जन साहित्यिक मञ्च, कठमाडौँको ‘नारी विशेष कविगोष्ठी’ सम्पन्न

मितिः २०७०।४।१२
रमेश पोखरेल, उपाध्यक्ष – जसाम नेपाल राष्ट्रिय समति

जन साहित्यिक मञ्च, काठमाडौँ जिल्ला समितिको आयोजनामा आज साउन १२ गते शनिवार अपराह्न २ बजे वाल्मीकि क्याम्पसको सभाकक्षमा ‘नारी विशेष कविगोष्ठी तथा ‘स्वाभिमान’ कविता सङ्ग्रह लोकार्पण’ समारोह सम्पन्न गरियो । जन साहित्यिक मञ्च, काठमाडौँ शाखाकी सह सचिव गीता सापकोटाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेकी उपाध्यक्ष एवम् महिला नेतृ विद्या भण्डारी हुनु हुन्थ्यो भने अतिथिहरूमा प्राज्ञ प्रा.बेञ्जु शर्मा, प्राज्ञ सुलोचना मानन्धर, प्रा.डा.गार्गी शर्मा, पीताम्बरा शर्मा ‘पियुष’, जन साहित्यिक मञ्च, नेपालका अध्यक्ष राम विनय, प्रा.हेमचन्द्र नेपाल, प्रभा भट्टराई, शुष्मा आचार्य, राधेश्याम लेकाली, बालमुकुन्द कार्की, कृष्ण राई, लक्ष्मी उप्रेती, साहित्यकार वासुदेव अधिकारी, रजनी ढकाल, रमेश पोखरेल, गायत्री विष्ट, विनोद मञ्जन, शान्ता मानवी, गङ्गा पौडेल, नरनाथ लुइटेल, भुवनहरि सिग्देल उपस्थित हुनु हुन्थ्यो ।

  Jasam - 12042070-1

प्रमुख अतिथि विद्या भण्डारीले दुइटा मैनबत्ती प्रज्ज्वलन गरी समुद्घाटन गर्नु भएको र जन साहित्यिक मञ्च, काठमाडौँ जिल्ला समिति सचिव रूपक अलङ्कारले सञ्चालन गर्नु भएको उक्त कार्यक्रममा उपस्थित सबै आदरणीय विद्वत् वर्गलाई मञ्चका काठमाडौ जिल्ला अध्यक्ष बालमुकुन्द कार्कीले स्वागत गर्नु भएको थियो ।

 Jasam - 12042070-2

प्रमुख अतिथि विद्या भण्डारीले कवि देवकुमारी लुइटेलद्वारा लिखित कविता सङ्ग्रह स्वाभिमानको लोकार्पण गर्नु भयो र समाजको यथार्थलाई उजागर गर्दै आदर्श स्थापना गर्ने विधा नै साहित्य हो । सामाजिक सद्भाव, राष्ट्रिय एकता, अखण्डता तथा स्वाधीनताका पक्षमा साहित्य सिर्जना गर्ने र समाज रूपान्तरणका पक्षमा आफ्ना सिर्जनालाई केन्द्रित गर्नु साहित्यकारको आजको कर्तव्य हो भन्ने धारणा राख्नु भयो ।

 Jasam - 12042070-3

लोकार्पण भएको कविता सङ्ग्रहका बारेमा प्रभा भट्टराई र प्रा.हेमचन्द्र नेपालले टिप्पणी गर्नु हुँदै देशभक्ति, नारी सम्बन्धी, प्रगतिवादी चिन्तन, निम्न वर्गका पीडा, प्रकृति चित्रण आदि विविध विषयमा केन्द्रित भई रचना गरिएका सचेत सिर्जनालाई सङ्ग्रहमा समेटिएको, सुन्दर बिम्बको प्रयोग गरिएको, सरलताभित्र गम्भीर भाव सम्प्रेषण गरिएको, शास्त्रीय छन्दमा लेखिएका, आशावादी कविता लेखिएका र समाजलाई मार्ग निर्देश नगर्ने सिर्जना कविता बन्न नसक्ने भन्ने धारणालाई आत्मसात् गरी लेखिएका कवि लुइटेलको कविताको पहिलो सङ्ग्रह नै निकै सुन्दर तथा आशा लाग्दो बनेर आएको चर्चा गर्नु भयो ।

 Jasam - 12042070-4

बालकवि प्रलिसा अधिकारीको कविता वाचनबाट थालनी भएको समारोहमा जुनु राई, कुसुम काफ्ले, जयन्ता पोखरेल, सुशीला खड्का, गरिमा लुइटेल, सरस्वती चिमौरिया, हरिमाया भेटवाल, दिव्यलक्ष्मी पोखरेल, देसु लुइटेल, सानु पहाडी, किरण पाठक, राधा कार्की, सुमी लोहनी, पीताम्बरा पियुष, डा.बेञ्जु शर्मा, जयन्ती स्पन्दन, शुष्मा आचार्य, प्रभा भट्टराई, मेनुका पोखरेल, भगवती रोका, गङ्गा पौडेल, गोपा शर्मा, सुशीला प्रधानाङ्ग, देवकुमारी लुइटेल, सावित्री कार्की, अमृता स्मृति, बुनु लामिछाने, सीता भट्टराई, लक्ष्मी उप्रेती, प्रा.डा.गार्गी शर्मा र सुलोचना मानन्धरले आआफ्ना गीत, कविता, गजल वाचन गर्नु भएको थियो ।

 Jasam - 12042070-5

वाचित रचनामाथि समीक्षक रजनी ढकालले टिप्पणी गर्दै ६ बर्से बालिकादेखि &६ बर्से प्रौढ नारी प्रतिभाले रचना वाचन गरेका, विषयको विविधता रहेको, समसामयिक युगीन पीडाका, विकृतिका पक्षलाई रचनाले समेटेका र रूपान्तरणको आग्रह गरिएका, आशावादी दृष्टि सम्प्रेषण गरिएको, देशप्रेम, प्रकृति प्रेमका कुरा कवितामा आएकाले गोष्ठी उपलब्धिमूलक रहेको धारणा राख्नु भयो । लगातार तिन घण्टासम्म चलेको उक्त कार्यक्रमको समापन गर्दै सभाध्यक्ष गीता सापकोटाले सबै उपस्थित विशिष्ट एवम् साहित्य प्रेमी व्यक्तित्वलाई हार्दिक धन्यवाद दिँदै नेपाली कम्युनिस्ट आन्दोलनका शीर्षस्थ व्यक्तित्व पुष्पलालको स्मृति दिवसको सन्दर्भ पारेर फरक खाले कार्यक्रमको रूपमा नारी विशेष कविगोष्ठीको आयोजना गरिएको जानकारी गराउँदै कार्यक्रमा सहभागी हुनु भएका सबैलाई हार्दिक धन्यवाद समेत दिनु भयो र कार्यक्रमको समापन गर्नु भयो ।

Jasam - 12042070-6

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *