ्बो, प्राज्ञ बूँद राना, राष्ट्रिय जन सांस्कृतिक महासङ्घका उपाध्यक्ष प्रा.डा.जीवेन्द्र देव गिरी, वरिष्ठ प्रगतिवादी साहित्यकार आनन्ददेव भट्ट, खिलध्वज थापा, उमानाथ घिमिरे ‘सागर’, साझा प्रकाशनका सञ्चालक अनिल पौडेल, प्रा.डा.भीम खतिवडा, स्रष्टा समाजका अध्यक्ष पवन आलोक, साहित्यकार नारायण ढकाल, मोहन दुवाल, डा.रामप्रसाद ज्ञवाली, हेमराज पहारी स्मृति प्रतिष्ठान पोखराकी अध्यक्ष रिता पहारी र साहित्यकार रमप्रसाद प्रदीप उपस्थित हुनु हुन्थ्यो ।

Sandhya-01052070-2

 प्रमुख अतिथि के.पी.शर्मा ओलीले दुइटा पानसामा बत्ती बालेर कार्यक्रमको समुद्घाटन गर्नु भएको थियो । साहित्य सन्ध्याले नेपाली प्रगतिवादी साहित्यमा राष्ट्रिय स्तरमा योगदान गर्ने एक जना स्रष्टा छनोट गरी सिफारिस गरि दिन साहित्यकार एवम् साझा प्रकाशनका सञ्चालक अनिल पौडेलको संयोजकत्वमा डम्बर पहाडी र धनकुमारी सुनार सदस्य रहेको स्रष्टा चयन समिति गठन गरेको र सो समितिले रुढिवाद र अन्ध विश्वासको विरुद्धमा ‘आधुनिक भागवत’ जस्तो प्रसिद्ध कृति रचना गरी सिर्जनाका माध्यमबाट सामाजिक सांस्कृतिक रूपान्तरणको अभियान थाल्ने, प्रचारबाट टाढा रहेका, गुमनाम स्रष्टालाई छनोट गरी सिफारिस गरेकोमा आफूहरूले गरेको सिफारिसलाई अनुमोदन गरी साहितय सन्ध्याले उमानाथ घिमिरे ‘सागर’लाई ‘२०६९ सालको साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’द्वारा सम्मानित गरेकोमा स्रष्टा चयन समितिका संयोजक अनिल पौडेलले धन्यवाद तथा बधाई दिनु भयो ।

Sandhya-01052070-3

सम्मानित स्रष्टा उमानाथ घिमिरे ‘सागर’को व्यक्तित्व तथा कृतित्वका बारेमा स्रष्टाका विषयमा सबैभन्दा बढी जानकार पिण्डेश्वर क्याम्पस धरानका प्रमुख प्रा.डा.भीम खतिवडाले विस्तृत रूपमा प्रकाश पार्नु हुँदै क्याम्पसको स्व.वि.यु.को अध्यक्षदेखि शिक्षक आन्दोलन समेतका माध्यमबाट र सिर्जनाका माध्यमबाट नेपाली समाजमा व्याप्त रुढिवाद, अन्ध विश्वास, भ्रम, आडम्बर आदिको अन्त्यका लागि साधनारत रहेका, प्रचारबाट टाढा रहेका तर अत्यन्त गम्भीर विचार तथा दर्शन सम्प्रेषण गरी समाजको रूपान्तरण अभियानमा सशक्त योगदान गरि रहेका मोफसलका स्रष्टा घिमिरेलाई साहित्य सन्ध्या जस्तो विचार मुखी साहित्यको अभियान हाँकि रहेको संस्थाले सम्मान गर्नु अत्यन्त सकारात्मक पक्ष रहेको चर्चा गर्नु भयो । साहित्य सन्ध्याका तर्फबाट तयार पारिएको काव्यात्मक सम्मान पत्र कवि, समालोचक एवम् सह प्राध्यापक देवी नेपालले वाचन गर्नु भएको थियो भने सम्मानित स्रष्टा घिमिरेलाई दुबोको माला लगाएर साहित्य सन्ध्याका अध्यक्षले, टिका लगाइ दिएर र दोसल्ला ओढाएर विशिष्ट अतिथिले, सम्मान पत्र तथा पुरस्कार राशि रु.१०,०००।– प्रदान गरेर प्रमुख अतिथिले सम्मानित गर्नु भएको थियो । त्यसै गरी प्रमुख अतिथिले २०३३ सालमा साहित्य सन्ध्या राजविराजमा सञ्चालन गर्दा सहयोग गर्ने खिलध्वज थापा र योगिश खरेललाई पनि दोसल्ला ओढाई सम्मान पत्र प्रदान गर्नु भयो ।

Sandhya-01052070-4

सम्मान अर्पण पश्चात विशिष्ट अतिथि नेकपा एमाले प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले नेपाली प्रगतिवादी साहित्यको उत्थानका लागि योगदान गर्ने अभियानका रूपमा थालनी भएको साहित्य सन्ध्याको अविच्छिन्नता अनुकरणीय भएको र देशभरिमा जहाँसुकै रहेर पनि साधना गरि रहने स्रष्टालाई अन्ततः सत्कर्मको अभियानमा संलग्न सन्ध्या जस्ता संस्थाले खोजी खोजी सम्मानित गर्छन् भन्ने उदाहरणको रूपमा यो सम्मान रहेको चर्चा गर्नु भयो ।

Sandhya-01052070-5

प्रमुख अतिथि के.पी.शर्मा ओलीले आफूहरू जेलमा रहेको अवस्थामा समेत साहित्य सन्ध्याले सामाजिक सांस्कृतिक रूपान्तरणको अभियान सञ्चालन गरि रहेको, त्यो प्रतिकूल वेलामा पनि सङ्घर्ष गरेको कुरा पत्र पत्रिकाबाट थाहा पाउँदा जेलभित्रै भए पनि थप हौसला मिल्ने गरेको, अबका दिनमा पनि ढोँगी, आडम्बरी, पाखण्डीका विरुद्धमा साहित्यकारले कलम चलाउनु पर्ने, सत्कर्मका पक्षमा लेख्नु पर्ने, समाज सुधार नै पहिलो दायत्व हो भन्ने ठान्नु पर्ने धारणा राख्नु भयो  र सम्मानित स्रष्टालाई जनस्तरको नैतिकवान् संस्थाले सम्मान गरेकोमा र ज्यादै गहन विचार साहित्यमा सम्प्रेषण गर्ने देश र जनताका सेवकलाई सम्मान गरिएकोमा खुसी व्यक्त गर्नु भयो ।

Sandhya-01052070-6

२०३३ सालमा राजविराजमा साहित्य सन्ध्या सुरु गर्ने परिकल्पनाकार एवम् वर्तमानमा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकूलपति गङ्गाप्रसाद उप्रेतीले पञ्चायतको दबदबा रहेको त्यो प्रतिकूल वेलामा नेपाली भाषा साहित्यको संवद्र्धन गर्ने र साहित्य सिर्जनाका माध्यमबाट सामाजिक सांस्कृतिक रूपान्तरण गर्ने भित्री उद्देश्य राखेर थालनी गरिएको यो अभियानलाई नजिकबाट सहयोग गर्ने राससका पत्रकार खिलध्वज थापा र योगिश खरेललाई समेत त्यतिखेर उहाँहरूले गर्नु भएको योगदानको कदर गर्दै सम्मान गरिएकोमा खुसी व्यक्त गर्नु भयो ।

उक्त विशेष समारोहमा जयन्ता पोखरेल, रजनी ढकाल, इन्दु अंशु जटारे, रूपक अलङ्कार, रामकृष्ण दुवाल, ज्ञानु विद्रोही, नारायण निराशी, लक्ष्मी निरौला र विवेक अधिकारीले आआफ्ना गीत, कविता, गजल वाचन गर्नु भएको थियो ।

सभाध्यक्ष राम विनयले विगत सत्ताइस वर्षदेखि साहित्य सन्ध्याले ३० जना स्रष्टालाई साहित्य सन्ध्या पुरस्कार तथा सम्मान प्रदान गरि सकेको, अविच्छिन्नता कायम गरेको, हरेक महिना नियमित गोष्ठी, छलफल आदि कार्य गरि रहेको, नयाँ तथा पुराना स्रष्टालाई एकै थलोमा भेला गराई कार्यशाला जस्तो ढङ्गले सञ्चालन गरि रहेको, सन्ध्याले सम्मान गरेका स्रष्टाहरू अहिले पनि सिर्जनाकै माध्यमबाट नेपाली समाजको सामाजिक सांस्कृतिक रूपान्तरणको अभियानमा संलग्न रहेका पाउँदा हामीलाई गौरव बोध भइ रहेको; यो उद्देश्यमूलक आनदोलन भउकाले प्रतिकूल समयमा पनि सन्ध्यालाई अविच्छिन्न रूपमा सञ्चालन गरिएको जानकारी दिनु भयो । यो विशेष समारोहमा आफ्नो अमूल्य समय दिने प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यू, विशेष अतिथिज्यू, अतिथिज्यूहरू, उपस्थित साहित्यानुरागी तथा पत्रकार मित्रहरू सबैलाई धन्यवाद दिनु भयो र गोष्ठीको समापन गर्नु भयो ।

1 Comment

  1. कस्ता काइते कुरा गर्छन यी । ०३८ सालमा काठमाण्डु मा साहित्य सन्ध्या शुरु गर्नेले ०३३ सालमा सहयाेग गरेकाे भनेर सम्मान गरेको अरे । गर्नेलाइ भन्दा देख्नेलाइ लाज ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *