नक्खु जेलमा थुनिने म पहिलो राजबन्दी हुँ – श्यामप्रसाद

shyam_prasad_792(श्यामप्रसाद नेपाली साहित्य सिर्जनामा झण्डै छ दसकदेखि सक्रिय रहनुहुने वरिष्ठ सर्जकको नाम हो । प्रगतिवादी जीवनदृष्टिप्रति समर्पित श्यामप्रसाद २००९ सालमा स्थापित प्रगतिशील लेखक सङ्घका संस्थापक हुनुहुन्छ । राणाशासन बिरोधी आदोलनमा लागेबापत पटकपटक पक्राउ परी जेल जीवन बिताउनुभएका श्याम प्रसादले नक्खु जेलमै खरीले सिलोटमा लेखेर गुनासो नामको दैनिक सिलोट पत्रिका निकाल्नुभएको थियो । २०२१ सालदेखि २०४६ सालसम्म गुप्तवासमा रही पञ्चायती निर ङ्कुशता विरोधी राजनीतिमा सरिक श्यामप्रसादको कलम गुप्तवासकै अवस्थामा विभिन्न नामले पनि क्रियाशील थियो । विचारप्रधान निबन्ध र डायरीलेखकको रूपमा सुपरिचित श्यामप्रसादसँग नेपाल एफएममा विगत चार वर्षदेखि प्रशारण हुँदै आएको कार्यक्रम साहित्यसुधाका निम्ति नरनाथ लुइँटेलले अन्तर्वार्ता लिनुभएको छ । उहाँको आरम्भकालीन जीवनयात्रा र लेखनयात्रामा आधारित यो कुराकानी साहित्यसुधामा प्रशारण भइसकेको छ । त्यही सान्दर्भिक वार्तालाई यहाँ प्रस्तुत गर्ने जमर्को गरिएको छ । सं.)

 सोलिथुम भन्ने ठाउँमा जन्मनु भएको हो । सम्झन सकेसम्मको आफ्नो बाल्यकालका बारेमा बताइदिनुहोस् न । 

मलाई मेरो बाल्यकालको बारेमा त्यति सम्झना छैन । तर म सानो हुँदा हाम्रो घर लेकको पाखो बारीमा अलि माथि थियो । निकै तल चैँ बेँशी थियो । म घरबाट बेँशीतिर पनि गइरहन्थेँ । अलिअलि सम्झना छबेँशीमा हाम्रो खेत थियो । त्यहाँ परालको कुन्युँ पनि थियो । बेँसी खेत मल्नका निम्ति हिउँदमा गाई पनि तल झारिन्थ्यो । गोठहरू पनि हुन्थे । हामी गोठमा पनि बस्थ्यौँ । अनि त्यहाँका मानिसहरूसित, किसानहरूसित कुरा गरेको मलाई थोरैतिन सम्झना छ । म बेँशी गएको दिन दिनभरि नै त्यतैका बालसाथीहरूसँग खेलेर साँझतिर फेरि डाँडामाथिको आफ्नो बासमा आउँथेँ ।  

तपाइँ सानै हुँदा मात्रृस्नेह र पितृस्नेहबाट वञ्चित हुनुभएको कुरा धेरैलाई थाहा छ । माता–पिता बितेको क्षणको कुनै सम्झना–सन्दर्भ भए सुनाइदिनोस् न ।  

मेरा दुईजना आमाहरू हुनुहुन्थ्योएकजना मलाई जन्मदिने आमा, अर्की चाहिँ मलाइ हुर्काउने आमा । उहाँहरू दुबैजना सहोदर दिदीबहिनी हुनुहुन्थ्यो । ठूली चाहिँ आमाले आफूबाट सन्तान नभएपछि आफ्नै बहिनी आफ्नो श्रीमानलाई बिहा गराइदिनु भएकोरहेछ । अनि मलाई जन्म दिने आमा चाहिँ म पाँच बर्षको बच्चा छँदै बित्नुभयो । आमा बितेको बेला म रुँला कराउँला, यसले थाहा पाउला भनेर मलाई त्यही टोलकै अरूको घरमा लगेर अल्मल्याएछन् । मलाई उहाँ बित्नुभएको कुनै पत्तो नै भएन । चालै पाइन । एक दुई  दिन नै भने जस्तो म त्यतै बसेछु । ठूली आमाचाहिँ पछिसम्मनै, म तन्नेरी भएर घरबार गरुन्जेलसम्म पनि जीवितै हुनुहुन्थ्यो । बुवा भने म १२, १३ वर्षको छँदा बित्नु भएको हो ।  

यसको अर्थ जन्म दिने आमा बित्नुभए पनि अर्की आमाले काख दिनु भएकाले सामान्यतया आमाको अभाव वा मात्रृस्नेहबाट तपाइँको बालमनोविज्ञानले आमा नभएको टुहुरोपन अनुभव गर्न भ्याएन ?  

पटक्कै परेन मलाई । अर्की आमाले पनि मलाई असाध्यै माया गरी हुर्काउनुभयो । आफ्नी बहिनीको छोरालाई आफ्नै छोरो जस्तो गर्नुभयो । मैले बालखकालदेखिनै उहाँको धेरै राम्रो माया पाएँ र उहाँको बारेमा मेरी आमाको सम्झनामा भनेर किताबनै लेखेको छु एउटा । 

तपाइँका अरू दाजुभाइ तथा दिदीबहिनी कोही पनि हुनुहुन्न ? 

मेरी एउटी बहिनी थिइन् रे । उनी जन्मेको एक डेढ महिनामा बितिछन् । त्यसपछि मेरो अरु कोही पनि छैन, म एक्लो ।  

मकवानपुरको सोलिथुमबाट बाल्यकालमै हो तपाइँ वीरगञ्जतर्फ झर्नुभएको ?

हो, म वीरगञ्ज झरेको त्यही पाँच वर्षको उमेरमा हो । 

के बुबाको साथ लागेर जानुभएको हो ? 

अँ बुबासितै गएको । 

बुबा के गर्नुहुन्थ्यो र त्यतिखेर ? 

वीरगञ्जमा मुरलीदरवारनेर राणा बहादुर शमशेरको जग्गाजमिन थियो । बहादुर शमशेरको दरबारमा मेरा बुवा सुवेदार हुनुहुन्थ्यो । आफ्नो जग्गाजमीनको रेखेदेख गर्नेगरी मेरा बुबालाई वीरगञ्ज पठाइएछ । उहाँ उता लाग्नुभपछि मलाई पनि उतै लानुभएको हो । म बुवासँगै वीरगञ्ज गएको हुँ ।  

तपाइँले स्कुल पढ्ने काम वीरगञ्जमै गर्नुभयो ? 

दुईतिरै भयोवीरगञ्जमा र काठमाडौँमा । चावहिलमा मेरो मामाघर थियोचुच्चेपाटी भन्ने ठाउँमा । म त्यहाँ मामाघरमा पनि बस्थेँ । मामाघरमा बसेको बेलामा दरवार हाइस्कुलमा पनि भर्ना भएर ४, ५ कक्षा पढेको हुँ । अनि त्यसपछि बुवा वीरगञ्ज सरुवा भएपछि वीरगञ्ज गएको बेलामा त्यतै भर्ना भएर पढेँ । पछि त म गर्मी महिनामा गर्मी छल्न मात्रै विदाको समयमा यता आउने गर्थें ।  

नेपाली साहित्यका केही यस्ता श्रष्टाहरू हुनुहुन्छ जो औपचारिक ढङ्गले विद्यालय, महाविद्यालयमा पढ्नुभएन । तपाइँको पनि माथिल्लो तहसम्म औपचारिक शिक्षा लिने स्थिति के सिर्जनानै नभएको हो ?  

स्थिति अलि त्यस्तै पनि भएको हो । स्कुल पढ्दै गर्दादेखिनै म राजनीतिक काममा पनि सानैदेखि संलग्न थिएँ । अनि वीरगञ्जतिरै रहेको बेला, राणाकालमा राणाविरोधी सत्याग्रहको पहिलो डप्फामा म पनि परेको थिएँ । त्यो पहिलो डप्फाले पर्सा, बारा र रौतहट गरी तीनवटा जिल्लामा सत्याग्रह गर्नुपर्ने थियो । त्यसो भएको हुनाले म त्यो सत्याग्रहमा सहभागी भएँ । सत्याग्रह सिद्धिएपछि स्कुलमा जाँदा त मसमेत केही साथीहरूको नामै कटाइसकेको रहेछ । हामीले पढेको स्कुलमा हेडसर चाहिँ मदनमणि दीक्षित हुनुहुन्थ्यो । अनि हामी फेरि भर्ना हुन खोज्दा उहाँले लौ माफी माग, माफी मागेर एउटा विन्तिपत्र लेख, म भर्ना गरिदिन्छु भन्नुभो । त्यो बेलाका मेरा साथीहरूमा ध.च. गोतामे पनि हुनुहुन्थ्यो । केही साथीहरूले माफीको विन्तिपत्र लेखी भर्ना भए । तर गोतामे र मैले चाहिँ माफी मागेनौँ र भर्ना पनि हुन पाएनौँ । बरू त्यसको सट्टा हामीले भारतको मेट्रिकुलेसन भन्ने परीक्षा दियौँ भारतमै गएर । गोतामे पास हुनुभयो म चाहिँ मेट्रिकुलेसनमा फेल भएँ । उहाँले पढाइ पनि जारी राख्नुभो । मैले भने पढाइ जारी राख्न सकिन ।  

विद्यालय पढ्ने वा फेरि जाँच दिने प्रयाश गर्नुभएन त ? 

बुवा बितिसक्नुभएको थियो । आर्थिक अवस्था पनि एकदमै कमजोर थियो । आफ्नो र आमाको जीविका चलाउन म आफैँ काममा खट्नुपर्ने स्थिति आयो । त्यसपछि फेरि जाँच दिने वा विद्यालय पढ्ने कोशिस गरिन । मैले सानोतिनो पुस्तक पसल थापेँ अनि आफ्नै पसलमा भएका साहित्यका किताबहरू, राजनीतिका किताबहरू पढ्दै चित्त बुझाउन थालेँ । बिस्तारै अध्ययनशील बानी बस्यो । स्कुल क्याम्पस गएर पढ्न पाइन भन्ने मलाई पिर लाग्न छाड्यो ।  

जीवनवृत्तिको क्रममा पुस्तक पसल चलाउनुभा थ्यो र त्यहीँ पुस्तकहरूसँग  खेल्ने, पुस्तकहरूकै वरिपरि रहने क्रममा पढ्ने लत पनि बस्यो भन्नुभयो । साहित्यिक लेखनको आरम्भ चाहिँ कहिलेदेखि गर्नुभयो त ? 

लेखनको आरम्भ पनि प्राय किशोरावस्थादेखिनै सुरु भएको हो । म आठ बर्षको हुँदा बुवाले मेरो ब्रतबन्ध गरिदिनुभएको थियो । ब्रतबन्धका मेरा गायत्री गुरुचैँ मेरा मामाका ससुरा हुनुहुन्थ्यो । उहाँ लेखक हुनुहुन्थ्यो कृष्णचन्द्र अर्याल । उहाँ गोरखापत्रमा सबैभन्दा धेरै वर्ष जागिर खाएको मान्छे हो । अनि उहाँका अनेक किसिमका किताबहरू पनि प्रकाशित छन् । साथसाथै कृष्णलाल अधिकारी जस्ताहरूको उहाँहरूको एउटा गुप्त डप्फा थियो । उहाँहरू राजनैतिक कामहरू पनि गर्नुहुन्थ्यो । त्यो सबै कुरा मलाई बताउनुहुन्थ्यो । हेर बाबु हामीले होस गर्नुपर्छ, कुरा बाहिर लैजानुहुन्न भन्नुहुन्थ्यो । जो पायो उहीसित हामीले बुझेको कुुरा खोल्नु हुँदैन भनेर पनि सिकाउनुहुन्थ्यो ।  

ए, त्यसो भए त तपाइँको गायत्री गुरु नै राजनीतिक गुरु पनि हुनुहुँदो रहेछ हो ? 

हो, मेरो मनमा राजनीतिको बीउ सार्ने उहाँ नै हो भन्दा फरक पर्दैन । अनिआरम्भमा लेख्ने प्रेरणा पनि उहाँबाटै मिलेको हो । उहाँलाई हामी गुरुबा भन्थ्यौँ । उहाँबाट बयान सुनेर, उहाँका किताबहरू पढेर आफूलाई पनि लेख्ने विचार आयो । उता फेरि वीरगञ्जको स्कुलमा पढेको बेलामा वकुटधारीलालदास भन्ने पनि गुरु हुनुहुन्थ्यो । उहाँले र अरू गुरुहरूले पनि ल यस्तो लेखेर लिएर आऊ भन्नुहुन्थ्यो । केही लेखेर लगेर देखायो भने त्यहाँ उहाँले चाहिँ हामीलाई पेन्सिल कापी उपहार दिने गर्नुहुन्थ्यो । अनि एकजना भक्तपुरका गुरु हुनुहुन्थ्यो धौभडेल थरका । उहाँ पनि वीरगञ्जकै स्कुलमा पढाउनुहुन्थ्यो । यसरी उहाँहरूले कहिलेकाहीँ विषय दिने, कहिले विषयनै नदिई भोलि आउँदाखेरि एउटा निबन्ध लेखेर लिएर आऊ भन्ने गर्नुहुन्थ्यो । धौभडेल सरले एकदिन त्यसै भन्नुभयो । मैले पनि के विषयमा लेखेर ल्याउनु सर भनेर सोद्धा के विषय चाहिन्छ ? जे विषय भए पनि हुन्छ, हेर न अहिले ऊ झ्यालबाट घाम पसिरहेछ । मेरो कक्षा कोठामा पसेको घाम । लौ यही विषयमा लेखेर ल्याउ न त भन्नुभो । अनि भोलिपल्ट स्कुल जाँदा मैले त्यही विषयमै लेखेर लगेर देखाएँ । अनि त उहाँले त्यो साह्रै राम्रो मान्नुभयो । ओहो यस्तो राम्रो निवन्ध तिमीले लेख्न सक्यौ हैन भनेर धेरै प्रोत्साहन दिनुभो । जल्ले गर्दा पछि फेरि म यता निबन्धमा पनि नाउँ चल्ने निबन्धकारको रूपमा देखा परेको हुँ । सानै बेलादेखिनै निबन्ध लेख्ने पनि बानी प¥यो । 

तपाइँको पहिलो प्रकाशित रचना कविता हो कि निबन्ध हो ? यो कहिले केमा निस्कियो ?

मोटामोटी रूपमा चाहिँ त २००१ सालमै हो कि जस्तो लाग्छ । त्यसमा मिति लेखिएको रहेनछ । पुस्तिकाको नाउँचैँ गाउँको सफाइ भन्ने हो । मैले एउटा भारतीय किताब पढेको थिएँहिन्दी भाषामा लेखिएको सफाइ भन्ने । त्यस पुस्तकमा गाउँ कसरी सफा राख्नुपर्छ, शहरलाई कसरी सफा गर्नुपर्छ, फोहोर भए कस्तो हानी हुन्छ, सफाइबाट के के फाइदा छ भनेर बयान गरिएको थियो । मैले त्यही पुस्तक पढेको आधारमा गाउँको सफाइ भन्ने पुस्तिका लेखेको थिएँ । अनि त्यो पुस्तिका त्यो बेलामा अहिलेको साझा प्रकाशन भने जस्तै नेपाली भाषा प्रकाशिनी समिति भन्ने थियो र त्यसलाई पास गराएर मात्र छाप्न पाइन्थ्यो राणाकालमा । मैले पनि त्यसमा पास गराएर छापेँजोरगणेश प्रेसबाट । प्रेसको नाउँ छ, त्यसमा मिति चाहिँ छैन । त्यसो हुँदा अन्दाजले चाहिँ त्यो २००१ सालतिर छापिएको हो कि जस्तो मलाइ लाग्छ ।  

त्यसो भए तपाइँको पहिलो प्रकाशित कृतिनै पो हो ? त्यसभन्दा अगाडि लेखेका कविता या निबन्धहरू प्रकाशित हुनुभन्दा पहिले नै त्यो प्रकाशन भएको हो त ? 

गद्यतर्फ त्यही पहिलो हो । पद्यतर्फ चाहिँ २००२ सालमा वनारसको उदयभन्ने मासिक पत्रिकामा सन्देश भन्ने एउटा कविता छापिएको छ ।   

२००१ सालदेखि तपाइँका रचना–सिर्जना प्रकाशित हुँदै आएका छन् । तपाइँ आफैँ छाप्ने छपाउनेतर्फ पनि लाग्नु भो । ‘स्वास्नी मान्छे’, ‘साहित्य’ र ‘सेवा’ जस्ता पत्रिका प्रकाशन गर्नुभएको छ । रमेश विकलको पहिलो प्रकाशित कथा ‘सेवा’ मै प्रकाशित भएको हो भनी विकल स्वयम्ले एउटा अन्तर्वार्तामा बताउनुभएको थियो । यसरी वीरगञ्जबाट पहिलो साहित्यिक पत्रिका निकाल्ने साहित्यिक पत्रकारको रूपमा पनि तपाइँ सम्मानित हुनुहुन्छ । यो छाप्ने छपाउने कुराचैँ कसरी सोच्नुभो तपाइले ? 

यो छाप्ने छपाउने कामको कुरो सोध्नुभयो । म राणाकालमै जेलमा पनि परेको थिएँ । वीरगञ्ज जेलमा बसेको बेलामा त्यहाँ युद्धप्रसाद मिश्र पनि थुनिनुभएको थियो । अनि उहाँले बाहिर गएपछि हामीले चुप लागेर बस्नुहुन्न, हाम्रा विचार प्रत्यक्ष परोक्ष कुन रूपबाट सकिन्छफैलाउनुपर्छ भनेर बताइरहनुहुन्थ्यो । यस्तो काम गर्न पत्रिका झिक्यो भने सजिलो हुन्छ भनी सल्लाहा दिनुभएको थियो । यो कुरा मेरो मनमा गढिरहेको थियो । केही पछि गएर मैले त्यसै गरेको हुँ । सेवा सदन भन्ने मेरो संस्थाको नाउँ थियो, प्रकाशन संस्थाको नाउँ । त्यै भएर सेवा भन्ने पत्रिका झिकेँ र त्यो चाहिँ संयोगबश मोफसलकै पहिलो पत्रिका हुन पुगेछ । त्यो बखतमा वीरगञ्जमा छापाखाना थिएन । म वनारसमा गएर छपाएर ल्याउँथेँ ।  

निकै पछिसम्म पनि निस्किएको थियो त्यो ?  

त्यो चाहिँ धेरै निस्कन सकेन । ४, ५ अङ्क मात्रै निस्कियो । अनि साहित्य स्वास्नीमान्छे पत्रिकाचाहिँ काठमाडौँबाट चलाएको हो । त्यो भने अलिक बर्ष चल्यो । 

वीरगञ्ज जेलको प्रसङ्ग ल्याउनुभो तपाइँले । यता काठमाडौँमै पनि नख्खु जेलमा समेत तपाइँ थुनिनुभएको थियो । वीरगञ्जको भन्दा अगाडिको कुरो हो क्यारे । नखुमा त त्यो बेला गोपालप्रसाद रिमाल पनि थुनिनुभएको थियो । तपाइँ सँगै हुनुहुन्थ्यो ? यो जेल बसाइका बारेमा केही बताइदिनुस्न ।  

नख्खुजेल पहिले आवाद गर्ने राजबन्दीहरूमा पर्थें म पनि । गोपालप्रसाद रिमाल, कृष्णप्रसाद भट्टराईका दाजु गोपालप्रसाद भट्टराई पनि त्यहीँ हुनुहुन्थ्यो । एकजना भक्तपुरका लोकेश, अर्का चेताराम भन्ने पनि हुनुहुन्थ्यो  । हामी चारजनालाई चाहिँ एउटै गाडीमा राखेर त्यहाँ लगेका थिए पहिलो पटक । त्यस अघि त्यहाँ कुनै राजबन्दीलाई लगिएको थिएन । म राणाकालमै तीन चोटि जेल परेको छु । तीनतीन चोटि त्यो पनि बेग्लाबेग्लै जेलमा । त्यसैले मैले धेरैतिरका जेलको अनुभव गर्न पाएँ । कहिले वीरगञ्जको जेल, कहिले सदरठानाको, कहिले सिंहदरबार गारत, सिंहदरबारमा त फेरी कैले सिंहदरवारको घण्टा ठोक्ने ठाउँमा । यसरी जेलबसाइकै क्रममा त्यो बेलाका विभिन्न राजनीतिज्ञहरूसित सङ्गत र सम्पर्क हुन पायो । प्रजा परिषदका नेताहरू टङ्कप्रसाद आचार्य, रामहरि शर्मा, नेपालको पहिलो राजनैतिक दल प्रचण्डगोर्खाका खड्गमानसिंह बस्नेत यस्ता सबैसित सङ्गत भयो । उहाँहरू जेलभित्रको पनि जेलत्यसलाई कालकोठरी भनिन्थ्योमा बस्नुहुन्थ्यो । अनि हामीलाई उहाँहरूसित बोल्न कुराकानी गर्न दिइँदैनथ्यो । हामी चाहिँ शान (इशारा) लगाएर आपसमा कुराकानी गथ्र्यौं । लुकाएर सङ्केतबाटै चिठीपत्र ओहोरदोहोर गथ्र्यौं । त्यसमध्ये मैले टङ्कप्रसादका चिठी त आएका केही चिठीभन्ने मेरो चिठीसङ्ग्रहको किताबमा पनि पारेको छु ।  

कस्ताकस्ता सङ्केत गर्नुहुन्थ्यो त्यो बेला ?

 हामीले सङ्केतबाट कुरा गर्नेमा कपाल कन्यायो भने के छ हालचाल भन्या हुन्थ्यो । जुँगा मुसा¥यो भने हालचाल राम्रो छ भन्ने बुझिन्थ्यो । छातिमा हात राख्यो भने नमस्ते गरेको हुन्थ्यो । यस्तै खालका सङ्केतहरू गरेर हामी आपसमा कुराकानी गथ्र्यौँ । 

जेलमा रहँदाको तपाइँको दिनचर्या वा दैनिकी कस्तो थियो ? सम्झना गरौँ न अलिकति ।  

दिनचर्या प्राय मेरो नियमित रुपमा सारै सजिलोसँग बित्यो । पछि बाहिर आउँदा त्यो दिनचर्या नमिल्दाखेरि मलाइ निकै अपठ्यारो प¥यो । त्यहाँ चाहिँ यति बजे यसो गर्ने, यति बजे यसो गर्ने भन्नेनियम बनेको थियो । जस्तो नख्खुजेलको कुरा गरौँ न । त्यहाँ विभिन्न किसिमका सङ्गठनहरू चलाइराख्या थिएँ मैले । प्रगतिशील तरुण समाज, जनसाहित्य मण्डल आदि । प्रगतिशील तरुण समाजमा चाहिँ राजनैतिक पक्षका कुराहरू पनि गरिन्थ्यो । जनसाहित्य मण्डलमा भने साहित्यतर्फका कुराहरू गरिन्थ्यो । हप्ता हप्तामा त्यसको मिटिङ हुन्थ्यो । गोपालप्रसाद रिमाल पनि त्यसैमा हुनुहुन्थ्यो । धर्मरत्न यमी पनि त्यही जेलमा पर्नुभो, उहाँ पनि हुनुहुन्थ्यो । यसरी मिटिङ गर्ने, छलफल गर्ने गरेर हामीले समयको सदुपयोग गथ्र्यौं ।

जेलभित्र लेखपढ गर्न दिइन्थ्यो त ? 

जेलमा कागजपत्र, कलम मसि केही लैजान दिइन्नथ्यो । त्यसो भएको हुनाले कुन बखतमा कुन ठाउँमा के पाइन्छ त्यसैमा हामी भर पथ्यौँ । मैले एक पटक जेलका हाकिमसँग सिलोट खरी ल्याउन पाइन्छ कि भनेर सोधेँ । उनको अनुमति पाएपछि सिलोट आयो । अनि सिलोट र खरीले लेखेर नखु जेलमा एउटा गुनासो भन्ने दैनिक पत्रिकानै चलाएको थिएँ । त्यो सिलोटमा पत्रिका झिक्यो राम्रो अक्षरले अनि त्यसलाई राजबन्दी बसेको हरेक कोठामा १ नं., २ नं., ३ नं. गरेर डुलायो । सबैले पढिसकेपछि पुछयो । अनि त्यो दिनको सिद्धिन्छ । भोलिपल्ट फेरि अरूअरू कुरा लेखेर तयार ग¥यो । यसरी चलेको थियो सिलोट पत्रिका ।  

के कस्ता कुरा हुन्थे त सिलोटपत्रमा ?

 केही समाचार सुनेको छ भने समाचार पनि हुन्थ्यो । लेख पनि हुन्थे तर एकदम छोटा । सम्पादकीय पनि । यस्ता सबै जे जे भेटाइन्छ त्यो त्यो हालिन्थ्यो । वास्तवमा नेपालको पत्रकारिताको इतिहास हे¥यो भने जेलबाट निस्केको पहिलो दैनिक त्यही गुनासो भन्ने स्लेट पत्रिका हो ।  

कति अङ्क जति निस्कियो त्यो स्लेट पत्रिका ? 

निस्कियो निकै दिन । जेलबाट म नछुटुन्जेल निरन्तर साथीहरूका रचना खरीले लेखेकै भरमा राम्रोसँग निस्किरह्यो । 

सिलोटमा खरिले लेख्ने काम चाहिँ तपाइँ आफै गर्नुहुन्थ्यो कि अरु पनि कोही सहयोगी थिए ? 

म आफैँ गर्थे । अनि मबाटै प्रेरणा लिएर त्यहाँ एकजनाले त्यसैगरी अङ्ग्रेजीमा झिक्नुभो– ‘नेपाल कलिङ् भनेर । फेरि अर्का धर्मरत्न यमिले नेपालभाषामा झिक्नुभो पासा भनेर यसरी अरु साथीहरूले पनि झिक्नुभो ।

सिंहदरवार गारतमा थुनिएका बेलाचाहिँ के गर्नुभयो ? 

सिंहदरबार गारतमा थुनिएका बेलामा चाहिँ के जुक्तिले कागज ल्याउँने हो भनेर मैले निकै सोचेँ । त्यहाँ हामीलाई खान भनेर सिदा दिने गरेको थियो । मैले चाहिँ सिधा लिइन । मलाई थुनेको ढोकामा एकजना पाले बस्थे । म कोठामा एक्लै थिएँ । त्यहाँ बडा गाह्रो थियो । होचो खालको टिनको छाना थियो । जाडो महिनामा शीत तप्किने र वर्षातमा छानाबाट कोठाभरी पानी चुहिने गथ्र्यो । ओढ््रने ओडेको छ भने पानी चुहिएर ओढ््रने माथि खस्थ्यो । गर्मी महिनामा टिन तातेर बस्नै नसकिने । गर्मीले टाउको दुख्ने । फेरि घण्ट ठोक्ने कोठा थियो त्यो अनि एकएक घण्टामा एक एकचोटि घण्ट ट्याङ् ट्याङ् गर्छ । ११ बजे ११ चोटी, १२ बजे १२ चोटी कुनबेला निदाउनु र ? न दिउँसो निदाउन पाइयो न राति निदाउन पाइयो । 

त्यस्तो ठाउँमा लेख्ने कागज चाहिँ कसरी लैजानुभयो ?

 त्यस्तो दुःख दिया ठाउँमा थुनिएको थिएँ । खानका निम्ति बिहान सिदा ल्याएर दिन्थे । अनि मैले चाहिँ त्यो सिदा नलिएर त्यसै त्यहीँ राखिदिएँ । सिदा नलिएको देखेर पालेले जाहेरी ग¥योत्यो मान्छेले त सिदा राख्द्या राख्द्यै छ, केही चलाएको हैन, खाएकै हैन, हिजो देखिन् भनेर । अनि हाकिम आएरए के अनसन बस्या हो भने । कहाँ अनसन बस्नु, कस्तो भोक लागिरहेछ भनेर मैले भनेँ । उनलेलु हेर, किन नखाको त भनेर सोधे । मैले सधैँ गीता पाठ गरेर खाने ग¥या थिएँ, अहिले किताबै ल्याउन दिएनन् अनिखेरी कसरी खानु त भनेँ । ल, पाठ गर्ने गीताको किताब ल्याउन दिनु यल्लाई भनेर हाकिम फर्किए । अनि मेरो पालो चहिँ मामा घरबाट गीताको ठूलो किताब ल्याउलान् र अप्ठ्यारो होला, कहिले कुन जेल कहिले कुन जेल पठाउलान् भनेर सानो सानो गीता खल्तिमा हालेर हिंड्न हुने खालको मगाएँ । अनि त्यही गीताको किताबमा दुईटा हरफको बीचमा भएको खाली ठाउँमा सिसाकलमको टुक्राले लेख्न थालेँ । आफूलाई लेख्न मन लागेका कुराहरू लेख्यो फेरि २÷४ पाना पल्टायो अनि फेरि त्यहाँ लेख्यो, ÷४ पाना खाली राख्यो अनि फेरि लेख्यो । मलाई पल्टनको ब्यारेकमा लगेको बेलामा पनि उनीहरूले मैले लेखेको चाल पाउँदैनथे ।

तपाइँले त्यसमा लेखेको पत्तै पाएनन् ?

 पाठ ग¥याजस्तो पनि लाग्थ्यो उनीहरूलाई । उनीहरू नजिक आएको बेलामा म अर्कै पेज पल्टाउँथेँत्यो अक्षर नभएको पेज अथवा आफूले नलेखेको पेज । अनि उनीहरू गएपछि अर्को पेज पल्टाउँथे र आफूले लेख्नु पर्ने कुरा लेख्थेँ । अनि कलम चाहिँ सिसाकलमको सानो टुक्रा झिकेर काठ चाहिँ फालिदिन्थेँ । सिसाकलम भित्रको त्यो कालो मात्रै हो, त्यही टुक्रा खल्तिमा हालेर हिँड्थँे । अनि एक ठाउँबाट अर्को ठाउँमा सरुवा गर्दा मेरो सबै जीउ छाम्थे । त्यसो हुँदा पनि उनीहरूले त्यो फेला पार्न सकेनन् । 

सिसाकलमको टुक्राले गीताको किताबमा त्यसरी लेख्नुभएका रचनाहरू कुन कुन हुन् ? अथवा जेल बसाइकै अवधिमा लेखिएका र पछि प्रकाशित भएका रचना बारेमा उल्लेख गरिदिनुहोस् न । 

त्यसरी लेखेर जोगिन सकेका एउटा दुईटा चाहिँ प्रकाशित पनि भएका छन् । एउटा त म साम्यवादी होइन भन्ने लेख हो । त्यस लेखमा नक्कली साम्यवादीलाई साम्यवादी कस्तो हुनुपर्छ भनेर देखाएको छु । अर्को एउटामा चाहिँ साम्यवाद के हो भनेर प्रष्टयाएको थिएँ ।

यसरी लेख्न थालेको स्रष्टा तपाइँ यो बयोबृद्ध उमेरमा पुगिसक्नुभएको छ । अहिले समय कसरी बिताउँदै हुनुहुन्छ ?

अहिले म ८२ वर्षको उमेरमा हिँडिरहेको छु । अब पहिले जस्तो सक्रिय भएर त लाग्न पनि सकिन्न । तर निस्क्रिय नै त बसेको छैन नि । फाट्टफुट्ट भए पनि लेख्ने गरिराखेको छु । पढ्ने काम पनि गरिरहेकै छु । अब जस्तै भनौँअहिले मेरा पुराना साथी कृष्णचन्द्रसिंह प्रधान बित्नुभो । उहाँकै विषयमा एउटा लेख लेखेर भानु पत्रिकामा दिएँ । भानुको कृष्णचन्द्र विशेष भन्ने अङ्कमा त्यो निस्किएको छ– ‘साथी कृष्णचन्द्रसिंह भनेर । उहाँसितको सम्बन्ध कहिलेदेखि, कस्तो रह्यो, के रह्यो भनेर अन्तिम बेलासम्मका सबै कुरा त्यसमा पारेको छु । त्यसैगरी अवस्था हेरिहेरिकन केही न केही लेख्दै पनि छु ।  नयाँ धेरै लेख्न नसकेको हुनाले पुराना आफ्ना रचनाहरू कहाँ कहाँ छन् विभिन्न पुराना पत्रपत्रिकाहरूमा छरिएर रहेका तिनीहरूलाई बटुल्ने काम पनि गर्दैछु । आफैँ धेरै खोजी गर्न पनि सकिन्न । साथीहरूको सहयोग लिन्छु । मेरो विषयमा विद्यावारिधि गर्ने धर्मराज अधिकारीलाई लौन, मलाई फलाना फलाना लेख चाहिएको छ खोजिदिनु प¥यो, यहाँको सहयोग चाहियो भनेर भन्ने गरेको छु । उहाँले पनि सकेसम्म मैले खोजेका सामग्री फेला पारेर ल्याउनुहुन्छ । यसै गरी पुराना रचना बटुलेर सङ्ग्रह निकाल्ने पनि गर्दैछु । दिनचर्या यसरी नै बितिरहेको छ । 

4 Comments

  1. अन्तरवार्ता पढ्दा यति धेरै यथार्थमा म कहिले पुगेको थिइन। सीधै वक्तासंग भलाकुसारी गरे झैं लाग्यो। अन्तरवार्ताकारप्रति धन्य रहनु पाठकीय मामिला त भइहाल्यो।

  2. एउटा सिङ्गो इतिहास पढियो, धेरै लाइ यस अन्तर्वार्ता प्रश्तुति ले प्रेरणा दिने छ! जीवनको वास्तविकता तिर हिड्ने प्रेरणा प्रदान गर्ने छ! धन्यबाद प्रशान्त जी!

  3. Interesting and inspiring interview !

  4. जीवन संघर्ष र सत्यताको पथमा हिड्न/हिडाउन प्रेरित गर्ने प्रेरणादायी एतिहासिक दस्ताबेज यो अन्तर्वार्ता ~~सुन्दर मौकाको लागि प्रशान्त दाजुप्रती बिशेष आभारी छु |

Leave a Reply

Your email address will not be published.