‘अविरल जन साहित्य यात्रा-६’ मा वरिष्ठ प्रगतिवादी कवि रामप्रसाद प्रदीपका प्रतिनिधि कविता वाचन 

रमेश पोखरेल,

भदौ १३ गते शुक्रवार अपराह्न ठिक ३.३० बजे राष्ट्रिय जन सांस्कृतिक महासङ्घ, बागबजारको सभाकक्षमा महासङ्घकै आयोजना र जन साहित्यिक मञ्च, नेपालको व्यवस्थापनमा संयुक्त रूपमा ‘अविरल जन साहित्य यात्रा(६’ सम्पन्न भयो । हरेक महिनाको दोस्रो शुक्रवार ठिक ३ बजे महासङ्घको सभाकक्षमा वरिष्ठदेखि हालसम्मका साहित्यकारका एकल रचना वाचन गर्ने र हरेक महिना महासङ्घका सात ओटा घटकमध्ये कुनै एकको केही न केही विशेष कार्यक्रम निरन्तर रूपमा सम्पन्न गर्ने यो अभियानको छैटौँैँ  शृङ्खला भएको जानकारी सहित राष्ट्रिय जन सांस्कृतिक महासङ्घका महासचिव राजेश थापाले कार्यक्रमको सञ्चालन गर्दै उक्त विशेष समारोहका नायक वरिष्ठ प्रगतिवादी साहित्यकार एवम् राष्ट्रिय जन सांस्कृतिक महासङ्घका संस्थापक सदस्य समेत रहनु भएका रामप्रसाद प्रदीपलाई मञ्चमा आसन ग्रहणका लागि अनुरोध गर्नु भयो । उहाँलाई कविता वाचनमा सहयोग गर्ने कविहरू जन गायक रामकृष्ण दुवाल, महासङ्घको अनुशासन आयोगका अध्यक्ष उदय श्रेष्ठ, देवी नेपाल, रमेश पोखरेल, नन्दाकुमारी घिमिरे, यशोदा अधिकारी र इन्दु अंशु अनि टिप्पणीकारका रूपमा सहप्रध्यापक डा.लेखप्रसाद निरौला उपस्थित हुनु हुन्थ्यो ।
उक्त विशेष समारोहमा प्रा.डा.जीवेन्द्र देव गिरी, वरिष्ठ गायक चेतनारायण राई, साहित्यकार नर्मदेश्वरी सत्याल, संस्कृतिविद् विाटनगरका शङ्कर पोखरेल र जन सङ्गीत मञ्चका अध्यक्ष माधव प्रधान अतिथिका रूपमा उपस्थित हुनु हुन्थ्यो ।   

नेकपा एमाले केन्द्रीय सदस्य तथा महासङ्घका अध्यक्ष एवम् उक्त विशिष्ट समारोहका सभाध्यक्ष खगेन्द्र राईले लक्ष्मण रामप्रसाद प्रदीपलाई डम्बरकुमारी खादा ओडाउनु भयो, माला अर्पण गर्नु भयो र नेपाली समाजमा विद्यमान रहेका विकृति र विसङ्गतिलाई निर्ममतापूर्वक उजागर गर्ने एवम् रूपान्तरणका लागि सरल, सम्प्रेष्य गीत, कविता, गजल, नाटकका माध्यमबाट रूपान्तरणको सन्देश सम्प्रेषण गर्ने अभियानका अभियन्ता वरिष्ठ स्रष्टा प्रदीपलाई आजको यो विशेष प्रस्तुतिमा उभ्याइएको र यो अभियान निरन्तर रूपमा अगाडि बढि रहने जानकारी सहित कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नु भयो ।

वरिष्ठ साहित्यकार रामप्रसाद प्रदीपको व्यक्तित्व तथा कृतित्वमाथि प्रकाश पार्दै जन साहित्यिक मञ्च, नेपालको काव्य विभागकी संयोजक डा.विन्दु शर्माले २००४ सालमा जन्मिएर पश्चिम नेपालमा शिक्षादीक्षा आर्जन गरेका, बसोवास गरेका कवि प्रदीपले २०२५÷२६ सालदेखि नै कविता, गीत, गजल तथा नाटक मार्फत नेपाली समाजको अन्याय, अत्याचार, शोषण, निरङ्कुशताका विरुद्धमा सशक्त आबाज उठाउने; शिक्षण, पत्रकारिता, लेखा परीक्षण, प्रशासक आदिको भूमिकाका माध्यमबाट समेत समाज रूपान्तरणको चेतना फैलाइ रहनु भएको, योगदान गर्नु भएको; नेपालका धेरै भूभागको भ्रमण गरी नेपाली जन जीवनको नजिकबाट अध्ययन गर्नु भएको र  नेपाली जन जीवनका दुख, पीडा, छट्पटी, शोषण आदि पक्षलाई जीवन्त रूपमा साहित्यमा उतार्नु भएको; समाजको उत्पीडनका विरुद्धमा र सङ्घर्षका पक्षमा प्रायोगिक नाटक लेख्ने र मञ्चन गर्ने कार्य गर्नु भएको; तिन ओटा कविता, गीत, गजलका सङ्ग्रह प्रकाशित गरी सरल, स्वभाविक अनि प्राकृतिक सिर्जना गर्ने क्षमताको प्रदर्शन गर्नु भएको; उहाँका सिर्जनामा विचार, कला र गायनको त्रिवेणी रहेको धारणा राख्नु भयो ।

विशेष समारोहका आकर्षण वरिष्ठ साहित्यकार रामप्रसाद प्रदीपले जनता सार्वभौम हुन् अनि देश भनेको सबैको साझा हो । जनतालाई उपेक्षा गर्ने; शोषण, उत्पीडन, विकृति र विसङ्गति मौलाउने वातावरण तयार पार्ने सामाजिक संरचना र यसका मतियारप्रति जन पक्षीय साहित्यका माध्यमबाट प्रहार गर्ने र रूपान्तरणको आग्रह गर्ने अभियानमा लाग्नु नै वास्तवमा जनता र देशको सेवा हो भन्ने मेरो ब्रह्मले देख्यो र त्यही अभियानमा आफूलाई मैले समर्पण गरेको हुँ । राष्ट्रिय जन सांस्कृतिक महासङ्घ र जन साहित्यिक मञ्च नेपाल जस्ता समाजिक रूपान्तरणको अभियानमा होमिएका सक्रिय संस्थाले यस्तो विशिष्ट कार्यक्रममा मलाई प्रस्तुत गर्ने निर्णय लिनु भयो र मैले पनि हुन्छ भन्दै पहिले नै पटक पटक देशका धेरै ठाउँमा गाइ सकेका तर जनताले मन पराएका एक दर्जन कविता, गीत, गजल छानेर ल्याएको छु भन्नु भयो र २०३९ सालमा लेखिएको ‘गीत’, एउटा ‘गजल’, ‘नेपाली भएर बाँच हजुर’ बोलको गीत, ‘सुनखानीको रगतको सन्देश भुल्यौ कि ?’ शीर्षकको गजल र समसामयिक विकृतिका विरुद्धको अर्काे ‘गजल’ गरी पाँच ओटा अत्यन्त बेजोड, सशक्त एवम् प्रभावकारी रचना वाचन गर्नु भयो ।

त्यसै गरी उहाँलाई साथ दिने कविहरू नन्दाकुमारी घिमिरेले ‘तीजको गीत’, रमेश पोखरेलले ‘तिम्रो जीवन धर्तीलाई भारी भो’ शीर्षकको लोकगीत, यशोदा अधिकारीले शार्दूल विक्रीडित छन्दको ‘पंछीको प्रश्न’ शीर्षकको कविता, उदय श्रेष्ठले ‘गीत’, रामकृष्ण दुवालले ‘बालगीत’, इन्दु अंशुले ‘अवश्यै सुनौलो प्रहर हुन्छ हुन्छ’ भन्ने गजल र देवी नेपालले अनुष्टुप छन्दको ‘भ्रष्ट सारा भगाउन’ शीर्षकको कविता वाचन गर्नु भयो ।            
वाचित एक दर्जन कविता, गीत, गजलमाथि सहप्राध्यापक डा.लेखप्रसाद निरौलाले टिप्पणी गर्नु हुँदै निरङ्कुश शासन व्यवस्थालाई देखेका, भोगेका, अनुभूत गरेका कविले समाजका समसामयिक विविध विषयलाई समेटेर सामाजिक रूपान्तरणको अभियानमा आफूलाई समाहित गर्दै सरल, स्रम्प्रेष्य भाषाशैलीका माध्यमबाट गीत र गजलको शास्त्रीय मान्यतालाई आत्मसात समेत गर्दै विचार, कला र भावनाको सुन्दर सम्मीश्रण गरी समाजमा रहेको वर्गद्वन्द्व उजागर गर्ने र रूपान्तरणको स्पष्ट सन्देश प्रवाह गर्ने काम गर्नु भएको छ । भाषा र शैलीका हिसाबले पनि उत्कृष्ट रहेको उहाँको सिर्जनाले नेपाली प्रगतिवादी साहित्यमा महत्त्वपूर्ण योगदान पुगेको धारणा राख्नु भयो ।   

उपस्थित सबै साहित्यकारहरूलाई धन्यवाद सहित सभाध्यक्षको अनुमतिले विशेष समारोहको समापन गर्दै जन साहित्यिक मञ्च, नेपालका का.वा.अध्यक्ष रमेश पोखरेलले पञ्चायती निरङ्हुशताको विरुद्धमा २०२५ सालतिर देखि नै जनतालाई चेतना जगाउन नाटक लेख्ने, अभिनय गर्ने, गीत, कविता, गजल गाउने, गाउँदै देशभरि यात्रा गर्ने, सरलताका माध्यमबाट गम्भीर भाव सम्प्रेषण गर्ने; निर्भीक, चोटिलो र बेजोड प्रस्तुति भएका विलक्षण क्षमताका धनी कवि प्रदीप हाम्रो निम्ता स्विकारेर आइ दिनु भयो, उहाँको यो कार्यक्रम सम्पन्न गर्न ब्यानर लेखि दिएर सहयोग गर्ने, निम्ता स्विकारेर आइ दिने सबै सबैलाई हार्दिक धन्यवाद दिँदै अर्काे महिनाको कार्यक्रममा वरिष्ठ साहित्यकार एवम् सामाजिक रूपान्तरण अभियानका अभियन्ता प्रदीप ज्ञवालीलाई प्रस्तुत गरिने जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *