‘अविरल जन साहित्य यात्रा–२१’ मा सञ्चारकर्मी एवम् प्रगतिवादी साहित्यकार फुलमान बलका प्रतिनिधि कविता वाचन

रमेश पोखरेल
पुस १० गते शुक्रवार

अपराह्न ठिक २.३० बजे राष्ट्रिय जन सांस्कृतिक महासङ्घको  सभाकक्षमा राष्ट्रिय जन सांस्कृतिक महासङ्घको आयोजना र जन साहित्यिक मञ्च, नेपालको व्यवस्थापनमा संयुक्त रूपमा ‘अविरल जन साहित्य यात्रा–२१’ सम्पन्न भयो । हरेक महिनाको दोस्रो शुक्रवार पारेर ठिक २.३० बजे महासङ्घको सभाकक्षमा वरिष्ठदेखि हालसम्मका साहित्यकारका एकल रचना वाचन गर्ने विशेष कार्यक्रम निरन्तर रूपमा सम्पन्न गर्ने यो अभियानको आज एक्काइसौँ शृङ्खला सम्पन्न गर्न लागिएको जानकारी सहित जन साहित्यिक मञ्च, नेपालका उपाध्यक्ष रमेश पोखरेलले कार्यक्रमको सञ्चालन गर्दै उक्त विशेष समारोहका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपपति गङ्गाप्रसाद उप्रेतीलाई आसन ग्रहणका लागि आग्रह गर्नु भयो । अतिथिहरूमा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा.डा.जीवेन्द्र देव गिरी, नेकपा एमालेका सचिव एवम् वरिष्ठ प्रगतिवादी साहित्यकार प्रदीप ज्ञवाली, प्राज्ञ माधव प्रधान, प्राज्ञ नर्मदेश्वरी सत्याल, सांसद तथा साहित्यकार द्वय पेम्बा लामा र मधु गुरुङ, प्रा.केशव सुवेदी, प्रा.जगत् उपाध्याय प्रेक्षित्, सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापा, डा.षडानन्द पौडेल, प्राज्ञ सानु पहाडी, प्राज्ञ गायत्री विष्ट, वरिष्ठ साहित्यकार रामप्रसाद प्रदीप, साहित्यकार खेम नेपाली, राष्ट्रिय जन सांस्कृतिक महासङ्घका का.वा.महासचिव प्रेमनाथ अधिकारी, महासङ्घका सहकोषाध्यक्ष जङ्ग पहाडी उपस्थित हुनु हुन्थ्यो ।

प्रमुख अतिथि कुलपति गङ्गाप्रसाद उप्रेतीले आजको कार्यक्रमका प्रमुख नायक सञ्चारकर्मी तथा प्रगतिवादी कवि फुलमान बललाई माल्यार्पण गरी समारोहमा स्वागत गर्नु भयो । त्यसै गरी उहाँलाई कविता वाचनमा सहयोग गर्ने कविहरू श्याम रिमाल, रावत, बाबु त्रिपाठी, अनिता लामा, दिपक सापकोटा र विना थिङलाई प्रमुख अतिथिले टीका लगाइ दिएर मञ्चमा आसन ग्रहण गराइयो ।

समारोहका नायक फुलमान बलको व्यक्तित्व तथा कृतित्वमाथि प्रकाश पार्दै जन साहित्यिक मञ्च, नेपालको काव्य विभागकी संयोजक डा.विन्दु शर्माले कविता, कथा र नाटक लेखनमा विशेष सक्रिय रहेका फुलमान बल मूलतः पत्रकार र सँगसँगै साहित्यकार हुन्, उनका कविताले विषय वस्तुको दायरा फराकिलो पारेका छन्, हाम्रो समाजमा विकराल समसयाको रूपमा रहेको चेलीबेटी बेचबिखनको समस्या, यौन शोषणको समस्या, साम्राज्यवादले निचोरेका समस्यालाई बडो जीवन्त रूपमा उनले आफ्ना साहित्यमा समेटेको पाइने; एउटा कथा सङ्ग्रह, एउटा कविता सङ्ग्रह, एउटा नाटक, छोटा चलचित्रका पटकथा जस्ता साहित्यका विधामा हात हालेका छत्तिस बर्से कवि फलमानको क्षमता भन्नु नै कवितामा विपर्यासमूलकता, बहु राष्ट्रिय कम्पनीले हाम्रो समाजमा पारेको नकारात्मक प्रभावको जीवन्त चित्रण, सांस्कृतिक विचलन आइ रहेको प्रति चिन्ताभाव, आख्यानात्मकता, नाटकीयता, पात्र तथा परिवेशको चयनमा दुखी गरिब नेपालीले भोगेको पीडा समेट्नु, गरिबीको मारमा परेका दुखीहरूको आबाज अभिव्यक्त गर्नु, समानताका पक्षमा वकालत गर्नु र आफ्ना सिर्जनामा आर्थिक पक्षलाई बडो सुन्दर ढङ्गले उजागर गर्नु उनको लेखनका विशेषता रहेको चर्चा गर्नु भयो ।

विशेष समारोहका आकर्षण फुलमान बलले राष्ट्रिय जन सांस्कृतिक महासङ्घ र यसको सक्रिय घटक संस्था जन साहित्यिक मञ्च, नेपालले चलाइ रहेको यो गरिमामय अभियानमा अत्यन्त अग्रज साहित्यकार एवम् सामाजिक रूपान्तरणको अभियानमा समर्पित विशिष्ट व्यक्तित्वका माझ उपस्थित भएर कविता वाचन गर्ने यो अवसर आफ्नालागि ऊर्जामय भएको; यो विशिष्ट कार्यक्रम कविता, वाचन र व्यक्तित्वको परीक्षणको कार्यक्रम समेत भएको विचार व्यक्त गर्दै सामान्य परिवारमा जन्मेर जीविकोपार्जनका लागि पत्रकारिता पेसा अवलम्बन गरी काम गर्ने सन्दर्भमा आफूले देखेको भोगेको समाजलाई नजिकबाट नियालेपछि सिर्जनाका माध्यमबाट अभिव्यक्त गर्न लागेको धारणा राख्नु भयो र ‘आजको मान्छे’ ‘चिचीको रुख’, ‘चिठी’, ‘शीत लहर’, ‘भुइँचालो’ र ‘महाभारतकी मैच्याङ’ शीर्षकका छ ओटा कविता वाचन गर्नु भयो । सहयोगी कविहरू श्याम रिमालले ‘पहाडको जुन’ शीर्षकको, रावतले ‘भ्यालेन्टाइन डेको जुन’ शीर्षकको, बाबु त्रिपाठीले ‘सरकार र स्वानमहेन्जोन’ शीर्षकको, दिपक सापकोटाले ‘काठमाडौ विरुद्ध’ शीर्षकको, विना थिङले ‘प्रेम र किड्नी’ शीर्षकको, अनिता लामाले ‘बुद्ध र शान्ति’ शीर्षकका शक्तिशाली कविता वाचन गर्नु भयो ।

वरिष्ठ प्रगतिवादी साहित्यकार, राजनीतिज्ञ एवम् सामाजिक रूपान्तरण अभियानका अभियन्ता प्रदीप ज्ञवालीले प्रगतिवादमा, सामाजिक रूपान्तरणमा विश्वास गर्ने अनि गम्भीर विषय वस्तुमा कलम चलाएर सशक्त कविता लेख्ने कवि हुन् फुलमान बल भन्नु हुँदै वास्तवमा कविता सामयिक भएनन् भने शाश्वत पनि हुँदैनन्, आजका कविताले भविष्यका लागि इतिहासको काम गरि रहेका हुन्छन्, त्यसका लागि कवि फुलमान बलका कविताले समयको पीडालाई सुन्दर ढङ्गले अभिव्यक्त गरेका छन्, आधुनिकताले भित्र्याएको पीडा र समाजले सौन्दर्य मापनमा समेत देखाएको विभेदलाई पनि बडो मार्मिक र सुन्दर ढङ्गले उजागर गरेका छन्, गुम्दै गरेको हाम्रो सांस्कृतिक पहिचानका पक्षमा अत्यन्त सरल, जीवन्त र शाश्वत विम्बको प्रयोगका माध्यमबाट समसामयिक र जीवन्त कविता सिर्जना गरेर सफलताको सिँढी उक्लि रहेका छन् फुलमान बल भन्ने धारणा राख्नु भयो ।

प्रमुख अतिथि कुलपति गङ्गाप्रसाद उप्रेतीले सञ्चारकर्मी एवम् प्रगतिवादी कवि फुलमान बलका एक दर्जन कविता सुन्न पाइएकाले कार्यक्रम फलदायी भएको, वरिष्ठदेखि कनिष्ठसम्मका कविहरूलाई उपस्थित गराएर व्यक्तित्व चर्चा गर्ने यो कार्यक्रम निकै उत्कृष्ट र सराहनीय रहेको; कविता जब सङ्ग्रहका रूपमा प्रकाशित हुन्छन् वा यसै गरी एकल प्रस्तुतिमा सुनिन्छन् तब एउटा स्थायी भाव सिर्जना हुन्छ, कविताका शब्दको हिसाबले र वाचन कलाको सामथ्र्यका हिसाबले पनि सशक्त भाव सिर्जना हुन्छ, वास्तवमा साधकलाई उसका सिर्जनाको तागत बताउने वा चिन्ने बडो सुन्दर प्लेटफर्म पनि हो यो । कविले बाँचेको समय र उसले बोकेको विचारलाई कलात्मक रूपमा प्रस्तुत गर्ने हुँदा कविताले एक प्रकारको सनसनी पैदा गर्छ । आज वाचित कवितामा पनि राष्ट्रिय जीवनका अनेक पक्षलाई र सांस्कृतिक पृष्ठभूमिलाई कवितामा व्यक्त गरिएको छ, सुन्दर अभिव्यक्ति, उन्नत विचार, शैलीमा नवीनता र विविधता, सांस्कृतिक विम्बको प्रयोग, समाज मूल्याङ्कन र प्रस्तुतिको प्रयोगात्मक नवीन शैली निकै सुन्दर रहेको पाइन्छ । त्यसै गरी बजारले सांस्कृतिक हस्तक्षेप गरेको र त्यसको नकारात्मक प्रभाव बढि रहेको प्रति कवितामा चिन्ताभाव व्यक्त गरिएको छ, यो पक्ष हामी सबैलई घच्घच्याउने खालको रहेको छ भन्ने धारणा राख्नु भयो ।    

सञ्चार क्षेत्रलाई आफ्नो पेसा बनाए पनि प्रगतिवादी साहित्यका फाँटमा आफूलाई सशक्त हिसाबले उभ्याइ रहेका, सशक्त विम्बमा बोल्ने, आफ्ना कवितामा सहर र गाउँको सुन्दर तुलना गर्ने र गाउँको सुन्दरताका पक्षमा वकालत गर्ने, ग्रामीण जन जीवनका यथार्थपरक विम्बलाई जीवन्त प्रकटीकरण गर्न सक्ने, हाम्रो जीवनमा बजार छिरेर सांस्कृतिक हतक्षेप गरि रहेकोप्रति चिन्ताभाव व्यक्त गर्ने, विषयको विविधताका साथ नेपाली नेपालीको एकताका प्रतीकका रूपमा आफ्ना कवितालाई प्रस्तुत गर्ने सामथ्र्य राख्ने कवि फुलमान बलका कविता सुन्न उपस्थित भइ दिनु भएका सबै साहित्यकारहरूलाई धन्यवाद सहित विशेष समारोहको समापन गर्दै रमेश पोखरेलले माघ महिनाको कार्यक्रममा मिश्र बैजयन्ती, देवी नेपाल र आर.एम.डङ्गोलमध्ये कुनै एकलाई प्रस्तुत गरिने जानकारी सहित कार्यक्रमको समापन गर्नु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *