रमेश पोखरेल, काठमाण्डु
भदौ ९ गते शुक्रवार अपराह्न ठिक ३ बजे राष्ट्रिय जनसांस्कृतिक महासङ्घको संयोजन र जनसाहित्यिक मञ्च नेपालको व्यवस्थापनमा राष्ट्रिय जनसांस्कृतिक महासङ्घको सभाकक्षमा विगत साढे तीन वर्षदेखि अविच्छिन्नरूपमा सम्पन्न भइरहेको ‘अविरल जनसाहित्य यात्रा’को ४० औँ शृङ्खला सम्पन्न गरियो । चार जना प्रखर प्रगतिवादी कविहरू जयन्ती स्पन्दन, यशोदा अधिकारी, अनिता लामा र विना थिङ तामाङका ६÷६ ओटा कविता वाचन गर्ने र ती कवितामाथि टिप्पणीसमेत गर्ने उद्देश्यमूलक विशेष समारोहको आयोजना गरियो । जनसाहित्यिक मञ्च, नेपालका अध्यक्ष राम विनयले अध्यक्षता गर्नुभएको उक्त विशेष समारोहको सञ्चालन महासचिव विनोद मन्जनले गर्नुभएको थियो । वरिष्ठ प्रगतिवादी आख्यानकार एवम् सामाजिक रूपान्तरण अभियानकी सशक्त अभियन्ता कविता पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न उक्त समारोहमा अतिथिहरूमा नेपाल प्रज्ञाप्रतिष्ठानका सदस्य–सचिव प्रा.डा.जीवेन्द्र देव गिरी, राष्ट्रिय जनसांस्कृतिक महासङ्घका महासचिव प्रेमनाथ अधिकारी, साहित्यकार सुलोचना मानन्धर, डा.विदुर चालिसे, प्राज्ञ सानु पहाडी, प्राज्ञ पवित्रा घर्ती, प्रा.डा.भूप धमला, वरिष्ठ नाट्यकर्मी देशभक्त खनाल, सांस्कृतिक संस्थानका अध्यक्ष उद्योग राई, वरिष्ठ साहित्यकार माया ठकुरी, साहित्यकार डम्बर पहाडी, कथाकार सीताराम नेपाल, डा.पुष्कर भट्ट, श्याम सापकोटा, महासङ्घका सचिव कृपाराम धमला, सहकोषाध्यक्ष जङ्ग पहाडी उपस्थित हुनुहुन्थ्यो ।
हरेक महिनाको दोस्रो शुक्रवार ठिक ३ बजे उपत्यका र बाहिर रहेर नेपाली प्रगतिवादी साहित्यमा योगदान गर्ने एक जना प्रगतिवादी साहित्यकारका एक दर्जन कविता सुन्ने र ती कवितामाथि टिप्पणी गर्ने, स्रष्टाको व्यक्तित्व उजागर गर्ने, सिर्जनामा निखार ल्याउने उद्देश्यका साथ थालनी गरिएको यो सोद्देश्यमूलक अभियानको चालिसौँ शृङ्खलामा भने चार जना प्रखर प्रगतिवादी महिला कविहरूलाई ल्याइएको र उहाँहरूले साहित्यका माध्यमबाट सामाजिक रूपान्तरण अभियानमा खेलिरहनुभएको महत्त्वपूर्ण भूमिकाका बारेमा समेत चर्चा गर्ने उद्देश्य रहेको जानकारी विनोद मन्जनले दिनुभयो ।
यो विशेष समारोहको प्रमुख आतिथ्य ग्रहण गरिदिन गरिएको अनुरोध स्वीकार गरी आइदिनुभएकी वरिष्ठ प्रगतिवादी आख्यानकार एवम् सामाजिक रूपान्तरण अभियानकी सशक्त अभियन्ता कविता पौडेललाई सभाध्यक्ष राम विनयले खादा लगाएर स्वागत गर्नुभयो र कविनायकहरू जयन्ती स्पन्दन, यशोदा अधिकारी, अनिता लामा र विना थिङ तामाङलाई माल्यार्पण गरी सम्मान गर्नुभयो अनि प्रमुख अतिथिले सम्मान–पत्र अर्पण गरी सम्मान गर्नुभयो । चारै जना कविका दुई दर्जन कवितामाथि टिप्पणी गरिदिन साहित्यकार सुस्मिता नेपाललाई आसन ग्रहण गराइयो ।
समारोहका नायक कविहरूमध्ये अनिता लामाले जनसाहित्यिक मञ्च, नेपालले विगत साढे तीन वर्षदेखि थालनी गरेको यो अभियानमा सामेल हुनपाएकोमा गौरवबोध भएको भन्नुहुँदै सिमानामा नागरिक मारिनुको पीडा, आमाका नामबाट नागरिकता अझै सरलताका साथ नपाइँनुको पीडा र छाउपडीका नाममा वा विभेद एवम् आतङ्कका नाममा महिलामाथि अझै चरम विभेद गरिराखिएका अत्यन्त समसामयिक ‘मेरो देश ः मेरो सर्वस्व’, ‘विद्यार्थी’, ‘नागरिकता’, ‘ह्यारी, आस्याङ र साहिबा’, ‘मुसुरिया’ र ‘रगत’ शीर्षकका अत्यन्त शक्तिशाली छओटा कविता सशक्त वाचनशैलीका साथ वाचन गर्नुभयो ।
त्यसैगरी अर्की प्रखर कवि जयन्ती स्पन्दनले आफैँमा इतिहास बनिरहेको यो सशक्त मञ्चमा कवितावाचन गर्ने अवसर पाएकोमा आयोजकलाई धन्यवाद दिनुभयो । प्रेम र सद्भावनाको खडेरी परिरहेको, तीज भड्किलो र तडकभडकपूर्ण बनिरहेको, आडम्बर र ढोँगका पछाडि समाज अहिले पनि हिँडिरहेको, अन्धविश्वासको साम्राज्य समाप्त नभइसकेको वर्तमानका पीडा सशक्तरूपमा अभिव्यक्त भएका ‘सत्यबीज’, ‘जनआह्वान’, ‘पशुपति, बाग्मती र मान्छेहरू’, ‘टीकापुर भर्सेज खण्ड खण्ड त्रासदी’, ‘छोरा, छोरा र छोराहरू नै’ र ‘मनाऊँ समभावमा तीज’ शीषर्कका ज्यादै समसामयिक, चोटिला र सशक्त छओटा कविता वाचन गर्नुभयो ।
अर्की प्रखर कवि एवम् जनसाहित्यिक मञ्च, नेपालकी कोषाध्यक्ष यशोदा अधिकारीले मञ्चले लामो समयदेखि सञ्चालन गरिरहेको यो अभियानमा आफैँ सामेल हुनपुगेकीमा खुसी व्यक्त गर्दै समाजमा महिला झन् महङ्गोमा बिक्री हुनलागेका, अन्ध्विश्वासले जरा गाडेको गाडै गरिरहेको प्रति आक्रोश व्यक्त गरिएका र स्पष्ट रूपान्तरणको सन्देश सम्प्रेषण गरिएका ‘छोरो नजन्माउने मेरी आमा’, ‘त्यो पुरानो घर’, ‘भुइँ मान्छेको सपना’, ‘ढालिदिए हुन्छ बुढो रुख’, ‘पत्रकारको प्रसङ्ग’ र ‘आइमाईको मूल्य कति हो ?’ शीर्षकका छ ओटा ज्यादै सशक्त र सुन्दर कविता वाचन गर्नुभयो ।
चौथो नम्बरकी प्रखर कवि विना थिङ तामाङले यसअघिका शृङ्खलामा वाचन सहयोगी कविका रूमा दुईपटक उपस्थित भएकी आपूmलाई यसपटक कवितावाचनकै लागि स्थान प्राप्त भएकोमा आयोजक संस्थालाई धन्यवाद दिन्छु भन्नुहुँदै ‘मायाहरूको योग’, ‘कन्फेसन एउटी आमाको’, ‘एउटी किशोरीको बयान’, ‘कालो गुराँस’, ‘रङको राजनीति’ र ‘म्यन्दो’ शीर्षकका छओटा सुन्दर, सशक्त र समसामयिक कविता वाचन गर्नुभयो ।
चारै जना कविद्वारा वाचित चौबिसओटा कवितामाथि टिप्पणी गर्दै साहित्यकार सुस्मिता नेपालले आफू कतिालेखनभन्दा अलि पर रहेकी र कविता पढेर आनन्दानुभूति गर्ने व्यक्तिलाई आयोजक संस्थाले आज कविता सुन्ने र लागेको कुरा टिप्पणीसमेत गर्ने अवसर दिएकोमा हार्दिक धन्यवाद दिन्छु । आज वाचित चारै जना कविका कवितामा महिलाका समस्या समेटिएका छन् । पितृसत्तात्मक सोच कवितामा उजागर भएको छ, साथसाथै कविता निकै राम्रा पनि छन् । तीजका नाममा समाजमा देखावटी आडम्बर बढेको, धर्मसँग जोडिएको रुढिवाद कम नभएको तर सामाजिक रूपान्तरण अत्यावश्यक रहेको, लैङ्गिक विभेदको अन्त्यको आग्रक सशक्तरूपमा गरिएको, भ्रुणहत्याको विरोध गरिएको, आमाहरूको आत्मपीडा कवितामा समेटिएको, छोरीलाई विभेद र अपहेलना गर्ने संस्कार समाजमा अझै विद्यमान रहेको पक्षलाई उजागर गरी रूपान्तरणको आग्रह गरिएकोे, मान्छेको मानवीय अस्तित्वको सुरक्षा हुनुपर्ने आग्रह सशक्त रहेको देखिएको र चारै जना कविका कविताको सार समाज सम्पूर्णरूपमा शिक्षित नभएसम्म रूपान्तरण सम्भव छैन भन्ने रहेको पाइन्छ । छाउपडीका नाममा महिला पीडित त छँदै छन् त्यसमा पनि शिक्षा र व्यवहारमा समेत विभेद गरिराखिएको छ, राज्यले नियम कानुन बनाए पनि आमाको नामबाट नागरिकता पाउन छोरीहरूलाई अझै समस्या छ, महिलालाई वस्तुसरह मान्ने प्रवृत्तिका प्रतिको आक्रोश तीव्ररूपमा कवितामा सम्प्रेषित भएको पाइन्छ भन्नुहुँदै शिल्पपक्षमा भने अझै सशक्त पार्नुपर्ने र त्यसका लागि सुन्दर विम्ब प्रयोग भएका अग्रजका कविता पढ्नुपर्ने सुझावसमेत दिनुभयो ।
प्रा.डा.जीवेन्द्रदेव गिरीले प्रखर महिला कविहरूका आफ्नै भोगाइको विशिष्ट प्रस्तुति कवितामा रहेको पाइयो । ज्वलन्त र जल्दाबल्दा समस्या कवितामा समेटिएका छन् । सशक्त विचारलाई कलात्मक पार्ने प्रयत्न पनि भएको छ र कविता सुन्दर बनेका छन् । जनसाहित्यिक मञ्च नेपालले मासिक अविच्छिन्न यस्तै महत्त्वपूर्ण शृङ्खलाका माध्यमबाट नयाँ विचार फिँजाउने काम गरिरहेको छ । साविकमा एक जना स्रष्टाका एक दर्जन कविता सुन्ने र टिप्पणी गर्ने प्रचलन रहेकोमा यसपटक चार जना प्रखर कविका कविता सुन्ने फरक शैलीको प्रयोग गरिएको छ र यो राम्रो पनि भएको छ । सबैका कवितामाथि मसिनो गरी समीक्षासमेत भएको छ । यसर्थ पनि आजको समारोह गरिमामय भएको मैले अनुभूत गरेको छु भन्नुभयो ।
प्रमुख अतिथि वरिष्ठ आख्यानकार एवम् सामाजिक रूपान्तरण अभियानकी प्रखर अभियन्ता कविता पौडेलले चार जना सशक्त कविका कविता सुन्ने, उहाँहरूलाई सम्मान गर्ने आजको यो समारोहमा अवसर प्राप्त भयो, त्यसका लागि हार्दिक धन्यवाद दिन्छु । सुनिएका कविताले समाजका विकृति, चाडबाडका नाममा तीजले भित्र्याएका विकृति, महिलाले व्यहोरेको विभेद र उपेक्षा ज्यादै सुन्दर तरिकाले तर सशक्त ढङ्गले उजागर गरेका छन् र स्पष्ट रूपान्तरणको आग्रह पनि गरेका छन् । वास्तवमा अहिले तीजका नाममा अश्लीलता भित्रिएको छ, समाजमा भ्रष्टाचार र विकृति बढेको छ, गरिबको जीवनस्तर झन् झन् दयनीय भइरहेको छ र आजका कविताले यी सबै पक्षका प्रति आक्रोश व्यक्त गरेका छन् । हामीले छाडापनबाट मुक्त हुनु आवश्यक छ । आज लयका कविता भने आएनन् । यो पक्ष उपक्षित नहोस् । आमाहरूले कम्मर कस्ने हो भने घर, समाज र राष्ट्र बनाउन सक्छन् । यही मान्यताका साथ समाज रूपान्तरण अभियानमा तपाईँ सबै कविहरू लागिरहनुहोस् भन्ने शुभ कामना दिनुभयो ।
सभाध्यक्ष राम विनयले नेपाली प्रगतिवादी साहित्यिक आन्दोलनमा समर्पित भएर लागिरहनुभएका चार जना प्रखर महिला कविहरूलाई हामीले आजको यो विशेष समारोहमा प्रस्तुत गर्यौँ । एङ्गेल्सले संसारमा सबैभन्दा उत्पीडित महिला र मजदुर छन् भनेका छन् । हामीले पनि सिर्जनामार्फत समाजका विकृतिको विरोध गर्नुपर्छ, नवधनाढ्यवादको विरोध गर्नुपर्छ । आजका चार जना कविका विचारवान्, सुन्दर र सशक्त कविता सुन्न पाइयो । प्रमुख अतिथि आदरणीय कविता पौडेलज्यू, टिप्पणीकार सुस्मिता नेपालज्यू, आदरणीय अतिथिज्यूहरू, उपस्थित विद्वान व्यक्तित्व सबै सबैलाई हार्दिक आभार व्यक्त गर्दछौँ । अर्काे शृङ्खलामा हामी बैठक गरेर यो कार्यक्रमको स्वरूप पहिलेकै जस्तो पार्ने वा आजको जस्तो पार्ने भन्ने टुङ्गोमा पुगेर यहाँहरूलाई असोज महिनाको दोस्रो शुक्रवार फेरि आमन्त्रण गर्ने नै छौँ भन्नुभयो र समारोहको समापन गर्नुभयो ।