कवि गीता सापकोटाको ‘भान्से बाहुनी’ कवितासङ्ग्रह लोकार्पित

रमेश पोखरेल, काठमाडौं

वैशाख १५ गते शनिबार रत्नराज्य माध्यमिक विद्यालय मध्य बानेश्वर, काठमाडौँको सभाकक्षमा कवि गीता सापकोटाको कवितासङ्ग्रह ‘भान्से बाहुनी’ प्रा.डा.वासदेव त्रिपाठीले लोकार्पण गर्नुभयो । पाँचथर स्रष्टा समाजका सल्लाहकार प्रा.डा.गोविन्दराज भट्टराईको अध्यक्षतामा सम्पन्न उक्त विशेष समारोहका प्रमुख अतिथि प्रा.डा.वासुदेव त्रिपाठी हुनुहुन्थ्यो भने विशेष अतिथिका रूपमा नेपाल प्रज्ञाप्रतिष्ठानका सदस्यसचिव प्रा.डा.जीवेन्द्रदेव गिरी उपस्थित हुनुहुन्थ्यो । अतिथिहरूमा माननीय सानु पहाडी, माननीय रचना कटुवाल, समालोचक एवम् कवि डा.रामप्रसाद ज्ञवाली, वरिष्ठ साहित्यकार दाहाल यज्ञनिधि, वरिष्ठ कवि रमेश खकुरेल, साहित्यकार महेश्वर शर्मा, साहित्यकारहरू राम विनय, रमेश पोखरेल, गङ्गा पौडेल, रत्नराज्य मा.वि.की प्राचार्य डा.गीता खरेल, वरिष्ठ कवि भुवनहरि सिग्देल, बानेश्वर क्याम्पसका प्रमुख घमानसिंह खड्का, साहित्यकार कुलप्रसाद पराजुली, डा.मधुशूदन लामिछाने, साहित्यकार डम्बर घिमिरे, साहित्यकार डम्बर पहाडी, कवितासङ्ग्रहका प्रकाशक ध्रुवकुमार न्यौपानेलगायत उपस्थित हुनुहुन्थ्यो ।

उपस्थित सम्पूर्ण व्यक्तित्वलाई पाँचथर स्रष्टा समाजका अध्यक्ष एवम् लोकार्पित कवितासङ्ग्रहकी कवि गीता सापकोटाका जीवनसाथी रमेश शुभेच्छुले स्वागत गर्नुहुँदै शिक्षा, संस्कृति, समाजसेवालगायतका क्षेत्रमा पाँचथरको सुन्दर भूगोलको विशिष्ट योगदान रहेको, गीतासँगको सहयात्राको दसौँ वर्षगाँठ पनि आजै परेको र यसै दिनमा गीताको कवितासङ्ग्रहको लोकार्पण गर्ने कार्यक्रम बनाइएको जानकारी दिनुहुँदै निमन्त्रणा स्वीकार गरी आइदिनुहुने सबै सबैमा आभार व्यक्त गर्दै स्वागत गर्नुभयो ।

प्रमुख अतिथि नेपाली साहित्य तथा समालोचनाका विद्वान प्रा.डा.वासुदेव त्रिपाठीले कवि गीता सापकोटाको कवितासङ्ग्रह ‘भान्से बाहुनी’को सार्वजनिकीकरण गर्नुभयो भने लोकार्पित कृतिबाट प्रखर कवि सुदेश सत्याल, शान्ति सापकोटा, डम्बर पहाडी, दाहाल यज्ञनिधि, डा.मधुशूदन लामिछानेले कवितावाचन गर्नुभयो ।

लोकार्पित सङ्ग्रहको समीक्षा गर्नुहुँदै डा.रामप्रसाद ज्ञवालीले शान्त, शालीन, कर्ममा विश्वास गर्ने कवि गीता सापकोटा कवि, शिक्षक, सम्पादक, गृहिणी, आमा, सामाजिक रूपान्तरण अभियानकी अभियन्तासमेत हुन् । कविताहरू सामाजिक यथार्थका, गणतन्त्र आए पनि जनताले अनुभूत गर्ननसक्नुका पीडाका, उज्यालोको खोजी गरिएका रहेका छन् । कविताहरू नारीकेन्द्रित रहेका छन्, नारीका साझा समस्या कवितामा अभिव्यक्त भएका छन्, कवि आफैँ पत्नी र आमा हुनुको अनुभूतिको प्रस्तुति रहेको, कविता यथार्थमा आधारित रहेका, अनुभवबाट प्राप्त ज्ञानको प्रस्तुति कवितामा गरिएको, कवितामा संवेदनाको पक्ष प्रबल रहेको, नारी सम्झौताकी पर्याय हुन् भन्ने र मातृत्व महान हुन्छ भन्ने सत्यलाई कवितामा स्थापित गर्ने प्रयत्न गरिएको, जन्मभूमि तथा देशप्रतिको प्रेम तथा सम्मानभाव व्यक्त गरिएको; नेपाली जनताका दुःख, पीडा र विभेदको अन्त्यको आग्रह गरिएको, बेरोजगारीको समस्याका कारण देश वृद्धाश्रम भइरहेकोप्रति चिन्ताभाव व्यक्त गरिएको, देशभक्तिमा जीवनको सार्थकता हुन्छ भन्ने मान्यता सम्प्रेषण गरिएको, छिमेकीको हेपाहा प्रवृत्तिको विरोध गरिएको, नारीवादी चेतना मात्र नभएर पतिको सकारात्मक भूमिकाको प्रशंसा पनि गरिएको र सहयात्राको आग्रह गरिएको, सङ्घर्षशील मान्छेको जीवन आफैँमा कविता हो भन्ने प्रस्ट्याइएको, अनुभूतिहरूको सम्वेदनशील अभिव्यक्ति कविता हो भन्ने मान्यता स्थापित गर्नखोजिएको, सकारात्मक सोचका साथ सचेतता, सहकार्य, अनुभवको प्रतिविम्ब, युगबोधले युक्त राम्रा भाव र राम्रो विचारयुक्त कवितासङ्ग्रहका लागि कविलाई बधाई छ । तथापि भाषा र छन्द मिल्नुपर्ने कुरामा स्रष्टा सचेत हुनुपर्ने अवस्था रहेको छ र वर्णविन्यासमा रहेका त्रुटिका प्रति सचेतता आवश्यक रहेको छ भन्ने धारणा राख्नुभयो ।

दाहाल यज्ञनिधिले निम्छरा र हेपिएका वर्गको प्रतिनिधित्व गर्ने शब्द नै कवितासङ्ग्रहको शीर्षकका रूपमा आएको, छोरीहरू बौद्धिक बनिरहेको वर्तमानमा कविको यो कवितासङ्ग्रहको शीर्षक उपन्यास भएर आओस् । कुनै जमानामा छन्द हेपिएका दिन पनि थिए तर अहिले सम्मानित भइरहेको छ र यस सङ्ग्रहमा पनि छन्दका आधा कविता रहेका छन् । कविलाई हार्दिक शुभकामना भन्नुभयो । वरिष्ठ कवि रमेश खकुरेलले रमेश र गीताको विवाहको साक्षी रहेको आपूm आज गीताको कवितासङ्ग्रहको लोकार्पण समारोहमा समेत उपस्थित हुनपाउँदा खुसी लागेको छ । स्वयम् भान्से बाहुनी हुँदै कवि भएकी गीतालाई बधाई छ भन्नुभयो ।
नेपाल प्रज्ञाप्रतिष्ठानका सदस्यसचिव प्रा.डा.जीवेन्द्र देव गिरीले कविलाई कवितासङ्ग्रह प्रकाशनका लागि बधाई दिनुहुँदै सङ्ग्रहभित्र समाजोपयोगी कविता रहेका, कवितामा राष्ट्रप्रेमको भावना अभिव्यक्त भएको, समाजका विसङ्गति र विभेदको अन्त्यको आग्रह रहेको, कवितामा जिउँदो समाजको चित्रण गरिएको, आपूm स्वयम्ले व्यहोरेका समस्या र पीडालाई कवितामा उजागर गरिएको हुँदा कविता सुन्दर बनेका धारणासहित कविलाई निरन्तर साधनाको सुझाव दिनुभयो ।
प्रमुख अतिथि प्रा.डा.वासुदेव त्रिपाठीले कवि गीता साहित्यकी साधिका हुन् । उनको लेखनीमा क्रमशः परिपक्वताको अभिव्यक्ति देखिएको, सङ्ग्रहमा गद्य र पद्य कविताको संयोजन गरिएको, सङ्ग्रहका आधाभन्दा बढी कविता राम्रा रहेका, कवितामा मध्यमबाट उत्तमतर्फको यात्रा देखिएको, परिपक्वता र प्राप्ति छन्दकै कवितामा बढी देखिएको, आजका नेपाली नारीका पारिवारिक, सामाजिक चापप्रतिचाप कवितामा सशक्तरूपमा आएका, नारीवादको सन्तुलित स्वरूप अभिव्यक्त भएको, नारीको अस्तित्वरक्षको चाहना, देशभक्तिको भावना, नर र नारीको सहयात्राको आग्रह, सामाजिक विसङ्गतिको विरोध, आफ्नै पाराको नौलो शैलीको प्रयोग, नेपाली नारीवादको सिर्जनात्मक विकासमा यथार्थपरकताका माध्यमबाट योगदान पुगेको, कवितामा परम्परागत विलाप मात्र होइन अस्मिताको खोजी गरिएको छ, आक्रोश व्यक्त गरिएको छ, उग्रहदमा गएर होइन समन्वयमा आधारित दृष्टिकोण प्रस्तुत गरिएको छ । निबन्धन र नाटकीकरणबाट कविता बन्दैन त्यसैले यहाँ सूक्ष्म कथानक आएको देखिन्छ, कविको सचेतता देखिन्छ । अभिव्यक्तिको कौशलसहितका कविता रहेका छन् । राजनीतिक चेतना पनि सुन्दर देखिन्छ । भुइँचालोको पीडाका कविता छन्, कविताले सन्देश र विश्वपरिवेश सम्प्रेषण गरेका छन् । अरू स्रष्टाका कविता पढेरै कविता राम्रा सिर्जना गर्नसकिन्छ, गद्यकविताको लय पनि सहज कुरा होइन, आफ्नो मौलिक लय निर्माण गर्नु सामान्य कुरा होइन । विद्वत्व र प्रतिभाको सुपयोगले र साधनाले माथि पुग्नसकिन्छ भन्ने कुरामा कविको धयान निरन्तर गइरहोस्, हार्दिक शुभकामना छ भन्नुभयो ।

सङ्ग्रहकी कवि गीता सापकोटाले निमन्त्रणा स्वीकार गरी आइदिनुहुने सबै सबैलाई हार्दिक धन्यवाद दिनुभयो । कविताको समीक्षा भइसकेको हुँदा प्राप्त सुझावलाई सम्पूर्णरूपमा स्वीकार गर्ने, हतारमा र बेफुर्सदमा काम गर्नुपरेकाले केही असावधानी भएको पक्षलाई पछिल्ला दिनमा सुधार गर्दै जाने प्रतिवद्धता व्यक्त गर्नुभयो र सङ्ग्रहको एउटा कवितावाचन गर्नुभयो ।
अध्यक्ष प्रा.डा.गोविन्दराज भट्टराईले महिला स्रष्टालाई सिर्जनायात्रामा ज्यादै कठिनाइ छ । मातृत्व, गृहसेवा, व्यवहार, समाज, पेसाव्यवसाय धान्नुपर्ने र सिर्जना गर्नुपर्ने भएकाले कठिनाइ छ । सङ्ग्रहका बारेमा आज धेरै चर्चा भइ नै सक्यो । मेरो धारणा भने कतै लेखेर अभिव्यक्त गर्ने छु, कविलाई हार्दिक शुभकामना छ भन्नुभयो र समारोहको समापन गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *