नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा शाखा अधिकृतहरुको सेवा प्रवेश प्रशिक्षण  शुभारम्भ

काठमाडौं–नेपाल सरकारका नव नियुक्त शाखा अधिकृतहरुको सेवा प्रवेश प्रशिक्षण कार्यक्रम मंगलबार औपचारिक रुपमा शुभारम्भ भएको छ ।

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले  गरेको उक्त उक्त प्रशिक्षण कार्यक्रममा लोक सेवा आयोगका अध्यक्ष, उमेश मैनालीले  राष्ट्र सेवकहरुले प्रशिक्षणबाट सिकेका ज्ञान तथा सीपबाट जनतालाई छिटो–छरितो, गुणात्मकयुक्त, चुस्त सेवा प्रवाह गर्नेमा बिश्वास गरे । 

कठिन प्रतिस्पर्धाबाट छनौट भएर उत्तीर्ण भएका  सबै नव प्रवेशी शाखा अधिकृतहरुलाई बधाई दिदै  उनले देशले उनीहरुबाट  अग्रगामी विकासकालागि ठूलो अपेक्षा राखेको बताए ।

यस्तै  मूख्य सचिब लोकदर्शन रेग्मीले सच्चा निजामती कर्मचारी भएर देश र जनताको सेवामा समर्पित हुन निर्देशन दिदै परिवर्तित राजनैतिक अवस्थामा अनुशासित भइ जनताका लागि उपयुक्त  सेवा प्रवाह  गर्न निजमती कर्मचारीको उल्लेख्य भूमिका रहने कुरामा जोड दिए । 
यस्तै  नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक पुण्य प्रसाद न्यौपानेले देशको परिबर्तित सन्दर्भलाई दृष्टिगतगरी परिमार्जनसहितको पाठ्यक्रमबाट नव नियुक्त अधिकृतहरुलाई दीक्षित गराइने जानकारी दिए ।

उनले  निजामती सेवाको उद्देश्यमा प्रकाश पार्दै कर्मचारीहरु सकरात्मक सोचसहित जनताको सेवा प्रवाहमा प्रतिबद्ध भएर लाग्नु पर्ने धारणा ब्यक्त गरे ।

कार्यक्रममा प्रतिष्ठानको सार्वजनिक सेवा प्रशिक्षण बिभागका विभागीय प्रमुख तथा बरिष्ठ अध्ययन निर्देशक डा  केदार बहादुर रायमाझीले प्रशिक्षणका विषयहरुमा प्रकाश पर्दै स्वागत मन्तब्य दिएका थिए । सामान्य प्रशासन समूहको छ महिना र अन्य समूहको तीन महिना अवधि हुने उक्त प्रशिक्षणमा जम्मा ३७५जना प्रशिक्षार्थीहरु रहेका छन् । जसमध्ये महिला ७२ र ३०३ पुरुष रहेको समूहलाई १२ समूहमा बिभाजन गरी प्रशिक्षण दिन लागेको जानकारी दिदै अभ्यासमूलक प्रशिक्षण बिधिहरु, देश दर्शन, कार्यालय आबद्धता लगायतका कार्यहरुले प्रशिक्षार्थीहरुलाई भविष्यमा आफ्नो कार्य क्षेत्रमा गइ काम गर्न सजिलो हुने कुराको जानकारी डा। रायमाझीले गराए ।

प्रशिक्षणमा प्रशिक्षार्थीहरुलाई शुभकामना दिने क्रममा सामान्य प्रशासन मन्त्रालयका सचिब शंकर प्रसाद कोइराला,अर्थ सचिब शंकर अधिकारी, संसद सचिवालयका सचिब हिमलाल सुवेदी, महालेखा नियन्त्रक रामकुमार आचार्य र उप–महालेखा परीक्षक ईश्वर नेपाल लगायतले सम्बोधन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *