चैत्र १० गते शनिबार अपराह्न ठिक १ बजे राष्ट्रिय जनसांस्कृतिक महासङ्घको सभाकक्ष बागबजारमा राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालले २०७० चैत्र १४ देखि आयोजना गरिरहेको ‘अविरल जनसाहित्य यात्रा’को ८८ औँ शृङ्खलामा साहित्य सिर्जना, अध्यापन, विभिन्न सङ्घसंस्थामा नेतृत्व तथा सामाजिक रूपान्तरण अभियानमा क्रियाशीलता जनाइरहेकी अहिलेको समयकी अत्यन्त सक्रिय प्रगतिवादी कवि भवानी पौडेलका एक दर्जन कविता गुञ्जिए ।
राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न उक्त विशेष समारोहमा प्रमुख अतिथिका रूपमा राष्ट्रिय जनसांस्कृतिक महासङ्घका अध्यक्ष प्रेमनाथ अधिकारी उपस्थित हुनुहुन्थ्यो भने विशेष अतिथिका रूपमा एमाले केन्द्रीय सदस्य तथा कानुन विभाग उपप्रमुख धर्मराज रेग्मीको उपस्थिति रहेको थियो । राष्ट्रिय जनसांस्कृतिक महासङ्घका उपाध्यक्ष आर.सी.न्यौपाने, युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानका अध्यक्ष डा.फणीन्द्रराज निरौला, डा.गोविन्दप्रसाद आचार्य, डम्बर पहाडी, खेमराज निरौला, त्रिलोचन आचार्यलगायत अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो ।
अध्यक्ष राम विनयले कविनायकलाई माल्यार्पण गरी स्वागत गर्नुभएको थियो भने सञ्चालन राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपाल, अविरल जनसाहित्य यात्रा परिचालन समितिका सदस्य ज्ञानु विद्रोहीले गर्नुभएको थियो । अविरल जनसाहित्य यात्रा परिचालन समिति संयोजक डा.हरिप्रसाद सिलवालले कविनायकको परिचय दिनुहुँदै वि.सं.२०३४ फागुन १२ गते कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिका वडा नं.९ कुस्मामा माता तेजोवती पौडेल र पिता काशीनाथ पौडेलकी सुपुत्रीका रूपमा वि.सं.२०३४ फागुन १२ मा जन्मिएकी भवानी पौडेलले त्रिभुवन विश्वविद्यालयबाट नेपाली साहित्यमा एम.ए., एम.एड र कानुनमा स्नातक उत्तीर्ण गरेकी छिन् । सिर्जना, सङ्गठन तथा सामाजिक रूपान्तरण अभियानमा संलग्न रहेकी उनको ‘समयको सारङ्गी’ कवितासङ्ग्रह प्रकाशित छ भने पछिल्ला दिनमा आख्यानलेखनमा उनी बढी सक्रिय रहेकी छिन् । शिक्षण पेसामा समर्पित रहेकी उनी अग्रज उवम् रूपान्तरणप्रेमी स्रष्टाहरू प्रभावित भई साहित्यले समाजकोहि तगर्नुपर्ने स्पष्ट मान्यता राख्दछिन् । वैचारिक पारिवारिक वातावरण प्राप्त भएकी स्रष्टा हुँदा उनको लेखनेका उद्देश्य सामाजिक रूपान्तरण रहेको देखिन्छ । निरन्तर कलम चलाइरहेकी स्रष्टा भएकीले आजको यो विशेष समारोहमा एक दर्जन कविताका साथ प्रस्तुत गरिएको धारणा राख्नुभयो ।
समारोहका अध्यक्ष राम विनयले २०७० चैत्र १४ देखि तत्कालीन राष्ट्रिय जनसाहित्यिक मञ्चका संस्थापक अध्यक्ष डा.मोदनाथ प्रश्रितबाट थालनी गरिएको ‘अविरल जनसाहित्य यात्रा’को आज हामी ८८ औँ शृङ्खला सम्पन्न गर्नलागिरहेका छौँ । देशैभरिका नेपाली प्रगतिवादी साहित्यमा आफ्नो क्षेत्रबाट योगदान गरिरहेका एकजना स्रष्टालाई हरेक महिनाको दोस्रो शनिबार प्रत्यक्ष उपस्थित गराई उनका एक दर्जन कविता सुन्ने र कवितामाथि समीक्षासमेत गरी परिष्कार परिमार्जनमा सघाउ पुर्याउने यो अभियानमा आज नेपाली प्रगतिवादी कविताअभियानमा योगदान गर्दै साहित्य सिर्जना गरिरहेकी भवानी पौडेललाई प्रस्तुत गरिएको हो । यो विशेष समारोहमा कविता सुनाउने कविका कवितामाथि गरिने समीक्षालाई समीक्षकसँग लिखितरूपमा माग गरी प्रकाशन गर्ने पनि यो विशेष समारोहको उद्देश्य हो । आजको यो विशेष समारोहमा हाम्रो आमन्त्रण स्वीकार गरी उपस्थित भइदिने कविनायक, प्रमुख अतिथि, विशेष अतिथि, अतिथिहरू तथा स्रष्टाहरू सबै सबैलाई हार्दिक स्वागत गर्दछु । हामी स्रष्टाले अराजकतावादको विरोध गर्नुपर्ने र स्पष्ट विचारका साथ सामाजिक रूपान्तरणका पक्षमा सन्देश सम्प्रेषण गर्दै सहित्यका सिर्जना गर्नुपर्ने मान्यतालाई आत्मसात गर्ने स्रष्टाका एक दर्जन कविता र ती कवितामाथिको समीक्षा आज हामी सुन्ने छौँ भन्नुभयो ।
कविनायक भवानी पौडेलले कविता सिर्जनाको रचनागर्भका बारेमा जानकारी गराउँदै आपूmले कविता सिर्जनाबाटै साहित्ययात्राको थालनी गरेको र निरन्तर साधना एवम् आफ्नो क्षेत्रबाट सामाजिक रूपान्तरण अभियानमा केही न केही योगदान गर्नुपर्छ भनेर लागिरहँदा कतै न कतैबाट मूल्याङ्कन गरी यति लामो इतिहास निर्माण गरिसकेको यो महत्त्वपूर्ण ‘अविरल जनसाहित्य यात्रा’को अभियानमा यतिका विद्वान स्रष्टा तथा व्यक्तित्वका सामुन्ने आफ्ना एक दर्जन कविता सुनाउने अवसर प्राप्त भएकोमा गौरवान्वित महसुस गरेकी छु । मेरा कविताका विषयवस्तु यही समाजबाट टिपिएका छन् । यो मुलुकको भविष्य निर्माण हामीले नै गर्नुपर्छ भन्ने चेतनाले घच्घच्याएपछि, जनयुद्धले समाजमा पारेको नकारात्मक प्रभावलाई नजिकबाट नियालेपछि, सामाजिक विभेद र शोेषण देखेपछि, समाज परिवर्तनमा सघाउनै नसक्ने भए सत्ताप्राप्तिको अपेक्षा केका लागि ? भन्नेजस्ता अहम् प्रश्न तेर्सिएपछि, फिडेल क्यास्ट्रोजस्ता चट्टानी अडान भएका योद्धाको जीवनवृत्त पढेपछि, ज्ञान नै सर्वाेपरि कुरा हो र एकता नै बल हो भन्ने शाश्वतताले निर्देश गरेपछि मलाई कवितासिर्जनाको हुटहुटी बढेको हो । त्यसैगरी मुलुकको सबल नेतृत्वको अपेक्षा देशले गरिरहेको, सामाजिक उत्पीडनको अन्त्यका लागि स्रष्टाले कलम चलाउनै पर्छ भन्ने लागेको र गरिबीमा बाँचेका निमुखाको नियतिलाई नजिकबाट देखेपछि कविता सिर्जना गर्न बाध्य भएकी हुँ । विभेद र अन्यायको साम्राज्यको अन्त्य नगर्दासम्म सामाजिक रूपान्तरण सम्भव छैन भन्ने लागेपछि र आमा जीवित ईश्वर हुन् र उनको महत्तागान अपरिहार्य छ भन्ने लागेपछि पनि मैले कविता सिर्जना गरेकी हुँ भन्ने रचनागर्भसहित ‘देश बनाउन आऊ’, ‘धर्ती बनाऊँ सौरभ’ शीर्षकका शार्दूलविक्रीडित छन्दका, ‘फिडेल क्यास्ट्रोको सम्झनामा’ शीर्षकको गद्यकविता, ‘सिर्जनाको मूल’, ‘हाम्रो घर’ र ‘आमा’ शीर्षकका पनि शार्दूलविक्रीडित छन्दकै छओटा सुन्दर, शालीन, सरल र सशक्त कविता वाचन गर्नुभएको थियो । त्यसैगरी सहयोगी कविहरू शारदा के.सी.क्षेत्रीले ‘त्यो युद्ध’ शीर्षकको गद्यकविता, रूपक अलङ्कारले ‘चैतन्य फेरौँ अब’ शीर्षकको शार्दूलविक्रीडित छन्दको, सुभानी उपाध्यायले ‘साझा मान्छे’ शीर्षकको गद्यकविता, डम्बर पहाडीले ‘मोटे सार्की’ शीर्षकको गद्यकविता र हरिश्चन्द्र गौतमले ‘अब जाग्नुपर्छ’ शीर्षकको गद्यकविता गरी छओटा त्यस्तै शालीन तर सशक्त कविता वाचन गर्नुभएको थियो ।
वाचित एक दर्जन कवितामाथि टिप्पणी गर्नुहुँदै समीक्षक डा.गोविन्दप्रसाद आचार्यले अविरल जनसाहित्य यात्राको यो सोद्देश्यमूलक अभियान ८८ औँ शृङ्खलामा पुगेको छ । यो अभियानमा नियमितजस्तै उपस्थित भएर यसको उद्देश्यसँग गाँसिएको आपूmले आज कुशल स्रष्टा भवानी पौडेलका एक दर्जन कवितामाथि टिप्पणी गर्ने अवसर पाउँदा खुसी पनि लागेको छ । कविता भनेको भावना र विचारको सुन्दर संश्लेषण हो । छन्दमा लेख्दा स्रष्टाले अझ बढी सावधानी अपनाउनुपर्ने हुन्छ । हामी सामाजिक रूपान्तरणका पक्षमा साधना गर्ने स्रष्टाका कवितामा आशावाद र सामाजिक यथार्थ आउनै पर्छ । माक्र्सवाद समाज बदल्ने बलियो हतियार हो त्यसैले साम्राज्यवादीहरू त्यो विचारसँग डराउँछन् । आज वाचित कवि भवानी पौडेलका सबै कविता आशावादी छन्, सामाजिक रूपान्तरण अभियानलाई सघाउने खालका छन् । सबै कविता समसामयिक विषयका छन्, सरल छन्, परिष्कारयुक्त पनि छन् र वैचारिक रूपमा पनि जीवन्त सन्देश सम्प्रेषण गर्ने खालका रहेका छन् । कवितामा मानवीय मर्मान्त पीडा अभिव्यक्त भएको छ, सामाजिक विभेदको जीवन्त चित्र पनि खिचिएको पाइन्छ । समाजमा भ्रम छर्नेका विरुद्धमा हाम्रा सिर्जनाले चेतना सम्प्रेषण गर्नु आवश्यक छ । कवितामा नयाँ विम्बको खोजी हुनु पनि आवश्यक छ । हाम्रो पूर्वीय चिन्तनलाई माक्र्सवादसँग जोडेर वैचारिक दर्शन सम्प्रेषण गर्ने प्रयत्न गरौँ । आमालाई ईश्वरसँग तुलना गर्नु आवश्यक छैन, आमा आफैँमा कथित ईश्वरभन्दा माथिकी सर्वमान्य व्यक्तित्व हुन् । भवानीका कवितामा समाजका कुप्रवृत्तिका विरुद्धको शङ्खघोष र विभेद तथा शोषणको अन्त्यको आग्रह गरिएको मात्र नभई समानताका पक्षमा वकालत गरिएको छ । त्यसैले यी कविता भोलिको समाजले पनि स्विकार्ने खालका रहेका छन् र जनताका पक्षमा लेखिएका कविता सार्थक रहेका छन् भन्ने धारणा राख्नुभयो ।
प्रमुख अतिथि राष्ट्रिय जनसांस्कृतिक महासङ्घका अध्यक्ष प्रेमनाथ अधिकारीले अविरल जनसाहित्य यात्राको यो अठासिऔँ शृङ्खलामा आज सक्रिय एवम् प्रखर कवि भवानी पौडेललाई सुनियो । सरल तरिकाले गम्भीर भाव कवितामा सम्प्रेषण गर्नसकिँदो रहेछ, कवितामै शालीन व्रिद्रोहका माध्यमबाट रूपान्तरणको सन्देश पनि सम्प्रेषण गर्नसकिँदो रहेछ भन्ने अनुभूति पनि कविता सुनिसकेपछि भएको छ । राजनीतिले मूर्त रूप लिएपछि सामाजिक रूपान्तरण गर्न राजनीति र संस्कृतिको मेल आवश्यक छ । समाजलाई जोड्न संस्कृतिकर्मीको अहम् भूमिका हुन्छ । राजनीतिक परिवर्तनमाथि धावा बोल्ने प्रवृत्तिका विरुद्ध सिर्जना गरी राजनीति र संस्कृतिका बिचको नङ र मासुको सम्बन्ध बनाउनु पनि आवश्यक छ । गणतन्त्रवादी कवि यद्धप्रसाद मिश्रले सतिसालजस्तो भएर गणतन्त्रका पक्षमा खेलेको भूमिका राजनीति र संस्कृतिकर्मीका लागि उदाहरणीय रहेको छ । महासङ्घ र घटकहरू चलायमान हुनै पर्छ । साथसाथै अब समाज कसरी अगाडि बढ्छ भन्ने चिन्तनसहितका सिर्जना गरिनु आवश्यक छ किनभने साहित्यले सामाजिक रूपान्तरण अभियानलाई निकै ठुलो बल पुर्याउँछ, स्रष्टाको कलम अत्यन्त तिख्खर हुन्छ । यो समारोह अत्यन्त प्रवाहपूर्ण र सुन्दर रहेको छ । यो समारोहमा फरक फरक धारका कविता सुनिने गरेका छन् र आजका कविता चाहिँ राजनीतिक रूपान्तरण भए पनि चेतना र दृष्टिकोणमा भने अपेक्षित रूपान्तरण नभएको यथार्थलाई उजागर गरिएका नै सुनिएका छन् । यो विशेष समारोह सार्थक रहेको छ भन्ने धारणा राख्नुभयो ।
समारोहमा हाम्रो आमन्त्रण स्वीकारी उपस्थित भइदिनुभएका प्रमुख अतिथि, विशेष अतिथि, अतिथिहरू, साहित्यानुरागी व्यक्तित्व तथा समारोहका कविनायक, उनका जीवनसाथी तथा परिवारका सदस्यलाई धन्यवाद दिँदै सङ्घका उपाध्यक्ष रमेश पोखरेलले सिर्जना, अध्यापन, विभिन्न सङ्घसंस्थामा सक्रियता, सामाजिक रूपान्तरण अभियानमा सक्रिय, अथकित, अविश्रान्त स्रष्टा भवानी पौडेललाई आज हामीले सुन्यौँ । कवितामा अत्यन्त सपाट, सरल एवम् सुबोध्य भाषाशैलीमा सरलताका माध्यमबाट गम्भीर भाव सम्प्रेषण गर्ने, छन्दकवितामा र गद्यकवितामा उस्तै उस्तै गरी जमेकी, शालीन विद्रोहका माध्यमबाट परिस्कृत वैचारिकता सम्प्रेषण गर्ने पौडेलको पारिवारिक माहोल पनि सहयोगी रहेको देखियो । वर्गीय प्रेम र समतामूलक समाज निर्माणको अपेक्षा उनका कवितामा सशक्तढङ्गले अभिव्यक्त भएको देखिन्छ । समसामयिक विद्रुप यथार्थको उद्घाटन गर्दै विभेद, उत्पीडन र शोषणको अन्त्यको आग्रह गर्नु पनि कविका विशेषता रहेका छन् । अध्यापन पेसा र वैचारिक पारिवारिक वातावरणले पनि स्रष्टालाई सिर्जनामा सघाएको पाइन्छ । समयको कुशल व्यवस्थापन गर्ने व्यक्तित्व पनि भएकीले उनका सबै कवितामा समसामयिक समाजका विसङ्गत पक्षको उजागर गर्दै समग्र रूपान्तरणका पक्षमा आबाज उठाइएको पाइन्छ । आशावादी जीवनदृष्टि सम्प्रेषण गर्ने, बेथिति र विसङ्गतिमा कडा प्रहार गर्ने र सिर्जनालाई कलात्मक पार्ने कविको लेखनले नयाँपुस्तालाई प्रोत्साहन गर्ने छ । यिनै गुणग्राही अभियन्ता स्रष्टाका बारेमा हामीले सुन्यौँ, कविता सुन्यौँ, परिचर्चा गर्यौँ र यो शृङ्खला हामी सबैका लागि धेरै हदसम्म अविस्मरणीय रहेको छ । अब हामी वैशाख महिनामा ८९ औँ ‘अविरल जनसाहित्य यात्रा’मा मोरङको बेलबारीमा रहेर नेपाली प्रगतिवादी साहित्यमा निरन्तर क्रियाशील रहिरहेकी स्रष्टा तिला लेकालीलाई प्रस्तुत गर्ने छौँ र सो विशेष समारोहमा उहाँका एक दर्जन कविता श्रवण गर्नका लागि यहाँहरू सबैलाई निम्ता गर्ने नै छौँ भन्ने जानकारीसहित अध्यक्षज्यूको अनुमतिले कार्यक्रमको समापन गर्नुभयो ।