‘अविरल जनसाहित्य यात्रा–८२’मा कवि अनिता लामा

भदौ २० गते बुधबार अपराह्न ठिक १ बजे राष्ट्रिय जनसांस्कृतिक महासङ्घको सभाकक्ष बागबजारमा राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालले विगत लामो समयदेखि आयोजना गरिरहेको ‘अविरल जनसाहित्य यात्रा’को ८२ औँ शृङ्खलामा अहिलेको समयकी अत्यन्तै क्रियाशील, प्रखर एवम् सशक्त प्रगतिवादी कवि अनिता लामाका एक दर्जन कविता गुञ्जिए ।


राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न उक्त विशेष समारोहमा प्रमुख अतिथिका रूपमा एमाले उपाध्यक्ष, पूर्व मन्त्री एवम् साहित्यलाई माया गर्ने युवराज ज्ञवाली उपस्थित हुनुहुन्थ्यो भने राष्ट्रिय जनसांस्कृतिक महासङ्घ, नेपालका अध्यक्ष प्रेमनाथ अधिकारी विशेष अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो । ललितकला प्रज्ञाप्रतिष्ठानका उपकुलपति लालकाजी लामा, प्रा.डा.लेखप्रसाद निरौला, नेपाल टेलिभिजनका महाप्रबन्धक पूmलमान वल, प्रा.डा.देवी नेपाल, वासुदेव अधिकारी, नर्मदेश्वरी सत्याल, लक्ष्मी माली, स्नेह सायमी, राष्ट्रिय जनसांस्कृतिक महासङ्घका उपाध्यक्ष आर.सी.न्यौपाने, डा.फणीन्द्रराज निरौला, डम्बर पहाडी, प्रकाश सिलवाल, महेश खरेल, सुरेश हाचेकाली, राजेश थापा, डा.कृष्ण सुवेदी, नवराज रिजाल, खेमराज निरौलालगायत अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो ।


प्रमुख अतिथि, विशेष अतिथि, कविनायकm टिप्पणीकारलाई अध्यक्ष राम विनयले पुष्पगुच्छा अर्पण गरी स्वागत गर्नुभएको र राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपाल, अविरल जनसाहित्य यात्रा परिचालन समिति सदस्य ज्ञानु विद्रोहीको सञ्चालनमा सम्पन्न उक्त विशेष समारोहमा अविरल जनसाहित्य यात्रा संयोजन समितिका संयोजक डा.हरिप्रसाद सिलवालले कविनायक अनिता लामाको व्यक्तित्व तथा कृतित्वमाथि प्रकाश पार्नुहुँदै कान्छी लामा र कान्छा लामाकी सुपुत्रीका रूपमा जन्मिएकी, २०४६ सालदेखि अनवरतरूपमा साहित्य लेखन तथा राजनीतिक सक्रियता देखाइरहनुभएकी, २०५८ मा ‘अनुराग’ शीर्षकको कवितासङ्ग्रह लिएर नेपाली प्रगतिवादी साहित्यका फाँटमा सशक्त कविको पहिचान स्थापित गर्नुभएकी उहाँका तीनओटा कवितासङ्ग्रह प्रकाशित भएका; सिर्जना, सङ्गठन, जनपरिचालन, प्रशासनिकलगायत क्षेत्रमा सक्रियता देखाउनुका साथै समाजशास्त्र र वाणिज्यशास्त्रमा स्नातकोत्तरसमेत गरी बौद्धिक छवि पनि बनाउनुभएकी अहिलेको समयकी अत्यन्त सक्रिय स्रष्टालाई आज हामीले उहाँका एक दर्जन कविता सुन्ने र ती कवितामाथि टिप्पणी गर्ने उद्देश्यसहितको यो विशेष समारोहमा उपस्थित गराएका छौँ भन्नुभयो ।


समारोहको अध्यक्षता गर्दै राम विनयले सात वर्षअगाडिदेखि सञ्चालन गरिएको ‘अविरल जनसाहित्य यात्रा’ महामारीजन्य समयमा बिचमा केही समय रोकिएको थियो तर फेरि यसको उद्देश्यअनुसार एकजना प्रगतिवादी स्रष्टालाई यो विशेष समारोहमा उपस्थित गराई कविको व्यक्तित्व तथा कृतित्वका बारेमा समेत चर्चा गर्दै एक दर्जन कविता, गीत, गजल सुन्ने र ती रचनाको समालोचना गर्ने यो कार्यक्रमले स्रष्टालाई र समग्र नेपाली साहित्यमा केही न केही योगदान अवश्य पुग्छ भन्ने ठानेर थालनी गरिएको हुँदा यस्तो महत्त्वको शृङ्खलालाई निरन्तरता दिइरहिएको छ । साहित्यमा पनि वर्गीय प्रेम हुन्छ र विनाभेदभाव सबैलाई समान अवसर प्रदान गर्दै सिर्जनामा रहेका कमीकमजोरी सुधार्ने उद्देश्यका साथ वाचित रचनामाथि विशेषज्ञ व्यक्तित्वद्वारा समीक्षा गर्ने प्रचलन रहेको छ । मेन्टल डिस्ट्रक्सन, अराजकतावादजस्ता प्रवृत्ति हुर्काउने प्रयत्न भइरहेको वर्तमान समयमा प्रगतिशील दृष्टिकोणसहित रचना गरिएको साहित्यले सामाजिक रूपान्तरणमा मदत गर्दछ भनेर नै हामी हरेक महिना एकजना स्रष्टाको छनोट गर्दछौँ । आजको शृङ्खलामा नेपाली प्रगतिवादी साहित्यका माध्यमबाट सामाजिक रूपान्तरणको अभियानमा र सङ्गठनका माध्यमबाट, जनपरिचालनका माध्यमबाट पनि प्रगतिवादी वैचारिकता सम्प्रेषण गर्दै सामाजिक रूपान्तरण अभियानमा सशक्तढङ्गले अविश्रान्त, अविच्छिन्न सक्रियता देखाइरहेकी वर्तमान समयकी अत्यन्तै सक्रिय स्रष्टा अनिता लामालाई प्रस्तुत गरिएको छ । अनिता लामा आफ्ना सिर्जनामा गम्भीरताका साथ समाजका कुरूप यथार्थलाई उतार्ने र सरलताका साथ, जीवनभोगाइका यथार्थ एवम् सुन्दर विम्बलाई प्रयोग गर्दै नेपाली समाजका विपन्न वर्गले बाँचेको जीवनमा रूपान्तरणका पक्षमा वैचारिकता सम्प्रेषण गर्ने स्रष्टा पनि हुन् । आजको यो विशेष समारोहमा प्रमुख अतिथिका रूपमा युवराज ज्ञवालीलाई पाउँदा झनै खुसी पनि लागेको छ भन्नुभयो ।


कविनायक अनिता लामाले विगत सात वर्षदेखि निरन्तर सञ्चालन भइरहेको यो विशेष महत्त्वको विशेष समारोहमा धेरै स्रष्टाका कविता सुन्न उपस्थित भएकी छु । अझ एकपटक त सामूहिक कवितावाचनमा सहभागी पनि भएकी छु । यो उद्देश्यमूलक विशेष समारोहमा आज आप्mना मात्र एक दर्जन कविता सुनाउने अवसर पाएकोमा कृतज्ञता पनि जाहेर गर्दछु । समाजमा दुःख पाएका वर्गले भोगेका समस्या, पीडा र उनीहरूको जीवनभोगाइले चिमोटेपछि; हेपाइ, विभेद र शोषणमा पिल्सिएर पनि जीवन बाँच्नका लागि सङ्घर्ष गरिरहेकाहरूको जीवनयात्रालाई नियालेपछि; जातीय विद्वेशका दुश्प्रयत्न अनि जनतालाई अल्मल्याउने, ढाँट्ने र छल्ने प्रवृत्ति हुर्किएको वा भनौँ मौलाइरहेको देखेपछि, शिक्षाले बेरोजगारी उत्पादन गरेर वा राज्यले रोजगारीका अवसर सिर्जनाका न्यूनतम प्रयत्नसम्म नगरेर युवा पलायनको समस्याले देश आहत भएको अनुभूत गरेपछि, श्रमजीवीका पसिनाको अवमूल्यन भएको देखेपछि, ज्येष्ठ नागरिक उपहासमा परेको देखेपछि अर्थात् सत्तामा पुग्नेहरूको बोली र व्यवहारमा तालमेल मिलाउनुको सट्टा सत्ता जनताका लागि नभई आफ्नै स्वार्थका लागि भइदिएपछि आफ्नो मनमा उत्पन्त अनुभूतिलाई सिर्जनामा उतारेको रचनागर्भको पनि जानकारी गराउँदै आफ्ना ‘ओ ! अटकनारा’, ‘गुजारा’, ‘आगोको पूmल’, ‘बेपत्ता ईश्वर’, ‘कमरेड ! मेरो सन्ते कहाँ छ ?’, ‘जीवनको रङ’, र ‘जुनुमाया’ शीर्षकका सातओटा सशक्त एवम् सुन्दर कविता वाचन गर्नुभयो । कवि लक्ष्मी मालीले ‘पसिना’ शीर्षकको, कवि आयुश्री घिमिरेले ‘जुत्ता’ शीर्षकको, कवि यशोदा अधिकारीले ‘बिर्खबहादुर माझी’ शीर्षकको, कवि रोजिता बुद्धाचार्यले ‘प्रसाद’ शीर्षकको र कवि जयन्ती स्पन्दनले ‘पाठेघर’ शीर्षकको त्यस्तै सशक्त र सुन्दर कविता वाचन गर्नुभएको थियो ।


वाचित एक दर्जन कवितामाथि टिप्पणी गर्नुहुँदै अतिथि वरिष्ठ कवि एवम् समालोचक प्रा.डा.लेखप्रसाद निरौलाले अविरल जनसाहित्य यात्राको यो सोद्देश्यमूलक अभियान ८२ औँ शृङ्खलामा पुगेको छ । वाचित कवितामाथि टिप्पणीसमेत गरेर कविलाई थप परिष्कृत पार्ने पनि यो अभियानको उद्देश्य सकारात्मक छ । आजको यो समारोहको उपस्थिति पनि उल्लेखनीय छ । आज हामीले कवि अनिता लामाका कविता सुन्यौँ । आजका कविका रोचक विषयवस्तु समेटिएका सशक्त र प्रभावकारी कविता वाचित भएका छन् । २०४६ पछिको कविको साहित्यिक यात्रा आजसम्म आउँदा सशक्त बनेको छ र अहिलेको सरकारी पाठ्क्रममा कक्षा ८ मा कविको एउटा कविता समावेश पनि भएको छ । आजका कविताले समाज बोलेका छन् र समाज तथा संस्कृतिको समन्वय गरेका छन् । शब्द र लयले मात्र कविता बन्दैन त्यसमा विचार पनि चाहिन्छ भन्ने यथार्थलाई कविले आत्मसात गरेकी र कवितामा जीवन दर्शन, वर्तमानमा मानवजीवनलाई धराशायी पार्ने अनेक प्रकारका प्रयत्नका विरुद्धको खबरदारी, आशावादी सङ्घर्षशील जीवनदर्शनयुक्त वैचारिकता, सशक्त र सुन्दर विम्बको प्रयोग अनिताका कवितामा पाइँने विशेषता हुन् । जुत्ताको विम्बका माध्यमबाट जुत्ताको त्याग र समर्पण उजागर गरिएको छ र सङ्घर्षशील जीवन हरियो हुँदैन माटोजस्तै खैरो रङको हुन्छ भन्ने वैचारिक दर्शन सम्प्रेषण गरिएको छ । राज्यले विपन्न वर्गको पीडामा मलम लगाउनुपर्ने आग्रहसहित युवापलायनको पीडा उजागर गरी समाधानको अपेक्षा राखिएको छ । कवितामा आख्यानात्मकरूपमा गरिबको जीवनगाथा उजागर भएको छ । योजनाविहीन विकासमा नाममा गरिबलाई उत्पीडनमा पार्ने प्रवृत्तिका प्रति आक्रोश व्यक्त गरिएको छ । ईश्वरका नाममा पूmल, प्रसाद बच्नेको पीडा जस्ताको तस्तै रहेको तर कथित ईश्वर अमूक रहेको यथार्थ उजागर गरिएको छ । आधुनिकताका नाममा सांस्कृतिक विचलनका प्रतिको चिन्ताभाव कवितामा अभिव्यक्त गरिएको छ र संस्कृति तथा सभ्यताको संरक्षणका पक्षमा वकालत गरिएको छ । हिजोका हाम्रा संस्कृतिका आनन्द र आत्मीयता परिवर्तनका नाममा स्खलित भएका मात्र होइन मौलिक पहिचान हराउँदै गएको प्रति चिन्ताभाव व्यक्त गरिएको छ । कथित क्रान्तिका नाममा होनहार यवा मारिएपछि परिवारले न्याय नपाएको यथार्थतालाई जीवन्तरूपमा उजागर गरिएको छ । कविताका हरेक पङ्क्तिले निकै मजाले छुन्छन् । हरेक कविता मानवीय जीवनसँग नजिक रहेका छन् । नारीवादी आन्दोलनको सशक्त अभिव्यञ्जना कवितामा भएको छ । केही कवितामा आख्यान बढी लामो भएको र अनुच्छेद छुट्याउनुपर्ने पक्षमा ध्यान दिने हो भने अनिता लामाको सिर्जनायात्रा निकै सशक्त रहेको धारणा राख्नुभयो ।


विशेष अतिथि राष्ट्रिय जनसांस्कृतिक महासङ्घका अध्यक्ष प्रेमनाथ अधिकारीले अविरल जनसाहित्य यात्राको यो बयासिऔँ शृङ्खलामा आज अत्यन्त सशक्त स्रष्टा अनिता लामालाई सुनियो । आजका कविता सुन्नका लागि उपस्थिति पनि गरिमामय रहेको छ । सरल तरिकाले गम्भीर भाव सम्प्रेषण गर्नसकिँदो रहेछ भन्ने अनुभूति पनि कविता सुनिसकेपछि भएको छ । साथै कविता सिर्जनाका लागि विषयवस्तु त हाम्रो सामान्य मान्छेले वा दीनदुःखीले भोगेको जीवनभोगाइ पो रहेछ भन्ने अनुभूति पनि भएको छ । यो अविरल जनसाहित्य यात्राले बयासीजना स्रष्टा उपस्थित गराइसकेको हुँदा ऐतिहासिक काम गरेको धारणा राख्नुभयो ।


प्रमुख अतिथिले धेरै वर्षदेखि अनिताको सक्रियता, सङ्घर्ष नजिकबाट नियालिरहेको भए पनि उनको लेखनक्षमता पनि यति सशक्त रहेछ भन्ने कुरा चाहिँ आजै जानकारी भएको छ । हामीसँग प्रतिभाशाली एवम् क्षमतावान्हरूको ठुलो सङ्ख्या रहेको छ तर त्यो क्षमताको प्रदर्शन र मूल्याङ्कनको पाटोमा भने कमी रहेको छ । आजका कविता सुनिरहँदा कविताको शक्तिले मन्त्रमुग्ध भएर सुनौ सुनौँ भइरहेको देख्दा वा अनुभूत गर्दा कवि अनिता लामाको सिर्जनाक्षमता पनि सशक्त रहेको प्रमाणित भएको छ । हामीले जुनसुकै क्षेत्रबाट पनि देश र जनताका लागि आफ्नो क्षमता र प्रतिभाको सदुपयोग गर्नुपर्दछ । दुनियाँको सम्पूर्ण विकास यही मानवमस्तिष्कले सम्भव भएको छ त्यसैले पनि हामी मानवले आपूmलाई बढी गतिशील र क्रियाशील बनाउनु आवश्यक छ । वर्तमानमा राजनीति भनेको सत्तामा पुग्नका लागि मात्र हो भन्ने विम्ब तयार भएको छ त्यसैले सत्ताको सुखभोगले राजनीतिलाई दूषित पारेको छ र पार्ने सम्भावना बढेको छ त्यसैले साहित्यकारले सिर्जनाका माध्यमबाट राजनीतिज्ञलाई ‘कमलको पूmल टिप्न जाऊ तर हिलोमा नडुब’ भनेर सचेत गराइरहनुपर्दछ । आज वाचित कवितामा त्यो सचेतता पनि पाइयो; जनताका दुःख, वेदना, जीवनदर्शन, राजनीति सबै सबै सुन्दरढङ्गले आएको पाइन्छ । सत्तामा पुग्ने मात्र ठुला हुन्छन् भन्ने भ्रम हो । निमुखा जनताको जीवनमा परिवर्तन ल्याउनु सबैभन्दा ठुलो कुरा हो र यो अभियानमा साहित्यकारले सदैव लागिरहनु आवश्यक छ भन्ने धारणा राख्नुभयो ।


समारोहमा हाम्रो आमन्त्रण स्वीकारी उपस्थित भइदिनुभएका प्रमुख अतिथि, विशेष अतिथि, अतिथिहरू, साहित्यानुरागी व्यक्तित्वलाई धन्यवाद दिँदै सङ्घका उपाध्यक्ष रमेश पोखरेलले सिर्जना, सङ्गठन, राजनीतिक–सामाजिक रूपान्तरण अभियानकी अथकित, अविश्रान्त अभियन्ता मात्र होइन अनिता लामा बहुभाषी स्रष्टा पनि हुन् । कवितामा अत्यन्त सपाट शैलीमा सरलताका माध्यमबाट गम्भीर भाव सम्प्रेषण गर्ने र परिस्कृत वैचारिकता सम्प्रेषण गर्ने अनिता लामा आफैँमा खुला किताब हुन् र विचारले मात्र सामाजिक रूपान्तरण सम्भव छ भन्ने ठान्ने अनि जनताकै सेवामा समर्पित हुने अहमविहीन अभियन्ता पनि हुन् । अराजक नभएकी अनुशासित अभियन्ता अनिताले यो देशका विपन्न वर्गले सपना देख्नका लागि पनि निदाउन नपाएको मर्मान्त पीडालाई कवितामा सशक्तढङ्गले अभिव्यक्त गरेकी छिन् । उनका कवितामा प्रखर राष्ट्रवादी चेतना सम्प्रेषण गर्दै हाम्रो समाजका नारीहरूले, ज्येष्ठ नागरिकले, तल्लो वर्गका श्रमजीवी जनताले भोगेका सम्पूर्ण भोगाइको, बेथितिको, अन्याय अत्याचारको, विभेदको, उत्पीडनको जीवन्त चित्रण गरेकी छिन् । आशावादी जीवनदृष्टि सम्प्रेषण गर्ने र सिर्जनालाई कलात्मक पार्ने उनको लेखनलाई प्रोत्साहित गर्दै कक्षा ८ को नेपाली किताबमा उनको कवितासमेत समावेश गरिएको छ । यिनै गुणग्राही स्रष्टाका बारेमा हामीले सुन्यौँ, कविता सुन्यौँ, परिचर्चा गर्यौँ र यो शृङ्खला हामी सबैका लागि धेरै हदसम्म अविस्मरणीय रहेको छ । अर्काे महिनामा ८३ औँ ‘अविरल जनसाहित्य यात्रा’मा सिन्धुपाल्चोकमा रहेर प्रगतिवादी साहित्यका माध्यमबाट र सामाजिक रूपान्तरण अभियानमा योगदान गरिरहनुभएका स्रष्टा रापी वाशिष्टलाई हामी प्रस्तुत गर्ने छौँ र सो विशेष समारोहमा उहाँका एक दर्जन कविता श्रवण गर्नका लागि यहाँहरू सबैलाई निम्ता गर्ने नै छौँ भन्ने जानकारीसहित अध्यक्षज्यूको अनुमतिले कार्यक्रमको समापन गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *