उर्वर साहित्य समाजको छैटौँ साहित्यिक शृङ्खला

रमेश पोखरेल, सम्पादक – शब्द संयोजन साहित्यिक मासिक

यही चैत्र ११ गते शनिवार अपरान्ह १ बजे उर्वर साहित्य समाजको छैटौँ साहित्यिक शृङ्खला नेपाल लोकबाजा सङ्ग्रहालयको सभाकक्ष त्रिपुरेश्वरमा सम्पन्न भयो । समाजका सदस्य भीम दाहालको सञ्चालन, बलराम राईको स्वागत, समाजका अध्यक्ष पारस ढकालको अध्यक्षतामा सम्पन्न भएको उक्त शृङ्खलाका प्रमुख अतिथि साहित्यकार रमेश पोखरेल रहेका थिए भने अतिथिमा लोकबाजा सङ्ग्रहालयका संस्थापक रामप्रसाद कँडेल, समालोचक जीवलाल बस्याल, साहित्यकार वासुदेव अधिकारी, वरिष्ठ कवि पूर्ण विराम आमन्त्रित हुनु हुन्थ्यो ।

अलिक फरक शैलीमा कार्यक्रम सञ्चालन गर्ने उक्त साहित्यिक समाजले हरेक शृङ्खलामा एक जना स्रष्टाको प्रकाशित कृतिका बारेमा समालोचकबाट समालोचना गराउँने र सोही स्रष्टालाई उक्त शृङ्खलाको प्रमुख अतिथि बनाउँने परम्पराको थालनी गरेको छ । जस अनुसार कवि रमेश पोखरेलको प्रकाशित कविता सङ्ग्रह बज्दैनन् शोक धुनहरूमा दुई जनाले प्रभावपरक समालोचना र एक जनाले शास्त्रीय समालोचना गर्नु भएको थियो ।

कवि दिनेश न्यौपानेले कविता सङ्ग्रहभित्रको बन्द गर आतङ्क शीर्षकको कवितामाथि प्रभावपरक समालोचना गर्दै समाजमा आतङकको साम्राज्य बढेका कारण आमाबाबुले नै आफ्ना सन्तानलाई क्रान्तिका निम्ति निर्देशन दिने गरेका, जनतालाई यो वा त्यो बहानामा दबाउँने कुशासकलाई जनताले कुनै न कुनै दिन ठेगान लगाएरै छाड्ने र बन्दुकको आतङ्क चाहे जुनसुकै पक्षबाट फैलाइएको होस् त्यसको अन्त्य हुनै पर्ने वैचारिक दृढता कवितामा व्यक्त भएको, लयात्मकता र गेयात्मकता रहेको टिप्पणी गर्नु भयो ।

नेपाल लोकबाजा सङ्ग्रहालयका संस्थापक रामप्रसाद कँडेलले कवि पोखरेलको बज्दैनन् शोकधुनहरू कविता सङ्ग्रहमा अब शोकका धुनहरू नबजुन् भन्ने ध्वन्यार्थ रहेको सङ्ग्रहको शीर्षक सार्थक रहेको, कवितामा देशभक्तिको गाथा अभिव्यक्त भएको, विभिन्न ठेट बिम्बको प्रयोग गरिएको, गेयताका हिसाबले कविताहरू सबै उपयुक्त रहेका भन्दै हरेक कवितामा प्रयुक्त ठेट बिम्ब र बाजासँग सम्बन्धित शब्दहरूको समेत विषद् चर्चा गर्नु भएको थियो ।

समालोचक जीवलाल बस्यालले तत्कालीन निरङ्कुश युग जीवनले दिएको पीडालाई कविताले उजागर गरेका, उग्रपनले समाजलाई दिने पीडा वा आतङ्कका बारेमा कविले खुलेर विरोध गरेका, पचासको दशकमा नेपाली गाउँ शून्य भएका, पलायन वा जबरजस्तीका कारण देश आतङ्कित रहेको त्यस्तो त्रासद अवस्थामा कविमन मूक दर्शक बन्न नसकेर त्यो पीडालाई भावनाका माध्यमबाट अभिव्यक्त गर्ने प्रयास भएको, त्यस्तो अभिव्यक्तिमा प्रगतिशील चेत उजागर भएको, श्रमको सम्मान हुनु पर्ने, श्रममा बाँच्ने आदर्श जीवनको नमुना पेस गर्नु पर्ने वैचारिकता पनि सुन्दरताका साथ प्रस्तुत भएको, देश जलेको, आतङ्क भित्रिएको, सिमाना मिचिएको पक्षलाई कविताले सशक्त रूपमा उजागर गरेका, तुलनात्मक रूपमा कवितामा कलालाई भन्दा विचारलाई बढी प्राधान्यता दिइएको तर अत्यन्त सरल भावमा कविता रचिएकाले दुरुह छैनन् भन्ने टिप्पणी गर्नु भयो ।

उक्त शृङ्खलामा प्रमुख अतिथि रमेश पोखरेलले आफ्नो बाल्यकालदेखिको जीवन, कविता यात्रा र हालको संलग्नता समेतका बारेमा जानकारीमूलक विचार राख्नु भएको थियो भने शृङ्खलामा बलराम राई, शान्ता पन्थ, वासुदेव अधिकारी, मिस्टर साइको, रमेश पोखरेल, पूर्ण विराम, जी.के.एन.खडेरी, गोपालकुमार मैनाली, देवकी के.सी., गोपाल नेपाल, प्रेमराज सिलवाल, तारा आचार्य, पार्वती पाठक, सीता पंज्ञानी र पारस ढकालले आआफ्ना कविता, गीत, गजल तथा तान्का प्रस्तुत गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *