वरिष्ठ प्रगतिवादी कवि विधान आचार्यको ​एकल कविता वाचन सम्पन्न

जेठ १२ गते शुक्रवार अपराह्न ठिक ३ बजे राष्ट्रिय जन सांस्कृतिक महासङ्घको संयोजन र जन साहित्यिक मञ्च नेपालको व्यवस्थापनमा राष्ट्रिय जनसांस्कृतिक महासङ्घको सभाकक्षमा विगत तीन वर्षदेखि अविच्छिन्न रूपमा सम्पन्न भइरहेको ‘अविरल जन साहित्य यात्रा’को ३७ औँ शृङ्खला सम्पन्न गरियो । वरिष्ठ प्रगतिवादी कवि विधान आचार्यका एक दर्जन कविता वाचन गर्ने र ती कवितामाथि टिप्पणी समेत गर्ने उद्देश्यमूलक विशेष समारोहको आयोजना गरिएको हो । जनसाहित्यिक मञ्च, नेपालका अध्यक्ष राम विनयले अध्यक्षता गर्नुभएको उक्त विशेष समारोहको सञ्चालन महासचिव विनोद मन्जनले गर्नुभएको थियो । नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीज्यूको प्रमुख आतिथ्यमा सम्पन्न उक्त समारोहमा अतिथिहरूमा राष्ट्रिय जनसांस्कृतिक महासङ्घका अध्यक्ष खगेन्द्र राई, प्रा.केशव सुवेदी, प्राज्ञ नर्मदेश्वरी सत्याल, वरिष्ठ साहित्यकारहरू वासुदेव अधिकारी र माया ठकुरी, वलिदान सिनेमाका निर्माता श्याम सापकोटा, साहित्यकार बालिका गिरी, साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’, कवि श्यामललगायत उपस्थित हुनुहुन्थ्यो ।
हरेक महिनाको दोस्रो शुक्रवार ठिक ३ बजे उपत्यका र बाहिर रहेर नेपाली प्रगतिवादी साहित्यमा योगदान गर्ने एक जना प्रगतिवादी साहित्यकारका एक दर्जन कविता सुन्ने र ती कवितामाथि टिप्पणी गर्ने, स्रष्टाको व्यक्तित्व उजागर गर्ने, सिर्जनामा निखार ल्याउने उद्देश्यका साथ थालनी गरिएको यो सोद्देश्यमूलक अभियानको सैँँतिसौँैँ शृङ्खला सञ्चालन गर्न लागिएको, साहित्य सिर्जना एवम् सामाजिक रूपान्तरणको अभियानका माध्यमबाट योगदान गरिरहनुभएका वरिष्ठ प्रगतिवादी कवि विधान आचार्यका एक दर्जन कविता सुन्ने यो विशेष समारोहको आयोजना गरिएको जानकारी विनोद मन्जनले दिनुभयो । यो विशेष समारोहको प्रमुख आतिथ्य ग्रहण गरिदिन गरिएको अनुरोध स्वीकार गरी आइदिनुभएका कुलपति गङ्गाप्रसाद उप्रेतीलाई सभाध्यक्ष राम विनयले स्वागत गर्नुभयो अनि प्रमुख अतिथिले समारोहका कवि नायक विधान आचार्यलाई माल्यार्पण गरी सम्मानपत्र अर्पण गरी सम्मान गर्नुभयो । टिप्पणीकारका रूपमा वरिष्ठ कवि श्यामललाई आसन ग्रहण गराइयो ।

समारोहका नायक वरिष्ठ प्रगतिवादी कवि विधान आचार्यको व्यक्तित्वमाथि प्रकाश पार्नुहुँदै जनसाहित्यिक मञ्च नेपाल, काव्य विभाग प्रमुख डा.विन्दु शर्माले कवि विधान आचार्यको व्यक्तित्वको बारेमा प्रकाश पार्नुभयो र उहाँका कवितामा गहनता रहेको, सुन्दर विम्बयोजनाकासाथ ओजपूर्ण अभिव्यक्ति सम्प्रेषण गर्न कवि सफल रहेको धारणा राख्नुभयो ।

कवि नायक विधान आचार्यले आफूले सिर्जना गरिरहेका कवितामाथि विश्वास गरेर यो विशिष्ट र गरिमामय समारोहमा आफूलाई स्थान दिनुभएकोमा आयोजकलाई धन्यवाद दिनुभयो । अग्रज र विद्वान व्यक्तित्वका माझमा कविता सुनाउन पाएकोमा गौरवान्वित भएको धारणासहित पावर प्वाइन्टका माध्यमबाट एक दर्जन अत्यन्त शक्तिशाली, सुन्दर र वैचारिक कविता वाचन गर्नुभयो ।

वाचित कवितामाथि टिप्पणी गर्दै वरिष्ठ कवि श्यामलले आफू समालोचक नभएकोले विद्वान समालोचकका तहको टिप्पणी गर्ननसक्ने बताउनु हुँदै कवितामा ब्रह्मशक्ति हुन्छ । पाब्लोनेरुदाले लेखेका केही प्रेमका कवितामा समेत क्रान्तिको सन्देश ध्वनित भएको पाइन्छ । हुन त क्रान्तिका लागि नारा आवश्यक नै हुन्छ तर कविता ओजपूर्ण हुनुपर्छ अनि समालोचकहरूले पनि एकपक्षीय र आफ्नो समूहको वा घेराको भए राम्रो मनिदिने र अलि परको भए बेवास्ता गर्ने प्रवृत्तिबाट मुक्त भएर यथार्थपरक, वस्तुपरक भएर कविको मर्म र भावनासमेत बुझेर समालोचना गरिदिनुपर्ने, गहन समालोचना गरिदिनुपर्ने अवस्था अहिले पनि रहिरहेको छ । कवि विधान आचार्य आफ्ना पुराना मित्र रहेका र उनको लेखन ओजपूर्ण रहेको छ, सुन्दर विम्बयोजना कवितामा पाइन्छ, कविताले रूपान्तरणको सन्देश सम्प्रेषण गरेका छन् र मुलुकको माया गर्नुपर्ने आग्रह गरेका छन् भन्ने धारणा राख्नुभयो ।

महासङ्घका अध्यक्ष खगेन्द्र राईले अविरल जनसाहित्य यात्राको यो सँैतिसाँै शृङ्खलासम्म आइपुग्दा नायक स्रष्टा मात्र होइन धेरै वाचन सहयोगी कवि प्रतिभाहरूको समेत व्यक्त्त्वि उजागर भइसकेको छ । अब यो यात्रामा कविता मात्र होइन लघु कथाले समेत प्रवेश पाउनु उपयुक्त हुने छ । आर्थिक रूपमा सबल नहुँदानहुँदै पनि व्यवस्थापन भइरहेको छ र यात्राले निरन्तरता पाइरहेको छ । यस्तो खालको समारोहलाई बन्द सभाकक्षमा मात्र होइन खुला चोकमा र मोफसलमा समेत लैजान प्रयत्न अब गरिनुपर्छ र साहित्यलाई जनतासँग जोड्नुपर्छ भन्ने सुझाबसमेत दिनुभयो र आज यो विशेष शृङ्खलामा उपस्थित भएर सुन्दर कविता श्रवण गर्न पाइयो भन्नुहुँदै कवि विधान आचार्यलाई बधाइ दिनुभयो ।

प्रमुख अतिथि नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले हामी स्रष्टाहरू साहित्यका माध्यमबाट मुलुकमा एकता र शान्तिको कुरा गरिरहेका छौँ, विस्तारवादको विरोध गरिरहेका छौँ । त्यसमा पनि जनसाहित्यक मञ्च नेपालको यो अविरल जनसाहित्य यात्रा तीन वर्षदेखि अविच्छिन्न रूपमा सञ्चालन भइरहेको छ । यस विशेष समारोहमा ओझेलमा परेका अनि उपत्यकाभित्रका र बाहिरका स्रष्टालाई उपस्थित गराई उसका कविता सुन्ने सुनाउने अनि विशद समालोचना गर्ने परम्परा रहेको छ । आजको यो विशेष समारोहमा भने आफूले पच्चिस वर्षदेखि चिनेका, जानेका र उनका किवता सुनिरहेका सशक्त कवि विधान आचार्यका समाज बदल्ने सन्देशसहितका कविता सुन्ने अवसर प्राप्त भयो । कविलाई हार्दिक बधाई छ भन्नुभयो ।

सभाध्यक्ष राम विनयले नेपाली प्रगतिवादी साहित्यिक आन्दोलनमा झन्डै चार दशकसम्म आफूलाई समर्पित गर्दै नेपाली समाजको रूपान्तरण अभियानमा आफूलाई लगाउनु हुने अनि देश र समाजलाई सहयोग गर्ने असल कविलाई हामीले आजको यो विशेष समारोहमा प्रस्तुत गर्यौँ । बिस वर्षअगाडि बुद्धिजीवी सहयोग समितिमा रहेर सँगै काम गरेका तर त्यसपछि कता हराएका कवि विधान आचार्यलाई फेरि हामीले खोजेर उहाँका एक दर्जन कविता सुन्ने र उहाँको साहित्यकार व्यक्तित्वका बारेमा समेत चर्चा गर्ने सोद्देश्यमूलक यो विशेष समारोहमा निम्ता स्विकारेर आइदिने प्रमुख अतिथिज्यू, टिप्पणीकार वरिष्ठ कवि श्यामलज्यू, व्यक्तित्व चर्चाकार डा.विन्दु शर्मा, अतिथिज्यूहरू, उपस्थित विद्वान व्यक्तित्व सबै सबैलाई हार्दिक स्वागत गर्नुभएको थियो र कार्यक्रमको समापनमा धन्यवादसहित आगामी अड्तिसौँँ शृङ्खलामा अग्रज स्रष्टा उमेश उपाध्यायलाई प्रस्तुत गरिने अनि सोको जानकारी पनि गराइँने व्यहोरा निवेदन गर्दै समारोह समापन भएको जानकारी गराउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *