गौरा प्रसाईँको “मेरा जीवनका पाना” कृति लोकार्पित

रमेश पोखरेल, सम्पादक – शब्द संयोजन साहित्यिक मासिक

शब्द संयोजन साहित्यिक मासिकको आयोजनामा आज २०६८ चैत २४ गते शुक्रवार अपराह्न ३ बजे बैङ्कर्स क्लब थापाथलीको सभाकक्षमा राजनीतिज्ञ, महिला अधिकार कर्मी, अभियन्ता एवम् साहित्यकार गौरा प्रसाईँको मेरा जीवनका पाना आत्म संस्मरणात्मक कृतिको लोकार्पण गरियो ।

संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रमको अध्यक्षता शब्द संयोजन साहित्यिक मासिकका प्रधान सम्पादक वासुदेव अधिकारीले गर्नु भएको थियो भने अतिथिका रूपमा संविधान सभाकी उप सभामुख पूर्णकुमारी सुवेदी, सभासद् सुप्रभा घिमिरे, नेकपा एमाले स्थायी समिति सदस्य अमृतकुमार बोहरा, एमाले पोलिटब्युरो सदस्य सुरेन्द्र पाण्डे, नेपाल राष्ट्र बैङ्कका डेपुटी गभर्नर महाप्रसाद अधिकारी, नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति गङ्गाप्रसाद उप्रेती, प्राज्ञ सुलोचना मानन्धर, साझा प्रकाशनकी अध्यक्ष ममता झा, लोककवि अलि मिया प्रतिष्ठानका अध्यक्ष हनिफ मियाँ, साहित्य सन्ध्याका अध्यक्ष राम विनय, हेमराज पहारी प्रतिष्ठानकी अध्यक्ष रिता पहारी, लेखक गौरा प्रसाईँ र टिप्पणीकार त्रय प्रा.जगत् प्रेक्षित, शारदा शर्मा र अमर गिरी उपस्थित हुनु हुन्थ्यो । कार्यक्रमको सञ्चालन डमरु पौडेलले गर्नु भएको थियो ।

सभाध्यक्ष वासुदेव धिकारीले प्रमुख अतिथि सुवासचन्द्र नेम्वाङलाई र विशिष्ट अतिथि उप सभामुख पूर्णकुमारी सुवेदीलाई खादा लगाएर सम्मान गर्नु भएको थियो भने प्रमुख अतिथिले लेखक गौरा प्रसाइँलाई दुबोको माला लगाएर सम्मान गर्नु भएको थियो । साहित्यकार धनकुमारी सुनारले उपस्थित प्रमुख अतिथि, विशिष्ट अतिथि तथा अतिथि एवम् साहित्यकारलाई स्वागत गर्नु भएको थियो । गायिका मधु गुरुङले गीत गाउनु भएको थियो भने अर्की गायिका लोचन भट्टराईले गौरा प्रसार्इँको पुस्तकबारेको पाठकीय प्रतिक्रिया व्यक्त गर्नु भएको थियो र गौराको लेखकीय क्षमता तथा साहसको मुक्त कण्ठले प्रशंसा गर्नु भएको थियो ।

पुस्तकका बारेमा प्राध्यापक एवम् नेपाल संस्कृत विश्व विद्यालयका रजिष्ट्रार जगत् प्रेक्षितले विषद् रूपमा सबै कोणबाट चर्चा गर्नु भएको थियो र कृति अत्यन्त उत्कृष्ट रहेको ठहर गर्नु भएको थियो भने शारदा शर्माले पनि आफूले भोगेका नृशंस एवम् नारकीय पीडालाई जीवन्त रूपमा साहसका साथ अभिव्यक्त गर्नु साहसपूर्ण लेखनी हो भन्दै जीवन भोगाइका बाँकी पक्षलाई पनि यसैगरी उजागर गरि रहनुस् भन्ने शुभ कामना व्यक्त गर्नु भयो । अर्का समालोचक अमर गिरीले सबै भोगाइ साहित्यमा अभिव्यक्त गर्न सकिँदैन, त्यसमा पनि जीवन्त अभिव्यक्ति सबैको बसको विषय हुँदा पनि होइन तर गौराले अत्यन्तै कारुणिक, मार्मिक एवम् जीवन्त पारेर आफ्ना भोगाइलाई साहित्यिक बान्की प्रदान गर्नु भएर आत्म संस्मरणको उत्कृष्ट कृति रचना गर्नु भएको छ, जसले पढ्ने पाठकलाई भाव विभोर पारेरै छाड्छ । यस्तो उत्कृष्ट कृतिकी सर्जक गौरालाई बधाई एवम गौरालाई उनको विगत सबै जानेर पनि साथ दिने अनि अत्यन्त सहयोग गर्ने पति गोविन्द कोइराला पनि धन्यवादका पात्र हुनु भएको चर्चा गर्नु भयो ।

लेखक गौरा प्रसाईँले आफूले भोगको जीवन भोगाइको चित्र खिच्ने भरमग्दुर प्रयास आफूले गरेको, पढेर प्रतिक्रिया दिने जिम्मा बौद्धिक वर्गको रहेको भन्ने प्रतिक्रियाका साथ एउटा गीत गाउनु भएको थियो । पुस्तक प्रकाशनको सिलसिलामा सहयोग गर्ने साझा प्रकाशन लगायत सबै सबैलाई हार्दिक धन्यवाद समेत दिनु भयो ।

उपसभामुख पूर्णकुमारी सुवेदीले नेपाली महिला अधिकार आन्दोलनकी अगुवा गौरा प्रसार्इँले आफूले भोगेको जीवन वृत्तलाई साहित्यिक बान्की दिनु भएकोमा शुभ कामना दिनु हुँदै कलम नरोकियोस् भन्ने आग्रह पनि गर्नु भयो ।

सभाका प्रमुख अतिथि सुवास नेम्वाङले आफ्ने जीवन भोगाइ पनि सर्वाङ्ग लेख्नु हुन्न भन्ने कतिपय मतसँग आफू सहमत नभएको; डराउन त अत्याचारीले, पीडकले पो पर्छ, अन्याय भोग्नेले डराउने होइन, लेखनका माध्यमबाट सबै अत्याचार उजागर गरी रूपान्तरणका पक्षमा सशक्त रूपमा उभिनु पर्छ । त्यो साहस र हिम्मत गौरा प्रसाईँले देखाउँनु भएको, २०२९ सालतिरै झापा आन्दोलनताका गौरा जेलमा पर्नु भएको, आठ वर्षभन्दा लामो कारावासको जीवन गुजार्नु भएको, लामो सङ्घर्ष र बलिदानको इतिहास बोकेको हिम्मतिलो र आँटिलो उहाँको जीवनका यथार्थ भोगाइलाई प्रवाहपूर्ण शैलीका माध्यमबाट कलात्मक रूपमा यति सुन्दर पुस्तक प्रकाशन गर्नु भएको र यस्तो सुन्दर अवसर मलाई दिनु भएकोमा हार्दिक बधाई दिन्छु भन्नु भयो ।

सभाध्यक्ष वासुदेव अधिकारीले एउटी जोदाहा क्रान्तिकारी महिलाले भोगेको त्रासदीपूर्ण जीवन, सङ्घर्ष, बलिदान र त्यागको कथालाई साहित्यिक उत्कृष्ट कृतिको रूपमा सार्वजनिकीकरण गर्ने जस्तो महत्त्वपूर्ण कार्य गर्ने अवसरको आयोजना शब्द संयोजन साहित्यिक मासिकलाई दिनु भएकोमा हार्दिक आभार व्यक्त गर्दछु । साथै त्याग र बलिदानकी प्रतिमूर्ति गौरा प्रसार्इँको लेखनीले निरन्तरता पाओस् र साहित्यका माध्यमबाट सामाजिक रूपान्तरणको अभियानलाई अगाडि बढाइ रहेको शब्द संयोजन साहित्यिक मासिकले यस्तो अवसर पाइ रहोस् त्यसनिम्ति गौराको कलम अझै सबल बनेर चलि रहोस् भन्ने कामना गर्नु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *