‘अविरल जन साहित्य यात्रा-८’ मा वरिष्ठ प्रगतिवादी कवि एवम् सामाजिक रूपान्तरण अभियानका कुशल अभियन्ता शीतविन्दु (प्रदीप ज्ञवाली)का प्रतिनिधि कविता वाचन

रमेश पोखरेल,
असोज ३ गते शुक्रवार अपराह्न ठिक ३.३० बजे राष्ट्रिय जन सांस्कृतिक महासङ्घ, बागबजारको सभाकक्षमा महासङ्घकै आयोजना र जन साहित्यिक मञ्च, नेपालको व्यवस्थापनमा संयुक्त रूपमा ‘अविरल जन साहित्य यात्रा-८’ सम्पन्न भयो । हरेक महिना शुक्रवार पारेर ठिक ३ बजे महासङ्घको सभाकक्षमा वरिष्ठदेखि हालसम्मका साहित्यकारका एकल रचना वाचन गर्ने विशेष कार्यक्रम निरन्तर रूपमा सम्पन्न गर्ने यो अभियानको आठौँ शृङ्खला भएको जानकारी सहित राष्ट्रिय जन सांस्कृतिक महासङ्घका महासचिव राजेश थापाले कार्यक्रमको सञ्चालन गर्दै उक्त विशेष समारोहका नायक वरिष्ठ प्रगतिवादी साहित्यकार एवम् सामाजिक रूपान्तरण अभियानका कुशल अभियन्ता शीतविन्दु अर्थात् प्रदीप ज्ञवालीलाई मञ्चमा आसन ग्रहणका लागि अनुरोध गर्नु भयो । उहाँलाई कविता वाचनमा सहयोग गर्ने कविहरू गायत्री विष्ट, आर.एम.डङ्गोल, हरिमाया भेटवाल, टङ्क उप्रेती र प्रदीप ज्ञवालीकी जीवन साथी सरस्वती ज्ञवाली अनि टिप्पणीकारका रूपमा कवि वासुदेव अधिकारीलाई मञ्चमा आसन ग्रहणका लागि अनुरोध गर्नु भयो ।  

image

उक्त विशेष समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा.डा.जीवेन्द्र देव गिरी, प्राज्ञहरू नर्मदेश्वरी सत्याल, उदय श्रेष्ठ, अशोक राई, सानु पहाडी, आशाकाजी श्रेष्ठ, लालकाजी लामा, विष्णु प्रभात, माधव प्रधान, वरिष्ठ प्रगतिवादी साहित्यकार आनन्ददेव भट्ट, बलिदान सिनेमाका निर्माता श्याम सापकोटा, जन साहित्यिक मञ्च नेपालका महासचिव विनोद मञ्जन, जन साहित्यिक मञ्च काभ्रेका अध्यक्ष लक्ष्मण सापकोटा तथा पत्रकारहरू अतिथिका रूपमा उपस्थित हुनु हुन्थ्यो ।
image

उपस्थित सबैलाई राष्ट्रिय जन सांस्कृतिक महासङ्घका अध्यक्ष एवम् नेकपा एमाले केन्द्रीय सदस्य खगेन्द्र राईले स्वागत गर्नु भयो । विशेष समारोहका नायक शीतविन्दुलाई डम्बरकुमारी खादा ओडाएर र फुलको माला लगाइ दिएर सम्मान गर्नु भयो । त्यसै गरी कविलाई साथ दिने कविहरूलाई पनि टीका लगाएर सम्मान गर्नु भयो । नेपाली समाजमा विद्यमान रहेका विकृति र विसङ्गतिलाई निर्ममतापूर्वक उजागर गर्ने एवम् रूपान्तरणका लागि सरल, सम्प्रेष्य कविता, कथा, उपन्यास तथा नाटकका माध्यमबाट रूपान्तरणको सन्देश सम्प्रेषण गर्ने अभियानका सफल अभियन्ता वरिष्ठ स्रष्टा प्रदीप ज्ञवालीलाई आजको यो विशेष प्रस्तुतिमा उभ्याइएको र यो अभियान निरन्तर रूपमा अगाडि बढि रहने जानकारी सहित कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नु भयो ।
image

वरिष्ठ साहित्यकार  शीतविन्दुको व्यक्तित्व तथा कृतित्वमाथि प्रकाश पार्दै जन साहित्यिक मञ्च, नेपालको काव्य विभागकी संयोजक डा.विन्दु शर्माले सामाजिक रूपान्तरणको अभियानमा होमिदा ११ वर्षसम्म भूमिगत जीवन बिताउनु भएको; समाजको दुख, दर्द, शोषण र पीडालाई नजिकबाट अध्ययन गर्नु भएको, वर्गीय मुक्तिविना समाजिक शोषण नहट्ने निष्कर्षका साथ क्रान्ति र सङ्घर्षलाई लेखनको उद्देश्य बनाउनु भएको, कल्पनाको नाटकीकरण गरी यथार्थको उद्वोधन गर्न सक्नु; कला, विचार र अभिव्यक्तिको सशक्त त्रिवेणी कवितालाई बनाउनुु अनि नेपाल गाथा जस्तो चर्चित नाटक लेख्न सक्नु शीतविन्दुका प्रमुख विशेषता रहेको धारणा राख्नु भयो ।
image

विशेष समारोहका आकर्षण वरिष्ठ साहित्यकार प्रदीप ज्ञवालीले महासङ्घ र मञ्चले मासिक रूपमा आयोजना गर्ने गरेको यो विशेष डबलीमा उपस्थित हुन पाउनुमै आफूले गौरव बोध गरेको, आफू वरिष्ठ भइ नसकेको सिकारु नै रहेको, कविता सिर्जना कार्य सहज होइन कठिन कार्य भएको भन्ने आफ्नो मान्यता रहेको, २०२८ सालदेखि कविता लेखनमा लागेको, अन्तरमुखी स्वभावको आफूलाई आफ्ना कविता सुनेर जीवराज आश्रितले साहित्य सिर्जना जनता र देशका लागि हुनु पर्छ, सरल हुनु पर्छ र आशावादी जीवन दृष्टि हुनु पर्छ भनेर सम्झाइ दिनु भएपछि आफ्नो लेखनको धार नै बदलिएको र विचार बोक्नु पर्ने मोडमा मोडिएको; आफूले यो विशेष समारोहमा द्वन्द्व, आन्दोलन र आस्थाका कविता सुनाउने धारणा सहित ‘म बलात्कृत कर्णाली’, ‘एउटा प्रश्न’ (गगनगन्जका बदिनीको), ‘मालीगाई एक नोस्टाल्जिया’, ‘अँध्यारो कुनामा एउटा खाट’, ‘पुरानो तस्बिर’, ‘नदी र एक्लो टापु’, ‘अनुहारविनाको रात’ र ‘आस्था ओ मेरी प्रिया !’ शीर्षकका अत्यन्त बेजोड र सशक्त ८ ओटा कविता वाचन गर्नु भयो । उहाँलाई साथ दिने कविहरू गायत्री विष्टले ‘आमा र गण्डकीः अनन्त यात्रा’ शीर्षकको, हरिमाया भेटवालले ‘एका बिहानै एउटी चेली’ शीर्षकको, आर.एम.डङ्गोलले ‘तिम्रो अश्वमेधको विरोध’ र टङ्क उप्रेतीले  पसल छेउ उभिएकी केटी’ शीर्षकका त्यत्तिकै शक्तिशाली कविता वाचन गर्नु भयो ।
image

वाचित एक दर्जन कवितामाथि वासुदेव अधिकारीले समीक्षा गर्दै आफ्ना कविताका माध्यमबाट पाठकसम्म पुगेर संवाद गर्ने र विचार निर्माण गर्ने, वर्गीय आन्दोलनबाट मात्र महिला मुक्ति सम्भव छ भन्ने निष्कर्ष निकालेर साहित्य सिर्जना गर्ने कविसँग विचारको तहमा कविले गर्न सक्ने योगदानको अपेक्षा पनि समाजले गरेको छ र कवि शीतविन्दुलाई अभियन्ता प्रदीप ज्ञवालीले नियन्त्रण गर्दै विचारको हेड लाइट प्रदान गरेको, जनताको दर्दको पत्र पत्रमा कवि पुग्न सफल देखिएको, युग परिवर्तनको तहमा पुगेर तानाशाहको जगर समात्ने विचार कवितामा आएको, कवितामा ग्रामीण परिवेश आएको, कविताले विशेष गरी निम्न वर्गको प्रतिनिधित्व गरेको, द्वन्द्वको डरलाग्दो घाउ कवितामा समेटिएको, गाउँ खाली गरेर समृद्धिको सपना देखी विदेश पलायन हुने प्रवृत्तिको उछित्तो काढिएको, विचारलाई लिलाम गर्ने प्रवृत्तिको अन्त्यको आग्रह गरिएको, कविताको केन्द्रमा क्रान्तिकारी आशावाद रहेको, सौन्दर्य चित्रण र विम्ब प्रयोग उच्च स्तरको रहेको, नदीको प्रवाह जस्तो मृत्यु र जीवनको प्रवाहलाई सौन्दर्य पूर्ण ढङ्गले देखाउन सकेको, त्याग र वैचारिक सङ्घर्षले मात्र रूपान्तरण आन्दोलन सफल हुन सक्छ र असल मूल्य जोगाउनु पर्छ भन्ने आग्रह कवितामा गरिएको, कविता सिर्जनाको फरक पहिचान सहितको आख्यानात्मकता, स्वप्नदर्शी अभिव्यक्ति, संयमित पात्रको प्रयोग कवितामा गरिएकाले कवि शीतविन्दुका कविता ज्यादै सशक्त, मर्मस्पर्शी र उत्कृष्ट रहेको धारणा व्यक्त गर्नु भयो ।
image

उपस्थित सबै साहित्यकारहरूलाई धन्यवाद सहित सभाध्यक्षको अनुमतिले विशेष समारोहको समापन गर्दै जन साहित्यिक मञ्च, नेपालका का.वा.अध्यक्ष रमेश पोखरेलले सबै खाले निरङ्कुशताको विरुद्धमा आफ्ना सिर्जनाका माध्यमबाट २०२८ सालतिर देखि नै पोखिएर सामाजिक रूपान्तरणको अभियानमा होमिएर उत्कृष्ट कविता, कथा, उपन्यास, नाटक लेख्ने; सरलताका माध्यमबाट गम्भीर भाव सम्प्रेषण गर्ने; निर्भीक, चोटिलो र बेजोड प्रस्तुति भएका विलक्षण क्षमताका धनी कवि प्रदीप ज्ञवाली राजनीति र साहित्यमा समान उचाइ प्राप्त गर्ने थोरै व्यक्तिमा पर्नु हुने, आफ्ना सृजनालाई सामाजिक रूपान्तरणको अभियानमा समर्पित गर्ने र सामाजिक यथार्थको उद्घाटन अत्यन्त मार्मिक ढङ्गले गर्न सक्ने बेजोड क्षमताका शक्तिशाली स्रष्टा हुनु हुन्छ र हाम्रो निम्ता स्विकारेर आइ दिनु भयो, उहाँको यो कार्यक्रम सम्पन्न गर्न ब्यानर लेखि दिएर सहयोग गर्ने, निम्ता स्विकारेर आइ दिने सबै सबैलाई हार्दिक धन्यवाद दिँदै अर्काे महिनाको कार्यक्रममा वरिष्ठ साहित्यकार जगन्नाथ आचार्यलाई प्रस्तुत गरिने जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *