रमेश पोखरेल
फागुन ८ गते शुक्रवार अपराह्न ठिक ३.० बजे राष्ट्रिय जन सांस्कृतिक महासङ्घ, बागबजारको सभाकक्षमा महासङ्घकै आयोजना र जन साहित्यिक मञ्च, नेपालको व्यवस्थापनमा संयुक्त रूपमा ‘अविरल जन साहित्य यात्रा-१२’ सम्पन्न भयो । हरेक महिनाको दोस्रो शुक्रवार पारेर ठिक ३ बजे महासङ्घको सभाकक्षमा वरिष्ठदेखि हालसम्मका साहित्यकारका एकल रचना वाचन गर्ने विशेष कार्यक्रम निरन्तर रूपमा सम्पन्न गर्ने यो अभियानको बारौँ शृङ्खला भएको जानकारी सहित राष्ट्रिय जन सांस्कृतिक महासङ्घका महासचिव राजेश थापाले कार्यक्रमको सञ्चालन गर्दै उक्त विशेष समारोहका नायक वरिष्ठ प्रगतिवादी कवि कणाद महिर्षलाई मञ्चमा आसन ग्रहणका लागि अनुरोध गर्नु भयो । उहाँलाई कविता वाचनमा सहयोग गर्ने कविहरू प्रा.केशव सुवेदी, कविकी जीवन सङ्गिनी मीना मिश्र, अनिल पौडेल, लिखत पाण्डे, गोपालकुमार मैनाली, आत्माराम शर्मा र प्रेमराज सिलवाल अनि टिप्पणीकारका रूपमा सहप्रा.डा.नारायण गड्तौलालाई पनि मञ्चमा आसन ग्रहणका लागि अनुरोध गर्नु भयो ।
उक्त विशेष समारोहमा प्रा.डा महादेव अवस्थी, प्रा.डा.कृष्णप्रसाद घिमिरे, वरिष्ठ कवि एवम् प्राज्ञ पूर्ण विराम, प्राज्ञ सानु पहाडी, उच्च प्रशासक लक्ष्मी निरौला जन साहित्यिक मञ्च नेपालका अध्यक्ष राम विनय अतिथिका रूपमा उपस्थित हुनु हुन्थ्यो ।
उपस्थित सबैलाई राष्ट्रिय जन सांस्कृतिक महासङ्घका अध्यक्ष एवम् नेकपा एमाले केन्द्रीय सदस्य तथा संस्कृति विभाग प्रमुख खगेन्द्र राईले स्वागत गर्नु भयो । विशेष समारोहका नायक कणाद महर्षिलाई माला तथा टीका लगाएर सम्मान गर्नु भयो । त्यसै गरी कविलाई साथ दिने कविहरूलाई पनि खादा तथा टीका लगाएर सम्मान गर्नु भयो । नेपाली समाजमा विद्यमान रहेका विकृति र विसङ्गतिलाई निर्ममतापूर्वक उजागर गर्ने एवम् रूपान्तरणका लागि कविता, कथा र निबन्धका माध्यमबाट रूपान्तरणको सन्देश सम्प्रेषण गर्ने अविश्रान्त, साधनामै तल्लीन रहनु भएका सफल स्रष्टा महर्षि आफ्ना सिर्जनाका माध्यमबाट समाजका विकृतिका प्रति, निरङ्कुशताका प्रति कसेर प्रहार गर्ने र रूपान्तरणको स्पष्ट सन्देश सम्प्रेषण गर्न सक्ने सशक्त व्यक्तित्व हुनु हुन्छ त्यसैले आजको यो विशेष प्रस्तुतिमा उहाँलाई उभ्याइएको र यो अभियान निरन्तर रूपमा अगाडि बढि रहने मात्र होइन आगामी कार्यक्रमदेखि जन साहित्यिक मञ्चले नै यस कार्यक्रमको व्यवस्थापन समेत गर्ने जानकारी सहित कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नु भयो ।
वरिष्ठ प्रगतिवादी कवि, साहित्यकार कणाद महर्षिको व्यक्तित्व तथा कृतित्वमाथि प्रकाश पार्दै जन साहित्यिक मञ्च, नेपालको काव्य विभागकी संयोजक डा.विन्दु शर्माले २०११ सालमा जन्मिएका कवि महर्षि जीवनको लामो समयसम्म राष्ट्रिय वाणिज्य बैङ्कमा सेवारत रही सेवा निवृत हुनु भएको, २०२२ सालदेखि साहित्य यात्रामा समर्पित हुनु भएको र अविच्छिन्न रूपमा साधनारत रहनु भएको, उहाँको कलम निरङ्कुश पञ्चायती कालको २०३० को दशकमा बढी सक्रिय रहेको पाइएको र हालसम्म पाँच ओटा कविता र कथा सङ्ग्रह प्रकाशित भइ सकेका अनि झण्डै आधा दर्जन कृति प्रकाशोन्मुख अवस्थामा रहेका, समाजमा विद्यमान दमन, उत्पीडन, अन्याय(अत्याचारको सशक्त रूपमा विरोध गर्ने, पाठकलाई सङ्घर्षको चेतना सम्प्रेषण गर्ने, आफ्ना सिर्जनामा निरङ्कुश परिवेश उजागर गरी पाठकमा त्यसका प्रति वितृष्णा जागृत गराइ दिने वा भनौँ आन्दोलित गराइ दिने सोद्देश्यमूलक लेखन यात्राका यात्री रहनु भएको, निरङ्कुश कालमा कलम चलाउने स्रष्टा भएका कारण ध्वन्यार्थमा भन्नु पर्ने हुँदा लेखनमा प्रयोगवादिता देखा परेको, प्रतीकात्मक लेखन भएका कारण सिर्जना केही बौद्धिक देखएका, लेखन शैलीमा नाटकीयता, प्रयोगात्मकता, प्रयोगशीलता देखा परेको र यो पक्ष कवितामा भन्दा कथामा बढी सशक्त र प्रभावकारी देखिएको; समाजमा टड्कारो देखिएको वर्गीय विभेद, बलेको आगो ताप्ने प्रवृत्ति, अनेक प्रकारका सामाजिक शोषण र उत्पीडन जस्ता पक्षलाई तिन ओटै दृटिविन्दुको प्रयोग गरी उजागर गर्ने र अन्तमा आशावादी सन्देश सम्प्रेषण गर्ने, विचारमा दृढ रहने, विध्वंश होइन सिर्जना र नव निर्माण आवश्यक छ भन्ने स्पष्ट सन्देश सम्प्रेषण गर्न सक्ने विलक्षण क्षमताका धनी स्रष्टा कणाद महर्षि समय र सधानाका उपज, सफल स्रष्टा भएको धारणा राख्नु भयो ।
विशेष समारोहका आकर्षण कवि कणाद महर्षिले आफ्नो साहित्य यात्राको थालनीका बारेमा जानकारी गराउँदैै आफूलाई ‘अविरल जन साहित्य यात्रा(१२’ उपस्थित भएर आफ्ना रचना सुनाउने अवसर जुटाइ दिने आयोजकका प्रति आभार व्यक्त गर्नु भयो । आफूले खुसीले उचाल्दा, अन्यायले आक्रमण गर्दा विकृति र विसङ्गतिले लछार्दा कविता लेख्ने गरेको; जीवन भोगाइका सबै पक्षका कविता लेख्ने गरेको; समाजमा देखिएका आतङ्क, पक्षपात, छेपारे प्रवृत्तिका विरुद्धमा समेत कविता सिर्जना गर्ने गरेको; आफूलाई बडप्पन देखाउने र आकासिने रहर नभएको, कुनै पनि कविको मान्यता र धारणा भनेको उसले लेख्ने कविता नै हो भन्ने मान्यता आफूले आत्मसात गरेको; कविता लेख्ने प्रेरणा भने आफ्ना बुबाबाट प्राप्त गरेको बताउनु हुँदै ‘यात्राको आरम्भ’ (२०३४ सालमा लेखिएको), ‘त्यो नितान्तमा’, ‘दुईआत्माको अन्त्यपछि (राजा महेन्द्रको र एउटा सामान्य मान्छेको मृत्युमा देखिएको विभेद चित्रित)’, ‘प्रति उत्तर’, ‘आएको थिएँ’ र ‘चुड्की’ शीर्षकका अत्यन्त सशक्त र मार्मिक कविता वाचन गर्नु भयो भने उहाँलाई साथ दिने कविहरू प्रा.केशव सुवेदीले ‘उठाएर नटुक्र्याऊ’, अनिल पौडेलले ‘खर्पनसँग ज्यापू’, लिखत पाण्डेले ‘निब, कवि र कविता’, गोपालकुमार मैनालीले ‘खै हाम्रो दौरा सुवाल ?(२०२२ सालमा लेखिएको), आत्माराम शर्माले ‘जेठको धुपमा एक बेकारी’, प्रेमराज सिलवालले ‘शोक सन्तप्त आँगनमा’(सुखानीमा मारिएका सहिदका प्रति सम्मान गर्दै लेखिएको) र मीना मिश्रले तिन ओटा छोटा कविता गरी ज्यादै सशक्त, प्रभावशाली र मार्मिक कविता वाचन गर्नु भएको थियो ।
वाचित कवितामाथि सहप्रा.डा.नारायण गड्तौलाले टिप्पणी गर्नु हुँदै कविताको मुख्य मर्म भनेको आस्वादन हो, त्यो यथार्थ पनि हुन्छ तर समीक्षा विज्ञानसँग नजिक हुन्छ । यहाँ सुनेका भरमा गरिएको समालोचना चाहिँ प्रभावपरक समालोचना हो । कविताको विषय, कविको रुचि, कवितामा व्यक्त कविको धारणाका आधारमा कविताको स्तर निर्धारण हुन्छ । कवि कणाद महर्षिले समाजका मसिना कुरालाई, अन्याय र शोषणलाई, उपेक्षालाई, विभोदलाई उजागर गर्नु भएको छ । आफ्नो नाम अनुसार नै निस्वार्थता एवम् दृढ वैचारिकता कवितामा अभिव्यक्त भएको, कविको लेखन क्षेत्र वर्गीय प्रेम रहेको; अभाव, आर्तनाद, शोषण कवितामा जीवन्त रूपमा प्र्रस्तुत भएका र कविताले निरङशतालाई चुनौती दिने काम गरेका छन् । कविता कालजयी विधा हो, कणादका कविता यो समाज र विभेद रहुन्जेल रहि रहन्छन् । प्लेटोले पनि काव्य भनेको समाजको अभिन्न अङ्ग हो भनेका छन् । वास्तवमा कविले समाजकै प्रतिविम्ब उतार्ने हो । हजारौँका रगतमा बगेका आँसु, हाँसो, रोदन, छट्पटीलाई कविले काव्यिक बान्की प्रदान गरी अभिव्यक्त गर्दछन् । यस्तै प्रतिच्छायाँ कणादका कवितामा पाउन सकिन्छ । सरल तर अविधेय अनि सोद्देश्यमूलक कविता यात्राको स्पष्ट लक्ष्य सामाजिक रूपान्तरण नै हो र उनी सफल कवि हुन् भन्ने धारणा राख्नु भयो ।
उपस्थित सबै साहित्यकारहरूलाई धन्यवाद सहित सभाध्यक्षको अनुमतिले विशेष समारोहको समापन गर्दै जन साहित्यिक मञ्च, नेपालका अध्यक्ष राम विनयले २०२४ सालमा मेची अञ्चलको धुलाबारीमा सम्पन्न भएको साहित्य सम्मेलनमा सहभागी भएका रामनाथ दाहाललाई निरङ्कुश राज्यसत्ताले सुखानीमा लगी गोली हानेर मार्यो र उनी सहिद भए । त्यो क्रूरतापूर्ण हत्यास्थल देखेर कविमन व्यथित भएको कवितादेखि अहिलेसम्मका काल क्रमिक कविता सुन्न पाइएको, कवि कणाद इमान्दार र निस्वार्थ कवि भएकाले आफ्ना सिर्जनामा सबै खाले निरङ्कुशताको विरुद्धमा सरलताका माध्यमबाट गम्भीर भाव सम्प्रेषण गर्न सकेका, कस्तै प्रतिकूल परिस्थितिमा पनि विचलित नभई अविच्छिन्न रूपमा लागि रहने, ग्रामीण समाजका र जन जीवनले भोगेका विम्बलाई सशक्त रूपमा प्रयोग गर्ने अविश्रान्त र अथकित योद्दा मात्र नभएर इमान र निष्ठाका साथ सक्रिय रहने अनि सदैव निम्न वर्गीय दुखी, पीडित जनताका पक्षमा कलम चलाउने व्यक्तित्व हुनु हुन्छ । यस्ता स्रष्टालाई अविरल जन साहित्य यात्रा-१२ मा उपस्थित गराउन सकिएकोमा र उहाँले यहाँसम्म आइ दिनु भएर सहयोग गर्नु भई अरू स्रष्टालाई प्रेरणा प्रदान गर्नु भएकोमा हार्दिक आभार व्यक्त गर्नु भयो । उहाँलाई सहयोग गर्ने आधा दर्जन कविहरू, यो कार्यक्रम सम्पन्न गर्न ब्यानर लेखि दिएर सहयोग गर्ने, छायाङ्कन गरि दिने, निम्ता स्विकारेर आइ दिने सबै सबैलाई हार्दिक धन्यवाद दिँदै अर्काे महिनाको कार्यक्रममा चितवनमा रहेर नेपाली प्रगतिवादी साहित्यिक आन्दोलनमा योगदान गरि रहेकी प्रखर स्रष्टा नमुना शर्मालाई प्रस्तुत गरिने जानकारी दिनु भयो ।