अविरल जन साहित्य यात्रा१४’ मा यसअघिका तेह्र स्रष्टालाई सम्मान गर्दै वरिष्ठ कवि श्यामललाई सुनियो

मितिः २०७२।१।११
रमेश पोखरेल

वैशाख ११ गते शुक्रवार अपराह्न ठिक ३.० बजे नेपाल प्रज्ञा प्रतिष्ठानको प्रवचन कक्षमा राष्ट्रिय जन सांस्कृतिक महासङ्घको आयोजना र जन साहित्यिक मञ्च, नेपालको व्यवस्थापनमा संयुक्त रूपमा अविरल जन साहित्य यात्रा१४’ सम्पन्न भयो । हरेक महिनाको दोस्रो शुक्रवार पारेर ठिक ३ बजे महासङ्घको सभाकक्षमा वरिष्ठदेखि हालसम्मका साहित्यकारका एकल रचना वाचन गर्ने विशेष कार्यक्रम निरन्तर रूपमा सम्पन्न गर्ने यो अभियानको चौधौँ शृङ्खला भएको र हालसम्म कविता वाचन गर्ने नेपाली प्रगतिवादी साहित्यका तेर जना विशिष्ट साधकलाई सम्मान गर्ने विशेष कार्यक्रम समेत आजको शृङ्खलामा जोडिएको हुँदा आजको विशेष समारोह भने प्रज्ञामा गरिएको जानकारी सहित राष्ट्रिय जन सांस्कृतिक महासङ्घका महासचिव राजेश थापाले कार्यक्रमको सञ्चालन गर्दै उक्त विशेष समारोहका प्रमुख अतिथि नेकपा एमाले अध्यक्ष के.पी.शर्मा ओलीलाई प्रमुख अतिथिको आसन ग्रहणका लागि आग्रह गर्नु भयो । समारोहको अध्यक्षता महासङ्घका उपाध्यक्ष एवम् नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा.डा.जीवेन्द्र देव गिरीले गर्नु भएको थियो । अतिथिहरूमा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति गङ्गाप्रसाद उप्रेती, प्रा.डा.महादेव अवस्थी, वरिष्ठ कलाकार लय सङ्ग्रौला, डा.सरोज धिताल, प्राज्ञ नर्मदेश्वरी सत्याल, प्राज्ञ एवम् वरिष्ठ कवि पूर्ण विराम, डम्बर पहाडी, नारायण जर्घा मगर, वरिष्ठ प्रगतिवादी गायक श्याम तमोट, जन साहित्यिक मञ्च नेपालका महासचिव विनोद मञ्जन, कोषाध्यक्ष यशोदा अधिकारी, सचिव गोपालकुमार मैनाली उपस्थित हुनु हुन्थ्यो । अतिथिका रूपमा सम्मानित हुनु हुनेहरू वरिष्ठ साहित्यकार आनन्ददेव भट्ट, राजनीतिक अभियन्ता एवम् वरिष्ठ साधक मुकुन्द न्यौपाने, वरिष्ठ कविहरू कणाद महर्षि, रामप्रसाद प्रदीप, वासुदेव अधिकारी, मदन भण्डारीका साहित्य सारथि जगन्नाथ आचार्य, हास्यव्यङ्ग्यकारहरू लक्ष्मण गाम्नागे र नरनाथ लुइटेल, वरिष्ठ साधिका सुलोचना मानन्धर र जन गायिका नमुना शर्मा उपस्थित हुनु हुन्थ्यो । वरिष्ठ साहित्यकार डा.मोदनाथ प्रश्रित, प्रदीप ज्ञवाली (शीतविन्दु) र बूँद राना उपत्यका बाहिर रहकाले उपस्थित हुन सक्नु भएन । अविरल जन साहित्य यात्रा १४ का नायक वरिष्ठ कवि श्यामल र उनलाई साथ दिने सहयोगी कविहरू विप्लव ढकाल, हरिमाया भेटवाल, फुलमान बल, केशव सिलवाल र सङ्गीत स्रोता समेतलाई अतिथिको आसन ग्रहण गराइएको थियो ।

image

image

उपस्थित सबैलाई जन साहित्यिक मञ्च, नेपालका अध्यक्ष राम विनयले स्वागत गर्नु हुँदै देशभरि छरिएर रहेका सामाजिक रूपान्तरणको अभियानमा साहित्यलाई साधन बनाएर होमिएका स्रष्टाहरूलाई उपस्थित गराएर उनीहरूको व्यक्तित्व चर्चा गर्ने र उजागर गर्ने उद्देश्यमूलक यो विशेष खालको समारोहमा आज वर्षभरिका कार्यक्रममा उपस्थित भएर आफ्ना रचना सुनाउने वरिष्ठ स्रष्टाहरूलाई सम्मान समेत गरी उहाँहरूको योगदानलाई पुनः सम्मान गर्ने विशेष कार्यक्रम बनाइएको र यस विशेष समारोहमा उपस्थित भइ दिन हामीले गरेको आग्रह अनुसार यतिका विशिष्ट विद्वान साहित्यकार एवम् साहित्यानुरागीको उपस्थिति रहेको हुँदा सबै सबैलाई हार्दिक आभार समेत व्यक्त गर्नु भयो ।

image

image

प्रमुख अतिथि नेकपा एमाले अध्यक्ष के.पी.शर्मा ओलीले अविरल जन साहित्य यात्रा१४ का नायक वरिष्ठ कवि श्यामललाई खादा ओडाएर सम्मान गर्नु भयो भने शृङ्खला १ देखि तेरसम्म कविता वाचन गर्ने आनन्ददेव भट्ट, मुकुन्द न्यौपाने, जगन्नाथ आचार्य, रामप्रसाद प्रदीप, सुलोचना मानन्धर, वासुदेव अधिकारी, कषाद महर्षि, नमुना शर्मा, लक्ष्मण गाम्नागे र नरनाथ लुइटेललाई सम्मान पत्र अर्पर्ण गर्नु भयो । उहाँहरूलाई टीका सभाध्यक्ष प्रा.डा.जीवेन्द्र देव गिरीले लगाइ दिनु भएको थियो भने खादा राम विनयले ओडाउनु भएको थियो । त्यसै गरी कविलाई साथ दिने कविहरूलाई पनि खादा तथा टीका लगाएर सम्मान गरिएको थियो ।

image

image

सभाध्यक्ष प्रा.डा.जीवेन्द्र देव गिरीले नेपाली समाजमा विद्यमान रहेका विकृति र विसङ्गतिलाई निर्ममतापूर्वक उजागर गर्ने एवम् रूपान्तरणका लागि कविता, निबन्ध, समालोचनाका माध्यमबाट रूपान्तरणको सन्देश सम्प्रेषण गर्ने अविश्रान्त, साधनामै तल्लीन रहनु भएका वरिष्ठ कवि श्यामललाई आजको चौधौँ शृङ्खलामा प्रस्तुत गर्न लागिएको; महासङ्घको सिर्जनाका माध्यमबाट रूपान्तरण अभियानको यो पाटोलाई महासङ्घकै साँघुरो सभाकक्षमा अलि व्यवस्थित गरेर गर्दै आइएकोमा आज प्रज्ञा प्रतिष्ठानको सभाकक्षसम्म पुग्न सकिएको छ । यस कार्यक्रमले स्रष्टाका व्यक्तित्वमा थप निखार सहित उजागर गर्ने कार्य गरि रहेको हुँदा यो स्रष्टाका लागि उपयुक्त थलो बनि रहेको धारणा सहित कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नु भयो ।

image

image

वरिष्ठ प्रगतिवादी कवि श्यामलको व्यक्तित्व तथा कृतित्वमाथि प्रकाश पार्दै जन साहित्यिक मञ्च, नेपालको काव्य विभागकी संयोजक डा.विन्दु शर्माले सन १९६० मा दैलेख जिल्लामा जन्मेका वरिष्ठ कवि श्यामलले कवितामा मिहीन विषय वस्तुको उठान गरेका, पञ्चायती निरङ्कुशतादेखि हालसम्म सामाजिक रूपान्तरणका पक्षमा कविता सिर्जना गरि रहेका, उनका निबन्धमा पनि समाजका सबै पक्षको सूक्ष्म प्रतिविम्ब खिचिएको पाइँने, उनका सबै खाले रचनामा आधार संरचना, निम्न वर्गका प्रतिको पक्षधरता, विम्बात्मक शैलीको प्रयोग, कला र विचारको सन्तुलन, अरूलाई आफ्नो विचारमा सहमत गराउन सक्ने क्षमता, विचारबाट साहित्य डोहोरिन्छ भन्ने अडान स्पष्ट रूपमा देखा पर्ने हुँदा उनी समकालीन उत्कृष्ट कवि रहेको धारणा राख्नु भयो ।

image

image

image

विशेष समारोहका आकर्षण वरिष्ठ कवि श्यामलले नेपाली समाज र राजनीति कृतध्न हुँदै गएको भए पनि कवितामा चाहिँ चाकरी हुँदैन, कविता लुकाउने र उदाङ्गो पार्ने चिज पनि होइन भन्दै आफूले कम लेखेको तर उत्कृष्टता कायम गर्न सके धेरै लेख्नु पनि नपर्ने, आफू स्वअनुशासनमा चल्ने स्रष्टा हुँ भन्ने खालका केही अहम् लाग्ने अभिव्यक्ति सहित शान्ति नेपाली’ (२०३७ सालमा लेखिएको), मैना सुनारकी आमा’ (२०६१ मा लेखिएको), मुचुल्कामा लास’, विचार’, केही डरलाग्दा नामहरू’, मैला कपडामा विद्यार्थी’, हतारमा यात्रा’, हत्याराको आत्मालाप’ र लुतो’ शीर्षकका सशक्त एवम् प्रतीकात्मक कविता वाचन गर्नु भयो । सहयोगी कविहरू विप्लव ढकालले कोसमोस कोनियाँ’ (सन १९८८ मा लेखिएको), केशव सिलवालले छाला’ (२०३१ सालमा लेखिएको), हरिमाया भेटवालले ग्लोब खेलाइ रहेका बाँदरहरू’, फुलमान बलले दशनीको लेहङ्गा’ र सङगीत स्रोताले अचानक’ शीर्षकका त्यत्तिकै सशक्त एवम् विम्बात्मक कविता वाचन गर्नु भयो ।

image

image

प्रमुख अतिथि नेकपा एमाले अध्यक्ष के.पी.ओलीले दुख, दर्द र पीडामा कविताले जन्म लिन्छ; लामो समय जेलमा बस्दा कलम कापी नपाइँने भएकाले यसो बाटो हिँड्दा सिसा कलमको टुक्रा, चुरोटको कागज भेटियो भने टिपेर जेलरकै बारेमा कविता लेखि दिन्थेँ र उसले अरू कागज तथा सिसा कलमका टुक्रा उपलब्ध गराइ दिने गरेको स्मरण गर्दै आज आफूले सुनेका कवि श्यामलको खवरदारी सराहनीय रहेको, साहित्य र कविता व्यङ्गार्थ हुने र विस्तारै बुझिने हुँदा आफू साहित्यको पाठक बढी भएकाले विस्तारै बुझ्ने; नेपाली समाजमा चलेका आन्दोलन हुन् वा समाजमा जागरण र चेतना फैलाउने कार्यमा साहित्यकारको भूमिका अहम् रहेको, कवि श्यामलको निर्भीक अभिव्यक्ति पनि आफूलाई राम्रो लागेको; समाजका सबै सबै वर्गको समान महत्त्व हुन्छ, समान भूमिका हुन्छ, आआफ्ना क्षेत्रबाट सबैले सकेको योगदान गरेका हुन्छन्; साहित्य राजनीतिका निम्ति अपरिहार्य हुन्छ तर म मात्रै सर्वाेत्कृष्ट भन्ने अहम् पालियो भने त्यो पनि उपयुक्त भने हुँदैन । तथापि आजको यो विशेष समारोहमा उपस्थित भएर धेरै कुरा सुन्ने र जानकारी लिने अवसर प्राप्त भयो त्यसका लागि धन्यवाद, सम्मानित हुने र कविता सुनाउने सबैलाई हार्दिक बधाई छ भन्नु भयो ।

image

image

उपस्थित सबै साहित्यकारहरूलाई धन्यवाद सहित सभाध्यक्षको अनुमतिले विशेष समारोहको समापन गर्दै जन साहित्यिक मञ्च, नेपालका उपाध्यक्ष रमेश पोखरेलले देशभरि जहाँसुकै रहेर पनि नेपाली समाजको रूपान्तरण अभियानमा योगदान गरि रहने वरिष्ठदेखि हालसम्मका स्रष्टालाई उपस्थित गराएर कविता, गीत, गजल वाचन गर्न लगाउने र स्रष्टाको व्यक्तित्व तथा कृतित्वका बारेमा समीक्षात्मक टिप्पणी गरी व्यक्तित्व उजागर गर्न विशेष सहयोग गर्ने उद्देश्यले चौध महिनाअघि थालनी गरिएको यो कार्यक्रममा यसअघि उपस्थित तेर जना स्रष्टालाई सम्मान पनि गर्ने र चौधौँ शृङ्खला पनि सम्पन्न गर्ने अनि यो समारोहलाई अलि बृहत् आकारमा सम्पन्न गर्ने उद्देश्यले आजको यो विशेष समारोह प्रज्ञाको सभाकक्षमा सम्पन्न गरिएको; हरेक परिवार, समाज र सिङ्गो विश्व मात्र होइन प्रकृति समेत अनुशासनमा हिँडेको हुन्छ त्यसैले अनुशासन मान्दिन भनियो भने त्यो कसैका लागि पनि ग्राह्य हुँदैन, अहम् सारै सुपाच्य कुरा पनि होइन भन्ने कुरालाई स्रष्टाले पनि आत्मसात गर्नै पर्छ; आजको यस विशेष समारोहमा हाम्रो निमन्त्रणालाई स्विकारेर आफ्नो प्रतिकूल स्वास्थ्यका बाबजुद आइ दिनु हुने प्रमुख अतिथिज्यू, अतिथिज्यूहरू, सम्मान ग्रहण गर्न आइ दिनु हुने स्रष्टाहरू, कवि श्यामल तथा वाचन सहयोगी कविहरू एवम् उपस्थित साहित्यिक मित्रहरू सबै सबैलाई हार्दिक धन्यवाद भन्दै अर्काे महिनाको कार्यक्रममा पोखराका वरिष्ठ कवि रमेश श्रेष्ठलाई प्रस्तुत गरिने जानकारी सहित कार्यक्रमको समापन गर्नु भयो ।

image

image

image

image

Leave a Reply

Your email address will not be published. Required fields are marked *