साहित्य सन्ध्यामा विशेष महिला कविगोष्ठी सम्पन्न

रमेश पोखरेल, काठमाण्डौ
मितिः २०६९।४।६
 
साहित्य सन्ध्याको ३१८ औँ विशेष कार्यक्रम आज नेपाल मानविकी क्याम्पस, प्रदर्शनी मार्गमा ‘विशेष महिला कविगोष्ठी’का गरी सम्पन्न गरियो । ठिक १.०० बजे सन्ध्याकी सदस्य धनकुमारी सुनारको अध्यक्षता र गायत्री विष्टको सञ्चालनमा सम्पन्न भएको उक्त विशेष गोष्ठीका विशेष अतिथि पुष्पलालका समकालीन भूपि शेरचनलाई कम्युनिस्ट बनाउँने राजनीतिज्ञ तथा कवि ८५ बर्से हर्ष स्याङ्बो हुनु हुन्थ्यो भने अतिथिमा प्राज्ञ द्वय बूँद राना र सुलोचना मानन्धर, प्रगतिशील लेखक सङ्घका कार्यवाहक अध्यक्ष रामप्रसाद प्रदीप, जन साहित्यिक मञ्च, नेपालका सल्लाहकार एवम् कुशल आख्यानकार सुदूर पूर्वका स्रष्टा पुण्यप्रसाद खरेल, अखिल नेपाल किसान सङ्घकी उपाध्यक्ष एवम् साहित्यकार शान्ता मानवी, कवि राम विनय, समीक्षक तथा प्राज्ञ नर्मदेश्वरी सत्याल, साझा प्रकाशनका सञ्चालक एवम् कवि अनिल पौडेल, वरिष्ठ कवि राम बहादुर पहाडी, सामाजिक रूपान्तरण अभियानकी अभियन्ता तथा लेखिका गौरा प्रसाईँ उपस्थित हुनु हुन्थ्यो ।

sandhya-20690406_550

साहित्य सन्ध्याले वार्षिक कार्य योजना बनाउँदा एउटा गोष्ठी विशेष महिला कविगोष्ठीका रूपमा आयोजना गर्ने गरी बनाएकाले आजको विशेष कार्यक्रम महिला कविगोष्ठीका रूपमा सम्पन्न गर्न लागिएको, समाजमा महिला हिंसा समाप्त भइ नसकेको, विभेद कायमै रहेको, महिला अधिकारको लडाइँको अन्त्य नभइ सकेको, बोली र व्यवहारमा फरक पार्ने प्रचलनमा कमी नआएका कारण पनि विशेष महिला कविगोष्ठीका माध्यमबाट महिलाले भोगेका पीडा र समाजको चित्र साहित्यमा उतार्ने प्रयत्न स्वरूप कार्यक्रमको आयोजना गरिएको जानकारी सभाध्यक्ष धनकुमारी सुनारले सुरुमै दिनु भयो ।

sandhya-20690406-2_550

प्रगतिवादी साहित्यकार पारिजातको मानुषी कविता वाचन गरी प्रारम्भ गरिएको गोष्ठीमा बालकविहरू विज्ञता कार्की, प्रलिसा अधिकारी, प्रजिसा भूसाल, शशिका विष्ट, प्रियङ्का सिलवाल र मणि प्राञ्जलले सुन्दर बाल कविता वाचन गर्नु भयो । त्यसै गरी जयन्ती स्पन्दन, सुमी लोहनी, जयन्ता पोखरेल, कविता पौडेल, उमा मिश्र, हरिकला उप्रेती, ललिता दोषी, उषा किरण, सरस्वती चिमौरिया, सङ्गीता सापकोटा, पञ्चकुमारी परियार, स्वप्निल नीरब, पवित्रा पौडेल, गंगा पौडेल, सानु पहाडी, शान्ता मानवी, सुलोचना मानन्धर, नर्मदेश्वरी सत्याल, सरु आस्था, गायत्री खतिवडा, भावना पौडेल, लीलादेवी शर्मा तर्कना, आस्था गुरागाईँ, मीना ज्ञवाली, गौरा प्रसाईँ, टेकु नेपाली, देवकी के.सी., गायत्री विष्ट र धनकुमारी सुनारले आआफ्ना गीत, कविता तथा गजल वाचन गर्नु भएको थियो ।  

sandhya-20690406-3_550

वाचित कवितामाथि समीक्षक एवम् प्राज्ञ नर्मदेश्वरी सत्यालले टिप्पणी गर्नु हुँदै गोष्ठीमा पुराना र नयाँ पुस्ताको जमघट (सात–आठ बर्से बालकविदेखि ५८–६० बर्से महिला कवि) साहित्य सन्ध्याले गराएको र सिक्ने सिकाउँने कार्यशालाका रूपमा लामो समयदेखि साहित्य सन्ध्याले सबैलाई मञ्च प्रदान गरि रहेको; पुराना स्रष्टाका उत्कृष्ट कवितादेखि नयाँ स्रष्टाका सिकारु कविता वाचन गरिएका र सबै कविताले समाजका यावत् विकृति, विसङ्गतिलाई उजागर गरेका, बालकविले समेत सामाजिक समस्याको प्रकटीकरण राम्ररी गरेका, कुनै कुनै कवितामा केही निराशा आएको सुनिएको, साहित्य सन्ध्याले आयोजना गरेको यस गोष्ठीको अभिप्राय भनेकै हरेक कविका कवितामा परिवर्तनको आकाङ्क्षा होस् अर्थात् यथास्थितिमा रूपान्तरणको भावना अभिव्यक्त होस् भन्ने रहेको, कविले आफ्ना कवितामा समयको विसङ्गतिलाई सशक्त ढङ्गले उजागर गर्नु पर्ने र कविताले नै त्यो कुरा बोल्नु पर्दछ भन्ने कुरामा विशेष ध्यान पु¥याउनु पर्ने भन्दै विचार र कलाको सन्तुलन नै कविताको सशक्त पक्ष हो भन्ने कुरालाई हरेक कविले सदैव मनन गर्नु पर्ने धारणा राख्नु भयो ।

sandhya-20690406-4_550

उपस्थित सबै स्रष्टालाई धन्यवाद दिँदै साहित्य सन्ध्याको उद्देश्य तथा अभियानका बारेमा समेत जानकारी दिई स्रष्टाहरूको निरन्तर सहभागिता तथा रचनामा निखारको अपेक्षा सहित सभाध्यक्ष धनकुमारी सुनारले गोष्ठीको समापन गर्नु भयो ।

sandhya-20690406-5_550

sandhya-20690406-6_550

sandhya-20690406-7_550

Leave a Reply

Your email address will not be published. Required fields are marked *