श्रम, जनजीविका र साहित्य सिर्जना (भाग १)

साहित्य समाजको दर्पण हो। यसमा समाज र सामाजिक पक्षहरू प्रतिबिम्वित हुनु पर्छ र हुन्छन् पनि। सामाजिक जीवनका अनुकरण र अनुकुलन पनि साहित्यै हो। अर्नोल्ड म्याथूले ‘साहित्य (कविता) लाई जीवनको समालोचना’ सम्म भनेका छन्। मान्छेभित्रका भावनाहरूको छेलोखेलो, समभाव, समवेदना, सद्भाव र संस्कारको जीवनसादृश्य, शालीन तथा यथार्थ प्रस्तुती असल साहित्यका विभिन्न विधाहरूमा पाइन्छ।

मानवजातिको इतिहास नि घुमन्ते र फिरन्ते प्रवृतिको छ। नोम्याडिक खालको। घुम्दै जाँदा मान्छेले भूगोलको सीमा, स्वजनको सीमा अनि राष्ट्रको सीमा छिचोल्छ। अनि जहाँ जान्छ त्यहाँ उसले स्वत्व लिएर जान्छ। लिएर जान्छ, थोरै भए पनि अपनत्व। जनजीविका, जीवन सुरक्षा, अवसर र सन्तति संरक्षणको लागि उसले यो प्रवृति अँगाल्छ। हामी नेपालीहरू पनि यस्तै छौं। अनि साहित्य पनि त्यही प्रवृति, प्रकृति र चल्तीको प्रतिरूप, प्रतिकृति र प्रतिबिम्व।

घर हरेक मान्छेको केन्द्र हो, केन्द्रबाट उछिटिइएर पनि केन्द्रतिर बहकिने, फर्किने, सम्झिने र सौहार्दता अर्पण गर्ने उसको चाहना हुन्छ। आज हामीहरू कोही छिमेकी प्रबास-भूटान, बर्मा, भारत, मध्यपूर्वका खाडी देशहरू, युरोप, अमेरिका तथा अन्य मुलुकहरू-मा छौं। विकास, प्रविधि तथा सूचनाका सञ्जालहरूले विश्वग्राम र विश्वनागरिकको अवधारणा सामान्य लाग्दो छ। यसै सन्दर्भमा मान्छेका मनहरू, सिर्जनाहरू र मानवीय समवेदनाहरूले भूगोल र दुरीको भौतिक सीमाको भञ्जन गर्न उद्दत र सफल भएकाछन्।

यसैले, मुख्यरूपले मध्यपूर्वको सँयुक्त अरब ईमिरेट्समा अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास), विश्व नेपाली साहित्य महासंघ (विनेसाम) तथा सर्वदा वाङ्मय प्रतिष्ठानका शाखाहरूले विशेष अवसर तथा प्रसिद्ध साहित्यकारहरूको जन्मोत्सव पारेर साहित्यिक कार्यक्रमहरू गर्ने गरिएको पाइन्छ। यहाँ पहिलो चोटि सन् २००४ मा दलबीरसिँह बराइलीको सँयोजकत्वमा नेपाली साहित्य परिषद् गठन भएको इतिहास छ। यस्ता कार्यक्रमहरूमा विभिन्न साहित्यिक सङ्घ सँस्थाहरूले नेपालबाट साहित्यलाई माया गर्ने वरिष्ट साहित्यकारहरू जस्तै मञ्जुल, ध्रुबचन्द्र गौतम तथा अन्य कलाकारहरूलाई अतिथिको रूपमा निमन्त्रणा गरेर परदेशी मनहरूमा स्वदेशको अनुभूत गराउने काम अविस्मरणीय छ। यहाँका प्रबासी नेपाली सङ्घ संस्था तथा ग्रैह आवासीय नेपाली तथा कहिलेकाही विभिन्न राजनैतिक दलहरूका भातृ सङ्घ संस्थाहरूको पनि सहयोग र उपस्थिति महशुष गर्न सकिन्छ। साँस्कृतिक, सरकारी र नियमित विदाको अवसर मिलाएर यस्ता कार्यक्रमहरू हुन्छन्। विवशता, बाध्यता र रहरले विदेशिएका नेपालीहरू श्रममा खर्च गर्ने समय बचाएर र छुट्टी लिएर समय सदुपयोग गर्न, मनोरञ्जन लिन र मनदेखि मनसम्मको सम्बन्ध कायम राख्न अनि एक छिन भए पनि डायस्पोरिक परिकल्पनामा एउटा सानो साङ्ग्रिला निर्माण गर्छन्। परदेशमा भए पनि घरदेशको समयरेखामा काल्पनिकीका कलेबरहरू जोडजाम् गर्छन्। साँस्कृतिक कार्यक्रमहरूभन्दा साहित्यिक कार्यक्रममा जमघट अलि कम नि हुन्छ, मनोरञ्जनभन्दा ज्ञानपक्ष ज्यादा प्रबल हुने भएकाले। सूचना र प्रचार प्रसारको अभाव पनि छँदैछ। पछिल्लो समयमा बढेको जाँगर र जिज्ञाँशाले युवावर्गको रूची साहित्यमा बढेको देखिन्छ।

सूचना र प्रविधिको प्रवाह द्रुत्तर गतिमा भएको कारण पत्रकारिता र सिर्जनधर्मिता साथसाथ हिँडेको पनि प्रशस्त देख्न सकिन्छ। यू.ए.ई.मा जे. पी. सापकोटा, बन्दीपुरे माइलो टेन्सन ‘खेम पौडेल’, अर्जुन दहाल, उमाकान्त पाण्डे ‘गाउँले’, मोहम्मद जाकीर हुसेन ‘जैकी मोजाहु’, शेषनारायण झा ‘ऋषिशेष’ लगायतका पत्रकारहरूको भूमिका मननीय र सह्रानीय छ। नेपालीहरू माझ भित्र र बाहिर खबर पुगाउन यिनीहरूले गर्ने सहयोगमा निःसन्देहरूपले नेपाली माटो, मन र मुटुको स्पर्श छ।

सर्वदा वाङ्मय प्रतिष्ठानका यू.ए.ई. शाखाले लक्ष्मण सापकोटा ‘विकल्प’को ‘विश्वास’ (कविता सङ्ग्रह), ‘सर्वदा प्रवासी भाग-१’ र ‘सर्वदा प्रवासी भाग-२’ (हाल छापाखानामा) र दीपराज नेयोङ्गहाङ्गको ‘क्षितिज रोइरहेछ’ (कविता सङ्ग्रह) जस्ता अमूल्य कृतिहरूको प्रकाशन गरिसकेको छ। समदर्शी काइँलाका कविताहरू ‘म अमेजन उकालो बग्छु’ र ‘मान्छेको आत्महत्याको जग्गा’ नामक कविता सङ्ग्रहहरू प्रकाशित छन्। अनेसासले जैकी मोजाहुको ‘अँध्यारो’ (कथा सङ्ग्रह), दिनेश ‘मण्डु’ आचार्य र माईनस प्लस संग्रौलाको युगल गजल संग्रह ‘प्रवासका दुई फूल’, पनि प्रकाशित तथा विमोचन पनि गरेको छ। गोविन्द तिवारीको गीति सङ्ग्रह ‘दुखियाको दुःख’ पनि प्रकाशित भएको छ। दीपराज नेयोङ्गहाङ्ग, चन्द्रचेतूँ के.सी, दीपकराज अधिकारी, अन्जान बोहराको विलयन गजल सङ्ग्रह ‘सँयुक्त यात्रा’, कृष्ण बि. क.को कविता सङ्ग्रह ‘मायाको सँसार’ तथा चन्द्रचेतूँको गजल सङ्ग्रह ‘प्रबासको चिनो’ पनि प्रकाशोन्मुख अवस्थामा छन्।

हालसालै श्रमशिवरमा कार्यरत रहेर कलम चलाउनेमा दिनेश ‘मण्डु’ आचार्य, माईनस प्लस संग्रौला, प्रशान्त खरेल, दीपराज नेयोङ्गहाङ्ग, लक्ष्मण सापकोटा ‘विकल्प’, दीपकराज अधिकारी, खुशी परियार ‘निश्चल श्री’, कृष्ण बि. के., शालिकराम पन्थ ‘कान्छो’, विवश विप्र (माधव भट्टराई), अदिल सर्वर, दीपक खड्का, चन्द्रचेतूँ के.सी, आँशुतोष आँशु (रामप्रसाद प्रसाईं), कृष्ण प्यासी, निमेष गिरि, शिशिर परियार, समदर्शी काइँला, बलदेव भट्ट ‘बिहानी’, पी. एस. लिम्बु ‘निश्चल’, जितेन्द्र मल्ल, गिरिधारी रिजाल, लिलबहादुर गुरूङ्ग, मानकाजी लामा, निशान लिम्बु, चञ्चला घिमिरे, दलबीरसिंह बराइली ‘घायल’, अर्जुन दहाल, उमेश राई ‘घायल’, विद्रोही साइँला, फणिन्द्र दहाल, द कैलास राई, टेक थजाली, कपिल खड्का आदि पर्छन्।

यहाँका सर्जकहरू पनि समस्याबाट मुक्त छैनन्। प्रबासमा छाप्न नसक्नु, अर्थ ब्यवस्थापन तथा परिचालन गर्न नसक्नु, समयको अभाव, प्राविधिक ज्ञानमा पिछडा हुनु, सही सल्लाह सुझावको अभाव, अध्ययन र सिर्जनात्मक वातावरण कम हुनु, खराब साथसँगतमा लागेर समय दुरूपयोग हुनु आदि यस स्थानमा साहित्य सिर्जनमा अवरोध गर्ने कुराहरू हुन्।

यस भूमिमा सिर्जना गरिने महत्वपूर्ण विधा गजल भएको छ। कविता, कथा, मुक्तक, यात्रा सँस्करण र नियात्रा पनि लेखिँदैछन्। कविता विधामा कलम चलाउने स्रष्टाहरू पनि प्रशस्त हुनुहुन्छ।

परदेशमा भासिएपछि घरदेशको याद, सम्झना, स्वजनको माया, ममता, गामठामप्रतिको न्यास्रो, सम्झाउने, लोलाउने, टोलाउनेजस्ता विषयहरू समेटिइएका हुन्छन्, सर्जकहरूका लेखकीय विधाहरूमा। सङ्ग्रहभन्दा पनि फुट्कर सिर्जना गरेर यस समयमा प्रचलित विद्धुतीय सामाजिक सञ्जाल फेसबुकमा प्रकाशित गर्ने खुँखार स्रष्टाहरू पनि बर्गेल्ती नि छन्। परदेशिनुको पीडा, साहुजीहरूको अमानवीय ब्याबहार, समसामयिक राजनैतिक वितृष्णाप्रति प्रहार, जीवन भोगाइ र अस्तित्वमाथिका असहज पक्षहरू श्रमशिविरका सर्जकहरू बोल्छन्। भूगोल, समाज, सँस्कार अनि बुझाइका अमिल्दा समानान्तर र अन्तरविरोधी पक्षहरू पनि साहित्य सिर्जनका विषय बनेकाछन्। डायस्पोरिक साहित्यको विशेषता भन्नु नि ठिमाहा चेतना प्रवाह हो। डबल कन्सस्नेस् महशुस हुन्छ। होम कल्चर र होस्ट कल्चरबीचमा पनि पहिचानका रेखाहरू कहिले गाढा र कहिले धमिला हुन्छन्।

श्रमशिविरको साहित्यमा श्रमशिविरकै सहायक उत्पादनमा हेरिनु पर्छ। रेमिट्यान्स भित्रिँदा मख्ख पर्ने हाम्रा स्वजनहरू र राज्य सञ्चालनका ठेका लिएकाहरूले पनि परदेशका सिर्जनाहरू हेरून्, पढून् अनि महशुस गरून् पसिनाको रङ्ग कस्तो हुन्छ भनेर।

रामप्रसाद प्रसाईं
कालीखोला -२(तेम्बोक), ताप्लेजुङ्ग, नेपाल
(अबुधाबी श्रमशिबिरबाट)

Leave a Reply

Your email address will not be published.