नेपाल प्रज्ञा-प्रतिष्ठानमा काव्य विमर्श

काठमाडौँ, माघ २५
नेपाल प्रज्ञा-प्रतिष्ठानको ५& औँ वार्षिकोत्सवको अवसरमा प्रतिष्ठानले काव्य विमर्श कार्यक्रमको आयोजना गरेको छ । कविता महोत्सवको पूर्वसन्ध्यामा आयोजना गरिएको कार्यक्रममा समकालीन नेपाली कविताका स्वरहरू विषयमा विमर्श गरिएको हो ।

image

कार्यक्रमा अतिथिको आशनबाट प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँलाले २०४६ सालमा मूख्य शत्रु राजतन्त्र समाप्त भएपछि आफ्नो पहिचान र हैसियत प्राप्तिका निम्ति भएको सङ्घर्ष आजका कवितामा व्यक्त भएको बताउनु भयो ।  उहाँले नेपाली समाजमा प्रवल रूपमा वर्गीय भेद मात्र होइन सांस्कृतिक विभेद कायम रहेको र यसका विरुद्धको आवाज कवितामा सशक्त भएर आएको उल्लेख गर्नुभयो ।

नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले विगतमा महोत्सवको अवसरमा कविता प्रतियोगिता मात्रै हुँदै आएकामा यस पटक सिर्जनाको पृष्ठभूमिको आकलन गर्दै विमर्श पनि गर्नुपर्छ भन्ने टुङ्गोमा पुगी यो कार्यक्रमको अयोजना गरिएको बताउनु भयो ।

वरिष्ठ साहित्यकार जगदीश समशेर राणाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्राज्ञ अमर गिरीले स्वागत मन्तव्य दिनुभएको थियो । उहाँले प्रज्ञा प्रतिष्ठानको कविता महोत्सवको पूर्व सन्ध्यामा यस किसिमको विमर्शले महत्व राख्छ भन्ने विश्वास व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा डा. नेत्र एटमले ‘समकालीन नेपाली कविताका स्वरहरू’ शीर्षकमा आधारित कार्यपत्र प्रस्तुत गर्नु भयो । उहाँले चिन्तगत र प्रविधिगत स्वरबारे विचार विमर्श अघि सार्दै विभिन्न उपशीर्षकमा समकालीन नेपाली कविताका आधारभूत प्रवृतिहरूबारे चर्चा गर्नुभएको छ । उहाँले  राजतन्त्रको प्रतिरोध र गणतन्त्रको लक्ष्य, प्रगतिवादी स्वर, नारीको सङ्घर्षमय अनुभूति र महत्ताको स्वर, देशप्रतिको सोच, पहिचान र सङ्घीयताको स्वर, दलित स्वर, उत्तर औपनिवेशिक स्वर, अन्तर्राष्ट्रिय सन्दर्भप्रति चिन्तन र चासो, विसङ्गति, भञ्जन र ध्वंसको बागी स्वर समकालीन नेपाली कवितामा व्यक्त भइरहेको बताउनु भयो ।

कार्यपत्रमा समकालीन नेपाली कविता र साहित्यिक आन्दोलन, समकालीन नेपाली कविताको प्रवबद्र्धन, समकालीन नेपाली कविताका चुनौती र सम्भावनाका बारेमा समेत चर्चा गरिएको छ ।

कार्यपत्रमाथि टिप्पणी गर्दै कवि राजन मुकारूङले डायस्पोरा साहित्य र स्रष्टाको उल्लेखका साथै  चेतना, जनजाति र दलित माथिको विभेदमा लेखिएका कविताको चर्चा हुनु पर्ने बताउनु भयो ।

कार्यपत्रमाथि अर्का वक्ता रमेश भट्टराईले कविताका बारेमा कम चर्चा हुने गरेको बेला प्रज्ञाले यो कार्यक्रम आयोजन गर्नु सान्दर्भिक रहेको बताउँदै कार्यपत्र व्याख्यात्मक नभएको र दस वर्षको समग्र सन्दर्भ र मूल स्वरका बारेमा कार्यपत्र अपूरो रहेको उल्लेख गर्नु भयो ।

कार्यपत्रमाथि टिप्पणी गर्दै समालोचक लक्ष्मण प्रसाद गौतमले दस वर्षको अवधिमा देखिएका प्रवृत्तिगत कुरामा केन्द्रीत भएर कार्यपत्र तयार गरिएको बताउनु भयो ।

सहभागीहरू मध्येबाट वियोगी बुढाथोकी, बालकृष्ण अधिकारी, श्याम रिमाल, नन्दिश अधिकारी, कृष्णचन्द्र शर्मा, बमबहादुर थापा जिताली, जे.एन. पाण्डे, निभा शाह, मोहन सिटौला, पुरू लम्साल, उर्मिला पन्त, एकल यात्री, भरत भारद्वाज आदिले विविध कोणबाट जिज्ञासा प्रस्तुत गर्नु भएको थियो ।

सभाध्यक्ष जगदीश समशेर राणाले प्रविधिमा आएको क्रान्तिले साहित्यमा प्रभाव पारेको छ भन्नुहुँदै छिन छिनमा आइ रहेको परिवर्तनलाई समेट्न नसके अब साहित्य प्रभावकारी हुन नसक्ने बताउनु भयो ।

कार्यक्रममा कविता काव्य क्षेत्रमा क्रियाशील स्रष्टा-सर्जकहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *