‘अविरल जन साहित्य यात्रा-१३’ मा गुञ्जिइन् चितवनकी वरिष्ठ प्रगतिवादी कवि, गीतकार एवम् जन कलाकार नमुना शर्मा

मितिः २०७१।१२।१३
रमेश पोखरेल

चैत्र १३ गते शुक्रवार अपराह्न ठिक ३.० बजे राष्ट्रिय जन सांस्कृतिक महासङ्घ, बागबजारको सभाकक्षमा महासङ्घकै आयोजना र जन साहित्यिक मञ्च, नेपालको व्यवस्थापनमा संयुक्त रूपमा ‘अविरल जन साहित्य यात्रा-१३’ सम्पन्न भयो । हरेक महिनाको दोस्रो शुक्रवार पारेर ठिक ३ बजे महासङ्घको सभाकक्षमा वरिष्ठदेखि हालसम्मका साहित्यकारका एकल रचना वाचन गर्ने विशेष कार्यक्रम निरन्तर रूपमा सम्पन्न गर्ने यो अभियानको तेरौँ शृङ्खला भएको जानकारी सहित जन साहित्यिक मञ्च, नेपालका महासचिव विनोद मञ्जनले कार्यक्रमको सञ्चालन गर्दै उक्त विशेष समारोहकी नायक वरिष्ठ प्रगतिवादी कवि, गीतकार तथा जन कलाकार चितवनकी नमुना शर्मालाई मञ्चमा आसन ग्रहणका लागि अनुरोध गर्नु भयो । उहाँलाई कविता वाचनमा सहयोग गर्ने कविहरू प्राज्ञ गायत्री विष्ट, प्राज्ञ सानु पहाडी, जयन्ती स्पन्दन, फुच्ची जमुना र कीर्ति देवकोटा अनि टिप्पणीकारका रूपमा प्राज्ञ नर्मदेश्वरी सत्याललाई पनि मञ्चमा आसन ग्रहणका लागि अनुरोध गर्नु भयो ।  

उक्त विशेष समारोहमा वरिष्ठ प्रगतिवादी साहित्यकार एवम् संस्कृतिविद् डा.मोदनाथ प्रश्रित, नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा.डा.जीवेन्द्र देव गिरी, प्रा.केशव सुवेदी, नेपाल संस्कृत विश्व विद्यालयका रजिष्टार प्रा.जगत् उपाध्याय प्रेक्षित, राष्ट्रिय जन सांस्कृतिक महासङ्घका महासचिव राजेश थापा, जन साहित्यिक मञ्च नेपालका सल्लाहकार द्वय कवि वासुदेव अधिकारी र कथाकार सीताराम नेपाल, वरिष्ठ प्रगतिवादी गायक श्याम तमोट, जन कलाकार डम्बर पहाडी, महासङ्घका सचिव प्रेमनाथ अधिकारी अतिथिका रूपमा उपस्थित हुनु हुन्थ्यो ।

उपस्थित सबैलाई जन साहित्यिक मञ्च, नेपालका अध्यक्ष राम विनयले स्वागत गर्नु भयो । विशेष समारोहकी नायक नमुना शर्मालाई खादा तथा टीका लगाएर सम्मान गर्नु भयो । त्यसै गरी कविलाई साथ दिने कविहरूलाई पनि खादा तथा टीका लगाएर सम्मान गर्नु भयो । नेपाली समाजमा विद्यमान रहेका विकृति र विसङ्गतिलाई निर्ममतापूर्वक उजागर गर्ने एवम् रूपान्तरणका लागि कविता, गीत, समालोचना र निबन्धका माध्यमबाट रूपान्तरणको सन्देश सम्प्रेषण गर्ने अविश्रान्त, साधनामै तल्लीन रहनु भएकी, जनताको घरदैलोमै पुगेर जनतालाई चेतना जगाउने मेची-महाकाली जागरण अभियानकी सफल अभियन्ता जन कलाकार नमुना शर्मा आफ्ना सिर्जनाका माध्यमबाट समाजका विकृतिका प्रति, निरङ्कुशताका प्रति कसेर प्रहार गर्ने र रूपान्तरणको स्पष्ट सन्देश सम्प्रेषण गर्न सक्ने सशक्त व्यक्तित्व हुनु हुन्छ । त्यसैले आजको यो विशेष प्रस्तुतिमा उहाँलाई उभ्याइएको हो र यो अभियान निरन्तर रूपमा अगाडि बढि रहने जानकारी सहित कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नु भयो ।

वरिष्ठ प्रगतिवादी कवि, गीतकार तथा जन कलाकार नमुना शर्माको व्यक्तित्व तथा कृतित्वमाथि प्रकाश पार्दै जन साहित्यिक मञ्च, नेपालको काव्य विभागकी संयोजक डा.विन्दु शर्माले नेपाली साहित्यमा स्नातकोत्तर गरी शिक्षण पेसामा समर्पित नमुना शर्मा स्कुले जीवनदेखि नै साहित्य लेखनमा लागेकी, तनहुँमा जन्मेर ग्रामीण परिवेशलाई बुझेकी, गीति लय मन पराउने, पाँच ओटा कृति प्रकाशित गरि सकेकी, निबन्ध र समालोचनामा पनि सशक्त रूपमा कलम चलेको, लेखनमा परिवर्तनप्रतिको दृढ विश्वास अभिव्यक्त भएको, सामाजिक सांस्कृतिक रूपान्तरणका लागि सङ्घर्ष आवश्यक रहेको निष्कर्षका साथ सोद्देश्यमूलक लेखनमा लागेकी; लोक संस्कृति, लोकगीत, लोकभाकाको संरक्षणको वकालत गरि रहेकी, युवा विदेश पलायन हुने लाहुरे प्रवृत्तिको अन्त्यको आग्रह उनका रचनामा छताछुलल रहेको र यो प्रवृत्तिले मुलुकको कुभलो हुने निष्कर्ष रचनामा आएको, समाजमा विद्यमान रहेको शोषण र विभेदको अन्त्यको आग्रह, अग्रजको सम्मान गर्ने र जनताको चेतना अभिवृद्धि गर्ने सचेत लेखनी; माया, प्रेम, सद्भाव, सहअस्तित्व (नारी र पुरुषको) उनका रचनामा पाइँने, सन्देशमूलकता उनको प्रमुख रचनाधर्मिता रहेको, माक्र्सवादी सौन्दर्य शास्त्रको ग्रहण गर्दै निम्न वर्गका जनताका दुखका प्रति सहानुभूति राख्ने, आशावादी दृष्टिकोण सम्प्रेषण गर्ने उनको लेखनको विशेषता हुनुका साथै मेची महाकालीका गीतका लय उनका गीतमा पनि समेटिएको पाइने हुँदा उनी सफल स्रष्टा एवम् जन कलाकार भएको धारणा राख्नु भयो ।

विशेष समारोहकी आकर्षण कवि, गीतकार एवम् जन कलाकार नमुना शर्माले आफूले मुखले केही बोल्नुभन्दा पनि आफ्ना रचनाले नै बोल्छन् तापनि ‘अविरल जन साहित्य यात्राको १३ औँ शृङ्खलामा आफूलाई छनोट गरी चितवनमा सक्रिय रहेकी आफूलाई बोलाएर स्थान दिनु भएकोमा प्राप्त यो अवसरले आफू गौरवान्वित भएकी, यस्तो विशिष्ट कार्यक्रमले लेखनमा ऊर्जा थप्ने र कमी कमजोरी सुधार गर्ने अवसर पनि प्रदान गर्ने हुँदा आयोजकलाई हार्दिक धन्यवाद दिन्छु भन्नु हुँदै ‘म ज्योति बनी आउँछु’, ‘कहिलेसम्म फुटि रहने हो ?’, ‘अझै हाम्रो हिउँचुली खुल्न बाँकी छ’, ‘गणतन्त्र नजाओस् अन्त’, ‘हिन्दू, बौद्ध, इस्लाम सबै नेपाली’, ‘मनको कुरा खोलौँ न (रोइला)’, र सात ओटा मुक्तक अत्यन्त सशक्त आबाजमा सबैलाई मन्त्रमुग्ध पार्ने गरी गाउनु भयो भने उहाँलाई साथ दिने कविहरू फुच्ची जमुनाले ‘म कवि होइन’ र ‘कालो बादल’ शीर्षकका दुई, गायत्री विष्टले ‘नयाँ सङ्कल्प’, सानु पहाडीले ‘म त बाटो बनि दिन्छु’, जयन्ती स्पन्दनले ‘जुलुसहरू’ र कीर्ति देवकोटाले ‘मेरो सेरोफेरो’ शीर्षकका कविता तथा गीत अत्यन्त प्रभावकारी ढङ्गले गाउनु भएको, वाचन गर्नु भएको थियो ।

वाचित कवितामाथि प्राज्ञ नर्मदेश्वरी सत्यालले टिप्पणी गर्नु हुँदै कविताको मुख्य मर्म भनेको आस्वादन हो, त्यसमा पनि सशक्त गायनका साथ कविता गाउँदा त्यो उच्चकोटिको हुँदो रहेछ, कवितामा विचार प्रमुख रूपमा आउनु पर्ने र शिल्प भने साधनाले तिखार्दै लाने कुरा हो । नमुनाका कवितामा अन्त्यानुप्रास मिलेको पाइँने, सामूहिकताको भावना भेटिने, सचेतता र सन्देशमूलकताको पक्ष प्रभावकारी रहेको, प्रगतिवादी स्वरको प्रखरता रहेको, व्यङ्ग्यचेत सशक्त रहेको, विभेद रहित समतामूलक समाज निर्माणको माक्र्सवादी दर्शन नबिथोलिएको; सरल, साझा र बुझिने विम्ब प्रयोगका माध्यमबाट दृढ वैचारिकता सम्प्रेषित भएको, द्वन्द्वको अन्त्यको आग्रहका साथ देशप्रेमको भावना छताछुल्ल भएको, मझौला संरचनामा कविता तयार पारिएका, विदेश जाने वा लाहुरे संस्कारको अन्तको आग्रह रहेको, जातीयताका आधारमा देश विखण्डन गर्नेहरूप्रति सचत हुनु पर्ने आग्रह गरिएको; अभाव, आर्तनाद, शोषण कवितामा जीवन्त रूपमा प्र्रस्तुत भएका र कविताले निरङ्शतालाई चुनौती दिने काम गरेका छन् भन्ने धारणा व्यक्त गर्नु भयो ।

राष्ट्रिय जन सांस्कृतिक महासङ्घका महासचिव राजेश थापाले महासङ्घको प्रत्यक्ष व्यवस्थापनमा एक दर्जन कार्यक्रम सम्पन्न भइ सकेपछि घटकको क्रियाशीलता बढाउन व्यवस्थापन आफैँले गर्न निर्देशन दिइएको र आजको कार्यक्रम व्यवस्थित रहेको पाएको, अब महासङ्घ आफूले भने नीतिगत र वैचारिक कार्यक्रम सम्पन्न गर्ने जानकारी सहित यो यात्राको भविष्यसम्मका लागि शुभ कामना दिनु भयो ।

वरिष्ठ प्रगतिवादी साहित्यकार एवम् संस्कृतिविद् डा.मोदनाथ प्रश्रितले बाल्यकालदेखि नै मुलकुमा चलेका सबै खाले आन्दोलनमा नमुना शर्माले सशक्त भूमिका निभाएकी, उनको लेखनमा शब्दमा कृत्रिमता नभएको, जनताका बिचमा बसेर तिनै जनता जगाउने सशक्त माध्यम गीति लयलाई टिपेर उनले साहित्य सिर्जना गरि रहेकी, उनको लेखनमा गाउँ वृद्धाश्रम भइ रहेको र युवा पलायन हुनुको पीडा बढी सशक्त रूपमा उजागर भएका, उनमा रहेको क्रान्तिकारी भावनाका कारण प्रतिकूल अवस्थामा पनि उनी आन्दोलन र सङ्घर्षमा लागि रहेकी हुँदा भविष्यसम्मको निरन्तरताको आग्रह गर्नु भयो तर कलाकार र साहित्यकारको त्याग र बलिदानको साँच्चो मूल्याङ्कन कतैबाट पनि नभएकोमा दुख समेत व्यक्त गर्नु भयो । साथै समाजमा विषवृक्ष उम्रन थालेका, व्यक्तिगत महत्त्वाकाङ्क्षाका कारण मुलुक झनै गम्भीर बनि रहेको, जातिवादी उग्रता देखिएको प्रति नमुनाका रचनाले विरोध गरेका छन् र सबै स्रष्टाले यी विषयमा गम्भीरताका साथ कलम चलाउनु पर्छ । विश्व एकीकत भइ रहेको अवस्थामा हामी भने जातिवादी विखण्डनतिर गइ रहेको प्रति चिन्ता सबैले गर्नु पर्छ र सशक्त रूपमा सिर्जनाका माध्यमबाट अभिव्यक्त हुनु पर्छ जुन नमुनाले गरेकी छन् भन्नु भयो ।   

उपस्थित सबै साहित्यकारहरूलाई धन्यवाद सहित सभाध्यक्षको अनुमतिले विशेष समारोहको समापन गर्दै जन साहित्यिक मञ्च, नेपालका उपाध्यक्ष रमेश पोखरेलले प्रश्रितको मेची महाकाली जागरण अभियानबाट प्रशिक्षित, अत्यन्त सङ्घर्षशील, इमान र निष्ठाकी पर्याय, सरलताका माध्यमबाट गम्भीर भाव सम्प्रेषण गर्ने सक्ने विशिष्ट क्षमताकी धनी, कस्तै प्रतिकूल परिस्थितिमा पनि विचलित नभई अविच्छिन्न रूपमा लागि रहने, ग्रामीण समाजका र जन जीवनले भोगेका विम्बलाई सशक्त रूपमा प्रयोग गर्ने अविश्रान्त र अथकित योद्दा अनि सदैव निम्न वर्गीय दुखी, पीडित जनताका पक्षमा मोफसलमा रहेर अविश्रान्त कलम चलाउने नमुना शर्र्मालाई अविरल जन साहित्य यात्रा(१३ मा उपस्थित गराउन सकिएकोमा र उहाँले यहाँसम्म आइ दिनु भएर सहयोग गर्नु भई अरू स्रष्टालाई प्रेरणा प्रदान गर्नु भएकोमा हार्दिक आभार व्यक्त गर्नु भयो । उहाँलाई सहयोग गर्ने आधा दर्जन कविहरू, यो कार्यक्रम सम्पन्न गर्न ब्यानर लेखि दिएर सहयोग गर्ने, छायाङ्कन गरि दिने, निम्ता स्विकारेर आइ दिने सबै सबैलाई हार्दिक धन्यवाद दिँदै अर्काे महिनाको कार्यक्रममा वरिष्ठ कवि श्यामल अधिकारीलाई प्रस्तुत गरिने जानकारी सहित कार्यक्रमको समापन गर्नु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *