शंकर पोखरेललाई ‘जन संस्कृति पुरस्कार’ र रवि कार्कीलाई ‘युवा प्रतिभा पुरस्कार’ अर्पण

चैत्र २५ गते शुक्रवार,

रमेश पोखरेल, काठमाण्डु

 

अपराह्न १ बजे बागबजार, काठमाडौँैँस्थित हार्दिक होटलमा राष्ट्रिय जन सांस्कृतिक महासङ्घको २९ औँ वार्षिकोत्सवको अवसर पारेर आयोजना गरिएको विशेष समारोहमा एमाले अध्यक्ष एवम् पूर्व प्रधान मन्त्री के.पी.शर्मा ओलीले म्याग्दीमा रहेर साहित्य, कला र संस्कृतिका क्षेत्रमा विशिष्ट योगदान पुर्याएका बहुमुखी प्रतिभाका धनी २६ वर्षीय रवि कार्कीलाई यस वर्षको रु.१५,०००।– राशिको ‘युवा प्रतिभा पुरस्कार’ तथा सम्मान पत्र अर्पण गर्नु भयो भने परम्परागत मृत्यु संस्कारलाई शास्त्रसम्मत नै रूपान्तरण गरी ५ वा ७ दिनमा छोट्याउनु पर्दछ भन्ने अभियानका अभियन्ता संस्कृतिविद् शंकर पोखरेललाई यस वर्षको रु.२५,०००।– राशिको ‘जन संस्कृति पुरस्कार’ तथा सम्मान अर्पण गर्नु भयो ।
उक्त विशिष्ट समारोह राष्ट्रिय जन सांस्कृतिक महासङघका अध्यक्ष खगेन्द्र राईको अध्यक्षतामा र पूर्व प्रधान मन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । समारोहका अतिथिहरूमा डा.विजय सुब्बा, प्राज्ञ विष्णु प्रभात, शंकर पोखरेल, रवि कार्की लगायतको उपस्थिति रहेको थियो । महासङ्घका महासचिव प्रेमनाथ अधिकारीले सञ्चालन गर्नु भएको उक्त समारोहमा सहिदको सम्मानमा एक मिनेट मौन धारण गरिएको थियो, राष्ट्रिय गान गाइएको थियो र लालकाजी लामाले स्वागत मन्तव्य दिनु भएको थियो । सम्मानित व्यक्तित्व रवि कार्कीका बारेमा जननाट्य मञ्चका अध्यक्ष पुष्प अर्यालले र अभियन्ता शंकर पोखरेलको व्यक्तित्वका बारेमा सामाजिक सांस्कृतिक अध्ययन मञ्चकी महासचिव लक्ष्मी बस्यालले प्रकाश पार्नु भएको थियो ।
सोही विशिष्ट समारोहमा प्रमुख अतिथि केपी शर्मा ओलीले महासङ्घद्वारा प्रकाशित ‘संस्कृति’ र महासङ्घको प्रदेश १ द्वारा प्रकाशित ‘जबजको संस्कृति र सांस्कृतिक रूपान्तरण’को लोकार्पण गर्नु भएको थियो ।
विशिष्ट समारोहमा उदय श्रेष्ठले गीत प्रस्तुत गर्नु भएको थियो भने वसन्त खत्रीले व्यङ्ग्य कविता वाचन गर्नु भएको थियो । त्यसै गरी चर्चित कलाकारहरू मनोज गजुरेल, तुलसी पराजुली र जीतेन्द्र चौधरीले पनि गीत एवम् हास्यव्यङ्ग्य प्रस्तुत गर्नु भएको थियो । सम्मानितमध्येबाट शंकर पोखरेलले सांस्कृतिक रूपान्तरण आजको आवश्यकता हो । रुढिवाद र अन्ध विश्वासलाई सँगै बोकेर समाज रूपान्तरण हुन सक्तैन, हाम्रा विद्यमान शास्त्र विपरीत नहुने गरी शास्त्रसम्मत तरिकाले नै मृत्यु संस्कारलाई पाँच दिन वा सात दिनमा सम्पन्न गर्न सकिने तथ्यपरक एवम् शास्त्रसम्मत अभियान आफूले चलाइ रहेको र यसमा समाजका असङ्ख्य मानिसले चासो देखाएका, व्यवहारमा ल्याइ सकेका छन् । यो अभियानमा लागेको आफूलाई महासङ्घले सम्मानित गरेकोमा हार्दिक धन्यवाद ज्ञापन गर्दछु भन्नु भयो ।
डा.विजय सुब्बाले २०४४ पुस १९ गते स्थापना भएको महासङ्घ २९ बर्से लक्का जबान भइ सकेको छ । अब हामीले देश टुक्र्याउने, नयाँ नयाँ एजेन्डा थप्दै अस्थिरता सिर्जना गर्ने अनि आफ्नो कुर्सी बचाउन जे पनि गर्ने सत्तामा बसेको भष्मासुरका विरुद्धमा सशक्त सिर्जनात्मक हस्तक्षेप गर्नु पर्दछ, जनतालाई सुसूचित गराउनु पर्दछ । त्यसै गरी समाजमा विद्यमान रहेको मृत्यु संस्कारलाई रूपान्तरण गर्न सके र शास्त्रसम्मत नै छोट्याउन मात्र सके पनि कम्तीमा एउटा गरिबलाई थप गरिब हुनबाट बचाउन सकिन्छ । त्यसैले हामी संस्कृतिकर्मीले यी सबै कुरामा आआफ्ना सिर्जनाका माध्यमबाट सशक्त आबाज बुलन्द गर्नु पर्दछ भन्नु भयो ।
प्रमुख अतिथि पूर्व प्रधान मन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक मूल्य मान्यता राख्ने, विधिको शासन चाहने र देश अनि जनताको पक्षमा काम गर्न चाहने जो कोहीले पनि एमालेसँग हच्किनु पर्दैन तर देशघाती, स्वार्थी, अवसरवादी तत्त्वलाई भने जनताका बिचमा नाङ्गेझार पार्छ एमालले, त्यसैले उनीहरू एमालेसँग हच्किन्छन् । यो मुलुकको रूपान्तरण अभियानमा विगत तिन दशकमा महासङ्घको ठुलो योगदान रहेको छ । अब महासङ्घ र तपाईँ सम्पूर्ण साहित्यकार, कालाकारले आजको यो प्रायोजित चुनौतीको सामना गर्न थप ऊर्जाका साथ, थप परिमार्जनका साथ, थप सशक्तताका साथ अगाडि बढ्नु पर्दछ । यतिखेर एमालेको देशभक्ति पूर्ण अभियानबाट मुलुकको समृद्धि विपरीत लाग्नेहरू आत्तिएका छन् । तपाईँ बुद्धिजीवीहरूबाट पनि नाम र प्रसिद्धिको ज्यान अनुसारको कर्म जनताले चाहेका छन् । देशलाई अप्ठ्यारोमा पार्ने गरी जनतामा भ्रम छर्नेहरूलाई, नक्कलीहरूको अभिनयभित्र देश बरबाद पार्ने निहित दुराशय प्रेरकहरूलाई, विभिन्न प्रकारका ठगहरूले ठगी व्यवसाय गरेका कारण देश गरिब भएको पक्ष समेतलाई सर्वाङ्ग पार्ने र सम्पूर्ण रूपमा नाङ्गेझार पार्ने सिर्जना तपाईँहरूले गरि दिनु होस् । यो वर्ष नेपालकै इतिहासको असाधारण वर्ष हुने छ, यसै वर्ष चुनाव सम्पन्न हुने छ, ‘२०७४ साल एमालेमय नेपाल’को मूल नाराका साथ तपाईँहरू अभियानमा होमिनु होस् । यतिखेर दर्शक हुने समय होइन काम गर्ने समय हो । आज सम्मानित हुनु हुने युवा स्रष्टा रवि कार्की र सामाजिक संस्कारमा रूपान्तरण अभियानको अगुवाइ गरि रहनु भएका शंकर पोखरेललाई हार्दिक बधाई छ । आफ्नो अभियानमा सफल हुनु होस् । युवालाई सम्मानित र पुरस्कृत गर्ने अनि हौसला प्रदान गर्ने कार्य सराहनीय छ । तपाईँहरू समेतको योगदानका माध्यमबाट सूर्य चिह्नको झन्डाले राष्ट्रिय झन्डालाई माथि उठाउँछ, हामी सबै यो अभियानमा जुटौँ भन्नु भयो ।
सभाध्यक्ष खगेन्द्र राईले महासङ्घका सम्पूर्ण कार्यक्रम सामाजिक रूपान्तरण अभियानका निम्ति हुन्, यी निरन्तर जारी रहन्छन्, सत्कर्मको सम्मानका कार्य पनि जारी रहन्छन् भन्नु हुँदै कार्यक्रमको औचित्यमाथि समेत प्रकाश पार्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *