साहित्य सन्ध्या २०७० सम्मान घोषणा

image

२०७० सालको साहित्य सन्ध्या पुरस्कार तथा सम्मान साहित्यकार भागीरथी श्रेष्ठलाई प्रदान गर्ने निर्णय भएको छ । तिन दशकभन्दा बढी समयदेखि नेपाली साहित्यको विशेष गरी आख्यान विधाका माध्यमबाट नेपाली समाजको अग्रगमनमा योगदान गरिरहेकी साहित्यकार श्रेष्ठलाई यो पुरस्कार तथा सम्मान प्रदान गर्न लागिएको हो । आगामि भदौ १४ गते शनिवार अपराह्न नेपाल राष्ट्र बैङक, थापाथलीको सभाकक्षमा आयोजित विशेष सन्ध्या समारोहमा पुरस्कार अर्पण गरिने भएको छ ।

सोही समारोहमा राजविराजबाट सुरु भएको साहित्य सन्ध्यालाई काठमाडौंमा पुनस्र्थापित गर्ने यस संस्थाको सोद्देश्यमूलक यात्राको थालनी गर्नेहरू अग्नि खरेल, नरनाथ लुइँटेल, राम आचार्य, तीर्थ कोइराला र डा.गोपाल सिवाकोटी ‘चिन्तन’ लाई पनि सम्मान गरिने जानकारी साहित्य सन्ध्याले विज्ञप्ति मार्फत सार्वजनिक गरेको छ ।

प्रा.डा. जीवेन्द्रदेव गिरीको संयोजकत्वमा साहित्यकारद्वय शान्ता मानवी र भागवत आचार्य रहेको स्रष्टा चयन समिति गठन गरिएको र सो समितिले गरेको सिफारिसका आधारमा उक्त पुरस्कार साहित्यकार श्रेष्ठलाई दिने निर्णय गरिएको हो । उक्त विशेष समारोहको प्रमुख अतिथि वरिष्ठ प्रगतिवादी साहित्यकार डा.मोदनाथ प्रश्रित र विशिष्ट अतिथि साहित्यकार एवम् सामाजिक अभियन्ता प्रदीप ज्ञवाली हुनु हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *