इतिहासको संरक्षण र पितृको सम्मान

रमेश पोखरेल, काठमाण्डु

फागुन १४ गते शनिवार

ठिक १२.४५ बजे भीमसेन गोला स्थित मोडर्न कन्या कलेजमा ‘परशुराम–शकुन्तला दाहाल स्मृति सेवा प्रतिष्ठान’को आयोजनामा शिक्षाविद् प्रा.रामप्रसाद दाहाल, प्रशाकसकीय अदालतका अध्यक्ष कानुनविद् काशीराज दाहाल र केशव दाहालका पिता परशुराम दाहाल तथा माता शकुन्तला दाहालको स्मृतिमा उहाँहरूले बाँचेको सत्कर्ममय इतिहासको अभिलेखन गरिएको ‘स्मृतिका छालहरू’ कृतिको लोकार्पण तथा परिचर्चा सम्पन्न भयो ।
नेपाल टेलिभिजनका अध्यक्ष महेश दाहालको सभापतित्वमा सम्पन्न भएको उक्त विशेष एवम् गरिमामय समारोहमा कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री अजय शंकर नायक प्रमुख अतिथि हुनु हुन्थ्यो भने विशिष्ट अतिथिमा पूर्व मन्त्रीहरू लालबाबु पण्डित, लक्ष्मण घिमिरे र हरिबहादुर बस्नेत, नेपाल सरकारका पूर्व मुख्य सचिव एवम् संसद्का पूर्व महासचिव डा.ईश्वरप्रसाद उपाध्याय उपस्थित हुनु हुन्थ्यो । अतिथिहरूमा सर्वाेच्च अदालतका माननीय न्यायाधिस ईश्वरप्रसाद खतिवडा, नेपाल सरकारका वाणिज्य सचिव ङइन्द्र उपाध्याय, पूर्व परराष्ट्र सचिव मधुरमण आचार्य, सञ्चारकर्मी बबिता बस्नेत लगायतको उपस्थिति रहेको थियो ।
उपस्थित पमुख अतिथि, विशिष्ट अतिथि तथा अतिथिहरूलाई प्रतिष्ठानका उपाध्यक्ष मुकुन्द दाहालले खादा लगाएर सम्मान गर्नु भएको थियो भने प्रमुख अतिथि र विशिष्ट अतिथिहरूले दिवङ्गत परशुराम दाहाल र शकुन्तला दाहालको तस्बिरमा पुष्पार्पण गर्नु भएको थियो । कृष्णप्रसाद अधिकारीले कविताबाट स्वागत गर्नु भएको थियो भने प्रतिष्ठानका अध्यक्ष काशीराज दाहालले स्वागत गर्दै शोकका वेलामा प्रत्यक्ष आएर, सञ्चारका माध्यमबाट समवेदना दिनु हुने सबै आदरणीय जनमा हार्दिक आभार व्यक्त गर्न, समाजमा मूल्य मान्यता र आदर्शमा भइ रहेको क्षयीकरण कसरी रोक्न सकिन्छ र तिनको संरक्षण कसरी गर्न सकिन्छ भन्ने मान्यता सत्कर्मका माध्यमबाट स्थापित गर्न र अग्रजको सम्मान गर्दै संस्कृति तथा परम्पराको संरक्षण गर्ने मूलतः यिनै तिन ओटा उद्देश्यका साथ बुबाआमाको नामबाट प्रतिष्ठानको गठन गरिएको जानकारी समेत गराउनु भयो ।
प्रतिष्ठानद्वारा प्रकाशित एवम् माधव घिमिरे र विदुर निरौलाद्वारा सम्पादित ‘स्मृतिका छालहरू’को प्रमुख अतिथि एवम् विशिष्ट अतिथिहरूले संयुक्त रूपमा लोकार्पण गर्नु भयो भने लोकार्पित कृतिका बारेमा सम्पादक माधव घिमिरेले सङ्क्षिप्त चर्चा गर्नु भयो । प्रतिष्ठानका तर्फबाट पूर्व मुख्य सचिव, संसद्का पूर्व महासचिव डा ईश्वरप्रसाद उपाध्यायलाई प्रमुख अतिथिले दोसल्ला ओडाएर मायाको चिनो अर्पण गरी सम्मान गर्नु भयो । त्यसै गरी प्रमुख अतिथिलाई प्रतिष्ठानका तर्फबाट पूर्व मन्त्री हरिबहादुर बस्नेतले समारोहका प्रमुख अतिथि कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री अजय शंकर नायकलाई सम्मान गर्नु भएको थियो । समारोहमा मोडर्न कलेजको बी.बी.एस दोस्रो वर्षमा अध्ययनरत छात्रा शर्मिला बर्ताैलालाई परशुराम दाहाल छात्रवृत्ति नगद तथा सम्मान पत्र प्रमुख अतिथिबाट प्रदान गरिएको थियो ।
शुभ कामना मन्तव्य दिँदै सर्वाेच्च अदालतका माननीय न्यायाधिस ईश्वरप्रसाद खतिवडाले पितृको सम्मान गर्ने नयाँ र राम्रो कामको थालनी भएको, आफू पनि सिरहाकै भएकाले जिल्लावासीको, पारिवारिक र साथीभाइको नाता रहेको हुँदा प्रतिष्ठानका सत्कर्ममा सहयोग गर्ने धारणा राख्नु भयो । सम्मानित व्यक्तित्व डा.ईश्वरप्रसाद उपाध्यायले जागिरे जीवनबाट अवकाश प्राप्त गरेपछिको पहिलो सम्मान प्राप्त भएकोले आभार व्यक्त गर्नु भयो र संसद्मा आफू कार्यरत रहँदा जिल्लावासी र कानुनविद्को हैसियतले काशीराज दाहालले गर्नु भएको पटक पटकको सहयोगको प्रशंसा गर्नु भयो, आभार व्यक्त गर्नु भयो । बाबुआमाका असल सन्तानले असल नियतले इतिहासको संरक्षण गर्ने र सत्कर्म गर्ने उद्देश्यका साथ थालनी गरेका कामको परिणाम पनि राम्रै आउने धारणा व्यक्त गर्नु भयो । पूर्व मन्त्री हरिबहादुर बस्नेतले उदयपुरको समाज निर्माणमा दाहाल बन्धुहरूको ठुलो योगदान रहेको छ । मलाई मन्त्री भएको वेलामा काशीराज दाहालबाट ठुलो सहयोग प्राप्त भएको छ । यो प्रतिष्ठानले गर्ने सत्कार्यमा मेरोतर्फबाट पनि सकेको सहयोग गर्ने छु । यतिखेर नेपाल राष्ट्र र राष्ट्रियतामाथि खतरा उत्पन्न हुन लागेको छ, यसमा अग्रपङ्क्तिका बढी दोषी छन्, मुलुकको रक्षाका लागि तपाईँ हामी र यस्ता सत्कर्मको उद्देश्य राख्ने प्रतिष्ठानले योगदान गर्नु पर्ने वेला आएको छ भन्ने धारणा राख्नु भयो । सञ्चारकर्मी बबिता बस्नेतले वृद्धावस्था कठोर हुँदै छ त्यसैले पनि असल सन्तानले बाबुआमाप्रतिको कर्तव्य बोध गर्नु पर्छ भन्ने सन्देश यो प्रतिष्ठानको आजको कर्मले दिने छ । आज विमोचित कृतिले पितृले जीवनभरि गरेका सत्कर्मको वा भनौँ इतिहासको संरक्षण गर्ने छ त्यसैले यो पुनित कार्य हो, सत्कर्म हो भन्नु भयो ।
पूर्व मन्त्री लालबाबु पण्डितले निराश भएर होइन, सकारात्मक सोच्ने हो भने आफूलाई मात्र होइन समाजलाई नै बनाउन सकिन्छ । हामी आफूले जे सक्छौँ त्यो निस्वार्थताका साथ गर्नु पर्छ निजी स्वार्थले समुन्नति हुँदैन । आफ्नो ठाउँबाट निस्वार्थ कर्तव्य पालना गर्ने हो भने समाजका यावत विकृति समाप्त भएर जान्छन् र यो प्रतिष्ठान पनि आफ्नो उद्देश्यमा सफल हुने छ भन्नु भयो । लक्ष्मण घिमिरेले पितृलाई सम्झने र सम्मान गर्ने यो नयाँ परम्परा पनि हो । हुन त पहिले पनि पितृको नाममा पाटीपौवा बनाउने, धारा निर्माण गर्ने परम्परा हाम्रो समाजमा थियो । सिर्जनाका माध्यमबाट पितृका सत्कर्मको संरक्षण गर्ने सत्कर्म प्रतिष्ठानले गरेको छ, जुन सराहनीय छ भन्नु भयो । प्रमुख अतिथि कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रीले यो समारोह आफूलाई गरिमामय र मौलिक लागेको छ । मन्त्री हुनासाथ काशीराज दाहालले टोलवासी भएका नाताले पनि खुलेर सल्लाह सुझाब दिनु भएबाट जानेकाले नजानेकालाई सिकाउने संस्कार भएको परिवार रहेछ भन्ने आफूलाई बोध भएको हो । नेपाल साझा फुलबारी हो भन्ने हामी सबैले मान्नु पर्दछ । सङ्क्रमण कालमा खेल्ने मौका खोजिँदै छ तर हामी सचेत भएर जनताको साथ र सहयोगले आआफ्नो ठाउँमा सकारात्मक भूमिका निर्वाह गर्यौँ भने समाज बनाउन सकिन्छ । निर्वाचन अत्यावश्यक छ । रोजगारी सिर्जना गरी युवा पलायन रोक्नु अत्यावश्यक छ, राष्ट्रिय बजेट खर्च गर्नु अत्यावश्यक छ । यसका लागि बुद्धिजीवीको सहयोगको आवश्यकत रहेको छ भन्ने धारणा व्यक्त गर्नु भयो ।
प्रतिष्ठानका संरक्षक प्रा.रामप्रसाद दाहालले जीवनमा प्रेरणाका स्रोत साना हुन्छन्, तिनको खोजी गरिनु पर्दछ । अहिले समाजमा देखिएका सबै खाले विचलनबाट हल्लिनु हुँदैन र आफ्ना ठाउँबाट सत्कर्म गरि रहनु पर्दछ । बुबाआमाले हामीलाई गरि खाने बनाउनु भयो, समाज बनाउनु भयो अब हामीले उहाँहरूका सपना साकार पार्नु पर्छ, सबै मिलेर समाजको समुन्नति गर्नु पर्छ भन्ने प्रतिष्ठानको सोचाइ हो । हाम्रो निमन्त्रणा स्विकारेर प्रमुख अतिथि, विशिष्ट अतिथिहरू, अतिथिहरू, मान्यजनहरू, परिवार जनहरू सबै सबै आइ दिनु भयो हामी हार्दिक हार्दिक आभार व्यक्त गर्दछौँ, धन्यवाद अर्पण गर्दछौँ भन्नु भयो ।
सभाध्यक्ष महेश दाहालले समाज सकारात्क सोचले बदलिन्छ, सकारात्मक कर्मले बदलिन्छ । आज आयोजित यो विशेष समारोह नै सकारात्मक कर्म हो । पितृको सम्मान गर्ने नयाँ र उदाहरणीय कर्म हो । यस्तो विशिष्ट समारोहको अध्यक्षता गर्ने अवसर प्राप्त भयो त्यसका लागि प्रतिष्ठानलाई हार्दिक धन्यवाद दिन्छु भन्नु हुँदै समारोहको समापन गर्नु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *