रमेश पोखरेल
२०६८।५।३१, काठमाण्डु
जन साहित्यिक मञ्च, नेपाल’को आयोजनामा आज भदौ ३१ गते शनिवार अपराह्न १ बजे नेपाल प्रज्ञा प्रतिष्ठानको प्रवचन कक्षमा ‘जन संस्कृतिको उत्थानमा सङ्घसंस्थाको योगदान’ विषयक विचार गोष्ठी सम्पन्न गरियो । जन साहित्यिक मञ्च, नेपालका सल्लाहकार प्रा.राजेन्द्र सुवेदीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमका प्रमुख अतिथि डा.मोदनाथ प्रश्रित हुनु हुन्थ्यो भने अतिथिहरूमा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति गङ्गाप्रसाद उप्रेती, जन सांस्कृतिक महासङ्घका अध्यक्ष विजय सुब्बा, वरिष्ठ साहित्यकार आनन्ददेव भट्ट, प्राज्ञ बूँद राना, प्राज्ञ विष्णु प्रभात, प्राज्ञ सुलोचना मानन्धर, प्राज्ञ प्रा.डा.महादेव अवस्थी, प्रगतिशील लेखक सङ्घका अध्यक्ष घनश्याम ढकाल, जन साहित्यिक मञ्च नेपालका अध्यक्ष डा. जीवेन्द्र देव गिरी, सङ्गीत नाट्य प्रतिष्ठानकी प्राज्ञ कविता आले, मदन भण्डारी कला, साहित्य प्रतिष्ठानका सदस्य सचिव माधव प्रधान, साहित्यकार मोहन दुवाल, डा. भोलानाथ पोखरेल, कथाकार माया ठकुरी, साहित्यकार रोचक घिमिरे, जसा महासङ्घ सामाजिक सांस्कृतिक अध्ययन मञ्चका अध्यक्ष भिक्टर प्रधान, साहित्य सन्ध्याका अध्यक्ष राम विनय, सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नागे उपस्थित हुनु हुन्थ्यो ।
जन साहित्यिक मञ्च, नेपालका महासचिव रमेश पोखरेलद्वारा सञ्चालित उक्त कार्यक्रममा उपस्थित सबै आदरणीय विद्वत् वर्गलाई मञ्चकी सचिव गायत्री विष्टले स्वागत गर्नु भएको थियो र अन्तमा धन्यवाद मञ्चका सदस्य भागवत आचार्यले गर्नु भएको थियो । मञ्चका अध्यक्ष डा.जीवेन्द्र देव गिरीले जन साहित्यिक मञ्चको उद्देश्य र संस्कृतिको रूपान्तारणमा सङ्घसंस्थाहरूले देशभरिमा कहाँकहाँ के कस्तो योगदान गरेका छन् भन्ने इतिहास खोतल्ने र संरक्षण गर्ने उद्देश्यले यस्तो खाले गम्भीर कार्यक्रमको आयोजना गरिएको, बहस प्रारम्भ गरिएको भन्ने जानकारी गराउनु भयो ।
सुनसरीमा कार्यक्षेत्र बनाएर प्राध्यापन गरि रहेका सहप्रा.डा.भोलानाथ पोखरेलले जन संस्कृतिको उत्थानमा सङ्घसंस्थाको योगदान विषयमा लामो कार्यपत्र प्रस्तुत गर्नु भयो । उक्त कार्यपत्रमाथि प्राज्ञ विष्णु प्रभातले टिप्पणी गर्दै एक्लो प्रयासमा उपलब्ध साधन स्रोतको सीमितताका बाबजुद तयार पारिएको कार्यपत्र आफैँमा पूर्ण नरहेकाले थप्नु पर्ने केही पक्षहरू छन् भन्दै औँल्याउनु भयो । सोही विषयमा विशेष गरी गीतलाई बढी जोड दिँदै तयार पार्नु भएको कार्यपत्र मदन भण्डारी कला, साहित्य प्रतिष्ठानका सदस्य सचिव एवम् गीतकार, सङ्गीतकार तथा गायक माधव प्रधानले पहिलेदेखि अहिलेसम्मका सामाजिक सांस्कृतिक रूपान्तरणका पक्षपाती गीतहरू गाउँदै लामो कार्यपत्र प्रस्तुत गर्नु भयो । उहाँले प्रस्तुत गर्नु भएको कार्यपत्रमाथि साहित्यकार मोहन दुवालले टिप्पणी गर्दै थप गर्नु पर्ने पक्षलाई औँल्याउनु भयो ।
प्रस्तुत भएका दुइटै कार्यपत्रमाथि सङ्क्षिप्त टिप्पणी गर्दै प्राज्ञ सुलोचना मानन्धरले मिहिनेतसाथ कार्यपत्र तयार पार्ने दुबै जनालाई धन्यवाद व्यक्त गर्नु भयो र दुबै कार्यपत्रमाथि एक एक जना विद्वानले टिप्पणी गरि सक्नु भएको, समावेस गर्नु पर्ने कुराका बारेमा पनि चर्चा भइ सकेको भन्दै महिला आन्दोलनका पक्षलाई पनि समेट्नु पर्ने र भूमिगत कालमा छद्म नामबाट लेख्ने नारी हस्ताक्षरको नाम पनि समेटिनु पर्नेतर्फ सचेत गराउनु भयो ।
प्रमुख अतिथि डा. मोदनाथ प्रश्रितले यस्ता गहन विषयमा क्षेत्र तोकेर, विषय तोकेर विश्वविद्यालयबाटै शोध अनुसन्धान गराउने परिपाटीको विकास गरिनु पर्छ, क्रियाशील संस्थाहरू आफैँले पनि पूर्ण अनुसन्धान गर्ने कामको थालनी गर्नु पर्छ । देशभरिका काम एउटै कार्यपत्रमा आउनु सम्भव हुन्न तापनि प्रयत्न सराहनीय छ, यस्ता खाले विचार सम्प्रेषण गर्ने गोष्ठीहरूको निरन्तरता आवश्यक छ । हामी आफू वैचारिक र दार्शनिक हिसाबले स्पष्ट हुने र तदनुरूपको रूपान्तरणको थालनी नगर्दासम्म परिवर्तनको अपेक्षा पूर्ण हुँदैन, अहिले त सांस्कृतिक पाठशालाकै आवश्यकता छ भन्ने धारणा राख्नु भयो ।
गोष्ठीका अध्यक्ष प्रा.राजेन्द्र सुवेदीले वर्तमामा भएका सांस्कृतिक मूल्यजति सबै ध्वस्त गर्ने तर नयाँ निर्माण नै नगर्ने ध्वंशवादी चिन्तन हावी भएको छ र यसैका कारण हामी दिनानु दिन समाप्त भइ रहको छौँ । आउँदो पुस्तालाई रङ विहीन पानी बनाउने वर्तमानको यो गन्तव्य विहीन अभियानलाई समाप्त नगर्ने हो भने हामी संस्कार, संस्कृति विहीन हुन्छौँ । तसर्थ यो अभियानमा अत्यन्त सजगताका साथ लाग्नु पर्छ भन्ने धारणा राख्नु भयो ।
गोष्ठीमा सानु पहाडीले सुन्दर गीत गाउनु भएको थियो भने प्राज्ञ बूँद रानाले गजल वाचन गर्नु भएको थियो ।