रमेश पोखरेल, ०६९ असार १६, काठमाडौँ
आज ०६९ असार १६ गते शनिवार अपराह्न १ बजे नेपाल साहित्यिक पत्रकार सङ्घको सभाकक्ष अद्वैत मार्ग, काठमाडौँमा वरिष्ठ कवि राम विनयद्वारा लिखित कविता सङ्ग्रह फेरिएको चित्रको परिचर्चा कार्यक्रम सम्पन्न भयो । जनमत साहित्यिक मासिक अन्तर्गतको जनमत वाटिकाले आयोजना गरेको उक्त कार्यक्रमको अध्यक्षता नेपाल साहित्यक पत्रकार सङ्घका महासचिव मोहन दुवालले गर्नु भएको थियो भने प्रमुख अतिथिको रूपमा वरिष्ठ प्रगतिवादी समालोचक एवम् साहित्यकार आनन्ददेव भट्ट, अतिथिहरूमा जन साहित्यिक मञ्च नेपालका अध्यक्ष डा.जीवेन्द्र देव गिरी, वरिष्ठ साहित्यकार डा. तुलसी भट्टराई, डा. सुकुम शर्मा, डा.रामप्रसाद ज्ञवाली, शब्द संयोजन साहित्यिक मासिकका प्रधान सम्पादक तथा समालोचक एवम् कवि वासुदेव अधिकारी, कवि तथा साहित्यकार अमर गिरी र कविता सङ्ग्रहका स्रष्टा राम विनय उपस्थित हुनु हुन्थ्यो ।
साहित्य सन्ध्याका उपाध्यक्ष रमेश पोखरेलको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रममा खचाखच उपस्थित विशिष्ट साहित्यकारलाई सभाध्यक्ष मोहन दुवालले स्वागत गर्नु भएको थियो भने हालै दिवङ्गत हुनु भएका साहित्यकार कृष्ण भूषण बलको सम्झनामा एक मिनेट मौन धारण गरी कार्यक्रमको थालनी गरिएको थियो । आधा पट्याएर टाँगिएको ब्यानरलाई फुकाएर प्रमुख अतिथि आनन्ददेव भट्टले कार्यक्रमको समुद्घाटन गर्नु भएको थियो ।
कवि राम विनयको व्यक्तित्व र कृतित्वका बारेमा सामालोचक डा. जीवेन्द्र देव गिरीले प्रकाश पार्दै सन् १९४६ मा तनहुँमा जन्मिएका कवि राम विनयले २०१८ सालदेखि साहित्य साधना गर्न थालेका, जन साहित्यिक मञ्च, नेपलका संस्थापक अध्यक्षको रूपमा कार्य सम्पादन गरेका, साहित्य सन्ध्याको अध्यक्षको रूपमा हाल क्रियाशील रहेका, सुरुमा शिक्षण पेसा गरेका, केही समय विद्युत कर्पाेरेसनमा जागिरे भएका, २०२३ सालमा सहकारी बैङ्कमा प्रवेश गरेका र सोही बैङ्क कृषि विकास बैङ्कमा रूपान्तरित भएपछि लामो समय सोही बैङ्कमा सेवारत रहँदा देशका विभिन्न भागमा रहेर सेवा गर्नुका साथै नेपाली समाजलाई नजिकबाट बुझेका, अत्यन्त व्यवस्थित जीवन शैली अवलम्बन गर्ने, सदैव आसावादी जीवन दृष्टि अँगाल्ने राम विनय ‘संसार हेर्नलाई मात्र होइन फेर्नलाई पनि हो’ भन्ने मान्यता अवलम्बन गर्ने स्रष्टा हुन् । उनी आफ्ना सिर्जनामा युवा पलायनका, आर्थिक जर्जरताका, वैचारिक स्खलन आदि यावत समसामयिक समस्यालाई जीवन्त बिम्ब र प्रतीकको माध्यमबाट व्यञ्जनाका तहमा अभिव्यक्त गर्न सिपालु छन् र उनको लेखनी विचारका तहमा ज्यादै दृढ, अटल तर अभिव्यक्तिका तहमा शालीन रहेको मात्र छैन सफल पनि रहेको छ भन्ने धारणा राख्नु भयो ।
वरिष्ठ साहित्यकार डा.तुलसी भट्टराईले सशक्त तर शालीन वैचारिकता राम विनयको विशेषताका रूपामा देखा परेकाले अबको उनको प्रौढ लेखनीले नेपाली साहित्यमा महत्त्वपूर्ण योगदान पुग्न सक्ने विश्वास व्यक्त गर्नु भयो र कविले नेपाली राजनीतिको सचित्र र सुन्दर बिम्ब प्रयोग गरेका, स्वतन्त्रताको उत्कट चाहना कवितामा अभिव्यक्त भएको, मोतीराम परम्पराका अभियन्ताका रूपमा आफू मात्र सक्रिय होइन समूहलाई नै सक्रिय पार्ने क्षमता र कौशल देखिएको, कवितामा शक्तिशाली आख्यान तत्त्व समेत समावेस गर्ने कौशल देखिएको भन्दै प्रशंसा गर्नु भयो ।
डा.सुकुम शर्माले कवि राम विनयको २०४५ सालमा प्रकाशित कविता सङ्ग्रह ‘म आएको छु’ले आफूलाई कविसँग चिनाएको, सरल र सम्प्रेषणीय स्रष्टाका रूपमा उनी स्थापित भएका, हाइकु, मुक्तक, गीति कविता, गद्य कविता गरी चार प्रकारका कविता सिर्जना गरिएका, सङ्क्रमण कालीन पीडाको सुन्दर अभिव्यक्ति कवितामा भएको, उनको आफ्नो जीवन जस्तै चिन्तन र चरित्रको तादात्म्यताको आग्रह कविताले गरेका, समसामयिक विषयलाई आफ्नो शैलीमा विश्लेषण गर्ने कौशल प्रदर्शन गरेका, कला र विचारको सन्तुलन राम्ररी मिलेको, राष्ट्रियताका प्रति ज्यादै सचेतता देखिएको नयाँ बिम्ब र प्रतीकको खोजीतर्फ पनि ध्यान पुगेको धारणा राख्नु भयो ।
प्रमुख अतिथि आनन्ददेव भट्टले कवि राम विनयको कविता सङ्ग्रहका बारेमा आफूले भूमिका लेख्दा नै सबै कुरा लेखेको भन्दै राजनीतिले राज्यसत्ता सञ्चालन गर्ने तर सञ्चालकले भने जनताका पक्षमा काम नगर्ने, सत्ता लिप्सा र स्वार्थ लिप्साले गर्दा समाजका सम्पूर्ण क्रियाकलाप जाममा परेका, दश बर्से प्रचातन्त्र सम्हालन नसकेर तिस वर्ष पीडित हुनु परेको, छयालिस्को आन्दोलनपछि पनि ४–५ वर्ष पीडामा रुमल्लिनु परेको समेतको तथ्यलाई हृदयङ्गम गरी आफूलाई आमूल परिवर्तन नगर्दासम्म हामी नेपालीले अपेक्षित सफलता हासिल गर्न सक्तैनौँ । हामीले आफूलाई पुनर्गठन गर्नु पर्ने ; मन, वचन र कर्मले आफूलाई पुनसंस्कारित गर्नु पर्ने, हाम्रा सिर्जनाका साथै व्यवहारमा पनि रूपान्तरण गर्नु पर्ने, अर्कालाई बढीभन्दा बढी बुझ्ने र आफूलाई बढीभन्दा बढी बुझाउने काम गर्दै राम्रोको पक्षमा सबै लाग्नु पर्ने र डुब्न लागेको जहाजलाई उतार्नका लागि न्यूनतम सहयात्रा आवश्यक रहेको धारणा राख्नु भयो ।
डा. रामप्रसाद ज्ञवालीले वौद्धिक वर्ग पनि जनता बन्नु पर्ने, स्वतन्त्र चेतना निर्माण गर्नु पर्ने, खराबीका बारेमा बोल्ने आँट गर्नु पर्ने, नयाँ बिम्ब र प्रतीकको प्रयोगका बारेमा सोच्नु पर्ने विचार राख्नु भयो । गोष्ठीमा कवि राम विनयको कविता सङ्ग्रह फेरिएको चित्रबाट गायत्री विष्ट, अनिल पौडेल, रमेश पोखरेल, नरेन्द्रबहादुर श्रेष्ठ, सूर्यप्रसाद लाकोजू, डा.रामप्रसाद ज्ञवाली र वासुदेव अधिकारीले एक एक ओटा आफूलाई सबैभन्दा मन परेको कविता वाचन गर्नु भएको थियो । कवि राम विनयले मान्छे सन्तुष्ट भयो भने प्रगति गर्दैन भन्ने मान्यताबाट आफू प्रभावित भएको, आजको गोष्ठीमा विज्ञ समालोचकको मूल्याङ्कनले आफूलाई हौसला प्राप्त भएको र दायित्व थपिएको महसुस भएको भन्नु हुँदै सबै समालोचक एवम् उपस्थित विशिष्ट व्यक्तित्वलाई हार्दिक धन्यवाद दिनु भयो । सभाको समापन गर्दै मोहन दुवालले स्रष्टा सदैव विकृति, विसङ्गतिको विरुद्धमा उभिने, सत्ताको तावेदारी नगर्ने, स्वाभिमानी हुने भएकाले निरन्तरको साधनामा हामीले साधनारत रहनु पर्ने धारणा राख्नु हुँदै कवि राम विनय जस्ता परिपक्व कविको कविता सङ्ग्रह प्रकाशित गर्ने अवसर पाएकोमा कविलाई धन्यवाद दिन्छु र आजको यो गहन परिचर्चा कायक्रममा उपस्थित भइ दिनु हुने समालोचक तथा विशिष्ट साहित्यकारहरूलाई धन्यवाद दिन्छु भन्नु भयो ।