‘अविरल जन साहित्य यात्रा–२४’ मा प्रतिभाशाली प्रगतिवादी कवि मिश्र बैजयन्तीका प्रतिनिधि कविता वाचन

रमेश पोखरेल, काठमाडौं

चैत्र १२ गते शुक्रवार अपराह्न ठिक २.३० बजे होटल हार्दिक, बाग बजारको सभाकक्षमा राष्ट्रिय जन सांस्कृतिक महासङ्घको आयोजना र जन साहित्यिक मञ्च, नेपालको व्यवस्थापनमा संयुक्त रूपमा ‘अविरल जन साहित्य यात्रा–२४’ सम्पन्न भयो । हरेक महिनाको दोस्रो शुक्रवार पारेर ठिक २.३० बजे महासङ्घको सभाकक्षमा वरिष्ठदेखि हालसम्मका साहित्यकारका एकल रचना वाचन गर्ने विशेष कार्यक्रम निरन्तर रूपमा सम्पन्न गर्ने यो अभियानको आज चौबिसौँ शृङ्खला सम्पन्न गर्न लागिएको जानकारी सहित जन साहित्यिक मञ्च, नेपालका महासचिव विनोद मञ्जनले कार्यक्रमको सञ्चालन गर्दै उक्त विशेष समारोहको अध्यक्षताका लागि जन साहित्यिक मञ्च, नेपालका अध्यक्ष राम विनयलाई आग्रह गर्नु भयो । प्रमुख अतिथिका रूपमा साहित्यकार एवम् नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, विशेष अतिथिमा नेकपा एमालेका उपमहासचिव घनश्याम भूसाल, एमाले केन्द्रीय सदस्य एवम् राष्ट्रिय जन सांस्कृतिक महासङ्घका अध्यक्ष खगेन्द्र राई र नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा.डा.जीवेन्द्र देव गिरी उपस्थित हुनु हुन्थ्यो भने अतिथिहरूमा डा.विजय सुब्बा, डा.फणीन्द्र निरौला, डा.षडानन्द पौडेल, डा.देवी नेपाल, वरिष्ठ कविहरू वासुदेव अधिकारी, कणाद महर्षि, उमेश उपाध्याय, पुरुषोत्तम सुवेदी, श्यामल, सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापा, कवि विप्लब ढकाल, जन गायक रामकृष्ण दुवाल, समालोचक डा.नेत्र एटम, वरिष्ठ कवि रामबहादुर पहाडी, एमाले केन्द्रीय लेखा आयोग सदस्य गोपाल बराल, वरिष्ठ साहित्यकार रामप्रसाद प्रदीप, प्रा.डा.कृण पोखरेल, आख्यानकार हरिहर खनाल, राजेन्द्र पराजुली, सुलोचना मानन्धर, साहित्यकार रमेश पौडेल, राष्ट्रिय जन सांस्कृतिक महासङ्घका का.वा.महासचिव प्रेमनाथ अधिकारी, सङ्गीतकार तथा गायक चेतनारायण राई उपस्थित हुनु हुन्थ्यो ।
प्रमुख अतिथि अष्टलक्ष्मी शाक्यले आजको कार्यक्रमका प्रमुख नायक प्रभावशाली प्रगतिवादी कवि मिश्र बैजयन्तीलाई सम्मान पत्र अर्पण गर्नु भयो, विशेष अतिथि खगेन्द्र राईले टीका लगाइ दिनु भयो भने सभाध्यक्ष रम विनयले माल्यार्पण गरी समारोहमा स्वागत गरियो । त्यसै गरी उहाँलाई कविता वाचनमा सहयोग गर्ने कविहरू प्रा.डा.भीम खतिवडा, युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानका अध्यक्ष अनिल पौडेल, हरिमाया भेटवाल, लक्ष्मी निरौला र शर्मिला जिरेल अनि समीक्षक डा.देवी नेपाललाई मञ्चमा आसन ग्रहण गराइयो र विशेष अतिथि खगेन्द्र राईले सहयोगी कविहरूलाई टीका लागाएर स्वागत गर्नु भयो ।

image

समारोहकी नायक मिश्र बैजयन्तीको व्यक्तित्वमाथि प्रकाश पार्दै जन साहित्यिक मञ्च, नेपालको काव्य विभागकी संयोजक डा.विन्दु शर्माले मूलतः कवि त्यसपछि समालोचक, कथाकार र निबन्धकार मिश्रको व्यक्तित्व २०४४ सालमा हाइकु सङ्ग्रह प्रकाशित गरी नेपाली साहित्यमा देखा परेको र हालसम्म तिन ओटा कविता सङ्ग्रह प्रकाशित भएका; निबन्ध, कथा र समालोचनाका फुटकर रचना प्रकाशित भएका, उनका सिर्जनामा वर्गीय चिन्तन देखा परेको, उत्पीडनको विरोध, युद्धको त्रासदीको विरोध, समकालीन समाजको विद्रुपताको चित्रण सशक्त रूपमा गरिएको, स्पष्ट रूपमा यथार्थवादी आशावादी चिन्तन अभिव्यक्त भएको, समाजका निम्न वर्गका पात्रको दुख, पीडालाई सूक्ष्म रूपमा विश्लेषण गर्दै त्यसमा रूपान्तरणको आग्रह गरिएको, सङ्कुचितताबाट मुक्तिको आग्रह रचनामा गरिएको र समालोचनामा तार्किकता र प्रभावपरकता देखिएकाले समकालीन समयकी सशक्त स्रष्टाका रूपमा स्रष्टा मिश्र स्थापित हुनु भएको धारणा व्यक्त गर्नु भयो ।

विशेष समारोहकी आकर्षण मिश्र बैजयन्तीले राष्ट्रिय जन सांस्कृतिक महासङ्घ र यसको सक्रिय घटक संस्था जन साहित्यिक मञ्च, नेपालले चलाइ रहेको यो गरिमामय अभियानमा अत्यन्त अग्रज साहित्यकार एवम् सामाजिक रूपान्तरणको अभियानमा समर्पित विशिष्ट व्यक्तित्वका माझ उपस्थित भएर कविता वाचन गर्ने यो अवसर आफ्नालागि ऊर्जामय भएको; यो विशिष्ट कार्यक्रममा उपत्यका बाहिरका स्रष्टालाई पनि अवसर दिइएको, यो विशिष्ट समारोहमा ‘कविता सिर्जना भनेको जटिल कार्य हो तर यो जबान विधा पनि हो’ भन्ने मान्यता राख्ने मलाई भदौदेखि नै अवसर प्राप्त भएको हो तापनि मुलुकले भोगेको प्रतिकूलताका कारण प्राप्त अवसरलाई ढिलो गरी उपयोग गर्न पाएकी, आफ्ना कविता भोगाइका उपजका रूपमा सिर्जना भएका, २०६२।६३ को जन आन्दोलनपछि जात, थर र गोत्र खोज्ने विद्रुप परम्परा भित्रिएकोले पीडाबोध भएको, आफूले आफ्नो क्षमताले भ्याएसम्म सिर्जना नगरे समाजलाई धोखा हुने आफ्नो मान्यता रहेकाले त्यसै अनुसार सिर्जनामा समर्पित भइ रहेको धारणा सहित ‘आमा’, ‘सपनाको रङ’, ‘नायकलाई’, ‘गाउँमा’, ‘शून्यमा एक छिन्’, ‘प्रेमको सुरक्षा’, ‘प्रतीक्षा’ र ‘ओस’ शीर्षकका ८ ओटा सुन्दर र शक्तिशाली कविता वाचन गर्नु भयो । सहयोगी कविहरू प्रा.डा.भीम खतिवडाले ‘विजय जुलुस’ शीर्षकको, अनिल पौडेलले ‘आहतमा अनुगमन’ शीर्षकको, लक्ष्मी निरौलाले ‘गीत’ शीर्षकको, हरिमाया भेटवालले ‘डेरा सरेको सूचना’ शीर्षकको र शर्मिला जिरेलले ‘आँधी’ शीर्षकका मझौला आकारका तर शक्तिशाली कविता वाचन गर्नु भयो ।

वरिष्ठ प्रगतिवादी छन्दकवि, समालोचक डा.देवी नेपालले दुई वर्ष अगाडि थालनी गरिएको अविरल जन साहित्य यात्राले युगीन प्रभाव पार्दै गएको, उपत्यकामा मात्र सीमित नहुने उद्देश्य सार्थक भइ रहेको, पूर्वाञ्चलमा स्थापित स्रष्टा मिश्र बैजयन्तीलाई उहाँका कविता सिर्जनाले स्थापित गरेका, कविता सिर्जनाको विशिष्ट शैलीको प्रयोग जुन उत्सुकताबाट थालनी भई प्रश्नमा टुङ्गिएको छ, कवितामा वैचारिक अनुशासन बलियो देखिएको, कवितामा संवेदना, श्रद्धा र जिम्मेवारी बोध एकै पटक आएको, प्रकृतिलाई जित्न सक्ने सिर्जना हुन सक्छ कि सक्तैन वा लेख्नु पर्छ कि पर्दैन भनेर सिर्जनात्मक उच्चताको ख्याल गरिएको, कामदारको पीडा, आशामा बाँचेको जीवन कवितामा समेटिएको, गाउँमा बसेर काम गर्ने अनि त्यहीँको यथार्थ र संवेदनालाई कवितामा सशक्त ढङ्गले उजागर गरिएको, गाउँ वृद्धाश्रम भइ रहेको पीडा कवितामा अभिव्यक्त भएको, श्रमको मूल्यको खोजी गर्दै जातिवादका नाउँमा हेलाँहोचो गर्ने र श्रम शोषण गर्ने प्रवृत्तिको सशक्त विरोध गरिएको, जातीय पीडा अभिव्यक्त गर्दै वर्गीय अभियानका पक्षमा वकालत गरिएको, मानवीय मूल्यको पहिचान हुनु पर्ने आग्रह गरिएको, जन चाहना र नेतृत्व वर्गका बिचमा देखिएको विभेदको रेखा मेटिनु पर्ने आग्रह गरिएको, आँधीको सकारात्मक र प्रतीकात्मक प्रयोग गरिएकाले विम्ब प्रयोगमा स्रष्टाले ध्यान पुर्याउनु पर्ने आग्रह रहेको, मानवीय संवेदन शून्य हुँदै गएर विरामी भएपछि र सुत्केरी हुन लागेकी महिलालाई डेराबाट निकाल्ने प्रवृत्तिका प्रति आक्रोश व्यक्त गरिएको, राजनीतिका प्रतिको शालीन वितृष्णा उजागर भएको, युवाप्रेम र मांसल प्रेमलाई वैचारिक प्रेममा रूपान्तरण गर्ने चाहना अभिव्यक्त भएको, विजयोन्मादको सन्त्रासका प्रतिको विरोध रहेको, दोषी खुट्याउँदा महिलालाई मात्र होइन त्यसको भागिदार पुरुषलाई पनि खोजिनु पर्ने समतामूलक आग्रह रहेको, कवितामा देखिएको शालीन विद्रोह भित्रभित्रैको ज्वालामुखी जस्तो गरी प्रकट भएको, कवितामा आन्तरिक सङ्गीत चेतना र सूक्तिपूर्ण अभिव्यक्ति सशक्त रहेको र सत्यलाई सूक्तिकरण गर्ने क्षमता विशिष्ट रहेको छ भन्नु हुँदै स्रष्टाले आवेशमा होइन सचेतताका साथ शब्द चयन गर्नु पर्छ, केही केही शब्दमा ख्याल गर्नु पर्छ भन्ने आग्रह गर्नु भयो ।

विशिष्ट अतिथि घनश्याम भुसालले आफू कवि नभएकाले यो विशिष्ट साहित्यिक समारोहमा आफूले दावी गर्ने विषय नै नरहेको तर मिश्र बैजयन्तीका समग्र कविता सुनि सकेपछि काव्य चेतना, विम्ब योजना र अभिव्यक्तिका हिसाबले साहित्यमा काठमाडौँ र मोफसलको सीमा हट्दै गएको आभास भएको; कला, संस्कृति र साहित्यले आजको ठिमाहा पुँजीवादले गरेको र गर्न खोजेको विभाजनको गुमराह वा भ्रमलाई तोड्न सक्छ । राजनीति बदनाम हुँदा साहित्यले भरथेग गर्न सक्छ त्यसैले स्रष्टाले सामाजिक रूपान्तरणका पक्षमा आफूलाई अझ धारिलो पारेर प्रस्तुत हुनु आवश्यक छ भन्नु भयो ।

विशिष्ट अतिथि खगेन्द्र राईले मोफसलका स्रष्टालाई काठमाडौँमा बोलाएर कविता सुन्नु, उसको व्यक्तित्व चर्चा गर्नु र समग्र व्यक्तित्व उजागर गर्नु राम्रो कुरा हो, शीतको थोपा उठाउने कार्य त हो तर सबै स्रष्टाको क्षमता पहिचान गर्न र उजागर गर्न काठमाडौँ बाहिर नै यस्ता विशेष खाले कार्यक्रम गर्न सके ज्यादै उपयुक्त हुने धारणा सहित कवि मिश्र बैजयन्तीका सुन्दर कविता सुन्न पाएकाले सुखद अनुभूति भएको बताउनु भयो ।
प्रमुख अतिथि अष्टलक्ष्मी शाक्यले सधैँभरि राजनीति भनेर दौडन हामीलाई यस्ता खाले विशिष्ट कार्यक्रमले छुट्टै अवसर प्रदान गरेको, स्रष्टालाई खोजी गर्ने, धारिलो पार्ने र सामाजिक रूपान्तरणका पक्षमा उभ्याउने यो अभियान निरन्तर चलि रहोस् । स्रष्टाले काठमाडौँ खोज्ने होइन काठमाडौँले मोफसलका स्रष्टा खोजोस् । वास्तवमै नयाँ समाजको निर्माणमा साहित्यको ज्यादै ठुलो भूमिका रहेको छ । साहित्यका माध्यमबाटै समाजमा विद्यमान रहेका विकृति र विसङ्गतिको अन्त्य गर्न सकिने हुँदा यतातर्फ स्रष्टाहरूको निरन्तर ध्यान जाओस् भन्दै मिश्र बैजयन्तीलाई हार्दिक बधाई दिनु भयो ।

वैचारिक सङ्गठन, साहित्यिक अभियान र अध्यापन एवम् प्रशासकको भूमिका आदि विविध क्षेत्रमा सक्रिय रूपमा समर्पित हुँदै प्रगतिवादी साहित्यका फाँटमा आफूलाई सशक्त स्रष्टाका रूपमा स्थापित गर्न सफल भइ रहेकी मिश्र बैजयन्तीका कविता सुन्न उपस्थित भइ दिनु भएका सबै साहित्यकारहरूलाई हार्दिक स्वागत सभाध्यक्ष राम विनयले गर्नु भएको थियो ।
जन साहित्यिक मञ्च नेपालका उपाध्यक्ष रमेश पोखरेलले सरल एवम् सबैसँग घुलमिल हुने व्यक्तित्व, नेतृत्वदायी भूमिका निर्वाह गर्ने कौशल, आफ्ना कवितामा सरलताका माध्यमबाट गम्भीर भाव सम्प्रेषण गर्ने क्षमता, सामाजिक रूपान्तरण अभियानकी सशक्त अभियन्ताको पहिचान कायम राख्न सफल मिश्र बैजयन्तीलाई हामीले यो शृङ्खलामा प्रस्तुत गर्यौँ । हाम्रो निमन्त्रणा, स्रष्टा स्वयम्को निमन्त्रणा स्विकारेर आइ दिनु हुने सबै सबै आदरणीय व्यक्तित्वलाई हार्दिक आभार, सभाकक्ष उपलब्ध गराइ दिने होटल हार्दिक तथा अन्य सहयोग गर्ने सबै सबै मित्रलाई हार्दिक धन्यवाद एवम् आभार व्यक्त गर्दै नव वर्ष २०७३ वैशाखको २५ औँ शृङ्खलामा सशक्त छन्दकवि डा.देवी नेपाललाई प्रस्तुत गरिने जानकारी सहित कार्यक्रमको समापन गर्नु भयो ।

Leave a Reply

Your email address will not be published.