‘अविरल जन साहित्य यात्रा–१’ मा प्रश्रितको एकल कविता वाचन

मितिः २०७०।१२।१४
रमेश पोखरेल

चैत्र १४ गते शुक्रवार अपराह्न ठिक ३ बजे राष्ट्रिय जन सांस्कृतिक महासङ्घ, बागबजारको सभाकक्षमा महासङ्घकै आयोजना र जन साहित्यिक मञ्च, नेपालको व्यवस्थापनमा संयुक्त रूपमा ‘अविरल जन साहित्य यात्रा–१’ को प्रारम्भ गरियो । हरेक महिनाको दोस्रो शुक्रवार ठिक ३ बजे महासङ्घको सभाकक्षमा वरिष्ठदेखि हालसम्मका साहित्यकारका एकल रचना वाचन गर्ने र हरेक महिना महासङ्घका सात ओटा घटकमध्ये कुनै एकको केही न केही विशेष कार्यक्रम निरन्तर रूपमा सम्पन्न गर्ने जानकारीका साथ महासङ्घका महासचिव राजेश थापाले कार्यक्रमको सञ्चालन गर्दै यो पहिलो अनि विशेष समारोहको प्रमुख आतिथ्यका लागि एमाले संस्स्कृति विभागका प्रमुख एवम् साहित्यकार वाचस्पति देवकोटालाई आग्रह गर्नु भयो । समारोहको अध्यक्षता महासङ्घका अध्यक्ष खगेन्द्र राईले गर्नु भयो भने समारोहका विशेष आकर्षण वरिष्ठ प्रगतिवादी साहित्यकार एवम् राष्ट्रिय जन सांस्कृतिक महासङ्घका संस्थापक अध्यक्ष डा.मोदनाथ प्रश्रित उपस्थित हुनु हुन्थ्यो । अतिथिहरूमा महासङ्घका उपाध्यक्ष प्रा.डा.जीवेन्द्र देव गिरी, जन साहित्यिक मञ्च, नेपालका अध्यक्ष राम विनय हुनु हुन्थ्यो ।

साम्राज्यका सिमाना भत्काउने सिपाही
के बाँध्न सक्छ त्यान्द्रे यो नेलले मलाई
मेरो अनन्त यात्रा संसार जित्नलाई
के रोक्न सक्छ फुच्चे पर्खालले मलाई ।

यी र यस्तै कालजयी एवम् युवाजोश भर्ने कविता र गीतका साधक, सामाजिक रूपान्तरणका अभियन्ता, वरिष्ठ प्रगतिवादी अग्रज साहित्यकार डा. मोदनाथ प्रश्रितलाई जन साहित्यिक मञ्च, नेपालका अध्यक्ष राम विनयले टीका र माला लगाई सम्मान गर्नु भयो, महासङ्घका अध्यक्ष खगेन्द्र राईले खादा लगाएर सम्मान गर्नु भयो भने प्रमुख अतिथि वाचस्पति देवकोटाले माल्यार्पण सहित दोसल्ला ओडाउनु भयो र महासङ्घको अभिनन्दन पत्र अर्पण गर्नु भयो ।

डा. प्रश्रितको व्यक्तित्व तथा कृतित्वका बारेमा जन साहित्यिक मञ्च, नेपालको काव्य विभागकी संयोजक डा.विन्दु शर्माले प्रकाश पार्दै राजनीति र साहित्यलाई एकैसाथ समान उचाइका साथ लैजाने अत्यन्त सफल प्रश्रित नेपाली प्रगतिवादी साहित्यिक आन्दोलनका अग्रज मात्र नभई अभियन्ता समेत हुनु भएको, संयमित, शालीन तर कस्तै प्रतिकूल अवस्थामा पनि निरङ्कुशतासँग सम्झौता नगर्ने अत्यन्त कडा, सबैलाई समेटेर आन्दोलनमा समाहित गर्नु पर्छ भन्ने फराकिलो विचार राख्ने, संयमित दृष्टिकोण सम्प्रेषित गर्ने, वस्तुपरक सौन्दर्यलाई अनुभूतिपरक सौन्दर्यमा बदलेर माक्र्सवादी सौन्दर्यमा रूपान्तरण गर्न सक्ने विशिष्ट क्षमता राख्ने, प्रस्तुतिमा नयाँपन दिने, आकर्षक र प्रभावकारी शैली भएका कुशल वक्ता समेत रहेको डा.प्रश्रितको व्यक्तित्व अत्यन्त अनुकरणीय, प्ररणादायी र ऊर्जावान् रहेको धारणा राख्नु भयो ।

महासङ्घका अध्यक्ष खगेन्द्र राईले नेपाली प्रगतिवादी साहित्यका मात्र सर्वाेच्च शिखर हुनु हुन्न प्रश्रित, उहाँ त जनुसुकै क्षेत्रका समेत ज्ञाता र विज्ञ हुनु हुन्छ तर उहाँले आफ्नो क्षमताले नेपाली साहित्य, राजनीति र समाजलाई दिए बाहेक धेरै विषयका ज्ञान हामीले उहाँबाट लिनु पर्ने विचार सहित यस्ता खाले विशिष्ट कार्यक्रम अविरल रूपमा महासङ्घका सबै घटकका पालो मिलाएर हरेक महिना आयोजना गर्दै जाने जानकारी समेत दिनु भयो ।

उक्त विशिष्ट समारोहमा डा.मोदनाथ प्रश्रितको बहु आयामिक वयक्तित्व झल्किने गरी गणेश जी.सी.ले तयार पार्नु भएको चित्र एकापट्टि राखिएको थियो भने अर्कातिर कार्लमाक्र्सको चित्र राखिएको थियो ।

त्यसपछि उक्त विशेष समारोहको संयोजन गर्दै जन साहित्यिक मञ्च, नेपालका सल्लाहकार देवी नेपालले हरेक महिना यस्ता विशेष खाले कार्यक्रमको आयोजना गर्ने उद्देश्य रहेकाले कार्यक्रमको नाम नै ‘अविरल’ राखिएको जानकारी दिनु भयो र थालनी नै विशाल व्यक्तित्वबाट गरिएको, यहाँ डा.प्रश्रितका २०१८ सालदेखि हालसम्म रचना गरिएका एक दर्जन कविता वाचन हुने, यी कविता १० बर्से बालकवि अनुज्ञा नेपालदेखि &२ बर्से स्वयम् स्रष्टासम्मका सात जनाले वाचन गर्ने जानकारी दिनु हुँदै मञ्चमा आसीन व्यक्तित्वलाई स्रोतादीर्घामा सारी डा.प्रश्रितलाई बिचमा र दायाँतिर कविहरू वासुदेव अधिकारी, रमेश पोखरेल र जयन्ती स्पन्दन अनि बायाँतिर अनुज्ञा नेपाल, रूपक अलङ्कार र जय गौडेललाई बस्न अनुरोध गरी कविता वाचनको संयोजनका लागि डा.प्रश्रितलाई आग्रह गर्नु भयो ।

वरिष्ठ कवि डा. मोदनाथ प्रश्रितले आफ्ना ‘कहिले देख्न पाउँला ?’ (रचना २०१८ साल), ‘मन्त्रीजी’ (रचना २०२५ साल), ‘नेपाली बहादुर’ (बनारसमा बस्दा २०२५ सालमा हिन्दीमा लेखिएको), गोलघरको सन्देशबाट, जब चल्छ हुरी गीत सङ्ग्रहबाट, देवासुर सङ्ग्रामबाट गरी छ ओटा कविता वाचन गर्नु भयो । १० बर्से कवि अनुज्ञा नेपालले ‘युवा उठ’ शीर्षकको, रूपक अलङ्कारले ‘लाली उषाको बढोस्’ शीर्षकको २०३& सालमा लेखिएको, वासुदेव अधिकारीले ‘भोल्गा र ह्वाङ्गो गाऊ समवेत गीत’ शीर्षकको २०४३ सालमा लेखिएको, जयन्ती स्पन्दनले ‘मेरी छोरी मूल परी रे !’ शीर्षकको, रमेश पोखरेलले ‘म पनि मान्छे हुँ’ शीर्षकको, जय गौडेलले ‘झगडा किन ?’ शीर्षकको कविता वाचन गर्नु भयो । डा.प्रश्रितको अत्यन्त चर्चित एवम् मदन पुरस्कार विजेता महाकाव्य ‘मानव’बाट देवी नेपालले तिन ओटा श्लोक वाचन गर्नु भयो ।

वाचित एक दर्जन कविता, गीत र प्रश्रितको व्यक्तित्वमा प्रा.डा.जीवेन्द्र देव गिरीले टिप्पणी गर्नु हुँदै निरङ्कुश पञ्चायती सत्ता प्रश्रितको व्यक्तित्वबाट डराएर जेलभित्रको पनि जेल गोलघरमा उहाँलाई राख्दा समेत डराएर बिन्तीपत्र लेख्ने होइन बाहिरका आन्दोलनका अभियन्तलाई ऊर्जा प्रदान गर्न र सत्ताका मतियारलाई थर्कमान पार्न सक्ने सामाजिक रूपान्तरण र माक्र्सवादी विचारका अभियन्ता डा.प्रश्रितलाई सुन्ने मौका पाइएको, बालकविदेखि युवा हुँदै प्रौढसम्मका कविले कविता वाचन गरेको, समाजमा विद्यमान अँध्यारो चिर्नका लागि युवा जागरणका पक्षमा निर्भीकताका साथ सोद्देश्यमूलक लेख्ने, वैचारिक ऊर्जा दिने अभियन्ता प्रश्रितले समाजका यावत विकृति र विसङ्गतिलाई उजागर गर्दै समग्र रूपान्तरणको आग्रह आफ्ना सम्पूर्ण रचनामा गर्नु भएको; युवा जागरणमा प्राथमिकता दिने, अध्यात्मवाद र रुढिवादमाथि प्रहार गर्दै वैज्ञानिक विश्लेषण प्रस्तुत गर्ने, सिर्जना एवम् व्यवहारका माध्यमबाट सरलता प्रदर्शन गर्ने अविश्रान्त योद्धा प्रश्रितका कविता कालजयी रहेको धारणा राख्नु भयो र विशिष्ट समारोहको थालनी पनि उत्कृष्ट व्यवस्थापन सहित भएकोमा खुसी व्यक्त गर्नु भयो ।

प्रमुख अतिथि नेकपा एमाले संस्कृति विभागका प्रमुख वाचस्पति देवकोटाले नेपाली प्रगतिवादी साहित्यमा डा.प्रश्रितले पुर्याएको योगदानले नेपाली वाम आन्दोलन समेत समृद्ध भएको, कम्युनिस्ट आन्दोलन समाजवाद–साम्यवादतर्फ उन्मुख हुने कि आफ्नै व्यवस्था गर्दै हिँड्ने भनेर देखिएको विकृतिका प्रति निर्मम प्रहार गर्ने प्रश्रितको शैली उत्कृष्ट र अनुकरणीय रहेको; हामीले संस्कृति, सभ्यता निर्माणका लागि निरन्तर लडि रहनु पर्ने; आस्था ठुलो र दिगो हुने तर सत्ता क्षणिक हुने अनि यसको स्वरूप दमनात्मक हुने हुँदा हामीले डा.प्रश्रितले लिएको बाटो रोज्नुको विकल्प नरहेको धारणा राख्नु भयो ।

जन साहित्यिक मञ्च नेपालका अध्यक्ष राम विनयले तिन घण्टासम्म चुइक्क नगरी डा.प्रश्रितका कालजयी रचना सुनि दिने र निमन्त्रणा स्वीकार गरी आइ दिने सबै सबै विशिष्ट व्यक्तित्वलाई हार्दिक धन्यवाद सहित विशेष समारोहको समापन गर्नु भयो ।

Leave a Reply

Your email address will not be published.