धादिङका चौध सर्जकलाई सम्मान

धादिङ, १ असार

धादिङ जिल्लामा जन्मिएर साहित्य,कला र संस्कृतिको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउँदै आउनुभएका चौध जना सर्जकलाई शनिवार धादिङबेसीमा सम्मान गरिएको छ । साहित्यकार सम्मानमा राजनैतिक भागवण्डाका आधारमा व्यक्ति छनौट गरिएको विषयमा असहमति राखेर धादिङ साहित्य समाजबाट अलग्गिएका साहित्यकारहरूद्वारा दुई बर्ष अघि गठन गरिएको धादिङ सिर्जना प्रतिष्ठानले शनिवार एक भव्य कार्यक्रमका बीच ओझेलमा पर्दै गएका चौध जना सर्जकलाई सम्मान गरेको हो ।

 

धादिङ सिर्जनाको चयन, ललितकला र संस्कृतिको उन्नयन भन्ने उदघोषका साथ धादिङ जिल्लामा साहित्य एवम सिर्जना संरक्षणका लागि अभियान सञ्चालन गर्दै आइरहेको धादिङ सिर्जना प्रतिष्ठानले सर्जकहरूको सम्मानका लागि शनिवार धादिङबेसीमा एक कार्यक्रमको आयोजना गरेको थियो ।

 

नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति गङ्गाप्रसाद उप्रेतीको प्रमुख आतिथ्यमा सम्पन्न भएको सर्जक अभिनन्दन समारोहमा सम्मानित हुनेहरूमा लेखक एवम् सर्वोच्च अदालतका पूर्व न्यायाधीश ज्ञाइन्द्रवहादुर श्रेष्ठ, कवि एवम् प्राध्यापक घनश्याम कँडेल, प्राध्यापक एवम बरिष्ट समालोचक कृष्ण गौतम, लेखक एवम प्राध्यापक डाक्टर रामचन्द्र लम्साल, संस्कृतिविद् एवम् बरिष्ट पत्रकार कमल रिजाल रहेका छन । त्यसैगरी सङ्गीतका क्षेत्रमा विश्व कीर्तिमान राख्न सफल गायक एवम सङ्गीतकार मथुरा श्रेष्ठ, कवि एवम् हास्यकलाकार शैलेन्द्र सिम्खडा, राष्ट्रिय वाजा सङ्ग्रहालयका संस्थापक संस्कृतिविद् रामप्रसाद कँडेल, नरसिङ्गा वादक नरे दमै, मूर्तिकार सुषमा सिम्खडा, लोक गायक आसपुर तामाङ, धर्मराज सेढाईं, लोकगायिका मैया कामी, बौद्ध लामा गुरु हुङ दोर्जे लामालाई पनि जिल्लामा जन्मिएर कला र संस्कृतिको संरक्षणमा उल्लेखनीय योगदान पु¥याएवापत सम्मान गरिएको प्रतिष्ठानका अध्यक्ष बद्रीप्रसाद दहालले बताउनुभयो ।

 

चर्चित व्यङ्ग्यकार गाउँले बलदेव अधिकारीको संयोजकत्वमा रहेको चार सदस्यीय सर्जक छनौट समितिले जिल्ला र जिल्लावाहिर रहेर विभिन्न क्षेत्रमा कृयाशील व्यक्तिहरूसँग छलफल एवम् अन्तरक्रिया गरी अभिनन्दन गरिने व्यक्तिहरूको चयन गरेको हो । छनौट समितिमा उत्तम कँडेल, वाशु तिमिल्सिना र रामप्रसाद अर्याल सदस्य रहनुभएको थियो ।

 

सम्मानित हुने सर्जकहरूमध्ये गजुरी गाविस ५ का आसपुर तामाङ सबैभन्दा जेष्ठ हुनुहुन्थ्यो । ९५ बर्षको उमेरमा समेत ठाडो भाकाको गीत गाउन रुचि राख्ने तामाङले जवानीको वेला राम्रो जोडी पाउँदा गीत गाएर चौविस घण्टा बिताएको स्मरण गर्नुभयो । 

 

आफूले माया प्रेमका साथै कृष्ण चरित्र, रामायणलाई पनि ठाडो भाकामा गाउने गरेको तामाङले बताउनुभयो ।सालको पातले यो बुढा हातले सबैलाई गर्छु नमस्कार भन्दै आसपुरले कार्यक्रममा ठाडो भाकाको गीत गाएर आफ्नो भनाइ राख्नुभएको थियो । आफू धादिङको माटोमा जन्मिएर यहिँको माटोमा हुर्किएका कारण धादिङ जिल्लाले ढिलै भए पनि सम्झिएको भन्दै सम्मानित सर्जकहरूले खुसी व्यक्त गर्नुभएको थियो ।

(तस्बिरः केशव अधिकारी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *