‘अविरल जन साहित्य यात्रा-१०’ मा प्रखर प्रगतिवादी कवि वासुदेव अधिकारीका प्रतिनिधि कविता वाचन

रमेश पोखरेल, काठमाडौँ
मितिः २०७१।९।११

पुस ११ गते शुक्रवार अपराह्न ठिक ३.० बजे राष्ट्रिय जन सांस्कृतिक महासङ्घ, बागबजारको सभाकक्षमा महासङ्घकै आयोजना र जन साहित्यिक मञ्च, नेपालको व्यवस्थापनमा संयुक्त रूपमा ‘अविरल जन साहित्य यात्रा-१०’ सम्पन्न भयो । हरेक महिनाको दोस्रो शुक्रवार पारेर ठिक ३ बजे महासङ्घको सभाकक्षमा वरिष्ठदेखि हालसम्मका साहित्यकारका एकल रचना वाचन गर्ने विशेष कार्यक्रम निरन्तर रूपमा सम्पन्न गर्ने यो अभियानको दशौैँैँ शृङ्खला भएको जानकारी सहित जन साहित्यिक मञ्च, नेपालका का.वा. अध्यक्ष रमेश पोखरेलले कार्यक्रमको सञ्चालन गर्दै उक्त विशेष समारोहका नायक वरिष्ठ प्रगतिवादी कवि एवम् सामाजिक रूपान्तरण अभियानका कुशल अभियन्ता वासुदेव अधिकारीलाई मञ्चमा आसन ग्रहणका लागि अनुरोध गर्नु भयो । उहाँलाई कविता वाचनमा सहयोग गर्ने कविहरू सिस्नुपानी नेपालका अध्यक्ष एवम् हास्यव्यङ्ग्य कवि लक्ष्मण गाम्नागे, प्राज्ञ शशी लुमुम्बु, बैरागी जेठा, इन्दु अंशु, यशोदा अधिकारी र फुलमान बल अनि टिप्पणीकारका रूपमा डा.नेत्र एटमलाई पनि मञ्चमा आसन ग्रहणका लागि अनुरोध गर्नु भयो ।  

उक्त विशेष समारोहमा वरिष्ठ साहित्यकार आनन्ददेव भट्ट, सभासद् तथा साहित्यकार शान्ता मानवी, प्रा.डा.कृष्णप्रसाद घिमिरे, वरिष्ठ सिनेकर्मी देशभक्त खनाल, प्राज्ञ उदय श्रेष्ठ, प्राज्ञ सानु पहाडी, उच्च प्रशासक चिन्तामणि सिवाकोटी, वरिष्ठ कविहरू कणाद महर्षि र रामबहादुर पहाडी, डा. लेखप्रसाद निरौला, साहित्यकार शीतल गिरी र साहित्यकार एवम् शब्दाङ्कुर साहित्यिक मासिकका प्रधान सम्पादक धीरकुमार श्रेष्ठ  अतिथिका रूपमा उपस्थित हुनु हुन्थ्यो ।

उपस्थित सबैलाई राष्ट्रिय जन सांस्कृतिक महासङ्घका अध्यक्ष एवम् नेकपा एमाले केन्द्रीय सदस्य तथा संस्कृति विभाग प्रमुख खगेन्द्र राईले स्वागत गर्नु भयो । विशेष समारोहका नायक वासुदेव अधिकारीलाई  खादा ओडाएर र माला तथा टीका लगाएर सम्मान गर्नु भयो । त्यसै गरी कविलाई साथ दिने कविहरूलाई पनि खादा तथा टीका लगाएर सम्मान गर्नु भयो । नेपाली समाजमा विद्यमान रहेका विकृति र विसङ्गतिलाई निर्ममतापूर्वक उजागर गर्ने एवम् रूपान्तरणका लागि सरल, सम्प्रेष्य कविता तथा गीतका माध्यमबाट रूपान्तरणको सन्देश सम्प्रेषण गर्ने अभियानका सफल अभियन्ता, कुशल सङ्गठक, सम्पादक कवि अधिकारी आफ्ना सिर्जनाका माध्यमबाट समाजका विकृतिका प्रति कसेर प्रहार गर्ने र रूपान्तरणको स्पष्ट सन्देश सम्प्रेषण गर्न सक्ने सशक्त व्यक्तित्व हुनु हुन्छ त्यसैले आजको यो विशेष प्रस्तुतिमा उहाँलाई उभ्याइएको र यो अभियान निरन्तर रूपमा अगाडि बढि रहने जानकारी सहित कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नु भयो ।

प्रखर प्रगतिवादी वरिष्ठ कवि वासुदेव अधिकारीको व्यक्तित्व तथा कृतित्वमाथि प्रकाश पार्दै जन साहित्यिक मञ्च, नेपालको काव्य विभागकी संयोजक डा.विन्दु शर्माले सामाजिक रूपान्तरणको अभियानमा होमिएका कवि वासुदेव अधिकारीले २०३६ सालदेखि साहित्य सिर्जना गर्न थालेका; कविता र निबन्धमा विशेष प्रभावकारी भूमिका निर्वाह गर्न सकेका हुँदा उनको मूलतः साहित्यिक, साङ्गठनिक, सम्पादक, उच्च प्रशासक, राजनीतिक व्यक्तित्व देखा परेको; ‘मनको हरियो मनको गीत’, ‘आफन्तलाई सम्बोधन’, ‘गायब सभामुख’ र ‘युरोस्पर्श’ जस्ता कविता सङ्ह प्रकाशित भएका; चर्चित शब्द संयोजन साहित्यिक मासिक पत्रिकामा सम्पादकीय लेख्ने कविका सम्पादकीय आफैँमा निकै सशक्त निबन्धका रूपमा पाठकमाझ स्थापित भएका, आफ्ना कवितामा कुनै पनि प्रकारको निरङकुशताको विरोध र जन आबाज मुखरित गर्ने निडर एवम् निर्भीक व्यक्तित्व देखा परेको, कवितामा क्रान्तिकारी भाव अभिव्यक्त भएको, राष्ट्रिय समस्यालाई अन्तर्राष्ट्रियकरण गर्ने र साझा समस्या निक्र्याैल गरी कवितामा सशक्त युग चेतना प्रतिविम्बन गर्न सक्ने क्षमता रहेको, रङ्गभेदको विरोध, विषयको व्यापकता, सशक्त विम्ब चेतना, समसामयिकतालाई आत्मबोध गर्ने सक्ने विशिष्ट क्षमता कवि वासुदेव अधिकारीमा रहेको धारणा राख्नु भयो ।

विशेष समारोहका आकर्षण कवि वासुदेव अधिकारीले आफ्नो साहित्य यात्राको थालनीका बारेमा प्रकाश पार्दै सुरु सुरुका कवितामा पञ्चायती सामन्ती निरङ्कुशता कसरी समाप्त पार्ने भन्ने ध्येयले सिर्जना गरियो, पछिल्लो समयमा द्वन्द्वले मुलुकलाई आक्रान्त पार्यो, बहुदलीय व्यवस्था पुनस्थापन भएपछि झन् त्यसैको निरङ्कुशताको सिकार भइयो तथापि कविले कहिले काहीँ जोखिम पनि मोल्नु पर्छ र जहाँ छोयो वा देख्यो त्यहीँबाट कविता लेखिनु पर्छ भन्ने लाग्छ तर त्यसरी सिर्जना गर्न हामी सकि रहेका छैनौँ । एउटा स्रष्टा देश र जनताका प्रति इमान्दार हुनु पर्छ र उसको साधनाले समाज रूपान्तरणको अभियानमा योगदान गर्न सक्नु पर्छ भन्ने लागेको धारणा सहित ‘सारथिलाई’, इँटाभट्टामा रामलगन’, ‘सत्य’, ‘वाल स्टेट सुन्दरी’, ‘तिम्रो प्रतिभाको आगोले’ र ‘बार्थाेल्डीसँग गन्थन’ जस्ता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेशका अत्यन्त सशक्त कविता वाचन गर्नु भयो भने उहाँलाई साथ दिने कविहरू यशोदा अधिकारीले ‘युवा’ शीर्षकको, बैरागी जेठाले ‘जुलुसमा किन उनिदैनौ ?’ शीर्षकको, फुलमान बलले ‘मौरीघार’ शीर्षकको, शशी लुमुम्बुले ‘हल्यान्डको ढुकुरसँग’ शीर्षकको, इन्दु अंशुले ‘चरीको सङ्केत’ शीर्षकको र लक्ष्मण गाम्नागेले ‘चौटिएको शब्दकोश’ शीर्षकका छन्दका, गीत र गद्य गरी उत्कृष्ट कविता वाचन गरेका थिए ।

वाचित कवितामाथि डा.नेत्र एटमले टिप्पणी गर्नु हुँदै कविताको शक्ति बाहिर देखिनेभन्दा जति भित्र पस्यो त्यति उत्कृष्ट लाग्ने वा व्याख्या गर्न सकिने सामथ्र्य हो । कवि वासुदेव अधिकारीका कविताले समस्याको अन्तर्राष्ट्रियकरण गरेका छन् । मस्तिष्कमा आएको विचारलाई कलाको आगोमा सेकेर गति प्रदान गर्ने काम कविले गरेका छन्, त्यो कलाभित्र पनि विचार र चेतनालाई मिहिन तरिकाले सम्प्रेषण गर्न कवि सफल भएका छन् । उनका रचना स्वप्न सिर्जनाका रूपमा, ज्ञान, बुद्धि र विवेकको सन्तुलनमा जोड दिने हिसाबले र समृद्धिको पक्षमा वकालत गर्दै लेखिएका छन् । श्रमका पक्षमा, मिहिनेत र पसिना अनि एकताका पक्षमा, पुँजीवादी देशको कुरूपता नङग्याउने हिसाबमा, यान्त्रीकीकरणले निम्त्याएका समस्याका विषयमा र देश दिनानुदिन तल तल गइ रहेकोमा चिन्ताभाव समेटेर कविता लेखिएका छन् र कविता अत्यन्त सुन्दर, विम्बात्मक र कलात्मक पाइने धारणा सहित यो कविता यात्रा अझ सशक्त बन्दै जाओस् भन्ने शुभ कामना दिनु भयो ।

उपस्थित सबै साहित्यकारहरूलाई धन्यवाद सहित सभाध्यक्षको अनुमतिले विशेष समारोहको समापन गर्दै सञ्चालक जन साहित्यिक मञ्च, नेपालका का.वा.अध्यक्ष रमेश पोखरेलले सबै खाले निरङ्कुशताको विरुद्धमा आफ्ना सरल सिर्जनाका माध्यमबाट गम्भीर भाव सम्प्रेषण गर्न सक्ने, आफू मात्र होइन एउटा समूहलाई परिचालन गरी सबै सबैको व्यक्तित्व निर्माणमा योगदान गर्ने, कस्तै प्रतिकूल परिस्थितिमा पनि विचलित नभई अविच्छिन्न रूपमा लागि रहने, साहित्य सन्ध्या, राष्ट्रिय जन सांस्कृतिक महासङ्घ, युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठान जस्ता जीवन्त संस्थामा योगदान गरि रहेका, विज्ञानका विम्बलाई साहित्यमा ल्याउने, ग्रामीण समाजका र जन जीवनले भोगेका विम्बलाई सशक्त रूपमा प्रयोग गर्ने अविश्रान्त र अथकित योद्दा वासुदेव अधिकारी साहित्यका माध्यमबाट सामाजिक रूपान्तरणको अभियानमा सोद्देश्यमूलक यात्राको थालनी गर्ने, इमान र निष्ठाका साथ सक्रिय रहने अनि सदैव निम्न वर्गीय दुखी, पीडित जनताका पक्षमा कलम चलाउने व्यक्तित्व हुनु हुन्छ । यस्ता स्रष्टालाई अविरल जन साहित्य यात्रा (१० मा उपस्थित गराउन सकिएकोमा र उहाँले यहाँसम्म आइ दिनु भएर सहयोग गर्नु भई अरू स्रष्टालाई प्रेरणा प्रदान गर्नु भएकोमा हार्दिक आभार व्यक्त गर्नु भयो । यो कार्यक्रम सम्पन्न गर्न ब्यानर लेखि दिएर सहयोग गर्ने, निम्ता स्विकारेर आइ दिने सबै सबैलाई हार्दिक धन्यवाद दिँदै अर्काे महिनाको कार्यक्रममा वरिष्ठ साहित्यकार एवम् सामाजिक रूपान्तरण अभियानका कुशल अभियन्ता मुकुन्द न्यौपानेलाई प्रस्तुत गरिने जानकारी दिनु भयो ।              

Leave a Reply

Your email address will not be published. Required fields are marked *