देहको प्यास

– कृष्णपक्ष थापा

उसको दैनिकीको आरम्भ नै इन्टरनेटबाट हुन्थ्यो, न्युजसाइट, फेसबुक र ट्वीटर । कम्प्युटरको स्क्रिनमा बरालिईरहंदा पार्श्वमा एउटा नारी स्वर गुन्जिईरहेको सुनिन्थ्यो – आरती गाउँदै गरेको, त्यो संगीत उसको बर्तमान थियो ।   

उ अति भावुक मान्छे, उसको जीवन आफैँमा एक सेन्टिमेन्टल धून जस्तै थियो । नारायण गोपाल र अरुणा लामाका गीतहरु त प्राय उ गुनगुनाई रहथ्यो। उसको गुनगुनमा यी लाइनहरु बारम्बार दोहोरिन्थे ।

पोहोर साल खुसि फाट्दा जतन गरी मनले टालेँ, त्यही साल माया फाट्यो, त्यसलाई पनि मनले टालेँ ।  

 यसबेला तिनै गीतकार जर्साबको उपन्यासले बजार तातेको थियो । उसले पनि किन्यो, पढ्न भने भ्याएको थिएन । “मलाइ लोग्ने हैन लोग्नेमानिस चाहिन्छ” भन्ने युवति उत्तेजक मुद्रामा कभरमा छाएकी थिइन् – स्मिता थापा, छेउमा लेखिएको थियो – खेलौना । यो उनैको जीवनमा आधारित छ, मिडियामा हल्ला थियो ।     

संविधानका कुरा अब थोत्रा भैसकेका थिए । वधशाला प्रतिबन्धित भएको खबर भुसको आगो झैं फैलिएको थियो । अनि ट्वीटरमा बिआरबि लालध्वज नामधारी चिरबिराउँन थालेपछि यो बिषय आफैंमा ‘हट’ बनेको थियो, कारण उनी देशका प्रधानमन्त्री थिए । 

अझ हट थियो तसलिमा नसरिनको ट्वीट –

 ‘यदी यस्तै हो भने हाम्रा छोरीहरु डाक्टर इन्जिनियर लेखक हैन, शरीरको  व्यापार गर्न रुचाउनेछ्न ।’

वयस्क चलचित्रकी नायिका सन्नी लियोनका बिरुद्ध उनले दिएको अभिव्यक्तिले उसलाई पुन एकपटक सम्झनाको घना जंगलमा हुत्याइदियो ।  

——————————————————-

 साँझ खस्न लागेको बेला, हिउँदको कुनै दिन थियो शायद । 

 निधार, ओठ, गाला र शरीरका अन्य भागहरुमा लागेका  लिपिस्टिकका दागहरु त पुछिए तर घाँटी र गर्धननेरको दाग भने मेटिएन । नियालेर ऎना हेर्यो, त्यो कुनै रंग थिएन, उसको आफ्नै त्वचा थियो पिल्सिएर रातो भएको । उ प्रेमातिर फर्कियो – यो के गरेकी ? भन  त अब कसरी बाहिर निस्कनु ? 

प्रेमाको हाँसो कोठाभरी पोखियो । ‘वाह क्या दामी देखिएका छौ ? मास्टरपिस । अहिले थाहा पायौ ? मेरो आर्टिस्टिक सेन्स कति डेभलप्ड रहेछ ?  एकछिन यतिकै बस त म तिम्रो न्युड पोट्रेट खिच्छु ।’ कुनै कलाकारको मुर्तिझैं उभिएको उसको नग्न देह नियालेर प्रेमा फेरि हाँसी ।

प्रेम, कला र सौन्दर्यचेत,  प्रेमाले जस्तै गरी उसले बुझ्यो बुझेन थाहा छैन तर ती चंचल आँखाहरुमा आफू निकै सुन्दर देखिएको महसुस उसले गर्यो । उसलाई यो पनि लाग्यो कि प्रेमा बाहिर भन्दा भित्र त झन् राम्री रहिछ । उसलाई प्राकृतिक स्त्री देह असाध्य मन पर्यो, त्यो फक्रिएको गुलाफ जस्तै कोमल र सुन्दर थियो । 

प्रेमाले पुन एकपटक तानेर खेलौना जसरी आफूभित्र समाहित गरेपछि उसको प्रतिक्रिया थियो – ” किन यति जबर्जस्त छौ प्रेमा तिमी ?” यद्यपि उसको मन भने पटक पटक मायाको तलाउमा डुबिरहन लालायित थियो ।  

“दिस इज लभ माइ डियर” – उसले जवाफ फर्काइ । उसमा लज्जाका अंशहरु अलिकति पनि थिएनन । 

“फेरि अर्को दाग बनाऔला नि?” उसले सचेत गरायो । कलेजोको रंग जस्तो गाढा भएर आए प्रेमाका ओठहरु ।”यो दाग होइन डियर, यो त मेरो निशानी हो, मेरो स्ट्याम्प हो, मेरो प्रेमको लोगो हो, कपीराइट हो,  कि  अरु कुनै पनि युवतीले तिमीलाई छुन नसकोस । तिमी अब मेरो भयौ मात्र मेरो ।” प्रेमाको आवाज अब नागिनीको स्वास जस्तो सुनिन थाल्यो । 

कुनै युगको बर्बर शासकझैँ थिई प्रेमा र उ एउटा कैदी । हजारौं बर्ष पहिले कैदीहरुलाई लाहाछाप लगाएझैँ फलामले डामिन्थ्यो रे । उसले कतै पढेको सम्झियो । त्यसैगरी उसको शरीरमा पनि अधरका छापहरु रंगिए, ती छापहरु उसलाई प्यारो लाग्दै गयो ।

उ आफैलाई बिश्वास लागेन कि यो पहिलो पहिलो अनुभव हो । सामाजिक मर्यादा र बन्धनको बाँध आजै मात्र भत्किएको हो, तर मानौं प्रेमको अथाह सागरमा पौडी खेल्न उनीहरु अभ्यस्त छन बर्षौंदेखि। 

प्रेमा भाइलेन्ट थिई, बर्षौं दबिएर बसेको यही पुरुष प्रधान समाजकी पात्रा भन्न पटक्कै नसुहाउने । 

“यो मेरो जीवनको एउटा अविस्मरणीय पल हो जसलाई म सधैं याद राखुँ, कहिल्यै नभुलूँ ।” आफ्ना देह्का कोमल भागहरु सुम्सुम्याउदै र पुछ्दै प्रेमाले भनी, ‘इट वाज अमेजिङ डियर’ ।

घाटीमा मफलर बांधिसकेपछि उसले पनि भन्यो – ‘यु आर सो स्वीट, तर अहिले नै हामी यति धेरै खुल्न नहुने थियो कि ? ‘

प्रेमा गम्भीर भई – के तिमीलाई लाग्दैन यो हाम्रै शरीरको आदेश थियो ?

शरीरको भोक एउटा रहस्य हो, यस्तो रहस्य जो कहिल्यै सुल्झाउन सकिन्न । यति धेरै रंगका धागाहरु जेलिएको, जति फुकायो उति गाँठो पर्दै जाने । प्रेमका बिषयमा अनेकौं ग्रन्थहरु लेखिएका छन, चित्रहरु कोरिएका छन, मुर्तिहरु कुँदिएका छन । तर शरीरको ‘यो कालो जादु’ किताबका पानाहरुमा पढेर कहाँ बुझ्न सकिन्छ ? यो त भोग र अनुभूतिमात्र हो । 

उसले सम्झाई – केवल शरीरको भोकमात्र यस्तो तृष्णा हो, जुन अर्को भोको शरीरले मात्र तृप्त गर्न सक्छ । यो अधरपान, आलिङ्गन, समर्पण र मिलन सबै सबै यही तृष्णाको आग्रह हो । हामीले पुरा गर्यौं । 

——————–

बेहुलीले घुम्टोभित्र मुहार लुकाएझै रातको आंचलमा सूर्य अस्ताउदै गयो । यति खुलेको सगर र यति उल्लासमय वातावरण उनीहरुले पहिले कहिल्यै महसुस गरेका थिएनन । 

प्रकृतिले फूलमाथि रुप र सौन्दर्य मात्र हैन, वासना पनि दिएको छ । सृष्टिको निरन्तरताको लागि संसारका हरेक प्राणीलाई यौनको तिर्खा दिएको छ, प्यास दिएको छ । र यो शरीरको भोक नारी र पुरुष दुबैलाई बराबर दिएको छ ।  

तर किन यसको भोग गर्नमा चाहिँ पुरुषहरु मात्र अगाडी छन ? किन सदियौं देखि दर्बार र कोठीहरूमा … चोक र गल्लीहरुमा, सडकमा, घरमा, रेस्टुराँमा, सिनेमामा, मन्चमा र मेहेफिलहरुमा केवल नारी सौन्दर्यको विनिमय गरिदै आएको छ ? खै कहाँ छ पुरुष वेश्यालय ? किन किन्ने र बेच्नेहरु सधैं पुरुष अनि बेचिनेहरु नारीमात्र हुदै आएका छन ?

प्रेमा यस्ता प्रश्नहरु बारम्बार सोधिरहन्थी, उ भन्थ्यो – पहिले देखि यस्तै चल्दै आएको छ। के गर्छौ त, तिमीले भनेर हुन्छ ? ‘ 

प्रेमा सधैं चंचल थिई,  उसको मुहारमा कहिल्यै उदासी छाएन । उ भन्थी – मलाइ भोलीको चाहना छैन र विश्वास पनि छैन । भोलि त हामी सबै त्यो अन्धकारमा बिलाउनेछौ, जहाँबाट हामी आएका हौँ । जिन्दगी आजमात्र हो र म आज जिउन चाहन्छु । हरेक दिन उ यसै भन्थी ।  

अन्तिम नोट प्रेमाले यस्तो लेखेर छाडेकी थिई – 

प्रिय पुरुष, 

आज एउटी नारी यो लेखिरहेकी छ , अचम्मित भयौ होला । नहुनु पनि किन ? पुरुष मानसिकताले जरो गाडेको समाजको मान्छे हौ तिमी, स्वाभाविक छ । सैयौं बर्ष देखि नारीमाथि शोषण, अत्याचार भएका छन । 

तिम्रो पुरुषप्रधान समाजले अनेक नीति नियम खडा गरेर हामीलाई र हाम्रो रहरलाई संस्कारको जाँतोमा पिधेका छौं । हाम्रो यौवन र शरीरलाई थुनेका छौ, पिंजडामा कैद गरेका छौ । केवल उपभोग्य सामान जस्तै हाम्रा अनमोल यौवनहरु किनेका छौ, बेचेका छौ । तर यो सिलसिलाको अन्त्य अवश्यम्भावी छ, क्रमभंग निश्चित छ, किनकी समय परीवर्तनशील छ । 

समयको कुनै मोडमा पुगेर कुनै युवतीको खेलौना भएछु भन्ने लाग्यो भने मलाइ माफ गर । म त्यसरी सोच्दिन, हाम्रो सम्बन्धलाई मैले अहिले पनि प्रेम नै मानेकी छु । तिमी मान या नमान आकर्षण र वासना प्रेमकै स्वरुपहरु हुन्, जसमा कुनै मिसावट थिएन, वाचा बन्धन र सम्झौता थिएन । कुनै गुनासो थिएन, भोलीको प्रतीक्षा पनि थिएन । त्यो शरीरको नितान्त प्राकृतिक तिर्खा थियो, मेटियो र सकियो । म यही सिद्धान्तमा हिडिरहेकी छु ।

म शरीरलाइ प्रेम गर्छु, मलाइ आत्माको बन्धनमा कुनै विश्वास पनि छैन ।आशा छ तिमी पनि म फर्केर आउने बाटो कुर्ने छैनौ ।

प्रेमा

त्यो फरवार्ड, क्लास टपर र सुन्दर युवति यति धोकेवाज होली भन्ने उसले कल्पना सम्म गरेको थिएन । प्रेमा कमन नाम हो, बिहेपछि थर पनि बदलियो होला ।  आफै हराउन थालेको शहरको भीडमा उसले प्रेमालाई कतै खोज्ने चेष्टा गरेन । गरोस पनि किन ? उ आफैले छाडेर गएकी थिई । उ हराई, अतीत बनेर विस्मृतिको भिषण अन्धकारमा समाहित भई ।  

उसले ऎना हेर्यो, घाँटीमा कुनै दाग थिएन तर उसलाई लाग्यो एउटा दाग छातीभित्र छापिएको छ, जो कहिल्यै मेटिने छैन ।

Leave a Reply

Your email address will not be published.