‘जनताको बहु दलीय जनवाद र समकालीन नेपाली समाज’ विषयक परिचर्चा सम्पन्न

रमेश पोखरेल, काठमाडौं

मदन भण्डारी कला साहित्य प्रतिष्ठानको आयोजनामा जेठ ८ गते शनिवार अपराह्न २ बजे नेपाल प्रज्ञा प्रतिष्ठानको सभाकक्षमा ‘जनताको बहु दलीय जनवाद र समकालीन नेपाली समाज’ विषयक बृहत् परिचर्चा कार्यक्रम सम्पन्न भयो । मदन भण्डारी कला साहित्य प्रतिष्ठानका अध्यक्ष डा.विजय सुब्बाको अध्यक्षतामा सम्पन्न भएको उक्त विशेष समारोहमा प्रमुख अतिथि माननीय पशुपंछी विकास मन्त्री शान्ता मानवी हुनु हुन्थ्यो भने विशेष अतिथिका रूपमा मदन भण्डारी फाउन्डेसनकी अध्यक्ष उषाकिरण भण्डारी उपस्थित हुनु हुन्थ्यो । त्यसै गरी अतिथिहरूमा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा.डा.जीवेन्द्र देव गिरी, प्रा.केशव सुवेदी, प्रा.डा.महादेव अवस्थी, प्राज्ञहरू विष्णुभक्त फुयाल, पूर्ण विराम, हेमनाथ पौडेल, प्रा.जगत् उपाध्याय ‘प्रेक्षित’, उदय श्रेष्ठ, सानु पहाडी, विष्णु प्रभात, चेतनारायण राई, सभासद्द्वय मधु गुरुङ र पेम्बा लामा, वरिष्ठ साहित्यकार राम विनय, राष्ट्रिय जन सांस्कृतिक महासङ्घका का.वा.महासचिव प्रेमनाथ अधिकारी, जन गायक रामकृष्ण दुवाल, अनेरास्ववियुका उपाध्यक्ष शैलेश लामा, कार्यपत्र प्रस्तोता नेकपा एमाले सचिव प्रदीप ज्ञवाली, वरिष्ठ कवि वासुदेव अधिकारी, प्रा.डा.कृष्णप्रसाद घिमिरे, टिप्पणीकार माननीय श्याम श्रेष्ठ, प्रा.डा.देवी गौतम उपस्थित हुनु हुन्थ्यो ।
उपस्थित सम्पूर्ण महानुभावलाई प्रतिष्ठानकी सचिव डा.विन्दु शर्माले स्वागत गर्नु हुँदै प्रतिष्ठानको नयाँ कार्य समिति निर्वाचित भएपछि यो वैचारिक छलफल गर्ने र यसमा ‘जनताको बहु दलीय जनवाद र समकालीन नेपाली समाज’ विषयक कार्यपत्र एउटा र ‘जनताको बहु दलीय जनवाद र कला साहित्यसँग यसको सम्बन्ध’ विषयक अर्काे कार्यपत्र प्रस्तुत गरी व्यापक अन्तरक्रिया समेत गर्ने उद्देश्यले गएको भदौ महिनामा नै यो गोष्ठी गर्ने कार्यक्रम तय भएकोमा देशमा नाकाबन्दीको समस्या उत्पन्न भएकाले ढिलो भएको र आज नेकपा एमाले सचिव प्रदीप ज्ञवालीबाट पहिलो कार्यपत्र एवम् प्रा.डा.कृष्णप्रसाद घिमिरे र वरिष्ठ साहित्यकार वासुदेव अधिकारीको संयुक्त लेखनबाट दोस्रो विषयको कार्यपत्र प्रस्तुत गर्ने गरी यो विशेष गोष्ठीको आयोजना गरिएको जानकारी दिनु हुँदै निम्तालाई स्विकारेर आइ दिनु हुने प्रमुख अतिथि, विशेष अतिथि र अतिथिज्यूहरू एवम् सम्पूर्ण आदरणीय मान्यजनलाई स्वागत गर्नु भयो ।

image

मदन भण्डारी कला साहित्य प्रतिष्ठानका महासचिव डा.देवी नेपालले सञ्चालन गर्नु भएको उक्त विशेष गोष्ठीको थालनी जननेता भदन भण्डारीले २०२८ सालमै राजाका विरुद्धमा हुङ्कार गरी लेख्नु भएको कविता छन्द कविता वाचनमा वैशिष्ट्य हासिल गरेका कवि सुदेश सत्यालको ‘लौ उत्र सङ्घर्षमा’ शीर्षकको कविता वाचनबाट गरिएको थियो । कार्यक्रमको बिचमा रमेश पोखरेलले मदन भण्डारीको ‘मित्र पो चिन्नु पर्छ’ शीर्षकको कविता वाचन गर्नु भएको थियो भने कार्यक्रमको अन्ततिर जन गायक रामकृष्ण दुवालले मदन भण्डारीको सशक्त गीत गाउनु भएको थियो ।

image

‘जनताको बहु दलीय जनवाद र समकालीन नेपाली समाज’ विषयक कार्यपत्र नेकपा एमाले सचिव प्रदीप ज्ञवालीले प्रस्तुत गर्नु भयो । आठ पृष्ठ लामो र निकै गहन एवम् विश्लेषणात्मक कार्यपत्र उहाँले पेस गरि सकेपछि माक्र्सवादी विश्लेषक माननीय श्याम श्रेष्ठले उक्त कार्यपत्रमाथि टिप्पणी गर्नु हुँदै कार्यपत्र निकै गहन रहेको, विश्वमै समाजवादमा आएको सङ्कटकै समयमा मदन भण्डारीले साहसपूर्वक जबज रूपी सिद्धान्तको प्रतिपादन गर्नु भएको, यो काम संसारलाई नै छक्क पार्ने स्तरको रहेको, ज्ञान विज्ञानका क्षेत्रमा आएको परिवर्तनसँगै माक्र्सवादमा पनि समय सापेक्ष प्रयोग गर्नु पर्छ भन्ने चिन्तन नै विशिष्ट रहेको, समाजवादको सान्दर्भिकता आज पनि छ भन्ने मान्यता स्थापित गर्न सकेको, एकल जातीय राज्य निर्माणको भ्रम हटाउन जबजले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको, आजको र अबको आवश्यकता भनेको आर्थिक क्रान्ति हो भन्ने शाश्वततालाई स्थापित गरेको जस्ता महत्त्वपूर्ण पक्ष कार्यपत्रमा समेटिएका छन् । साथसाथै हाम्रो जस्तो अर्ध सामन्ती मुलुकमा बहु दलीय जनवाद आवश्यक छ भन्नु नै मदन भण्डारीको उद्देश्य रहेको भए पनि अहिलेको सन्दर्भमा राजनीतिक क्रान्ति पुरा भएको मान्ने हो भने बहु दलीय जनवाद होइन बहु दलीय समाजवाद भन्नु पर्ने हुन्छ । अङ्ग्रेजीमा समाजवाद भने पनि जनवाद भने पनि डेमोक्रेसी नै हो । माक्र्सवादले हिंसा छनोट गर्दैन तर संसारका सबै राज्य संयन्त्र हिंस्रक नै छन् । जब एक पक्षले हिंसा गर्छ तब अर्काे पक्षले पनि स्विकार्नु पर्छ अर्थात् कहिले काहीँ हिंसा बाध्यात्मक पनि हुन सक्छ, यसलाई दुत्कार्नु हुँदैन । जनयुद्दका नाममा माओवादीले गरेको एकतर्फी हिंसा भने सही होइन, हिंसा गौरवमय विषय पनि होइन, जरुरी भए मात्र हिंसा रोज्ने हो । लोकतन्त्र समाजवादी पनि हुन्छ र पुँजीवादी पनि हुन्छ । यी दुइटैको प्रकृति फरक छ । समाजवादी पक्ष बलिया भएका कारण अहिलेको हाम्रो संविधानमा नागरिकका सामाजिक न्यायका पक्ष समावेश भएका छन् । समावेशिता पुँजीवादीहरूको एजेन्डा नै होइन, वामपन्थीहरूको हो । हाम्रो देशको पुँजीवाद उद्योग धन्दा ढल्ने र व्यापार बढ्ने खालको र युरोपको भन्दा भिन्न चरित्रको रहेको छ । साँच्चै भन्ने हो भने वैचारिक सांस्कृतिक काम नै हामीकहाँ भएको छैन । पहिचान भनेको परिचय हो, राज्यमा समावेशी हिसाबले अधिकार उपभोग गर्ने कुरा हो तर एकल राज्य माग्ने भन्ने होइन, हुँदै होइन तर हाम्रो समकालीन नेपाली समाज भने एकल नै छ । के गर्दा आर्थिक रूपान्तरण हुन्छ भन्ने कुरा समेट्नु आवश्यक छ र त्यसका लागि पेसेवर राजनीतिक संस्कारको अन्त्य, पार्टीको कमाइको स्रोत ठुला पुँजीपति र डन बन्नु हुन्न, तर पछाडि आएका पार्टी झन् यस्तैमा पल्केका देखिन्छन्, ठुलालाई आदर गर्ने मात्र होइन चाहिने कुरामा आलोचना समेत गर्न सक्ने परिपाटीको विकास आवश्यक छ भन्नु भयो ।

image

उक्त टिप्पणीमाथि कार्यपत्र प्रस्तोता प्रदीप ज्ञवालीले स्पष्टीकरण दिनु हुँदै अत्यन्त महत्त्वपूर्ण र सारगर्भित टिप्पणी गरि दिनु भएको, राजनीतिक क्रान्ति पुरा भए पनि सामाजिक सांस्कृतिक रूपान्तरणको कार्य बाँकी नै भएकाले जनवादी नै भनिएको, समाजवादी नभनिएको; हिंसा बाहेक क्रान्तिको लक्ष्य नै हुँदैन भन्ने भ्रम र दुरुपयोगको मात्र विरोध गरिएको धारणा राख्नु भयो ।

image

‘जनताको बहु दलीय जनवाद र कला साहित्यसँग यसको सम्बन्ध’ विषयक कार्यपत्र वासुदेव अधिकारी र प्रा.डा.कृष्णप्रसाद घिमिरेले लेख्नु भएको र यो दश पृष्ठको विस्तृत कार्यपत्रलाई प्रा.डा.कृष्णप्रसाद घिमिरेले प्रस्तुत गर्नु भयो । उक्त कार्यपत्रमाथि टिप्पणी गर्दै अत्यन्त मिहिनेतका साथ महत्त्वपूर्ण कार्यपत्र तयार गर्नु भएको भन्नु हुँदै प्रा.डा.देवी गौतमले मदन भण्डारीको लेखन विशुद्ध साहित्यिक मात्र नभएर राजनीतिसँग सम्बन्धित छ । २०४७ पछि समाजमा आएका परिवर्तनको सङ्केत, भोगाइ र त्यसपछिका सम्भाव्य परिवर्तनको समेत सङ्केत जबजमा गरिएको पाइन्छ । पहिचानको चेतना, भूमण्डलीकरणका कुरा, विश्वमा आएका नवीन चिन्तनका बारेमा जबजमा सङ्केत छन् तर कार्यपत्रमा उल्लेख गरिएको पाइदैन । सिर्जनात्मक प्रयोगका रूपमा जबज सिद्धान्त आउनु र माओवादी आन्दोलनको शान्तिपूर्ण अवतरण हुनु महत्त्वपूर्ण घटना हुन् । सङघर्ष, पहलकदमी र सिर्जनशीलता जहिल्यै आवश्यक हुन्छन् भन्ने जबजको मान्यता रहेको देखिन्छ, शक्ति सञ्चय आवश्यक छ भन्ने सङ्केत पनि त्यसमा रहेको पाइन्छ । समाजका सबै खाले अन्तरविरोलाई समाहित गर्नु पर्ने मान्यतालाई पनि आत्मसात गरेको छ तर मदन भण्डारीपछि तदनुसारका कार्य नभएका हुन् कि भन्ने मूल्याङ्कन पनि आवश्यक छ । जबजको पदावली चयनमा नै निकै गम्भीरता देखिन्छ । अहिले समाज जाति, भाषा, लिङ्गमा विभक्त छ यी सबै कुराको विपक्षमा उभिँदै राजनीतिसँग जोड्ने काम कला साहित्यले गर्नु पर्छ । पहचिानलाई माटो, मुटु र ममताले समेट्छ र मदन भण्डारीले जनता शब्दद्वारा यी तिन ओटै कुरा समेट्न खोजेको देखिन्छ । जबज ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादभन्दा पृथक छैन । क्रान्ति र शान्ति ऐतिहासिक आवश्यकता हो भन्ने यथार्थलाई पनि मनन गर्दै पहिचान र भूमण्डलीकरणको द्वन्द्वका बारेमा पनि चर्चा गरिनु आवश्यक छ भन्नु भयो ।

image

उहाँको टिप्पणीपछि स्पष्टीकरण दिँदै वासुदेव अधिकारीले कार्यपत्र पहिले नै तयार पारिएको तर कार्यक्रम ढिलो हुन गएको, थोरैमा धेरै कुरा अभिव्यक्त गर्नु पर्ने सीमा रहेको जानकारी गराउँनु हुँदै टिप्पणीकारले औँल्याउनु भएका कुरा सही नै भएका हुँदा सुझाब समेत समावेश गरी प्रकाशन गरिने विचार व्यक्त गर्नु भयो ।

image

प्रा.डा.जीवेन्द्र देव गिरीले साहित्य र राजनीतिलाई गाँस्ने अर्थात् एक अर्काको महत्त्वलाई स्विकार्नु पर्ने यथार्थ औँल्याउन आज प्रस्तुत कार्यपत्रहरू महत्त्वपूर्ण रहेका र समग्रमा कार्यक्रम निकै महत्त्वपूर्ण र गरिमामय रहेको धारणा राख्नु भयो र महत्त्वपूर्ण कार्यक्रम आयोजना गरेकोमा मदन भण्डारी कला साहित्य प्रतिष्ठानलाई धन्यवाद दिनु भयो ।

प्रमुख अतिथि माननीय मन्त्री शान्ता मानवीले आफू बनारसमा रहेका वेला मदन भण्डारीसँग प्रत्यक्ष सम्पर्क गरेको र मदन भण्डारी आफँैले कविता वाचन गरेको प्रत्यक्ष सेनेकी हुँदा आफू आज बनारसमै रहेको जस्तो भान परेको छ, त्यही वेलाको सम्झना भएको छ । मदन भण्डारीको चाहना साहित्यले राजनीतिलाई दिशा निर्देश गर्नु पर्छ भन्ने रहेको र मदन भण्डारी कला साहित्य प्रतिष्ठानले पनि त्यस्तै अपेक्षाका साथ दुई दुई ओटा कार्यपत्र पेस गरी यो भव्य गोष्ठी आयोजना गरेकोमा यो सत्कार्य आफूलाई निकै सराहनीय लागेको छ । मदन भण्डारी बनारसमा पढ्न बस्नु हुँदा नेपालबाट बनारस गएका मान्छेलाई समेटी उनीहरूकै रोहवरमा कार्यक्रम र अन्तरक्रिया गर्ने उद्देश्यले माक्र्सवादी अध्ययन मण्डलको गठन गर्नु भएको, त्यसैका माध्यमबाट छलफल चलाउने र अन्तरमनमा वैचारिक दृष्टिकोण निर्माण गराउने कार्यमा लाग्नु भएको स्मरण गर्नु भयो । मदन भण्डारी साहित्यकार एवम् राजनीतिक व्यक्तित्व मात्र नभएर दार्शनिक व्यक्तित्व पनि हो । स्पष्ट वर्गीय चिन्तन राख्ने, गहन विषयलाई गहिरै तरिकाले विश्लेषण गर्ने र फराकिलो दृष्टिकोणका साथ सहज र सबैले बुझ्न गरी प्रस्तुत हुने विशिष्ट क्षमताका धनी व्यक्ति हुनु भएको, उहाँसँग आफूले लामो र नजिक रहेर सङ्गत गरेको, प्रशिक्षण प्राप्त गरेको हुँदा उहाँ वास्तवमा बानी, व्यवहार, लगन, अध्ययनशील, वैचारिक दृढता जस्ता धेरै गुणले युक्त व्यक्ति भएकै कारण छोटो समयमै उचाइमा पुग्न सफल व्यक्ति बन्नु भएको हो । नेपाली कम्युनिस्ट आन्दोलनमा मदन भण्डारी बराबरको सानै उमेरमा विलक्षण प्रतिभा देखाउन सक्षम व्यक्तित्व आफूले कमै व्यक्तिमा पाएको धारणा राख्दै विगत दश वर्षदेखि आफू प्रत्यक्ष राजनीतिक जिम्मेवारीभन्दा अलि फरक जिम्मेवारीमा अर्थात् किसानका फाँटमा काम गरि रहेकी हुँदा मदन भण्डारीका बारेमा थप अध्ययन अनुसन्धान नगरेको भए पनि प्रतिष्ठानले आज यति महत्त्वपूर्ण विषयमा कार्यक्रम गरेको र आफूलाई प्रमुख अतिथिको रूपमा आमन्त्रण गरेकोमा हार्दिक धन्यवाद समेत दिन्छु भन्नु भयो ।

उपस्थित सम्पूर्ण व्यक्तित्वमा प्रतिष्ठानकी कोषाध्यक्ष यशोदा अधिकारीले धन्यवाद ज्ञापन गर्नु भयो भने सभाध्यक्ष मदन भण्डारी कला साहित्य प्रतिष्ठानका अध्यक्ष डा.विजय सुब्बाले सुरुमै कार्यक्रमको औचत्यमाथि प्रकाश पार्दै ४१ वर्षको उमेरमै संसारबाट समाजवादको अन्त भयो भनेर डङ्का पिट्नेहरूलाई जबाफ दिँदै समय सुहाउँदो, नेपाली माटो सुहाउँदो ‘जनताको बहु दलीय जनवाद’ विषयक संसार हल्लाउने सिद्धान्तका प्रवर्तक मदन भण्डारीको व्यक्तित्वको चर्चा पनि र आज समेत उत्तिकै महत्त्व स्थापित गरि रहेको सिद्धान्तका बारेमा थप चर्चा तथा बहस होस् भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको, दुइटा महत्त्वपूर्ण कार्यपत्रका लागि तिन जना विद्वानलाई जिम्मा दिइएको र टिप्पणीका लागि दुई जना विद्वानलाई आग्रह गरिएको जानकारी दिनु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *