प्रलेसका पूर्व कार्यवाहक अध्यक्ष साहित्यकार रामप्रसाद प्रदीपको स्मृतिसभा सम्पन्न

काठमाडौं / १५ जेठ २०७३

प्रगतिशील लेखक सङ्घ केन्द्रीय समितिको आयोजनामा सांस्कृतिक योद्धा राम प्रसाद प्रदीपको स्मृतिसभा अनामनगरको सम्वाद डवलीमा सम्पन्न भएको छ ।

सभामा कवि तथा एमाले केन्द्रीय समिति सचिव प्रदीप ज्ञवालीले बोल्दै ‘रामप्रसाद प्रदीपका चार वटा व्यक्तित्वहरु लोकतान्त्रिक योद्धा, सांस्कृतिक अभियन्ता, स्रष्टा र कुशल व्यवस्थापक रहेको बताए । त्यस्तै रामप्रसाद प्रदीप एक सिर्जना अनुरुपको जीवन जिउने र आन्दोलनमा बलिदान गरेवापत प्रतिफलको आश नगर्ने गुनासो रहित मानिस भएकोले उहाँबाट शिक्षा लिनु पर्ने बताए ।

प्रगतिशील लेखक संघका पूर्व अध्यक्ष तथा कवि डा.अमर गिरीले रामप्रसाद प्रदीपले राप्ति क्षेत्रको साहित्यिक, सांस्कृतिक एवम् पत्रकारिता जीवनको स्मरण गर्दै एउटा पदको मोहरहित सरल जागरणकर्मी भएकोले‘उहाँका मौलिक र संयुक्त कृतिहरुको उचित समीक्षा हुनुपर्ने बताउनु भयो । त्यस्तै प्रगतिशील लेखक सङ्घको आठौं राष्ट्रिय सम्मेलनबाट निर्वाचित उपाध्यक्ष तथा साझा प्रकाशनका संचालक समिति सदस्य हरिहर खनालले ‘सर्जक मात्र नभई संगठक पनि भएकोले नै नवौं राष्ट्रिय सम्मेलनको कुशलतापूर्वक व्यवस्थापन गरेको’ सम्झिनु भयो ।

रामप्रसाद प्रदीपका चार वटा मौलिक कृतिहरु मुलुकभित्र(नाटक) २०३०, उपहार(गीतिसङ्ग्रह २०४७, विस्फोटन गीतसङ्ग्रह २०३६, बेलाको बोली(गीत÷गजलसङ्ग्रह) २०६५, सह लेखन पचास रुपैयाको तमसुक(नाटक) २०२७, सपना उपहार देशलाई(नाटक) २०५० र राजधानीगाइड (पर्यटनसम्बन्धी पुस्तक) रहेका छन् । उहाँले सिद्धार्थ दैनिक (२०३८), राप्ती समाचार साप्ताहिक(२०४१), खलिहान(साहित्यिक त्रैमासिक), समालोचना दैनिक र भावना दैनिक(२०६०) पत्रपत्रिकाको सम्पादन गर्नुभएको थियो ।

रेलिमाई सांस्कृतिक परिवारका संस्थापक सदस्य, राष्ट्रिय जनसांस्कृतिक मञ्चको संस्थापक सदस्य मात्र होइन उहाँले जनसांस्कृतिक महासङ्घको केन्द्रीय सल्लाहकार, प्रगतिशील लेखक संघको नवौं राष्ट्रिय सम्मेलनको कार्यवाहक अध्यक्ष, जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडको महाप्रवन्धकको जिम्मेवारी निर्वाह गर्नुभएको थियो । महासचिव आरएम डंगोलले संचालन गर्नुभएको स्मृतिसभाको सभापतित्व प्रलेसका अध्यक्ष मातृका पोखरेलले गर्नुभएको थियो । स्मरणरहोस् उहाँको जन्म २००४ साउन १ गते पोखराथोक अर्घाखाँचीमा भएको थियो भने २०७३ बैशाख १७ गते हृदयघातका कारण काठमाडौंमा निधन भएको थियो ।

(समाचार:- राजबहादुर कुँवर)

Leave a Reply

Your email address will not be published. Required fields are marked *