– नरनाथ लुइँटेल
पोखरामा रहेर हास्यव्यङ्ग्य सिर्जनामा सक्रिय स्रष्टा शेषराज भट्टराईको दोस्रो हास्यव्यङ्ग्य कृति ‘जातले पकाएको भात’ (व्यङ्यवेद) को पोखरा नगरीमा अयोजित एक समारोहका बीच लोकार्पण गरियो ।
काठमाडौँबाट प्रकाशित हुँदै आएको ‘फित्कौली’ हास्यव्यङ्ग्य पत्रिकाको आयोजनामा सम्पन्न समारोहमा विशिष्ट हास्यव्यङ्ग्य स्रष्टा चूडामणि खनालले कृतिको लोकार्पण गर्नुभएको थियो । खनालले हास्यव्यङ्ग्यका शिल्पी भैरव अर्यालले उठाएको नेपाली हास्यव्यङ्ग्यको शान र मानलाई जगेर्ना गर्न अरू थुप्रै हास्यव्यङ्ग्य स्रष्टा लागिपरेको बताउँदै त्यसै मध्येका एकजना शेषराज भट्टराई रहेको उल्लेख गर्नुभयो । उहाँले भटट्राईको व्यङ्ग्यवेद हास्यव्यङ्ग्य सिर्जनाको एउटा उम्दा र मानक कृति भएको समेत बताउनुभएको थियो ।
(फोटोः विश्व शाक्य)
समारोहमा फित्कौली हास्यव्यङ्ग्य पत्रिकाका सम्पादक एवम् वरिष्ठ हास्व्यङ्ग्यकार नरनाथ लुइँटेलले हास्यव्यङ्ग्य लेखनको प्रविधिका बारेमा चर्चा गर्दै भट्राई हाम्रो ओरिपरि रहेका विसङ्गतिका जराहरू कहाँ–कहाँ छन् र केकसरी खोतल्नुपर्छ भन्नेतिर पनि सचेष्ट रहेको बताउनुभयो । व्यङ्ग्य प्रहारको निसाना पहिल्याउन सिपालु भट्टराई हास्यव्यङ्ग्य सिर्जना गर्न भाषाको भूमिका, शब्दको खेल र भावप्रकाशनको विधि र तरिका बारेमा पनि पर्याप्त सचेत रहेको चर्चा गर्नुभयो । उहाँको कथन थियो– विषयको विविधतामा पसेर तत्विषयको साङ्गोपाङ्ग चित्रण गर्दै व्यङ्ग्यको बज्र प्रहारलाई बलशाली बनाउन पनि उत्तिकै सिपालु प्रतीत हुनु भट्टराईको विशेषता हो । भट्राईको व्यङ्ग्यकला हास्यमिश्रित छ र आफ्ना सिर्जनालाई हास्यव्यङ्ग्यात्मक बान्की दिन उहाँ वाक्यविन्यास र शब्दचातुर्यमा निकै जोड दिनुहुन्छ । समारोहको आरम्भमा स्वागत मन्तव्य दिँदै हास्यव्यङ्ग्य स्रष्टा विश्व शाक्यले ‘जातले पकाएको भात’को स्वाद लिन आग्रह गर्नुभएको थियो । अर्का वक्ता सूर्य खड्का बिखर्चीले स्रष्टा भट्टराईको हास्यव्यङ्ग्यकार व्यक्तित्वमाथि प्रकाश पार्दै परिचय प्रस्तुत गर्नुभएको थियो ।
समारोहको सभाध्यक्षता गर्नुभएका अनुवादक तथा कवि नारायणप्रसाद अधिकारीले राजधानीबाट प्रकाशित हुने फित्कौली हास्यव्यङ्ग्य पत्रिकाले पोखरा नगरीमा समारोहको आयोजना गरेर स्रष्टा राजधानीमा मात्र होइन मोफसलमा छन्, उनीहरूको पनि राष्ट्रिय योगदान छ भन्ने सङ्केत गरेको उल्लेख गर्नुभयो । उहाँले समारोहमा सङ्ख्यात्मक भन्दा गुणात्मक उपस्थिति रहेको चर्चा गर्दै स्रष्टा भट्टराईको हास्यव्यङ्ग्य लेखनको भविष्य उज्जवल रहेको बताउनु भयो ।
आफ्नो कृति लोकार्पण समारोहमा लेखकीय मन्तव्य दिँदै शेषराज भट्टराईले राजधानीका ठूलाबडाहरू राजधानी बाहिरका स्रष्टाहरूको नामै लिन पनि हिचकिचाउँछन्, चाकरी खोज्छन्, चोकमा बसेर भोक मेटाउनेहरूकै मात्र चर्चा गर्ने गरेका छन्, साँच्चैका लेखक राजधानी बाहिर पनि छन् भन्नुभयो । उहाँले कृति रचनादेखि प्रकाशनसम्मको विवरण हास्यव्यङ्ग्यात्मक शैलीमा प्रस्तुत गर्दै कृति लोकार्पणमा काठमाडौँदेखि पोखरा नगरीसम्मका स्रष्टा शुभेच्छुक मित्रहरूको उपस्थितिले आफूलाई ऊर्जा दिएको बताउनुभएको थियो । समारोहको सञ्चालन सूर्य क्षेत्रीले गर्नुभएको थियो ।