कवि श्यामल र सविता राणालाई साहित्य सन्ध्या पुरस्कार

रमेश पोखरेल, काठमाण्डु

साहित्य सन्ध्याको नियमित मासिक ३७६ औँ शृङ्खलाका रूपमा सन्ध्याको वार्षिक कार्यक्रम एवम् ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’ अर्पण समारोह सम्पन्न भयो । भदौ ३ गते शनिवार अपराह्न ठिक १ बजे सांस्कृतिक संस्थान र साहित्य सन्ध्याको संयुक्त आयोजनामा राष्ट्रिय नाचघरको सभाकक्षमा सन्ध्याका अध्यक्ष राम विनयकोे अध्यक्षतामा उक्त विशेष समारोह सम्पन्न भयो । सन्ध्याका उपाध्यक्ष रमेश पोखरेलले सञ्चालन गरेको उक्त विशेष समारोहमा वरिष्ठ साहित्यकार एवम् नेकपा एमालेका महासचिव ईश्वर पोखरेलको प्रमुख आतिथ्य रहेको थियो भने राष्ट्रिय जनसांस्कृतिक महासङ्घका अध्यक्ष खगेन्द्र राई विशिष्ट अतिथि हुनुहुन्थ्यो । अतिथिहरूमा नेपाल प्रज्ञाप्रतिष्ठानका सदस्य सचिव प्रा.डा.जीवेन्द्र देव गिरी, प्राज्ञ नर्मदेश्वरी सत्याल, डा.मदनप्रसाद सत्याल, सुलोचना मानन्धर, सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापा, आख्यानकार नारायण ढकाल, नियात्राकार पोष चापागाईँ, साहित्यकारहरू देविका तिमिल्सीना, पुरुषोत्तम सुवेदी र शार्दूल भट्टराई, प्राज्ञ सानु पहाडी, साहित्यकार डम्बर पहाडी, स्रष्टा समाज नेपालका अध्यक्ष अतृप्त पाण्डेय, वरिष्ठ कवि अनिल पौडेल, डा.पुष्कर भट्ट, साहित्यकारहरू सीताराम नेपाल, ब्रह्मप्रिय प्रेमस्वरूप, समालोचक हेमनाथ पौडेल, राष्ट्रिय जनसांस्कृतिक महासङ्घका महासचिव प्रेमनाथ अधिकारी, राष्ट्रिय शिक्षक सङ्गठनका केन्द्रीय सदस्यहरू बाबुराम अधिकारी र विष्णु पोखरेल, एमाले पाँचथर–काठमाडौँ सम्पर्क मञ्चका अध्यक्ष भीम सम्बाहाम्फे, शिक्षक इलाका अध्यक्ष राजेन्द्र ज्ञवाली, नेपाल भूतपूर्व सैनिक सङ्गठनका निवर्तमान अध्यक्ष पदमबहादुर गुरुङ, वरिष्ठ कवि उमेश उपाध्याय, सम्मानित स्रष्टाहरू श्यामल र सविता राणा, समीक्षक सोमनाथ दाहाल उपस्थित हुनुहुन्थ्यो ।

उपस्थित सम्पूर्ण विद्वान साहित्यकारलाई सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापाले स्वागत गर्नुहुँदै निरङ्कुश पञ्चायती कालमा मनोरञ्जनका लागि, गानाबजानाका निमित्त स्थापित भएको सांस्कृतिक संस्थान यतिखेर जनताका लागि समर्पित भएको छ । पहिले नाच्ने–गाउने संस्था भनेर चिनिने यो संस्था नेपाली कला र साहित्यको सम्बर्धनमा समर्पित हुनुपर्छ भन्ने सोचेर साहित्य, संस्कृति र कलाका माध्यमबाट सामाजिक रूपान्तरणको अभियान सञ्चालन गरिरहेका संस्थाहरूसँगको सहकार्यमा यस्ता रचनात्मक, सिर्जनात्मक र अनुकरणीय कार्यमा सहभागी हुनथालेको छ । यसै उद्देश्यमुताविक पहिले पनि साहित्य सन्ध्यासँग सहकार्य गरिएको छ भने अबका दिनमा पनि सहकार्य गर्न संस्थान तयार रहेको छ । विगत पैँतिस वर्षदेखि साहित्यका माध्यमबाट सामाजिक रूपान्तरण अभियानमा समर्पित साहित्य सन्ध्याको वार्षिक पुरस्कार तथा सम्मान अर्पण गर्ने आजको यो गरिमामय समारोहमा उपस्थित भइदिनुभएका सम्पूर्ण आदरणीय अग्रज एवम् साहित्यकारहरूलाई आजको यो विशेष समारोहमा मात्र होइन भविष्यमा पनि स्वागतको यो शृङ्खला चालु रहने छ भन्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रमुख अतिथि ईश्वर पोखरेलले पानसमा बत्ती बालेर विशेष समारोहको समुद्घाटन गर्नुभएको थियो । साहित्य सन्ध्या मूलतः कविता गोष्ठीको आयोजना गर्ने र हरेक महिना एउटा न एउटा गहन विषयमा बहस तथा परिचर्चा गर्ने कार्यशाला भएकाले आज सबैको प्रतिनिधित्व गर्दै सुलोचना मानन्धर र चन्द्र रानोहान्छाले आआफ्ना कविता वाचन गर्नुभएको थियो ।

विशेष समारोहमा प्रा.जगत् उपाध्याय ‘प्रेक्षित’द्वारा लिखित ‘कवि श्यामलको सङ्क्षिप्त जीवनी’, कवि वासुदेव अधिकारी ‘पाँचथरे’द्वारा लिखित ‘खबरदार !’ कवितासङ्ग्रह र नर्मदेश्वरी सत्यालद्वारा लिखित ‘मेरा जीवनसखा’ गरी तीनओटा कृतिको प्रमुख अतिथि ईश्वर पोखरेलले लोकार्पण गर्नुभयो । लोकार्पित खबरदार कवितासङ्ग्रहका बारेमा सोमनाथ दाहालले समीक्षात्मक टिप्पणी गर्नुहुँदै सङ्ग्रहका कवितामा भावगत सशक्तता पर्याप्त भए पनि कलापक्ष कमजोर देखिएको, कविले यथेष्ट कविता लेखे पनि संरक्षण गर्ननसकेको, कविता र भाव सुन्दर हुँदाहुँदै पनि पर्याप्त सिँगारपेटार गर्ननसकेको पाइएकाले पछिल्ला दिनमा यी पक्षमा ध्यान दिएर कृतिहरू प्रकाशन हुने विश्वास व्यक्त गर्नुभयो । लोकार्पित कवितासङ्ग्रहबाट कवि वासुदेव अधिकारी ‘पाँचथरे’ले दुइटा कविता वाचन गर्नुभएको थियो ।

विशेष समारोहमा कुशल नियात्राकार पोष चापागाईँले साहित्य सन्ध्यासँगको सहकार्यमा आफ्ना दिवङ्गत मातापिताको नाम जोडेर ‘साहित्य सन्ध्या–हरिप्रिया हरि’ पुरस्कार प्रदान गर्न रु.१,००,०००।–(एक लाख)को अक्षय कोष स्थापनाको घोषणा गर्नुभयो र सो रकमको ब्याजबाट साहित्य सन्ध्याका हरेक महिनाका कार्यक्रममा प्राप्त हुने नियात्राहरूमध्ये उत्कृष्ट एक जनालाई मासिक रु.१,०००।– (एक हजार) पुरस्कार दिने घोषणा गर्नुभयो ।

त्यसैगरी प्राज्ञ नर्मदेश्वरी सत्यालले साविकमा कार्यान्वयन गरिरहनुभएको ‘साहित्य सन्ध्या–मन’ पुरस्कार तथा सम्मानका अतिरिक्त ‘साहित्य सन्ध्या–कृबा’ (कृष्णचन्द्र÷बालकुमारी सत्याल) पुरस्कार समाजका जुनसुकै क्षेत्रमा विशिष्ट योगदान गर्ने जोसुकै व्यक्ति तथा संस्थालाई वार्षिक रु.१०,०००।–(दस हजार) राशिको पुरस्कार तथा सम्मान–पत्र अर्पण गर्नेगरी रु.१,५०,०००।–(एक लाख पचास हजार)को चेक साहित्य सन्ध्याका अध्यक्ष राम विनयलाई अक्षय कोष स्थापनाका निमित्त हस्तान्तरण गर्ने घोषणा गर्नुभयो र उहाँका जीवनसाथी डा.मदनप्रसाद सत्यालले सन्ध्याका अध्यक्षलाई चेक हस्तान्तरण गर्नुभयो ।

साहित्य सन्ध्या पुरस्कार तथा सम्मान अर्पण गर्ने प्रयोजनका लागि प्रा.जगत् उपाध्याय ‘प्रेक्षित’को संयोजकत्वमा लेखनाथ गुरागाईँ र जयन्ती स्पन्दन रहनुभएको स्रष्टा चयन समिति गठन गरिएको र सो समितिले पुरस्कारका लागि सिफारिस गरेको हुँदा संयोजक प्रा.जगत् उपाध्यायले श्यामलको व्यक्तित्वमाथि प्रकाश पार्नुहुँदै जनस्तरमा स्थापित भएर आफैँमा इतिहास बनिसकेको साहित्य सन्ध्याले दिएको जिम्मेवारीअनुसार देशैभरिका साहित्यकारको नाम खोजेर छलफल गर्दा दैलेखका हरिहर अधिकारी जो साहित्यमा श्यामलका नामबाट कलम चलाउनुहुन्छ, ज्योतिष परिवारमा जन्मिुनुभएका, २०१६ साल पुसमा दैलेखमा जन्मिएर ज्योतिष विद्याको आधिकारिक र प्रामाणिक स्थल मानिएको दैलेखमा दिक्षित हुनुभएका, पुरातत्वको एवम् लोक साहित्य र संस्कृतिको भण्डार रहेको दैलेखमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टीको राजनैतिक धार बोकेका, आस्था र विचारसँग जोडिएका; सम्पादन, स्तम्भलेखनसमेतका माध्यमबाट सहज एवम् प्रवाहपूर्ण लेखनमा रमाएका, अङ्ग्रेजी भाषामा राम्रो दख्खल राख्ने, साहित्यलाई माया गर्दै समाजहितमा र संस्कृतिनिर्माणका पक्षमा समर्पित, थोरै लेखे पनि उत्कृष्ट लेख्ने अर्थात् नौनी निकाल्ने क्षमताका धनी, २०२६ सालदेखि साहित्यसाधनामा लागे पनि २०४१ देखि प्रकाशन गर्न थालेका र २०४४ पछि कृति प्रकाशन गरेका स्रष्टा श्यामलले नेपाली प्रगतिवादी साहित्यमा उत्कृष्ट योगदान गरेको ठानी २०७३ सालको साहित्य सन्ध्या पुरस्कार तथा सम्मानका लागि सिफारिस गरिएको जानकारी दिनुभयो ।

शिक्षा, स्वास्थ्य र साहित्यका क्षेत्रमा उत्कृष्ट योगदान गर्ने व्यक्तिलाई पुरस्कार तथा सम्मान अर्पण गर्ने उद्देश्यका साथ स्थापना भएको ‘साहित्य सन्ध्या–मन पुरस्कार तथा सम्मान’बाट सम्मानित हुनलागेकी सविता राणाको व्यक्तित्वमाथि प्रकाश पार्दै जयन्ती स्पन्दनले दिवङ्गत मधुकर राणा तथा कमला राणाकी सुपुत्रीका रूपमा भूमिहीन एवम् विपन्न परिवारमा जन्मिएर पनि सानैदेखि अनुशासित, लगनशील, व्यवहारिक, इमानदार, निष्ठावान् मात्र होइन अरू विद्यार्थीका लागि पनि अनुकरणीय व्यवहार प्रदर्शन गर्दै सबैकी प्रेरणाकी स्रोतसमेत बन्न सफल हुनुभएकी कर्मशील, सिर्जनशील र कक्षामा समेत उत्कृष्ट रहँदै आएकी सविता राणाको हालसम्मको जीवनवृत्त मूल्याङ्कनयोग्य रहेको ठहर गरी २०७३ सालको ‘साहित्य सन्ध्या–मन पुरस्कार तथा सम्मान’का लागि सिफारिस गरिएको जानकारी दिनुभयो ।

त्यसपछि कवि श्यामललाई २०७३ सालको ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’ अर्पण गर्दै सभाध्यक्षले माला लगाइदिनुभयो, विशिष्ट अतिथिले दोसल्ला ओडाइदिनुभयो भने प्रमुख अतिथिले रु.दस हजार राशिसहितको सम्मान–पत्र अर्पण गर्नुभयो । त्यसैगरी सविता राणालाई २०७३ सालको ‘साहित्य सन्ध्या–मन पुरस्कार तथा सम्मान’ अर्पण गर्दै अध्यक्षले माला लगाइदिनुभयो, विशिष्ट अतिथिले दोसल्ला ओडाइदिनुभयो भने प्रमुख अतिथिले रु.दस हजार राशिसहित सम्मान–पत्र अर्पण गर्नुभयो ।

‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’बाट सम्मानित वरिष्ठ कवि श्यामलले पुरस्कार पैसामा नापिने कुरा होइन । जनस्तरबाट स्थापित साहित्य सन्ध्या पुरस्कार अमूल्य पुरस्कार हो । यो सम्मान आफैँमा महत्त्वपूर्ण छ । निरङ्कुशताविरोधी आन्दोदनसँग जोडिएको पुरस्कार हो यो । अहिले मुलुकको राजनीतिले र अन्य क्षेत्रले पनि साहित्यलाई हलुका विषय ठान्ने गरेको पाइन्छ तर साहित्य भनेको हल्का कुरा होइन । नेपाली राजनीतिले यो कुरालाई बुझिदिनुपर्दछ । राजनीतिले वेला वेलामा अझ चाहिएको वेलामा सम्झने अनि बिर्सने मात्र कुरा होइन साहित्य । वास्तवमा राजनीतिज्ञको अध्ययन जति गहन हुन्छ राजनीति पनि त्यति नै सङ्लिन्छ । यस्ता विशिष्ट समारोह आयोजना गर्दा समयको पनि ख्याल गरियोस् र लामो पार्नेभन्दा छोट्याउनेतिर लागौँ र यसको थालनी पनि हामीबाटै होस् । एउटा साहित्यकार घरमै बसेर अध्ययन अनुसन्धानमा संलग्न रह्यो भने बेकामे ठान्ने समाज विकसित भइरहेको छ । यस्तो वेलामा पनि म जस्तालाई सम्झना गरेर, मेरा साहित्यसिर्जनाको मूल्याङ्कन गरेर यो गरिमामय पुरस्कार दिन लायक सम्झिएकोमा साहित्य सन्ध्यालाई हार्दिक धन्यवाद छ । सामाजिक रूपान्तरणको आन्दोलनमा साहित्यका माध्यमबाट जोडिएको चालिस वर्ष भएको छ तापनि अझैसम्म पनि राज्यबाट साहित्य र कला उपेक्षित भइरहेकै महसुस मलाई भइरहेको छ । सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको आन्दोलन हो तर त्यस आन्दोलनले स्रष्टाका सपनालाई पनि स्थान दिनुपर्छ भन्ने मेरो मान्यता छ । यो सम्मान प्राप्त गर्दै गर्दा मेरो पुस्ताको सम्मान भएको मैले ठानेको छु । अझै पनि हामी स्रष्टाले राष्ट्रियताका गीत कविता लेख्नुपर्छ र मान्छे जति बाँच्छ त्यसलाई सार्थक पार्नुपर्छ अनि त्यसबाट नयाँ पुस्ताले सिक्नुपर्छ । हामी बाँचेको समय अनुकरणीय नपार्ने हो भने हामीसँग विगतको जीवन मात्र बाँकी रहन्छ, भविष्य भने रहने छैन । यो पक्षमा हामी सबैले चिन्तनमनन गर्नुपर्छ भन्नुभयो ।

अर्की सम्मानित व्यक्तित्व सविता राणाले आफू जस्तो सामान्य मान्छेलाई यस्तो महत्त्वपूर्ण पुरस्कार तथा सम्मानद्वारा सम्मानित गरिदिनुभएकोमा हृदयदेखि नै आभार व्यक्त गर्दछु । साथै भविष्यसम्म असल नागरिक बन्ने प्रयत्न पनि गर्ने छु भन्नुभयो ।
विशिष्ट अतिथि खगेन्द्र राईले साहित्य सन्ध्याको अविश्रान्त यात्रालाई चिरस्थायी पार्न अभियानमा मिसिनुभएका डा.मदन सत्याल र नर्मदेश्वरी सत्याललाई हार्दिक धन्यवाद दिन्छु । आज सम्मानित हुनुहुने वरिष्ठ कवि श्यामल र सविता राणालाई हार्दिक बधाई छ । तपार्इँहरूको सत्कर्ममय जीवनले सामाजिक रूपान्तरण अभियानलाई थप सशक्त पर्द जाओस् भन्नुभयो र बोल्ने समय छोट्याएर अहिलेको मुलुकको दर्दनाक पीडा झल्काउने कथा वाचन गर्नुभयो ।

प्रमुख अतिथि ईश्वर पोखरेलले साहित्य सन्ध्याको प्रारम्भ निरङ्कुशताविरोधी आन्दोलनसँगै भएको हो । तत्कालीन नेकपा मालेसँग आवद्ध साथीहरूले पैँतिस वर्षअगाडि यसको थालनी गर्नुभएको हो । विचार व्यक्त गर्ननपाउने, सङ्गठन गर्ननपाउने, सामान्य सांस्कृतिक कार्यक्रम गर्न नपाइँने त्यो निरङ्कुश कालरात्रिमा लोकतान्त्रिक आन्दोलन र सामाजिक रूपान्तरण आन्दोलनलाई साहित्यका माध्यमबाट अगाडि बढाउने यो अग्रणी संस्था हो । यो संस्थासँग म आफू भने प्रत्यक्ष संलग्न हुन पाइँन तर अहिले कार्यक्रमको व्यवस्थापन र आज उद्घोष भएका कुरा सुन्दा भने यो संस्था निकै व्यवस्थित र सुदृढ भएको रहेछ भन्ने लागेको छ । संस्थामा लाग्नुहुने व्यक्तिहरूले योगदान गर्नुभएको रहेछ भन्ने मलाई अनुभूत भएको छ । म तपाईँहरू सबैलाई हार्दिक धन्यवाद दिन्छु । व्यक्तिको जीवन वा आन्दोलनमा समयानुकूल परिवर्तन हुनुपर्छ । अबको राजनीति समृद्धिका लागि केन्द्रित हुनुपर्छ अनि आवश्यकताको जगमा जन्मेको संस्थाले पनि समृद्धिकै पक्षमा झक्झक्याइरहनुपर्दछ । राजनीतिमा के गर्नहुने र के गर्ननहुने भन्ने दिशाविहीनताको अवस्था देखा परेको छ । यो अवस्थामा कस्तो सुधार आवश्यक छ ? भन्ने पक्षमा गहन चिन्तनमनन साहित्यले गर्नुपर्दछ । खासमा समृद्धि भनेको के हो ? भन्ने विषयमा ठोस योजना, नीति, कार्यक्रम, दृष्टिकोण र बहस आवश्यक छ । त्यसमा पनि राजनीतिक नेतृत्वका समेत आँखा खोल्नेगरी स्रष्टाले दिशानिर्देश गर्नसक्नुपर्दछ । मलाई पनि बेस्सरी पोखिन मन लाग्छ तर राजनीतिक व्यस्तताले दिँदैन; यद्यपि राजनीतिले स्पष्ट बाटो देखाएको छ, दिशानिर्देश भने गरेको छ । राजनितिक नेतृत्वमा दरिद्रको पङ्क्ति ठुलो बन्दै गएको छ त्यसैकारण सामाजिक–सांस्कृतिक आन्दोलनलाई कमजोर ठान्ने प्रवृत्ति हुर्किएको, अध्ययनशीलताको कमी, बोली र व्यवहारमा कठोरता देखिँदै छ । साहित्यिक आन्दोलनले यी सबै पक्षमा निर्ममताका साथ घच्घच्याउनुपर्छ भन्ने मेरो आग्रह छ । प्रतिकूल अवस्थामा पनि तपाईँहरूको ठुलो योगदान रहेको छ । राजनीतिको अस्थिपञ्जरमा विज्ञताको मांसपेसी भरेर समृद्धिको शिखर चढ्नुपर्ने आवश्यकता छ । देशको समग्र परिस्थिति बुझेर अल्मलिन खोजेको राजनीतिलाई निर्देशित गर्नु आवश्यक छ र यो तपाईँहरूको दायित्व हो भन्ने मेरो आग्रह छ । तपाईँहरूको अभियान जारी रहोस् । पुराना र विज्ञ कविमित्र श्यामल सम्मानित हुनुभएकोमा र म आपूmले उहाँलाई सम्मान गर्ने अवसर जुटाइदिनुभएकोमा हार्दिक अध्यवाद दिन्छु । एमालेको चुनाव चिह्न सूर्य राख्नुहोस् भनेर सल्लाह दिने मित्र हुनुहुन्छ श्यामल । यस्तो व्यक्तित्वलाई सम्मानित गर्नपाएकोमा मलाई गौरवबोध भएको छ, आनन्दानुभूति भएको छ भन्नुभयो ।

गोष्ठीका अध्यक्ष राम विनयले साहित्य सन्ध्या पुरस्कार तथा सम्मानद्वारा वरिष्ठ कवि एवम् मित्र श्यामललाई सम्मानित गर्न पाएकोमा गौरवबोध भएको छ । तपाईँले सामाजिक रूपान्तरण अभियानलाई गर्नुभएको योगदान निरन्तर जारी रहोस् । त्यसैगरी सविता राणालाई सानै उमेरमा उहाँको अनुकरणीय जीवनवृत्तका लागि सम्मान गर्ने अवसर मिल्यो । तपाईँको जीवन पनि सफल होस् । प्रमुख अतिथिज्यूले समय निकालेर आज साहित्य सन्ध्याको यो विशेष समारोहलाई गरिमामय बनाइदिनुभयो । विशिष्ट अतिथिज्यूले पूरै समय दिनुभयो । अतिथिहरू र मित्रहरू निमन्त्रणा स्वीकार गरेर आइदिनुभयो । सांस्कृतिक संस्थानका महाप्रबन्धकज्यूले सहकार्यका लागि प्रस्ताव स्वीकार गरिदिनुभयो । सबै सबैमा हार्दिक आभार व्यक्त गर्दछु, हार्दिक धन्यवाद अर्पण गर्दछु भन्नुभयो र सभा विसर्जन गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *