अविरल जन साहित्य यात्रा१८’ मा वरिष्ठ प्रगतिवादी साहित्यकार प्राज्ञ नर्मदेश्वरी सत्यालका प्रतिनिधि कविता वाचन

रमेश पोखरेल
मितिः २०७२।६।१५।६

असोज १५ गते शुक्रवार अपराह्न ठिक ३.० बजे राष्ट्रिय जन सांस्कृतिक महासङ्घको  सभाकक्षमा राष्ट्रिय जन सांस्कृतिक महासङ्घको आयोजना र जन साहित्यिक मञ्च, नेपालको व्यवस्थापनमा संयुक्त रूपमा अविरल जन साहित्य यात्रा१८’ सम्पन्न भयो । हरेक महिनाको दोस्रो शुक्रवार पारेर ठिक ३ बजे महासङ्घको सभाकक्षमा वरिष्ठदेखि हालसम्मका साहित्यकारका एकल रचना वाचन गर्ने विशेष कार्यक्रम निरन्तर रूपमा सम्पन्न गर्ने यो अभियानको अठारौँँ शृङ्खला मुलुकले भोगि रहेको प्रतिकूल अवस्थाका कारणले तेस्रो शुक्रवार सम्पन्न गर्न लागिएको जानकारी सहित जन साहित्यिक मञ्च, नेपालकी कोषाध्यक्ष यशोदा अधिकारीले कार्यक्रमको सञ्चालन गर्दै उक्त विशेष समारोहका प्रमुख अतिथि राष्ट्रिय जन सांस्कृतिक महासङ्घका अध्यक्ष एवम् नेकपा एमाले केन्द्रीय सदस्य तथा संस्कृति विभाग प्रमुख खगेन्द्र राईलाई आसन ग्रहणका लागि आग्रह गर्नु भयो । समारोहको अध्यक्षता जन साहित्यिक मञ्च, नेपालका उपाध्यक्ष रमेश पोखरेलले गर्नु भएको थियो । अतिथिहरूमा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा.डा.जीवेन्द्र देव गिरी, डा.फणीन्द्र निरौला, डा.मदनप्रसाद सत्याल, वरिष्ठ कवि वासुदेव अधिकारी, वरिष्ठ साहित्यकार रामप्रसाद प्रदीप, समालोचक हेमनाथ पौडेल, महासङ्घका कार्य वाहक महासचिव प्रेमनाथ अधिकारी, सांस्कृतिक संस्थानका महाप्रवन्धक राजेश थापा, एमाले नेता एवम् साहित्यकार डा.विजय सुब्बा, महासङ्घकी  कोषाध्यक्ष भूमिका सुब्बा, सहकोषाध्यक्ष जङ्ग पहाडी उपस्थित हुनु हुन्थ्यो ।

प्रमुख अतिथि खगेन्द्र राईले आजको कार्यक्रमकी प्रमुख नायक वरिष्ठ साहित्यकार प्राज्ञ नर्मदेश्वरी सत्याललाई माल्यार्पण गरी समारोहमा स्वागत गर्नु भयो र सम्मान पत्र अर्पण गर्नु भयो । त्यसै गरी उहाँलाई कविता वाचनमा सहयोग गर्ने कविहरू जयन्ती स्पन्दन, रूपक अलङ्कार, सुशीला प्रधानाङ्ग, नारायण निराशी, बैरागी जेठा, धनकुमारी सुनार र इन्दु अंशुलाई अनि टिप्पणीकार डा.फणीन्द्र निरौलालाई जन साहित्यिक मञ्च, नेपालका महासचिव विनोद मञ्जनले टीका लगाइ दिएर मञ्चमा आसन ग्रहण गराइयो । 

वरिष्ठ प्रगतिवादी साहित्यकार प्राज्ञ नर्मदेश्वरी सत्यालको व्यक्तित्व तथा कृतित्वमाथि प्रकाश पार्दै जन साहित्यिक मञ्च, नेपालको काव्य विभागकी संयोजक डा.विन्दु शर्माले कविता, निबन्ध र बाल साहित्य लेखनमा विशेष सक्रिय रहेकी नर्मदेश्वरी सत्याल आफ्ना कवितामा समकालीन समाजको चित्रण गर्ने, सामाजिक उत्पीडनको विरोध गर्ने, लैङ्गिक समानताको वकालत गर्ने, महिला शक्तिको पहिचान गर्नु पर्ने धारणा राख्ने, मूलतः आशावादी दृष्टिकोण सम्प्रेषण गर्ने; तेत्तिस वर्ष शिक्षण सेवामा समर्पित भएकीले नैतिकता, आशावादिता र सङघर्षको सन्देश कवितामा दिने; अन्ध विश्वास र रुढिवादको सदैव विरोध गर्ने कविका रूपमा परिचित रहेकी; संस्मरण र आख्यानको सुन्दर सम्मीश्रणले उनका निबन्ध झन् शक्तिशाली देखिएका; समालोचक व्यक्तित्व पनि सशक्त रहेको धारणा राख्नु भयो ।

विशेष समारोहकी आकर्षण वरिष्ठ प्रगतिवादी साहित्यकार प्राज्ञ नर्मदेश्वरी सत्यालले राष्ट्रिय जन सांस्कृतिक महासङ्घ र यसको सक्रिय घटक संस्था जन साहित्यिक मञ्च, नेपालले चलाइ रहेको यो गरिमामय अभियानमा उपस्थित भएर आफ्ना आदरणीय अग्रजका सामु कविता वाचन गर्ने यो अवसर आफ्नालागि ऊर्जामय भएको; यो विशिष्ट कार्यक्रम कविता, वाचन र व्यक्तित्वको परीक्षणको कार्यक्रम समेत भएको विचार व्यक्त गर्दै मध्यम वर्गीय परिवारमा जन्मेकी भए पनि छोरीलाई शिक्षा दिनु पर्ने चेतना विकसित नभएको र ९ महिनाकै शिशु अवस्थामा आमाको मायाबाट वञ्चित हुनु परेर मावलमा हुर्केको, १४ वर्षको उमेरमा मात्र आमा नभएको थाहा पाएको, १६ वर्षकै उमेरमा २०२८ सालमा विवाह भएको, पढ्न नपाउनुको पीडा आफूले भोगेकी मात्र होइन जीवन साथी डा.मदनप्रसाद सत्यालको सदाशय पूर्ण सहयोगका कारण दुई छोराछोरी जन्मिएपछि मात्र आफूले पढ्न पाएर २०३५ सालमा एस.एल.सी.उत्तीर्ण गरेकी, २०५० सालमा काठमाडौँ आएपछि मात्र सङ्घसंस्थामा आवद्ध भएर काम गर्न थालेकीले आफ्ना सिर्जनामा कला र गलाको परिष्कार अझै आवश्यक छ भन्ने महसुस भइ रहेको धारणा सहित छोरीको वेदना’ शीर्षकको हजुरआमाले गाउने सिलोकबाट कविता वाचनको थालनी गर्दै विवाह अघि र पछि’, आमा’, बालहत्या’, सफल गुरु’, नाति नातिनी र म’ शीर्षकका कविता वाचन गर्नु भयो । सहयोगी कविहरू जयन्ती स्पन्दनले ‘नयाँ नेपालको चित्र’ शीर्षकको, रूपक अलङ्कारले शार्दूलविक्रीडित छन्दको यो राष्ट्र हामी भरौँ’ शीर्षकको, सुशीला प्रधानाङ्गले म फुल बनी’ शीर्षकको, नारायण निराशीले अनुष्टुप छन्दको आमा हुँ’ शीर्षकको, बैरागी जेठाले नेपाली त हो नि’ शीर्षकको, धनकुमारी सुनारले म र तीज पञ्चमी’ शीर्षकको र इन्दु अंशुले शार्दूलविक्रीडित छन्दको भनूँ’ शीर्षकका शक्तिशाली कविता वाचन गर्नु भयो ।

समालोचक डा.फणीन्द्र निरौलाले प्राज्ञ नर्मदेश्वरी सत्यालका वाचित कवितामाथि टिप्पणी गर्नु हुँदै कवितामा माक्र्सवादी चिन्तन स्पष्ट देखा परेको, विम्ब र प्रतीकको सुन्दर संयोजन पाइएको, द्वन्द्वको अवस्थाको मर्मस्पर्शी चित्रण गरिएको, समाज रूपान्तरणको स्पष्ट सन्देश कविताले दिएका, अवसर नपाउँदानपाउँदै पनि सफल कविका रूपमा उनी स्थापित भएकी, बाहिर देखिने व्यवहार सरल भएर पनि रूपान्तरणका सन्दर्भमा भने कठोर अझ समाजभन्दा कठोर देखिएकी, वाचित सबै कविता फुटकर रहेका, कवितामा मातृशक्तिको बखान गरिएको; कुरीति, अन्ध विश्वास, मौलिकता विहीन आयातीत संस्कृतिको नकारात्मक प्रभाव परी समाज बिग्रँदै गएकोप्रति चिन्ता जाहेर गरिएको, सामाजिक मूल्य मान्यता ध्वस्त हुँदै गएको प्रति चिन्ता व्यक्त भएको, हेर्दा फुल जति कोमल छ त्यसभित्र काँडा पनि भएकाले फुल बन्न कठिन छ भन्ने दार्शनिक मान्यता कवितामा आएको, समाजमा बाल बालिका असुरक्षित रहेको प्रति चिन्ता जाहेर गरिएको, गणतान्त्रिक संस्कार युक्त विद्यार्थी बनुन् भन्ने शिक्षकीय आग्रह कवितामा रहेको; भाषालाई बिगार्ने, भत्काउने र अराजकता भित्र्याउने कार्यका प्रति दुख व्यक्त गरिएको, लैङ्गिक विभेदका प्रति आक्रोश व्यक्त गरिएको, सामाजिक विकृति र विसङ्गतिमा रूपान्तरणको आग्रह रहेको, कवितामा तिन पुस्तालाई जोड्ने कार्यमा सफलता देखिएको, शास्त्रीय र मुक्त लयका कवितामा मूल रूपमा जागरण, व्यङ्ग्य र विद्रोह देखा परेको, कविता सरल भइकन पनि कलात्मक रहेका, प्राकृतिक तथा सांस्कृतिक विम्बको प्रयोग गरिएको पाइनु उनका सशक्त पक्ष हुने भने भन्न खोजेको कुरामा थोरै अलमल भने देखिएको, कविताको प्रस्तुतिमा पाठकको उचाइ युक्त आकाङ्छ्या पुरा गर्न अलि नसकेको देखिएको हुँदा यो पक्षमा स्रष्टाको ध्यान जाओस् भन्ने धारणा राख्नु भयो ।

प्रमुख अतिथि खगेन्द राईले वरिष्ठ कवि एवम् प्राज्ञ नर्मदेश्वरी सत्यालका एक दर्जन कविता सुन्न पाइएको र ती कवितामाथि समालोचक डा.फणीन्द्र निरौलाले मसिनो समालोचना समेत प्रस्तुत गरि सक्नु भएकाले कार्यक्रम फलदायी भएको, महासङ्घका अन्य घटकले पनि हरेक महिना केही न केही विशिष्ट कार्यक्रम सम्पन्न गरि रहेका हुँदा महासङ्घले समन्वयकारी भूमिका मात्र निर्वाह गरि रहेको अनि कार्यक्रमको गुणस्तर निकै वृद्धि भइ रहेकोमा खुसी लागेको विचार व्यक्त गर्नु भयो । साथै साझा प्रकाशनको निकट भविष्यमा सम्पन्न हुने निर्वाचनमा डा.विजय सुब्बालाई उमेदवार बनाइएकाले सबैको सहयोगका लागि आग्रह गर्नु भयो ।     

उपस्थित सबै साहित्यकारहरूलाई धन्यवाद सहित विशेष समारोहको समापन गर्दै जन साहित्यिक मञ्च, नेपालका उपाध्यक्ष रमेश पोखरेलले देशभरि जहाँसुकै रहेर पनि नेपाली समाजको रूपान्तरण अभियानमा योगदान गरि रहने वरिष्ठदेखि हालसम्मका स्रष्टालाई उपस्थित गराएर कविता, गीत, गजल वाचन गर्न लगाउने र स्रष्टाको व्यक्तित्व तथा कृतित्वका बारेमा समीक्षात्मक टिप्पणी गरी व्यक्तित्व उजागर गर्न विशेष सहयोग गर्ने उद्देश्यले अठार महिनाअघि थालनी गरिएको यो कार्यक्रममा यस पटक हामीले वरिष्ठ प्रगतिवादी साहित्यकार प्राज्ञ नर्मदेश्वरी सत्याललाई प्रस्तुत गर्यौ । विभेद युक्त सामाजिक संरचनाका कारण छोरीलाई शिक्षा नदिइएको पीडा आफैँले भोगेकी, आफ्नै जीवन साथीको प्रेरणाले ढिलो पढ्न पाएर पनि एम.ए., एम.एड. र बी.एड गरेकी नर्मदेश्वरी सत्याल सामाजिक रूपान्तरण अभियानकी सशक्त योद्धा हुन् । परिवारको एक जना मात्र अभिभावक सकारात्मक भइ दिँदा पनि पुरै परिवार सुसंस्कृत हुन्छ भन्ने उदाहरण बनेकी, वैचारिक दृढता र इमान एवम् निष्ठाकी प्रतीक बनेकी, एक्लै होइन साथीभाइ तथा सङ्गठनमा विश्वास गर्ने भरोसा युक्त सङ्गठक, दृढतापूर्वक आफ्ना विचार राख्न सक्ने, सरलताका माध्यमबाट गम्भीर भाव सम्प्रेषण गर्ने स्रष्टा भएकीले आजको यो विशिष्ट समारोहमा उनलाई प्रस्तुत गरिएको धारणा सहित हाम्रो निमन्त्रणालाई स्विकारेर आइ दिनु हुने प्रमुख अतिथिज्यू, अतिथिज्यूहरू, समालोचकज्यू, कविता वाचन सहयोगी कविहरू एवम् उपस्थित साहित्यिक मित्रहरू सबै सबैलाई हार्दिक धन्यवाद भन्दै मङ्सिर महिनाको कार्यक्रममा पूवाञ्चलको मोरङमा रहेर प्रगतिवादी साहित्यमा क्रियाशील वरिष्ठ स्रष्टा खेम नेपालीलाई प्रस्तुत गरिने जानकारी सहित कार्यक्रमको समापन गर्नु भयो ।

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *