‘अविरल जन साहित्य यात्रा–२’ मा आनन्देव भट्टको एकल कविता वाचन

रमेश पोखरेल
मितिः २०&१।१।१२।६

वैशाख १२ गते शुक्रवार अपराह्न ठिक ३ बजे राष्ट्रिय जन सांस्कृतिक महासङ्घ, बागबजारको सभाकक्षमा महासङ्घकै आयोजना र जन साहित्यिक मञ्च, नेपालको व्यवस्थापनमा संयुक्त रूपमा ‘अविरल जन साहित्य यात्रा–२’ सम्पन्न भयो । हरेक महिनाको दोस्रो शुक्रवार ठिक ३ बजे महासङ्घको सभाकक्षमा वरिष्ठदेखि हालसम्मका साहित्यकारका एकल रचना वाचन गर्ने र हरेक महिना महासङ्घका सात ओटा घटकमध्ये कुनै एकको केही न केही विशेष कार्यक्रम निरन्तर रूपमा सम्पन्न गर्ने यो अभियानको दोस्रो शृङ्खला भएको भन्ने जानकारीका साथ महासङ्घका महासचिव राजेश थापाले कार्यक्रमको सञ्चालन गर्दै यस विशेष समारोहको प्रमुख आतिथ्यका लागि एमाले संस्स्कृति विभागका प्रमुख एवम् साहित्यकार वाचस्पति देवकोटालाई आग्रह गर्नु भयो । समारोहलाई औपचारिकता प्रदान गरिएको थिएन । समारोहका विशेष आकर्षण वरिष्ठ प्रगतिवादी साहित्यकार एवम् विख्यात समालोचक आनन्ददेव भट्ट उपस्थित हुनु हुन्थ्यो । अतिथिहरूमा महासङ्घका उपाध्यक्ष प्रा.डा.जीवेन्द्र देव गिरी, प्राज्ञ रामकृष्ण दुवाल, समालोचक एवम् प्राध्यापक सुशीला भट्ट, महासङ्घको केन्द्रीय अनुशासन आयोगका सदस्य खेम नेपाली, समालोचक हेमनाथ पौडेल उपस्थित हुनु हुन्थ्यो ।

कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै राष्ट्रिय जन सांस्कृतिक महासङ्घका उपाध्यक्ष प्रा.डा.जीवेन्द्र देव गिरीले स्रष्टाहरूका बिचमा हार्दिकता बढाउने, नयाँ पुराना स्रष्टालाई एकै ठाउँमा भेला गरी पुरानाबाट नयाँले सिक्ने अवसर दिलाउँने, इतिहासको सम्मान गर्ने उद्देश्यले थालनी गरिएको यस अभियानमा सबैका अग्रज, वरिष्ठ कवि एवम् विख्यात समालोचक आनन्ददेव भट्टको लेखन युगको संस्मरण गर्ने, उहाँको सङ्घर्षशील एवम् जुझारु व्यक्तित्व, २०४६ सालको आन्दोलनमा प्रगतिशील लेखक सङ्घको अध्यक्षका रूपमा उहाँले प्रदर्शन गरेको अत्यन्त क्रियाशील नेतृत्व अविष्मरणीय रहेको हुँदा उहाँ जस्तो अग्रजले सिर्जना गरेका कविता र तिनले गरेको युगबोध समेत प्रतिविम्बन हुने कविता वाचन गरी नयाँ पुस्तालाई ऊर्जा प्रदान गर्ने सन्दर्भमा आजको यो विशेष समारोहको आयोजना भएको जानकारी दिनु भयो ।

जन साहित्यिक मञ्च, नेपाल, काव्य विभागकी संयोजक डा.विन्दु शर्माले आनन्ददेव भट्टको साहित्यिक व्यक्तित्वमाथि चर्चा गर्दै २०१३ सालदेखि कविता लेख्न थाल्नु भएका भट्टले २०१९ सालसम्म प्रमुख रूपमा ९ ओटा कविता काव्य लेख्नु भएको, निबन्ध पनि लेख्नु भएको र त्यसपछि भने उहाँ विशेष गरी समालोचनातर्फ आकर्षित हुनु भएको, निवार्ता लेखन प्रारम्भ गरी नवीन लेखनको थालनी गर्नु भएको, समकालीन सामाजिक विषयको उठान र रूपान्तरणको आग्रह, उदात्त चिन्तन, प्रगतिशील स्रष्टाको खोजी गरी उनीहरूको व्यक्तित्व उजागर गरि दिने सत्कार्यको थालनी, माक्र्सवादी अवधारणा अनुरूपको स्पष्ट वैचारिकता, विचार र भावको सन्दर संयोजन आफ्ना रचनामा गर्न सक्नु उहाँका विशेषता पाइएको धारणा राख्नु भयो ।

विशेष समारोहका आकर्षण आनन्ददेव भट्टले राष्ट्रिय जन सांस्कृतिक महासङ्घ र जन साहित्यिक मञ्च, नेपालको आयोजनामा सम्पन्न हुने गरेको यो अभियानको दोस्रो शृङ्खलामा नै आफूलाई छनोट गरी अवसर प्रदान गरिएकोमा खुसी प्रकट गर्नु भयो र २०१४ सालमा लेखिएको ‘विचित्र’ शीर्षकको कविता, २०१५ सालमा लेखेर सोही वर्ष प्रकाशित गुराँस कविता सङ्ग्रहमा समाविष्ट ‘दृढ विश्वास’, ‘तैयारी’ र ‘त्यौहार’ गरी चार ओटा कविता वाचन गर्नु भयो ।

उक्त विशेष समारोहमा आनन्ददेव भट्टका अन्य आठ ओटा कविताहरू कवि विप्लव ढकालले ‘जानु भएकी आमालाई’ शीर्षकको २०१८ सालमा लेखिएको, आनन्दराम पौडेलले ‘गल्लीकी तिनी’ २०१६ सालमा लेखिएको, अनिल पौडेलले ‘बेकार नेताजी’ शीर्षकको २०१५ सालमा लेखिएको, रमेश पोखरेलले ‘युरी एलेक्सेबिच ग्यागरिन खण्डकाव्यबाट, आर.एम.डङ्गोलले ‘माग पुरा भयो’ शीर्षकको २०१५ सालमा लेखिएको, भागवत आचार्यले ‘आमा बोलाउँछिन्’ शीर्षकको २०१५ सालमै लेखिएको, जयन्ता पोखरेलले ‘हतास नारी’ शीर्षकको सोही वर्ष लेखिएको र यशोदा अधिकारीले ‘आजै जन्मेको बालकप्रति’ शीर्षकको सोही वर्ष लेखिएको कविता वाचन गर्नु भयो ।      

बिचमा कवि आनन्ददेव भट्ट, उहाँको छेउमा प्राध्यापक एवम् समालोचक सुशीला भट्ट  र दायाँ बायाँ चार चार जना कविहरू राखी विशेष तरिकाले व्यवस्थित रूपमा आयोजना गरिएको उक्त कार्यक्रमको प्रारम्भमै राष्टिङ्य जन सास्कृतिक महासङ्घका उपाध्यक्ष प्रा.डा.जीवेन्द्र देव गिरीले आनन्ददेव भट्टलाई माल्यार्पण गरी सम्मान गर्नु भएको थियो ।  

वाचित एक दर्जन कविता र आनन्ददेव भट्टको व्यक्तित्वमा सहप्रा. एवम् समालोचक हेमनाथ पौडेलले टिप्पणी गर्नु हुँदै निरङ्कुश पञ्चायती सत्ताभन्दा अगाडिको कालखण्ड र पञ्चायती व्यवस्था लादेको अवस्थामा, भरखरै नेपालमा कम्युनिस्ट पार्टी स्थापना भएको अवस्थामा नेपाली प्रगतिवादी कविता परम्परामा आनन्ददेव भट्ट आधार स्तम्भका रूपमा रहनु भएको, प्रगतिवादी कविता लेखन २००८ सालबाट थालिएको, कविताले तत्कालीन यथार्थले युगजनीन चेतना बोलेको हुन्छ र त्यो समयमा अग्रज कवि भट्ट जिउँदो जाग्दो व्यक्तित्वका रूपमा स्थापित भइ सक्नु भएको देखिन्छ । उहाँले जहिल्यै पनि आफूलाई सङ्घर्षका पक्षमा उभ्याउनु भएको छ । विद्याथी आन्दोलन भएको वेलामा विद्यार्थीसँगै मिसिएर निरङ्कुशताका विरुद्धमा आन्दोलनमा समाहित हुनु भएको पाइन्छ । २०४६ सालको आन्दोलनमा पनि उहाँले निर्भीकतापूर्वक भूमिका निर्वाह गर्नु भएको छ । उहाँ विचारमा अत्यन्त दृढ हुनुका साथै आफूले बोकेको विचारप्रति प्रतिवद्ध भए समाज रूपमान्तरणमा योगदान हुन सक्छ भन्ने मान्यता राख्ने, राष्ट्रिय अन्तर्राष्ट्रिय विषय वस्तुलाई कवितामा अत्यन्त सजीवताका साथ प्रस्तुत गर्न सक्ने;  क्रान्ति, समर्पण, त्याग, परिवर्तन, नारीप्रतिको सम्मान, सरलताका माध्यमबाट अत्यन्त गम्भीर भाव सम्प्रेषण गर्न सक्ने विलक्षण क्षमता, रचनामा वर्गीय पक्षधरतालाई सदैव ख्याल राख्ने, माक्र्सवादी जीवन दृष्टिलाई लेखनको प्रमुख आधार बनाउने, श्रमप्रति आस्था राख्ने, आशावादी जीवन दृष्टि सम्प्रेषण गर्ने, अन्तर्राष्ट्रिय विषय वस्तुलाई नेपालीकरण गर्ने, परिवर्तन अवश्यंभावी छ भन्ने दृढोक्ति सिर्जनामा सम्प्रेषित गर्ने अग्रज स्रष्टा आनन्ददेव भट्टका २०१३ देखि २०१९÷२० सम्म रचना गरिएका कविता आज पनि समसामयिक रहेका, बरु २०४६ सालपछिका अन्य कविका कविताको निशाना अलमलिएको पाइन्छ तर भट्टका कविता वैचारिक दृष्टिले पनि ज्यादै सशक्त रहेका पाइन्छन् र उहाँको निस्वार्थ जीवन पनि अनुकरणीय रहेको छ भन्ने चर्चा गर्नु भयो ।

समारोहका प्रमुख अतिथि नेकपा एमाले संस्कृति विभाग प्रमुख वाचस्पती देवकोटाले आफूले भट्टजीलाई २०१४÷१५ सालदेखि नै चिनेको, त्यही वेला उहाँ कम्युनिष्ट पार्टीको जिल्ला सचिव हुनु हुन्थ्यो, चितवनमा क्याम्पस प्रमुख भएर बस्दा सङ्गठन निर्माणमा सक्रिय रहनु भएको, निरन्तर रूपमा सङ्घर्ष र परिवर्तनका पक्षमा काम गर्ने, लागि रहने क्रान्तदर्शी कविका रूपमा आफूले उहाँलाई पाएको, उहाँ वर्ग सापेक्ष कवि हुनु भएको हुँदा आजको कार्यक्रमका माध्यमबाट उहाँलाई सम्मान अर्पण गरिएको हो भन्नु भयो । 

विशेष समारोहको समापन गर्दै जन साहित्यिक मञ्च, नेपालका अध्यक्ष राम विनयले २०१९ सालमा देख्तै नदेखी उहाँको वयक्तित्वका बारेमा सुनेर उहाँलाई धरानमा चिठी लेखेको र सो चिठीको जबाफ उहाँले उत्साही पार्ने गरी फर्काउनु भएपछि उहाँको व्यक्तित्वबाट आफू प्रभावित भएको, २०२२ सालमा उहाँ चितवनमा प्राध्यापन गर्न आउनु भएपछि आफू पनि पढ्न भनी भर्ना भएको तर फेरि २०२८ सालमा उहाँबाट पार्टी सम्पर्कमा पुगेको, पार्टीमा ‘गुज्र्यू’ उपनाम राखी काम गर्न आफूलाई उहाँले नै सल्लाह दिनु भएको, उहाँकै प्रेरणाले आफू कमयुनिस्ट पार्टीप्रति आकर्षित भएको र उहाँको व्यक्तित्व ज्यादै प्रभावशाली पाएको संस्मरण गर्नु भयो र विशेष समारोहमा निमन्त्रणा स्विकार गरी आइ दिनु हुने सबैलाई हार्दिक धन्यवाद दिँदै कार्यक्रमको समापन गर्नु भयो ।

Leave a Reply

Your email address will not be published.