लोकतन्त्र, लोकनायक र लोकमानहरू

– नरनाथ लुइँटेल

अभूतपूर्व गतिमा लोकतन्त्र चलायमान भैरहेको छ । लोकका पालकहरू लोकतन्त्र सुदृढीकरणमा निर्लिप्त छन् । आपसमा बेजोडको सहकार्य र सहमति कायम भएको छ । लोकतन्त्रको जगेर्नाका निम्ति सबका सब अहोरात्र खटिरहेका छन् । यस्तो बेलामा निद्राहराम हुनु नाजायज हुँदै होइन । खलनायकी पारामा स्वयम नायकहरू लोकतन्त्रको रक्षाका निम्ति उपद्रोसँग जुटिरहेका छन् ।

 

आजकाल यो मुलुकमा दिनहुँ जसो ऐतिहासिक महत्वका कामहरू भएको देखेर साराका सारा जनता जनार्दन खुसी छन् । सरकारी अड्डाहरूमा घुस लिन र दिन मन लागे जति पाइन्छ– जसरी गैरसकारी स्कुल र कलेजहरूमा भर्ना फिस र ट्युसन फिसको सीमा छैन । सरकारले सीमा बन्धन राखिनै हाल्यो भने पनि त्यो त खालि देखाउनका निम्ति मात्रै हुुने गर्छ । कार्यान्वयन गर्नका लागि होइन भन्ने कुरा सबैलाई थाहा छ । पेट्रोलियम पदार्थ, ग्यास र मटितेलको मूल्य आयल निगमले जति बढाए पनि हुन्छ । सिँगाने विद्यार्थीहरू आन्दोलन गरेझैं गर्छन् । हप्ताको छ दिन लगातार कक्षामा पढिरहन कसलाई बोर लाग्दैन र । यस्ता आन्दोलनमा हाहा हुहु गर्ने अवसरले उनीहरूलाई माइण्ड फ्रेसको समुचित अवसर प्रदान गर्दछ । सडक पेटीमा थोत्रा टायर बालेर गरिएको साइसाइ सुइसुइले मन चङ्गा बनाई दिन्छ । बिस्तारै बिस्तारै बन्दहरू बाक्लिन थालेका छन् । यो पनि राम्रै कुरा हो । लोकतन्त्रमा महिनाको पन्ध्रबिस दिन पनि बन्दसन्दको व्यवस्था नभए के लोकतन्त्र ?

 

दलदलभित्रै पनि लोकतन्त्र राम्रोसँग मौलाएको छ । दलमा एउटा मात्रै शीर्ष नेता भए पो– हरेक दलमा दुईचार जना छँदैछन् । अनि त एउटा शीर्ष गयो एउटा बैठकमा र एउटा निर्णय गरेर आयो– बस अर्को शीर्षले तीन फिट माथि खुट्टा उचालेर त्यही निर्णयको विरोधमा वक्तव्य बम पड्कायो । अर्को दलको पनि ताल उही, अनि अर्को दलको पनि चाल उही । एउटा हिँड्न खोज्छ, अर्कोले टाङ अड्यायो, अनि त्यो अर्को दगुर्न खोज्छ अर्कोले छिर्के हान्यो । बस् लोकतन्त्रको यहाँ भन्दा उन्नत प्रयोग संसारको कुनै देश वा महादेशमा छैन ।

 

उहिले नै हाम्रा आदिकवि भानुभक्तले लेखेका थिए– ‘एक्दिन नारद सत्यलोक पुगिगया लोक्को गरूँ हित् भनी’ । लोकको हित गर्ने उपाय खोज्दै नारदजी सत्यलोक पुगेको तथ्य हो यो । आधुनिक नारदहरू लोकको हितगर्ने उपाय खोज्न र कार्यान्वयन गर्न समेत मत्र्यलोकमै सक्रिय छन् हिजोआज । प्राचीन तथा पौराणिक नारद ब्रह्मा–विष्णु महेश्वरको सेवामा सततः समर्पित थिए । उनीहरूको चाकरी र खातिरदारीमै जुटेका थिए । आधुनिक नारदका ब्रह्मा–विष्णु–महेश्वर भनेका वर्तमानकै लोकनायक र लोकमानहरू हुन्– उनीहरूकै सेवा चाकरी र खातिरदारीमा आफ््नो सम्पूर्ण बुद्धि–विवेक समर्पण गरिरहेका छन् वर्तमानका नारदहरू । यो पनि प्रशंसायोग्य प्रसङ्ग नै हो । आधुनिक नारदहरूको बुद्धि–विवेक समर्पण कार्यले हाम्रो लोकतन्त्रको जरामा पर्याप्त मल र जल खन्याइरहेको छ । अनि लोकतन्त्र मौलाउन बल पुगेको छैन त ?

 

हो, लोकतन्त्र मौलाइरहेको छ र लोकमानहरूको महत्व पनि चुलिँदै गएको छ । लोकलाई हिजो भुक्तमान दिनेहरू आज सक्कली लोकमानमा विराजमान हुन थालेका छन् । जसको त नामै लोकमान छ ऊ लोकको विरोधी कसरी हुन सक्छ ? उहिलेका कुरा खुइलिए अहिलेका कुरा फैलिए । पहिलेका लोकमानहरूलाई अहिले लोकहितमा समर्पित गराउने जुन कसरत भइरहेको छ– यो त साह्रै सराहनीय कार्य हो । लोकमानहरूले नबिस्ट्याएसम्म हाम्रो लोकतन्त्र फस्टाउनै सक्दैन । यस्तो गुह्य कुरा बुझेका लोकनायकहरू आफैँ ठसठस गर्दै लोकमानहरूलाई बिस्ट्याउन लाउने पुनित कार्यमा जुटेको देख्दा यस लोकका हामी जनता–जनार्दनको हाडै हाँसिरहेको छ खुसीले । एक आदेश मात्रै पाउँ हजुर, हामी लोकमानहरूको स्तुति र भजन गाउन चोकचोकमा हाजिर हुनेछौँ । ख्वामित, लोकतन्त्रका वरद् हस्ती लोकनायक र लोकमानहरूको यस्तो वरद् बुद्धिको तारिफमा पुल बनाउन तयार छौँ, फूल बर्साउन तयार छौँ । प्रभु मनमाफिकको आज्ञा होस् । आज्ञा होस् ।

कलङ्की, काठमाडौँ
narnath@gmail.com

Leave a Reply

Your email address will not be published.