“काम नगर्ने राष्ट्रसेवक अब राष्ट्रसेवक हुन सक्दैन”: मन्त्री लालबाबु पण्डित

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको बृहस्पति सदनमा प्रतिष्ठानका कार्यकारी निर्देशक श्री पुण्यप्रसाद न्यौपानेको अध्यक्षता, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका मन्त्रि माननीय लालबाबु पण्डितको प्रमुख आतिथ्यमा नेपाल सरकारका नवनियुक्त राजपत्रांकित तृतीय श्रेणीका अधिकृतहरुका लागि मिति २०७५ मंसिर ०३ गतेदेखि संचालित ३३औं आधारभूत प्रशासन प्रशिक्षण (प्रशासन सेवा) समापन समारोह मिति २०७५ फाल्गुण २३ गते सम्पन्न गरियो | उक्त कार्यक्रमको संचालन प्रतिष्ठानका अध्ययन निर्देशक श्री तुलसी शरण सिग्देलले गर्नु भएको थियो |

 

राष्ट्रगानबाट कार्यक्रमको औपचारिक उद्घाटन गरिएको थियो । कार्यक्रममा ४ महिने प्रशिक्षण दौरानमा खिचिएको प्रशिक्षार्थीहरूको बिभिन्न कृयकलाप समेटिएको वृतचित्र प्रदर्शन गरिनुका साथै ३३औं आधारभूत प्रशासन प्रशिक्षणका सहभागीहरुद्वारा हस्ताक्षर गरीएको मूल्य-मान्यता प्रतिको प्रतिबद्धता पत्रको महत्व र निर्माण प्रकृयाको बारेमा प्रतिष्ठानका अध्ययन निर्देशक बशन्तराज सिग्देलले प्रकाश पार्नु भएको थियो भने र प्रशिक्षार्थी प्रतिनिधिद्वय श्री विजयकुमार शर्मा र श्री दुर्गा बाँस्तोला मार्फत पुनर्वाचन पनि गरियो | उक्त कार्यक्रममा अन्तिम मोडुल्य उत्कृष्ट, समूह उत्कृष्ट, सर्वोत्कृष्ट प्रशिक्षार्थी अधिकृत तथा दीक्षित सबै सहभागीहरुलाई माननीय मन्त्रीज्युबाट प्रमाणपत्र प्रदान गरिएको थियो | प्रशिक्षण कार्यक्रमका सर्वोत्कृष्ट प्रशिक्षार्थी श्री विजयकुमार शर्मालाइ कार्यकारी निर्देशक स्वर्ण पदक माननिय मन्त्रिज्यूबाट प्रदान गरियो । साथै नेपाल प्रहरीबाट प्रशिक्षणको क्रममा ४ महिना आवासिय सेवा पुर्याउनु भएका प्रशिक्षकहरू प्रहरी सहायक निरिक्षक विक्रम बन्जाडे, प्रहरी जवानद्वय हेमबहादुर कुँवर र जुनेली बुढाथोकीलाइ प्रतिष्ठानका कार्यकारी निर्देशकले मायाको चिनो प्रदान गर्नुभयो ।

 

कार्यक्रममा सहभागी प्रशिक्षार्थीकोतर्फबाट बोल्दै श्री लक्ष्मी मरासिनीले प्रशिक्षणका क्रममा पाएको विषयगत ज्ञानले हाम्रो ज्ञानको दायरा फराकिलो बनाएको छ भन्दै यसले हामीलाइ रूपान्तरणको अवसर दिएको छ र प्रतिष्ठानको समय व्यवस्थापन र अनुशासन, लैगिंक मैत्री व्यवहार अन्य सरकारी कार्यलयले पनि सिक्न लायक छ र नैतिक मूल्य र मान्यतालाइ पनि विषयगत कार्यक्रममा राखिनु पर्दछ भन्ने बताउनुभयो ।

 

सहभागी प्रशिक्षार्थीको तर्फबाट बोल्दै अर्का प्रतिनिधि श्री कृष्ण प्रसाद पराजुलीले यस प्रशिक्षणको कार्यक्रमले हामीलाइ ज्ञान, शीप र व्यवहारलाइ बढाउन मात्र सहयोग पुर्याएको छैन, कार्यस्थलमा त्यो ज्ञानलाइ परावर्तन गराउन पनि सिकाएको छ र अतिरिक्त क्रियाकलापहरूले हाम्रो दैनिक जीवनलाइ सकारात्मक परिवर्तन ल्याउन र देशदर्शनको कार्यक्रमले देश, समाज र सेवा प्रवाहको अवस्थालाइ बुझ्न सहयोग पुर्याएको छ र हामी हाम्रा मुल्य मान्यता प्रति प्रतिबद्ध रहँदै शुखी नेपाली र समृद्ध नेपालको सपना साकार पुर्याउन सहयोग पुर्याउने छौ भन्ने बताउनुभयो ।

 

प्रशिक्षण कार्यक्रमको समीक्षा गर्दै प्रतिष्ठानका वरिष्ठ निर्देशक तथा सार्वजनिक सेवा प्रशिक्षण विभागका विभागीय प्रमुख श्री नारायण गोपाल मलेगोले यस समूहमा दिक्षीत हुने प्रशिक्षार्थीहरूले आधारभूत प्रशिक्षणका साथै सेवागत विशिष्टिकृत प्रशिक्षण पनि प्राप्त गरेको बताउँदै यो अवधिमा सिकेका ज्ञान तथा सीपहरूले जीवन पद्धतिमा थप उर्जा दिएको छ भन्नुभयो ।साथै उहाँले त्यस ज्ञान र सिपले क्षमता पनि बृद्धी गरेको हुनाले त्यसलाइ व्यवहार वा कार्यक्षेत्रमा उतार्नु पर्दछ भन्दै निजामती सेवाको इमेजलाइ परिवर्तन गर्ने अभिभारा तपाइहरूको काँधमा रहेको र तपाइहरू संघीयता कार्यान्वयन गर्ने महत्वपुर्ण जिम्मेवारी लिएर जाँदैहुनुहुन्छ भन्ने बताउनुभयो ।

 

माननीय मन्त्री लालबाबु पण्डितले प्रशिक्षण सम्पन्न भएर दिक्षित भएका सबै प्रशिक्षार्थी अधिकृतहरूलाइ  शुभकामना दिनुहुँदै तपाइहरूको प्रतिवद्धताका साथ देशलाइ चिन्ने अभियान यो कार्यक्रम मार्फत रहेको र अहिले जुन खुशी साथ जाँदै हुनुहुन्छ, म पनि त्यतिकै खुशी छु भन्नु भयो । उहाँले तपाइहरूको अठोट कहिल्यै नमरोस् भन्दै देशमा भएको परिवर्तनलाइ आत्मसाथ गर्दै तपाइहरूलाइ कार्यक्षेत्रमा समायोजन गरि पठाउन लागिएको हो र त्यो संबिधानले देखाएको कार्यदिशा अन्तर्गतनै रहेको छ र वृत्तिविकाशको सबै ढोका प्रस्तावित ऐनमा खुला राखिएको छ, सेवा सुबिधा घटाएर प्रदेश सरकार र स्थानीय सरकारले दिन पाउँदैन भन्ने बताउनुभयो । उहाँले अब देशमा प्रणाली स्थापना गरेर नेताहरूको ढोका चाहार्ने व्यवहारको अन्त्य गर्ने उद्देश्यमा म लागेको छु भन्दै सेवा, देश, कर्तव्य, सदाचार र जनता बुझाउने कार्यमा म लाग्नेछु भन्नुभयो ।उहाँले ट्रेड युनियनको सहयोग नीति निर्माण बाहेक अन्य कुनै पनि कार्यमा नलिइने बताउँदै काम नगर्ने राष्ट्रसेवक अब राष्ट्रसेवक हुन सक्दैन भन्ने बताउनुभयो । साथै अब कामको आधारमा पुरस्कृत गर्ने र दण्डित गर्नु पर्नेलाइ दण्डित गर्ने प्रणाली सुरू भैसकेको र गल्ती वा अपराध गर्ने सबैले दण्ड सजाय भोग्नु पर्ने अवस्था रहने बताउँदै तपाइहरूको युवा जोस, जाँगर प्रविधियुक्त समूहबाट म पुरा आशावादी रहेको छुर तपाइहरूको निरन्तरको साथ सहयोग रहोस् म तपाइहरूको साथमा रहनेछु भन्नुभयो ।

 

कार्यक्रमको समापन गर्दै प्रतिष्ठानका कार्यकारी निर्देशक श्री पुण्यप्रसाद न्यौपानेले उपस्थित सम्पुर्ण अतिथिहरू, पत्रकारहरू, दिक्षित अधिकृतहरू र प्रतिष्ठानका कर्मचारीहरूलाइ धन्यवाद दिँदै आभार ब्यक्त गर्नुभयो । देशको शासन प्रसासन व्यवस्थामा सदाचार र इमान्तारिताको खाँचो रहेको बताउँदै ती विकृतिहरूलाइ कसरी सम्बोधन गर्नुहुन्छ, त्यो महत्वपुर्ण हुन्छ भन्ने बताउँदै सफलता र असफलता  कार्यसम्पादन र कार्यक्षेत्रमा मूल्य मान्यतालाइ कसरी उतारिन्छ  त्यसैमा भरपर्दछ भन्नुभयो | अन्त्यमा प्रशिक्षार्थीहरुको  सफलताको कामना  एबम  शुभकामना ब्यक्त गर्दै सम्पुर्ण प्रतिष्ठानका कर्मचारीहरूलाइ पनि धन्यबाद ब्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *