हाम्रो देश अहिले सालिक भएको छ। हिजो हार्नेहरु आज मालिक भएका छन्। हिजोका एक श्रीपेचधारी राजा आज छैनन् तर टोपीधारी राजा महाराजाहरुको चहलपहल रमिता हेर्न लायक छ। सामन्तहरुका नायकको अन्त नै सामन्ती सोच र दास मानसिकताको अन्त अवश्य नहुने रहेछ भन्ने कुराको ज्ञान भएको छ। हिजो जित्नेहरु कि त आज गुप्तबास छन् या त रङ्गीविरङ्गी छेपाराहरुमा रदलबदल हुँदैछन्। समय, सन्दर्भ र स्वभाविकताको गम्भीर मोड र इतिहासको सङ्गीन कुइनेटोमा हाम्रो अस्तित्व उभिएको छ। हाम्रो समय जटिल भएको छ, जीवनको सान्दर्भिकता र सार्थकताजस्तै।
यसर्थ हाम्रा जीवनका आरोह-अवरोह तथा क्रम-उपक्रमहरु पनि जटिलताको मोडतिर पएटिएका छन्। साथमा माटो, चिन्तन र समाज पनि जटिल बन्दै छ। यो जटिल परिस्थितिको अध्ययन, अवलोकन र गवेषणा गरेर लेखिएको कविता चाहि जटिल नभइ सरल छ। निराशाका र निन्याउरा समयका बीचमा लेखिएका कविताहरु पनि आशालु, मायालु, श्लील र स्निग्घ छन्।
सन्दर्भ हो, कवि बाबु त्रिपाठीको कविता सङ्ग्रह “सालिकहरुको देश”को। असजिला यामका सरल शाब्दिक आयाम र तिनका प्रकटीकरण अनि पुष्ट्याइँ हुन्, यी कविताहरु। चिकित्सकीय सेतो पहिरनका व्यावसायिकता भित्र हरिया जीवनमुखी भावनाहरुको अङ्कुरणको पर्याय उनका सिर्जना सङ्केतहरु। अनि उनले घाँटीमा भिर्ने स्टेथोसकोपले सामाजिक धड्कनको विविध पक्ष सुन्ने मानवीय संवेदनाको पाटो साँच्चिकै सशक्त लाग्यो। निःसन्देहरुपेण, यो उनको ‘पंक्षी दृश्टि’ (बर्डस् आइ भ्यू) को जादुमयी सशक्तिकरण हुन सक्त्छ।
“सालिकहरुको देश” सङ्ग्रहमा जम्मा जम्मी ३२ वटा कविताहरु छन्। उक्त सङ्ग्रह नेपाल मेडिकल कलेज प्रा. लि. को साहित्य परिवारले प्रकाशनमा ल्याएको छ। यसको स्वरुप पनि अलि पृथक लाग्यो। यहाँ पनि कविको सिर्जनशीलताले काम गरेको हुन सक्छ। सरल र सादा शब्द संयोजनभित्र घुमाउरा यथार्थता अनि विसंगतिबोधक समयका विम्वानुभूति प्रशस्त छन्, कवितामा। विचारमा कवि प्रत्यक्ष छन्। उनी मान्छेका कवि हुन्, उनका कविताहरु मान्छेका जीवनका इर्दगिर्दमा नै घुमेका पाएँ। उनी केही ठाउँमा मान्छेहरुबाट भाग्न नखोजेका पक्कै होइनन् तर जति भागे पनि असल रचनाधर्मिताको नियति र नियत मान्छेको दायराबाट टाढा नहुने रहेछ। कवि र कविताप्रति मेरो कुनै पनि खालको आग्रह, आशक्ति र पूर्वाग्रह छैन। त्यसैले म भन्छु, यिनी स्वच्छन्दवादको माध्यमबाट समाज वा मानवबस्तीका यथार्थताको चरित्रचित्रण पनि गर्दछन्।
क्रान्ति भन्ने बित्तिकै बम, बन्दुक, गोला, बारुद र ध्वँशका कुराको मानसिक विम्व बनेको बेला छ, यो। क्रान्ति जटिल, गाह्रो र असहज हुन्छ भन्ने आम धारणा रहेको बेला कवि त्रिपाठी भने बालापनको अनुहारमा निर्दोषिता र अबोधपनाको क्रान्ति, हरिया वसन्त र सुन्दर हरियालीको क्रान्ति, स्वाभिमान र स्वनिर्भरताको प्रतीक किसानका हलो र जुवाले गर्ने क्रान्ति, एकल नारीहरुले राता चुरा र पहिरन लगाएर गर्ने सामाजिक परिवर्तनको क्रान्ति र समग्रमा सुन्दर चेतनात्मक क्रान्तिको कुरा गरिरहेका छन्। कवि लेख्दछन्:
कसैको मन नदुखाइकन
कसैको झुपडी नजलाइकन
कसैलाइ टुहुरा नबनाइकन
क्रान्ति गर्नु पो क्रान्ति !
क्रान्ति त-
बामे सरिरहेका नानीहरुले गर्दैछन्
कलिला पाउले जमिन टेक्न खोजेर
(पृ. २३, क्रान्ति)
रुपान्तरणको पर्याय भएको छ, ‘क्रान्ति’ कवितामा। इतिहास जित्नेहरुको मात्र किन लेखिन्छन् भन्ने कविको सवाल जस्तो लाग्छ। विकास, परिवर्तन र सकरात्मकतासंग जोडिनु पर्छ, यो। सामाजिक यथार्थको चिन्तन मनन् र इतिहासको विकास क्रमको अवलोकन गर्दा गर्दै कवि स्वच्छन्दतातिर लम्केका भेटिन्छन्, यहाँ। काल्पनिकीको प्रयोग अधिक छ, तर सामाजिक चेतनामा सुक्ष्म दर्शनमा कवि पंक्षी दर्शी भएका छन्। यहाँ हेर्न सकिन्छः
हरियो क्रान्तिका लागि
सबेरै हिँडेका छन्-
हलो र जुवाहरु।
(पृ. २३, क्रान्ति)
कवि क्रान्तिको सरल अर्थ लगाउन पुग्दछन्। सत्ता, शक्ति, स्वार्थ र घोटालाको समकक्षीरुप क्रान्ति हुन सक्तैन। हलो र जुवाहरु, खेती किसानहरु, कवि र सर्जकहरु, शारीरिक अपाङ्गता भउकाहरु, एकल महिलाहरु, शोषित पीडित र पछाडि पारिएका वर्ग सप्पै सप्पैले निष्ठा र स्वाभिमानको जीवन जिएकाछन्, त्यो पनि क्रान्ति नै हो, कविको निर्क्योल छ।
क्रान्तिको मोहभङ्ग भएपछि जीवन, जगत, सामाजिक जीवन र जिजीविषाका लागि सहकार्य, सहअसतित्व र भद्र विमतिको टड्कारो खाँचो पर्छ, कविको अभिब्यक्ति त्यसरी नै बग्छ, काव्यिक चेतना त्यसरी नै बग्दछः
ठूला नदीहरु-
साना नदीलाइ अङ्कमाल गर्छन्
बोकेर जीवनका तानाहरु
पोखेर मनका बहहरु
किनाराका बस्तीसँग
-ढुङ्गासँग
-माटोसँग
(पृ. २५/६, नदीहरु)
सहअसतित्वको चिन्तन गर्दा गर्दै कविले यहाँ स्वअस्तित्वको मनन् गरेकाछन्। उनी नदीहरुको बर्चस्व मात्र सोच्दैनन्, त्यसैको सेरोफेरोमा जीवन रमाइरहेका जनमानसप्रति पनि कविको सम्मान छ। खोलो तर्ने साँघु बिर्सने, तिर्खा मेट्ने कुवा बिर्सने, थकाइ मार्ने फलैंचातिर ढाड फर्काउने, छायाँ ताप्ने अनि त्यही रुखको दाउरा बाल्ने र उपकार लिने कृतज्ञता बाँड्ने समाज र संस्कृतिको सघनता भएको समयमा कविले ‘बुढो माझी’ सम्झेकाछन्।
“मान्छे विनाश हुन्छ तर हार्दैन” भन्ने अनेस्ट मिलर हेमिङ्ग्वेको विचारको प्रवलता यस कवितामा छ। कवि एउटा सन्त, महात्मा तथा दार्शनिकको रुपमा ध्यानमग्न देखिन्छन्। अनन्त समय, संभावनाले युक्त समाज र अविराम सभ्यतामा कवि चिन्तन गर्छन्। कवितांश छः
म बुढो माझीको कथा सुनिरेको छु
नदीको भूत, वर्तमान र भविष्य छैन
गन्तव्यहीन मान्छेजस्तै
गन्तव्यहीन छैनन् नदीहरु।
(पृ. २६, नदीहरु)
नदी निरन्तरताको प्रतीक हो। मान्छे, समाज, सभ्यता, संस्कार र संस्कृतिले बाटो बिराए पनि नदीहरुले वा प्रकृतिले बाटो नविराएको कुरा कवि ब्यक्त गर्दछन्।
माटो, मुटु र मनको संबन्ध कतै कतै एकाकार भएको छ, कवितामा। “जननी जन्मभुमिश्चः स्वर्गादपि गरियसी” भन्ने राष्ट्रप्रेमले घपलक्क ढाकिएका कविता छन्, संग्रहभित्र।
जब म निदाउँछु
मेरी आमाको काखमा
मेरी आमा निदाउँछिन्
देश निदाउँछ।
जब म ब्युँझिन्छु
मेरी आमाको काखमा
मेरी आमा ब्युँझिन्छिन
देश ब्युँझिन्छ।
(पृ. २८, मेरी आमा)
असल रचनाहरुको महान् पक्ष हो, संकल्प। स्वमनको यात्रा जत्तिको ठूलो प्राप्ति अरु छैन। स्वमनको यात्रा भन्नु नै अन्तर्मनको यात्रा हो, जुन स्वयँभित्रको हिँडाइ वा स्वत्वको बुझाइ हो। कविको संकल्प छः
आफैँलाइ चिन्नु छ
देश चिन्नु छ
सिमानासम्म हिँड्छु
(पृ. ३०, सपनामा)
“सालिकहरुको देश” शीर्षक कविता हो। हेर्दा सामान्य बान्की र शब्दाडम्बरबिहीन रुप देखिए पनि सार रुपमा यसको विश्लेषणात्मक पक्ष फराकिलो छ। सालिकमा परिणत हुनु भनेको जीवनहीनताको सूचक हो। तर त्यो जीवनहीनता भित्रको अमरत्व पनि अर्को पक्ष हो।
तिमी
कहिलेसम्म उभिन्छौ
दोबाटोमा सालिक बनेर?
र, यो सालिकहरुको देशमा
म मानिस हुँ भनेर
तिमी आफूलाइ कसरी प्रमाणित गर्छौ?
(पृ. ३२, सालिकहरुको देश)
“हिजो, आज र भोलि” (पृ. ३३) नामक कविताले त शब्द चित्र नै प्रस्तुत गरेको छ। विगत, वर्तमान र भविष्यमा समय विभाजन भएको छ। तर ब्यक्ति, चरित्र, प्रवृति र घटनाहरुमा कुनै खालको परिवर्तन देखिएको छैन। हिजोको प्रतिबद्धता, आजको यथार्थता र भोलिको अन्योलताले कविता अति सामान्यजस्तो लागे पनि मनभित्र गढ्ने खालको छ। केही कवितांशहरु तल पस्केको छु। यी टुक्राहरुबाट पनि कवि त्रिपाठीको काव्यिक जीवनको एउटा सानो पाटो चियाउने अवसर मिल्न सक्छः
खुला किताबजस्ता
हिमालहरु छन्
नलेखिएका कविताका हरफजस्ता
सुन्दर पहाडहरु छन्
(पृ. ३५, पर्यटकहरु आउँछन्)
एउटा देश छ
त्यति हेर्न भए पनि
पर्यटकहरु आउँछन् ।
(पृ. ३६, पर्यटकहरु आउँछन्)
देशलाइ
विपक्षी बनाएर
मलाइ केही पनि जित्नु छैन।
(पृ. ३७, गन्थन)
मान्छे भन्नले
आगो लगाएको
त्यो झुपडी कसको हो ?
र, खरानी भएका
ती जम्मै सपनाहरु कसका हुन् ?
रित्तो पैताला
पाठशाला हिँडिरहेका
ती नानीहरु कसका हुन् ?
र, नानीहरुसँगै हिँडिरहेको
देश कसको हो ?
(पृ. ४०, यो देश कसको हो ?)
साहुको सन्दुकबाट
मुक्त गर्नु छ
बन्धकी परेका
बाजे-बराजुका लालपुर्जाहरु ।
(पृ. ४१, समय)
यहाँका प्रत्येक ढुङ्गाहरु
इश्वर बनेका छन्
यहाँ मानिस-
मानिस बन्न सकेका छैनन् ।
(पृ. ४२, समय)
ए, मेरा मित्रहरु हो
इतिहास जित्नेहरुको लागि हो
आगोले जितेको इतिहास छैन
-आगो हार हो
-आगो संहार हो
-आगो विष हो
-कहिल्यै अमृत ओकल्न सक्तैन आगो ।
(पृ. ४३, आगो)
म त आगोमा
मान्छे, फूल र मन खोजिरहेछु
समग्रमा जीवन खोजिरहेछु ।
(पृ. ४४, आगो)
आमा हुनु भनेको
सहनुमात्र हो त?
(पृ. ४६, धर्ती र आकास)
म ठूलो आपतमा छु देश
केवल
मानिस हुनुमात्र होइन मेरो सम्पूर्णता
छुट्याइदे देश-
-मेरो जात के हो?
-मेरो धर्म कुन हो?
-मेरो रगतको रङ कुन हो?
-मेरो देश कुन हो?
(पृ. ४८, गुनासो)
म माटो छोएर भन्छु
मसँग अर्को कुनै नाम छैन
मसँग अर्को कुनै नागरिकता छैन
मसँग अर्को कुनै देश छैन ।
(पृ. ४८, गुनासो)
उनै निरक्षर आमा-
स-साना नानीहरुलाइ देखाउँछिन्
पाठशालाका ढोकाहरु
र, नानीहरुको आँखामा
सुन्दर, शान्त र विशाल
भोलिको नेपाल ।
(पृ. ५१, तरखु घले)
रात कालै हुनेछ-
तर भयानक हुनेछैन
निर्धक्क निदाउनेछ जगत- सन्तोषले
सिमानाहरु मिचिनेछैनन्- मानचित्रको
परेवाहरु गस्तीमा हुनेछन् ।
(पृ. ५६, यस्तो हुनेछ)
साइनोमा को जेठो
म जेठो कि मेरो आँसु ?
म जेठो कि मेरो मस्कान ?
(पृ. ६०, साइनो)
अरु सर्जकहरुले पनि बाबुका बारेमा विचार राखेका छन्, त्यही सङ्कलनभित्र । “स्वअस्तित्वको खोजीमा निसकिएको नयाँ पुस्ताले वर्मान समाजको नग्न चित्र कवितामा कोर्ने प्रयास”, भन्नु हुन्छ, स्रष्टा पूर्ण इन्फादा। फेरि उनी भन्छन्, “जातीय अहङ्कार र सङ्कीर्णताले मानिसलाइ लिलिपुट बनाउँछ।” “बुझ्नेहरुले धेरै बुझेर हो वा बुझ्न पर्ने भन्दा पनि बढ्ता बुझेर हो, मान्छेहरु मान्छेको रुपमा प्रस्तुत हुनुभन्दा पनि सालिकको रुपमा उभिनेक्रम बढेजस्तो लाग्न थालेको छ” भन्छन्, अर्का अग्रज वियोगी बुढाथोकी। निष्कर्षमा कवि हेमप्रभास भन्नु हुन्छ, “व्यक्ति, समाज र देशकै सापेक्षताको साँचोमा ढालिएका छन् पङ्कतिहरु।”
“पालमती” पागलपन र सभ्यताको एक अभिन्न प्रतीक हो। पालमती नामक पात्रको सतही शब्दजाल भन्दा पनि यो कविता पालमतीहरु किन पागलपनको शिकार हुन्छन् र त्यसको दोषी को हो भन्ने सवाल जटिल छ। सामाजिक, साँस्कृतिक, राजनीतिक र आर्थिक पक्षहरुको असमान र अब्याबहारिक उपभोग र वितरणका कारणले कुनै पनि समाज र स्थानमा पागलपन निम्त्याउँछ। नव-इतिहासवादका चिन्तक मिसेल फुकोले उनको पुस्तक “सभ्यता र पागलपन”मा यसका विविध पक्षहरुमा उल्लेख गरेकैछन्। पालमती हाम्रै समाजको सामाजिकता र सामयिकताको विम्व हो।
“अब एकचोटि” (पृ. ७७) नामक कवितामा मान्छे हुनुको गर्व र कवि हुनुको मर्म कविले यहाँ भनेकै छन्:
अब एकचोटि
फेरि यही धर्तीमा
मान्छे भएर जन्मनु छ।
फेरि पनि हेमप्रभास भन्नु हुन्छ, “परिष्कारका दृष्टिले भने बाबुका केही कविताहरु अलिकति होचा छन् तर पुड्का छैनन्।” केही कवितामा भावगत, संरचनागत, शिल्पगत र संप्रेषणीय हिसाबले उस्ता उस्तै लाग्न सक्छन्। हुन सक्छ, समय नै गतिहीनताको शिकार भएर पो हो कि। हामी, हाम्रो अस्तित्व र हामी बाँचेको समय नै ‘डेडलक’को अवस्थामा पुगेर हो कि। एउटा स्रष्टा पनि त यही समयको यात्री हो, उसका चिन्तन र सँभावनाका पोका पन्तुराहरु पनि त यसै समय र स्पन्दनका उपज त हुन्।
बादलमा पनि त चाँदीको घेरा हुन्छ। मेघ गर्जन भएका बखतमा जल वर्षा र बाली सिंचनको असीम विश्वास रहन्छ। बाबु र उनका सिर्जनशील साथीहरु र सहयात्रालाइ मैले परै रमिते डाँडामा बसेर हेरेको छु, उनीहरुमा भएको साधनाको प्रचण्ड उष्णता र रचनाकर्मिताले उनीहरुको भविता, वर्तमान र सपनामा मेरा पनि सामयिक र सामुहिक चेतनाका पाठ निर्माण भएको देखेको छु र देख्नेछु।
अन्तमा, अमेरिकी कवि राल्फ वाल्डो इमर्सनका शब्द सापट लिएर कवि तथा मित्र त्रिपाठीको सिर्जना धारामा उत्साह थप्न चाहन्छु, “सम्पूर्ण जीवन एउटा प्रयोग हो, जति प्रयोग गर्नु हुन्छ, त्यति नै राम्रो।”
……………………..
रामप्रसाद प्रसाईं “तिरुजिलो”
कालीखोला-२ (तेम्बोक), ताप्लेजुङ्ग