‘अविरल जन साहित्य यात्रा–२६’ मा वरिष्ठ प्रगतिवादी कवि हरिप्रसाद तिमिल्सिनाका प्रतिनिधि कविता वाचन

रमेश पोखरेल, काठमाडौं

जेठ १४ गते शुक्रवार अपराह्न ठिक ३ बजे राष्ट्रिय जन सांस्कृतिक महासङ्घको सभाकक्ष, बागबजारमा महासङ्घको आयोजना तथा जन साहित्यिक मञ्च, नेपालको व्यवस्थापनमा संयुक्त रूपमा ‘अविरल जन साहित्य यात्रा–२६’ सम्पन्न भयो । हरेक महिनाको दोस्रो शुक्रवार पारेर ठिक ३ बजे महासङ्घको सभाकक्षमा वरिष्ठदेखि हालसम्मका साहित्यकारका एकल रचना वाचन गर्ने विशेष कार्यक्रम निरन्तर रूपमा सम्पन्न गर्ने यो अभियानको आज छब्बिसौँ शृङ्खला सम्पन्न गर्न लागिएको जानकारी सहित जन साहित्यिक मञ्च, नेपालका महासचिव विनोद मञ्जनले कार्यक्रमको सञ्चालन गर्दै उक्त विशेष समारोहको अध्यक्षताका लागि जन साहित्यिक मञ्च, नेपालका अध्यक्ष राम विनयलाई आग्रह गर्नु भयो । प्रमुख अतिथिका रूपमा लेखक तथा नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवाली उपस्थित हुनु हुन्थ्यो भने अतिथिहरूमा प्रा.जगत् उपाध्याय ‘प्रेक्षित’, प्राज्ञ नर्मदेश्वरी सत्याल, प्रा.केशव सुवेदी, राष्ट्रिय जन सांस्कृतिक महासङ्घका का.वा.महासचिव प्रेमनाथ अधिकारी, साहित्यकार बालिका गिरी, प्राज्ञहरू सानु पहाडी, गायत्री विष्ट, हेमनाथ पौडेल, समालोचक डा.षडानन्द पौडेल, साहित्यकार डम्बर पहाडी, वरिष्ठ आख्यानकार राममणि पोखरेल, डा.रामप्रसाद ज्ञवाली, डा.देवी नेपाल, डा.मधुशूदन पन्थी, वरिष्ठ साहित्यकार वासुदेव अधिकारी, उच्च प्रशासक कृष्णप्रसाद आचार्य, बलिदान सिनेमाका निर्माता श्याम सापकोटा, महासङ्घका सहकोषाध्यक्ष जङ्ग पहाडी र नेपाल गन्जका दत्त आचार्य उपस्थित हुनु हुन्थ्यो ।
प्रमुख अतिथि युवराज ज्ञवालीले कवि हरिप्रसाद तिमिल्सिनालाई माला लगाइ दिनु भयो र सम्मान पत्र अर्पण गर्नु भयो भने जन साहित्यिक मञ्च, नेपालका अध्यक्ष राम विनयले कवि तथा वाचन सहयोगी कविहरूलाई टीका लगाइ दिएर सम्मान गर्नु भयो ।

image

युग कवि सिद्धिचरण श्रेष्ठ, गोपालप्रसाद रिमाल, गोकुल जोशीको जन्म महिना परेको र जननेता मदन भण्डारीको अवसान भएको महिना समेत परेकाले सबैको सम्झना गरी सम्मान व्यक्त गर्दै आरम्भ गरिएको उक्त विशेष समारोहका नायक हरिप्रसाद तिमिल्सिनाको व्यक्तित्वमाथि प्रकाश पार्दै जन साहित्यिक मञ्च, नेपाल, काव्य विभागकी संयोजक डा.विन्दु शर्माले २०२३ सालमा दैलेखमा जन्मेका कवि हरिप्रसाद तिमिल्सिनाका कवि व्यक्तित्व र सामालोचक व्यक्तित्व प्रमुख रूपमा देखिन्छन् । उहाँका ‘एक आलोक अनेक तरङ्ग’ कविता सङ्ग्रह र ‘केही टिप्पणी केही समालोचना’ समालोचना सङ्ग्रह प्रकाशित रहेका छन् । उहाँका कवितामा समाजमा विद्यमान रहेको सामाजिक कुसंस्कृतिको विरोध गरिएको, वर्गीय पक्षधरता देखा परेको, अल्प सङ्ख्यकको पहिचानको खोजी कवितामा स्पष्ट रूपमा देखा परेको, आदर्श समाज निर्माणको परिकलपना गरिएको, समग्र बेथितिलाई उजागर गरी रूपान्तरण गर्नु पर्ने आग्रह रहेको, आशावादी जीवन दृष्टि रहेको, छन्द कवितामा पनि शास्त्रीय मान्यता कायम राखी विचारलाई सुन्दर तरिकाले सम्प्रेषण गर्ने गरिएको, अभिव्यक्तिको शैली सरल रहेको पाइन्छ । त्यसै गरी समालोचनामा पनि क्षेत्रीय साहित्यिक अध्ययन, अन्य भाषाको अध्ययन, विश्लेषणात्मकताभन्दा विवरणात्मकमा जोड रहेको, साहित्य सिर्जनामा मात्र सीमित नरहेर साहित्यिक सङ्गठकको रूपमा र सम्पादक व्यक्तित्वका रूपमा समेत स्थापित रहनु भएकैले उहाँले विभिन्न सम्मान तथा पुरस्कार प्राप्त गर्नु भएको धारणा व्यक्त गर्नुु भयो ।

विशेष समारोहका आकर्षण हरिप्रसाद तिमिल्सिनाले राष्ट्रिय जन सांस्कृतिक महासङ्घ र यसको सक्रिय घटक संस्था जन साहित्यिक मञ्च, नेपालले चलाइ रहेको यो गरिमामय अभियानमा उपत्यकाबाट धेरै टाढा नेपाल गन्जलाई कर्मथलो बनाएर साधना गरि रहेको मलाई अवसर प्राप्त भएकोमा हार्दिक आभार व्यक्त गर्दछु । भाषा र साहित्यका माध्यमबाट नेपाली समाजको रूपान्तरणको अभियानमा आफू पनि समर्पित रहेको, बाल्य कालमै आफ्नो सन्भ्रान्त परिवारले तल्लो तहका जनतामा गरेको विभेद देखेको र समाजमा कायम रहेको यस्तो विभेदको अन्त्य हुनु पर्छ भन्ने चेतना जागृत भएका कारण आफू रूपान्तरण अभियानमा समर्पित भएको, बाल्य कालमै आमाको निधन भएकाले गहिरो गरी पीडा गडेको, आयोजक संस्था आफ्नै मातृसंस्था पनि रहेको, प्रमुख अतिथि छिमेकी जिल्लाका हुनु भएको, टिप्पणीकार प्राध्यापक जिल्लावसी नै हुनु भएको समेतका कारणले सुखद अनुभूति भइ रहेको, समाज विखण्डनको अहिलेको प्रयत्न र त्यसले सचेत मनमा पारि रहेको पीडालाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने नै आफ्नो सिर्जनाको लक्ष्य रहेको, लोकतन्त्र आयो भनिए पनि निम्न वर्गका जनताको जीवन स्तरमा केही पनि सुधार नआएको, बेरोजगारीको समस्या झन् झन् बढि रहेको जस्ता कारणले पनि आफ्नो लेखनको उद्देश्य आर्थिक सामाजिक समृद्धि होस् भन्ने नै रहेको, जीवनको लक्ष्य खोज्दै गर्दा साहित्यलाई आफूले दौँतरी बनाएको र यसैका माध्यमबाट अहिले देखा परेको परनिर्भरताको अन्त्य होस् भन्ने चाहेको धारणा राख्दै ‘स्वागतम्’, ‘एक आलोक अनेक तरङ्ग’, ‘परिवर्तन’, ‘आमा विषयक’, ‘भूकम्प र नाकाबन्दी’ शीर्षकका द्रुतविलम्बित, भुजङ्गप्रयात, शार्दूलविक्रीडित, अनुष्टुप छन्दका अत्यन्तै शक्तिशाली कविता वाचन गर्नु भयो भने सहयोगी कविहरू रत्नावली शर्माले वसन्ततिलका छन्दको ‘प्रेम, ममता र नारी’ शीर्षकको, रूपक अलङ्कारले अनुष्टुप छन्दको ‘स्रष्टा’ शीर्षकको, सुदेश सत्यालले मन्दाक्रान्ता छन्दको ‘युवा’ र शार्दूलविक्रीडित छन्दको ‘मेरो देश’ शीर्षकका दुइटा, भागवत आचार्यले शार्दूलविक्रीडित छन्दको ‘सद्भाव’ शीर्षकको, जगत् वाशिष्टले शार्दूलविक्रीडि
त छन्दको ‘बादशाहलाई पत्र’ शीर्षकको र डा.देवी नेपालले शार्दूलविक्रीडित छन्दकै ‘दौँतरी’ शर्षिकको अत्यन्त शक्तिशाली र सम्मोहनकारी कविता वाचन गर्नु भयो ।
सामालेचक प्रा.जगत् उपाध्याय ‘प्रेक्षित’ले वाचित कवितामाथि टिप्पणी गर्नु हुँदै कविको सांस्कृतिक पृष्ठभूमि र उहाँले रचना गर्नु भएका कविताको सांस्कृतिक पृष्ठभूमि पनि साम्राज्यवादसँग सम्बन्धित छ । दैलेखमा छुवाछुतका सन्दर्भमा अन्यत्रको जस्तो त्यस्तो धेरै विभेद छैन, सामान्य मात्र छ । यहाँ भावनात्मक एकता अझै कायम रहेको छ । कवि आफूसँग पारिवारिक, भौगोलिक र वैचारिक सम्बन्ध गाँसिएका व्यक्ति हुन् । उनी वैचारिक रूपमा सचेत कवि, साहित्यिक सङ्गठक, आडम्बर र ढोँगबाट टाढा रहने सहृदयी व्यक्तित्व मात्र होइन शब्द र कर्ममा तादात्म्य राख्ने व्यक्ति समेत हुन् । समाजका सबैसँग बहिरमुखी भएर घुलमिल गर्ने र विश्लेषण गर्दा चाहिँ अन्तरमुखी हुने, जनताका बिचमा आफूलाई पुर्याउने, उनीहरूको भोगाइलाई भावनामा मिसाएर सौन्दर्यात्मक अभिव्यक्ति दिने सफल स्रष्टा हुन् । त्यति मात्र नभएर उनी वैचारिक नेता पनि हुन् । भेरी साहित्य समाज, प्रगतिशील लेखक सङ्घ जस्ता सङ्घसंस्थामा रहेर साहित्यिक सङ्गठक व्यक्तित्वको परिचय समेत दिएका छन् । उनका कवितामा वर्तमानको यथार्थलाई आत्मसात गरिएको छ, देशप्रेम, प्रकृतिको जीवनपरक चित्रण, अग्रजको सम्मान देख्न पाइन्छ । सबै कविता शास्त्रीय छन्दका रहेका तीमध्ये एउटा द्रुतविलम्बित, चार ओटा शार्दूलविक्रीडित, तिन ओटा अनुष्टुप, दुइटा भुजङ्गप्रयात, एउटा वसन्ततिलका र एउटा मन्दाक्रान्ता छन्दका कविता यहाँ वाचित भएका छन् । नेपालमा भएका छयालिसको र बैसठ्ठी–त्रिसठ्ठीको आन्दोलनमा कविको प्रत्यक्ष संलग्नता रहेको र तिनै आन्दोलनसँग सम्बन्धित कविता वाचन भएका, जबसम्म सांस्कृतिक रूपान्तरण हुँदैन तबसम्म समाज रूपान्तरण हुन सक्तैन भन्ने यथार्थलाई कविताले आत्मसात गरेका, दिशाहीनता र स्तुतिपरकता कवितामा नरहेको, समता र समानताका पक्षमा कवितामा वकालत गरिएको, नेपाली माटोको ममता गान गरिएको, एउटा भ्रष्टले सबैलाई भ्रष्ट नै देख्ने गरेको कारण इमान्दारको पनि समाजमा कदर नहुने गरेको यथार्थलाई कवितामा कलात्मक तरिकाले विचारलाई मिसाएर सम्प्रेषण गरिएको, कवितामा नारी सम्मानका प्रति वकालत गरिएको, सूक्तिमयता, विश्व बन्धुत्व र मानवताका पक्षमा वकालत गरिएको पाइएकाले कविता सशक्त रहेका हुँदा कविको परिष्कार पूर्ण यात्राको शुभ कामना दिन्छु भन्नु भयो ।

राष्ट्रिय जन सांस्कृतिक महासङ्घका का.वा.महासचिव प्रेमनाथ अधिकारीले व्यवस्थित कार्यक्रममा परिष्कृत स्रष्टाका कविता सुन्न पाइएको, कवि मात्र नभएर सङ्गठक पनि भएको जानकारी पाउँदा खुसी लागेको धारणा सहित महासङ्घको यो दुखपूर्ण अवस्था देखेर अलि फराकिलो स्थायी संरचना निर्माणका लागि पहल गरि दिन एमाले उपाध्यक्ष समेत रहनु भएका युवराज ज्ञवालीलाई आग्रह गर्नु भयो ।
प्रमुख अतिथि युवराज ज्ञवालीले हामी राजनीतिकर्मीले सधैँभरि विभिन्न कार्यक्रममा जानु पर्ने बाध्यता रहन्छ तर आज कतै कार्यक्रम नजुधेका कारण पुरै समय बसेर यो महत्त्वपूर्ण साहित्यिक कार्यक्रम र वाचित महत्त्वपूर्ण कविता सुन्ने अवसर प्राप्त भयो । आज यो अवसर गुमेको भए धेरै कुरा सिक्न र सुन्न पाइने रहेनछ भन्ने अनुभूति भएको छ । आज मलाई कविताको शक्तिका बारेमा पनि जानकारी भएको छ । त्यसै गरी टिपपणीकार विद्वान मित्रको चिरफार युक्त टिप्पणी निकै नै सकारात्मक लागेको छ । कविको व्यक्तित्व परिचय गराउने डा.विन्दु शर्माको शैली पनि मैले उत्कृष्ट ठानेको छु । कवितामा भावना, विचार र वाचकको तालमेल गर्न सक्ने हो भने लाखौँ मान्छेलाई एकैचोटि परिवर्तन गर्ने सामथ्र्य कवितामा हुँदो रहेछ भन्ने मलाई अनुभूत भएको छ । विचार र कलाको सुन्दर संयोजन गरी छन्दका कविता सिर्जना गर्ने र सुन्दर वाचन गर्ने हो भने समाज रूपान्तरणमा कविताको ठुलो योगदान हुन सक्छ भन्ने मेरो मान्यतालाई आजको कार्यक्रमले पुनरपुष्टि गरि दिएको छ । कविता, गीत र सङ्गीतका माध्यमबाट जनताका माझ जानु आजको आवश्यकता हो । अहिले राजनीति निकै बदनाम भएको छ र जनता भाषण सुन्न रुचाउँदैनन् । यद्यपि राजनीतिले हाम्रो देशमा निकै ठुलो फड्को मारेको छ, हाम्रो देशको संविधान भारत तथा अन्य देशको भन्दा निकै बढी उदार, सकारात्मक र राम्रो छ भनेर विदेशीले नै स्विकारेका छन् तर पनि राजनीतिका प्रति घृणाभाव पेदा भएको छ । हामी सबै सबैले देशमा भएको परिवर्तनका प्रति योगदान गरेका छौँ , सबै सबैको सहभागिता छ र अझै पनि देश निर्माणमा कलाकार, साहित्यकारको महत्त्वपूर्ण भूमिका आवश्यक छ । यतिखेर सबै क्षेत्रका सबै मान्छे नेता बन्न खोजि रहेका छन्, यथार्थमा यो ठिक होइन । सबै सबैले आफ्नो रुचि र पेसामा पारङ्गत भइ दिनु पर्दछ । नेतालाई गाली गर्ने र असन्तुष्टि व्यक्त गर्ने जनताले कलाकार साहित्यिकारलाई गाली गर्दैनन् । नेतालाई गाली गर्नुको कारण चाहिँ जन अपेक्षा पुरा हुन सक्तैनन्, नेताले पनि तत्काल पुरा गरि दिने अवस्था रहँदैन, त्यसैले नेताले गालीको केन्द्रमा पर्नु पर्ने हुन्छ । साहित्यकारले आफ्नो क्षमता अभिवृद्धि गरि दिने हो भने जनतालाई सचेत पार्ने कार्य हुन्छ, समाजका विकृति र विसङ्गतिको रूपान्तरणमा ठुलो योगदान पुग्न सक्छ र प्रकारान्तरले देशलाई ठुलो योगदान हुन सक्छ । साहित्य, कला र संस्कृतिको बेग्लै र छुट्टै महत्त्व छ । राजनीति र साहित्यले एकअर्कालाई सरसहयोग आदानप्रदान गरौँ । यस्ता विशिष्ट खाले कार्यक्रम अलि फराकिलो र ठुलो ठाउँमा गरौँ ता कि उपस्थिति बढी होस् र कविताले सम्प्रेषण गर्ने सन्देश र पार्ने प्रभाव धेरै जनामा पारोस् र समाज रूपान्तरणमा योगदान पुग्न सकोस् । सिर्जनशील स्रष्टालाई प्रोत्साहन हुने र नवोदितलाई प्रेरणा प्राप्त हुने यस्ता खाले कार्यक्रमको विशेष महत्त्व रहन्छ । मान्छेभित्रको क्षमता पहिचान गरेर, समेटेर जुनसुकै विचारको भए पनि ऊभित्रको प्रतिभाको विकास गराइ दिने र आफूतिर आकर्षित गर्ने कार्य उचित हुन्छ । साहित्यले नेतालाई समेत प्रशिक्षित गर्न सक्नु पर्छ । जसरी एउटा कविले शास्त्रीय छन्दमा सबै नियमको पालना गरी कविता सिर्जना गर्दछ त्यसै गरी राजनीतिज्ञले पनि कलात्मक पाराले बोल्नु, प्रशिक्षण दिनु र आफ्नो अभिव्यक्तिप्रति आकर्षित पार्नु आवश्यक छ । हो, यो काम साहित्यले गर्न सक्तछ । आजको समय भनेको निषेध गरेर होइन मिलेर जानु पर्ने रहेको छ । बोल्ने नेताले पनि सबैलाई मिलाएर लाने शैली साहित्यकारसँग सिक्नु पर्छ, पर्ने रहेछ भन्ने मलाई लागेको छ । मान्छे जतिसुकै ठुलो किन नहोस् उसमा पनि गुण, अवगुण र स्वार्थ हुन्छन् त्यसैले ठुलालाई पनि खबरदारी गर्नु पर्छ र त्यो काम साहित्यकारले गर्न सक्छन् । जिउँदैमा कोही कसैको प्रशंसा गर्नु भनेको सामन्तवाद नै हो । राजनीतिज्ञको त झन् प्रशंसा गर्नै हुँदैन । स्तुति गान गर्ने भनेको जनताको मात्र हो । जो कोही व्यक्तिको कमजोरी हुन्छ, त्यसमा सुधार गर्दै गएर आफूलाई परिष्कार गर्नु पर्छ त्यसै गरी साहित्यकारको सिर्जनामा पनि कमजोरी रहेका हुँदा रहेछन् तिनलाई साधनाद्वारा परिष्कार गरिनु पर्छ । कमजोरीविना राम्रो काम हुनै सक्दैन, सुधारको आवश्यकता जहाँ पनि रहि रहन्छन् भन्ने सत्यलाई आजको यो विशेष साहित्य गोष्ठीमा पनि स्वीकार गरिएको पाउँदा मलाई गौरव बोध भइ रहेको छ । साहित्य नै समाज रूपान्तरणको बलियो हतियार हो भन्ने कुरामा विवाद गर्नु पर्दै नपर्ने रहेछ भन्ने अनुभूति भएको छ । यति महत्त्वपूर्ण कार्यक्रममा सहभागी हुने अवसर दिनु भएकोमा पनि गौरवको अनुभूति भइ रहेको छ भन्ने धारणा राख्नु भयो ।

वैचारिक सङ्गठन, साहित्यिक अभियान र अध्यापन एवम् प्रशासकको भूमिका आदि विविध क्षेत्रमा सक्रिय रूपमा समर्पित हुँदै प्रगतिवादी साहित्यका फाँटमा लेखन तथा प्रशिक्षणका माध्यमबाट आफूलाई स्रष्टा मात्र होइन, साहित्यिक सङ्गठकका रूपमा स्थापित गर्न सफल भइ रहेका र मोफसलमा बसेर पनि नेपाली प्रगतिवादी साहित्यको उत्थानमा सक्रिय भइ रहेका कवि हरिप्रसाद तिमिल्सिनाका कविता सुन्न उपस्थित भइ दिनु भएका सबै साहित्यकारहरूलाई सभाध्यक्ष राम विनयले हार्दिक स्वागत गर्नु भएको थियो ।

जन साहित्यिक मञ्च नेपालका उपाध्यक्ष रमेश पोखरेलले सरल एवम् सबैसँग घुलमिल हुने व्यक्तित्व, नेतृत्वदायी भूमिका निर्वाह गर्ने कौशल, आफ्ना कवितामा सरलताका माध्यमबाट गम्भीर भाव सम्प्रेषण गर्ने क्षमता, मोफसलमा बसेर पनि सामाजिक रूपान्तरण अभियानका सशक्त अभियन्ताको पहिचान कायम राख्न सफल, शास्त्रीय छन्दलाई राम्ररी पकडमा लिन सक्ने क्षमताका धनी हरिप्रसाद तिमिल्सिनालाई हामीले यो शृङ्खलामा प्रस्तुत गर्यौँ । हाम्रो निमन्त्रणा स्विकारेर नेपाल गन्जदेखि प्रतिकूल यात्रा गरेर आइ दिनु हुने स्रष्टा, प्रमुख अतिथिज्यू लगायत सबै सबै आदरणीय व्यक्तित्वलाई हार्दिक आभार व्यक्त गर्दै असारको २७ औँ शृङ्खलामा पूर्वको सुनसरी–मोरङलाई कर्मथलो बनाएर सिर्जनारत स्रष्टा प्रा.डा.बद्रीविशाल पोखरेललाई प्रस्तुत गरिने जानकारी सहित कार्यक्रमको समापन गर्नु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *