अविरल जनसाहित्य यात्रा–५० मा गुञ्जिए ‘प्रगतिवादी कवि मातृका पोखरेल’

असोज १२ गते शुक्रवार अपराह्न ठिक ३ बजे जनसांस्कृतिक महासङ्घको संयोजन र जनसाहित्यिक मञ्च नेपालको व्यवस्थापनमा जनसांस्कृतिक महासङ्घको सभाकक्ष, बागबजारमा विगत चार वर्षभन्दा बढी समयदेखि अविच्छिन्नरूपमा सम्पन्न भइरहेको ‘अविरल जनसाहित्य यात्रा’को ५० औँ शृङ्खला भव्यरूपमा सम्पन्न गरियो । नेपाली साहित्य, संस्कृति र राजनीतिमा कृयाशील नेता मणि थापाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त विशेष समारोहको अध्यक्षता जनसाहित्यिक मञ्च नेपालका अध्यक्ष राम विनयले गर्नुभएको थियो भने विशिष्ट अतिथिका रूपमा जनसांस्कृतिक महासङ्घका अध्यक्ष खगेन्द्र राई उपस्थित हुनुहुन्थ्यो । अन्य अतिथिहरूमा महासङ्घका महासचिव प्रेमनाथ अधिकारी, वरिष्ठ कविहरू उमेश उपाध्याय, वासुदेव अधिकारी, राममणि ढुङ्गेल, अनिल पौडेल, उदय श्रेष्ठ तथा टिप्पणीकार पुरुषोत्तम सुवेदी, डा.षडानन्द पौडेल उपस्थित हुनुहुन्थ्यो ।
उक्त विशेष समारोहको संयोजन शीतल गिरीले गर्नुभएको थियो । समाज परिवर्तनका पक्षमा सिर्जनाका माध्यमबाट र प्रत्यक्ष सक्रियताका माध्यमबाट समर्पित मातृका पोखरेल २०४४ सालमा समीक्षा साप्ताहिकमा ‘सूर्य उदाउँछ’ कविता लिएर साहित्यका क्षेत्रमा प्रवेश गर्नुभएको हो र २०५७ सालमा ‘सेतो दरबार’ कवितासङ्ग्रह लिएर उपस्थित हुनुभएका उहाँले बुझिने विम्ब र प्रतीकको प्रयोग गर्दै सरलताका माध्यमबाट गम्भीर भाव सम्प्रेषण गर्ने कार्य गर्नुभएको छ भन्दै गिरीले मातृकाको सङ्क्षिप्त व्यक्तित्वमाथि प्रकाश पार्नुभएको थियो ।
४५ औँ शृङ्खलासम्म नेपाली प्रगतिवादी साहित्यमा साधनारत एक जना वा कहिलेकाहीँ सोभन्दा बढी स्रष्टाका एक दर्जन कविता, गीत, गजल श्रवण गर्ने र ती सिर्जनामाथि टिप्पणीसमेत गर्ने उद्देश्यमूलक विशेष समारोहको आयोजना गर्ने गरिएकोमा ४६ औँ शृङ्खलामा आख्यानका बारेमा परिचर्चा गरियो भने ४७ औँ शृङ्खलामा ‘माक्र्सवादी दर्शन र समकालीन नेपाली संस्कृति’का बारेमा परिचर्चा गरियो । ४८ औँ शृङ्खलामा बालसाहित्यका बारेमा परिचर्चा सम्पन्न गरिएको थियो भने ४९ औँ शृङ्खलामा फेरि कविता नै श्रवण गर्न स्नेह सायमीलाई उपस्थित गराइयो । आज भने स्वर्ण शृङ्खलामा हामी उपस्थित भएका छौँ र साहित्यिक एवम् सांस्कृतिक अभियानका नेतृत्व गरिरहनुभएका, प्रगतिशील लेखक सङ्घका अध्यक्षसमेत रहनुभएका प्रगतिवादी कवि मातृका पोखरेलका एक दर्जन कविता सुन्ने यो विशेष समारोहको आयोजना गरिएको छ । निकट भविष्यमै दुइटा संस्था गाभिएर ‘जनसाहित्यक लेखक सङ्घ’को घोषणा हुँदै छ र अब यस एकीकृत संस्थाले यस्ता साहित्यिक गतिविधिलाई थप क्रियाशीलताका साथ अगाडि बढाउने छ भन्ने धारणासहित सभाध्यक्ष राम विनयले प्रमुख अतिथि मणि थापा, टिप्पणीकार पुरुषोत्तम सुवेदी र कविनायक मातृका पोखरेललाई मञ्चमा स्वागत गर्नुभयो, माल्यार्पण गर्नुभयो, खादार्पण गर्नुभयो । वाचनसहयोगीका रूपमा आर.एम.डङ्गोल, स्नेह सायमी, डा.पुष्करराज भट्ट र अभय श्रेष्ठ उपस्थित हुनुहुन्थ्यो, उहाँहरूलाई पनि सभाध्यक्षले खादा लगाएर स्वागत गर्नुभएको थियो ।
समारोहमा कविनायक मातृका पोखरेलले विगत चार वर्षदेखि अविच्छिन्नरूपमा सामाजिक रूपान्तरणका पक्षमा साहित्यिक गतिविधि गरिरहेको जनसाहित्यिक मञ्चको आजको यो विशेष समारोहमा मेरा आफ्ना कविता वाचन गर्ने अवसर दिनुभएकोमा मञ्चलाई हार्दिक धन्यवाद दिन्छु । सुरुमा साहित्य सन्ध्या र यसका अभियन्ता वासुदेव अधिकारी अनि प्रतिभा प्रवाह र यसका अभियन्ता स्नेह सायमीको प्रेरणाले आपूmलाई साहित्यकार बनाएको, सुरु सुरुमा छन्दमा कविता लेख्नथालेको र पछि साहित्य भनेको समाजलाई बाटो देखाउने कुरा हो भन्ने मान्यता वा विचार विकसित भएपछि गद्यमा नै कविता लेख्न सहज लागेको हुँदा अहिलेसम्म त्यही बाटोमा आपूm हिँडिरहेको र आजको विशेष समारोहमा नयाँ र पुरानो पुस्ता अनि समकालीन पुस्ताका बिचमा आफूले करिब सत्र वर्ष अगाडिदेखि हालसम्म रचना गरेका कविता सुनाउने अवसर पाएकोमा पनि गौरवबोध भएको छ । आपूmले कवितामा मान्छेलाई मान्छे बनाउने होइन कि या त देवता बनाउने, या त राक्षस बनाउने प्रवृत्तिका प्रति असन्तुष्टि जाहेर गरेको अभिव्यक्तिका साथ ‘तोपआतङ्क’, ‘नयाँ शताब्दीको थोत्रो मान्छे’, ‘कलिला जूनहरूको श्रद्धाञ्जली’, ‘मैले उतिवेलै भनेको थिएँ’, ‘सिंहदरवार’, ‘दिल्लीका मच्छडहरू’, ‘नरेश शाक्यका आँखा’ र ‘ऐना’ शीर्षकका अत्यन्त शक्तिशाली, विम्बप्रधान आठओटा कविता वाचन गर्नुभयो भने सहयोगी कविहरू आर.एम.डङ्गोलले ‘अनुहारहरू’ शीर्षकको, डा.पुष्करराज भट्टले ‘एउटा पुजारीको आत्मव्यथा’ शीर्षकको, स्नेह सायमीले ‘म खोज्दै छु अर्काे अमलेखगन्ज’ शीर्षकको र अभय श्रेष्ठले ‘चस्मा’ शीर्षकको एकसेएक कविता वाचन गर्नुभयो ।
वाचित कवितामाथि टिप्पणी गर्नुहुँदै कवि पुरुषोत्तम सुवेदीले आफ्नो सिङ्गो जीवन नेपाली प्रगतिवादी साहित्यको सिर्जना र रूपान्तरण अभियानमा समर्पित गरेका अहिलेको समयका अत्यन्तै सक्रिय प्रगतिवादी कवि मातृका पोखरेल आन्दोलनका पर्यायका रूपमा चिनिएका, ०४५।४६ देखि राजनीतिक र सांस्कृतिक आन्दोलनमा सक्रिय रहेका, विचारमा कठोर तर व्यवहारमा सरल, तीनओटा कवितासङ्ग्रह प्रकाशित गरिसकेका र कथालेखनमा पनि सक्रिय रहेका छन् र उनले आफ्ना कवितामा नेपाली समाजका आरोहअवरोहलाई सजीवरूपमा चित्रण गरेका छन् । व्यक्तिलाई देवत्वकरण गर्ने नेपाली राजनीतिको नराम्रो प्रवृत्तिलाई कवितामा जीवन्तरूपमा चित्रण गरेका छन् । नेपाली समाजको अन्धविश्वासयुक्त पराम्परामा परिवर्तन आवश्यक छ भन्ने मान्यता स्थापित गरेका छन् । सत्ताको स्तुति गर्ने परम्परा नै नकारात्मकताको बीज हो भन्ने मान्यतालाई स्थापित गर्ने प्रयत्न गरेका छन् । वाचित सबै कवितामा हामीले भोगेको समय उपस्थित रहेको छ । मुलुक र जनताले भोगेको साम्राज्यवादको दबदबा कवितामा चित्रित छ । नेपाली कवितालाई सामाजिक आन्दोलनसँग जोड्ने र यथार्थपरक अभिव्यक्ति प्रस्तुत गर्ने कला उनका कवितामा पाइन्छ । साहित्यिक राजनीतिक आन्दोलनका शिखर व्यक्तित्व नरेश शाक्य जस्ता निष्ठाका पर्यायले किनारा लाग्नुपरेको पीडायुक्त यथार्थपरक अभिव्यक्ति पनि कवितामा उपस्थित छ । हामीले भरोसा गरेका व्यक्तिहरू स्खलित हुनुको पीडा पनि कवितामा अभिव्यक्त भएको छ । समकालीन समयका समग्र बेथिति र विकृतिका प्रतिको आक्रोशका साथै रूपान्तरणको आग्रह कवितामा सम्प्रेषित भएको पाइन्छ । यो गुणात्मक उपस्थितका बिचमा वाचित सबै कविता आन्दोलनका कविता रहेकाले आजको यो गोष्ठी नै उपलब्धिमूलक रहेको धारणा राख्नुभयो ।
कार्यक्रमका अतिथि प्रेमनाथ अधिकारीले यो विशेष समारोहमा सुन्दर कविता श्रवण गर्नपाइयो । आजका कविता जोशिला, परिवर्तनकामी, वैचारिक र सुन्दर लागेको धारणा व्यक्त गनृुभयो भने विशिष्ट अतिथि खगेन्द्र राईले महासङ्घले साहित्य र सङ्गीतका माध्यमबाट सामाजिक रूपान्तरणको अभियानमा सहयोग पुर्याउने उद्देश्यले नै अविरल जनसाहित्य यात्राको थालनी गरेर बारौँ शृङ्खलासम्म व्यवस्थापन गरी जनसाहित्यिक मञ्चलाई जिम्मा लगाएको हो र मञ्चले यो स्वर्ण शृङ्खलासम्म अविच्छिन्नरूपमा विशिष्ट कार्यक्रम सम्पन्न गरेकोमा अत्यन्त खुसी लागेको छ र म मञ्चलाई धन्यवाद दिन्छु । आज वाचित कविता सुन्दर, चोटिला, उच्च चेतनास्तर तथा दृष्टिकोणका रहेका छन् । कवि मातृका पोखरेलका आगामी सिर्जना अझ उच्चस्तरका होउन, हार्दिक शुभकामना दिन्छु भन्नुभयो ।
प्रमुख अतिथि मणि थापाले साहित्य सन्ध्या र प्रतिभा प्रवाह जस्ता आन्दोलन वा अभियानले साहित्यिक–सांस्कृतिक अभियानलाई यहाँसम्म ल्याइपुर्याएका छन् । आजको यो विशेष समारोहमा प्रगतिशील आन्दोलनका अगुवा व्यक्तित्व मातृका पोखरेलका एक दर्जन कविता सुन्ने अवसर प्राप्त भयो । एकताको यो विन्दुसम्म आइसकेपछि पनि हामी साँघुरै परिशवेशमा कविता श्रवण गरिरहेका छौँ । हामी लेखक कलाकारको अबको भूमिका चाहिँ झन् गहन र महत्त्वपूर्ण छ । क्रान्ति प्रतिक्रान्तिमा परिणत हुने सम्भावनालाई रोक्ने जिम्मेवारी भनेको स्रष्टाको नै हो । समाजको वैचारिक र भावनात्मक रूपान्तरण स्रष्टाले मात्र गर्नसक्छ । हाम्रो अहिलेको अवस्था अलि रक्षात्मक जस्तो देखिएको छ । तर समन्वयवाद र व्यक्तिपूजाको चरणभन्दा अगाडि बढ्ननसक्ने हो भने यथास्थिति मौलाउने अवस्था रहन्छ । त्यसैले स्रष्टाको रचनात्मक खबरदारी आवश्यक रहेको छ । लेखक र कलाकार नै समाजका नजिक हुन्छन् । हामी स्रष्टाको अब्बल चेतना विस्तार गर्दै नेतृत्वसमेतलाई खबरदारी गर्नु आवश्यक छ । नत्र नयाँ पुस्ता विचारशून्य हुने खतरा रहन्छ । हामीले सत्ताका सुविधा र भौतिक संरचनाको सदुपयोग पनि गर्दै अग्रगामी चेतनाका साथ सामाजिक रूपान्तरणको नेतृत्व गर्नु आवश्यक छ । आजको यो विशिष्ट समारोहमा मातृकाजीका कविता पनि सुन्यौँ र मलाई प्रमुख अतिथि बन्ने अवसर पनि दिनुभयो, म आयोजक संस्था र मित्रहरूलाई हार्दिक धन्यवाद दिन्छु भन्नुभयो ।
सञ्चालक शीतल गिरीले आजको यो महत्त्वपूर्ण र विशिष्ट समारोहमा हाम्रो निम्ता स्वीकार गरी आइदिनुहुने प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यू, अतिथिज्यूहरू तथा सम्पूर्ण मान्यजनमा हार्दिक आभार व्यक्त गर्दै कार्तिकमा दसैँ पर्ने भएकाले उक्त महिनामा शृङ्खला नहुने जानकारीसहित अध्यक्षको अनुमतिले समारोहको समापन गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *