रमेश पोखरेल
साउन २३ गते शुक्रवार अपराह्न ठिक ३.३० बजे राष्ट्रिय जन सांस्कृतिक महासङ्घ, बागबजारको सभाकक्षमा महासङ्घकै आयोजना र जन साहित्यिक मञ्च, नेपालको व्यवस्थापनमा संयुक्त रूपमा साहित्यकार ताराबहादुर बुडाथोकीद्वारा लिखित, सङ्कलित एवम् सम्पादित २१ जाति र १६ भाषाहरूका लोक सुसेली समेटिएको ‘अरुण उपत्यकाका लोकभाका’ कृतिमाथि विशद् चर्चा गरियो । प्रध्यापन कर्ममा समर्पित, साहित्यकार, नियात्राकार, राष्ट्रिय जन सांस्कृतिक महासङ्घका केन्द्रीय सदस्य ताराबहादुर बुडाथोकीद्वारा लिखित यस कृतिको चर्चाका लागि आयोजित विशेष कार्यक्रमको सञ्चालक राष्ट्रिय जन सांस्कृतिक महासङ्घका महासचिव राजेश थापाले गर्नु हुँदै अध्यक्षताका लागि महासङ्घका अध्यक्ष एवम् नेकपा एमालेका केन्द्रीय सदस्य खगेन्द्र राईलाई अनुरोध गर्नु भयो । उक्त विशेष समारोहका प्रमुख अतिथि नेकपा एमाले केन्द्रीय सचिव एवम् साहित्यकार प्रदीप ज्ञवाली अनि पुस्तकका लेखक ताराबहादुर बुडाथोकी, टिप्पणीकारहरू प्रा.डा.जीवेन्द्र देव गिरी, डा.कृष्णप्रसाद न्यौपाने, अनिल पौडेल, अमर तुम्याङ र फुलमान बललाई आसन ग्रहणका लागि अनुरोध गर्नु भयो ।
कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै सभाध्यक्ष खगेन्द्र राईले महासङ्घ साहित्य, कला, संस्कृतिको संरक्षण, सम्बर्धन तथा रूपान्तरणको अभियानमा रहेको हुँदा र हाम्रो मुलुकमा एकताबद्ध भएर बसेका सबै जातजातिका भाषा तथा संस्कृतिलाई संरक्षण गर्दै समाजका कुरीतिहरू रूपान्तरण पनि हुनु पर्छ भन्ने मान्यता राख्दै अगाडि बढि रहेको हुँदा ताराबहादुर बुडाथोकीले एक्लो प्रयत्नले २१ जाति र १६ भाकाका लोक सुसेलीलाई सङ्कलन, सम्पादन गर्नु भई कृति प्रकाशित गर्नु भएको यो उल्लेखनीय कार्य हो भन्ने ठानी आजको यो विशेष कार्यक्रम मार्फत कृतिको विशेष चर्चा गर्न र यस क्षेत्रमा कार्यरत अरूका लागि पनि यो कार्यले प्रेरणा प्रदान गरोस् भन्ने अभिप्रायका साथ कार्यक्रमको आयोजना गरिएको जानकारी दिनु भयो ।
साहित्यकार अनिल पौडेलले लेखकको परिचय दिँदै २०२६ सालमा सङ्खुवासभामा जन्मिएका बुडाथोकी प्राध्यापन कार्यमा संलग्न भएर पनि विभिन्न सङ्घसंस्थामा सक्रिय रहेका, यसअघि नै ‘परमेश्वरको एघारौँ अवतार’ २०६४ हास्यव्यङ्ग्य सङ्ग्रह, ‘सङ्खवासभा ः एक चिनारी’ जिल्ला परिचय, ‘जीवनको सीमारेखा’ २०६८ उपन्यास, ‘जिन्दगीका कुइँनेटा’ २०&१ संस्मरण सङ्ग्रह प्रकाशित गरि सकेका, धेरै ओटा भाषाका ज्ञाता, विभिन्न जातिका भाषा, संस्कृति र लोकभाकाको संरक्षणका लागि गाउँ गाउँ पुगेर सङ्कलन गर्ने अथक परिश्रमी साधक भएको चर्चा गर्नु भयो ।
साहित्यकार अमर तुम्याङले यति धेरै जातजातिका लोक सुसेलीका बारेमा अध्ययन, खोज तथा अनुसन्धान गरी कृति तयार पार्नु उहाँको सराहनीय कार्य भएको, जाति विशेषका हामीले गर्न नसकेको कामलाई एक्लो प्रयत्नले सार्थक पार्नु अनुकरणीय कार्य हो भन्नु भयो । पत्रकार एवम् सामाजिक अभियन्ता फुलमान बलले उपभोक्तावादी पश्चिमी संस्स्कृतिले अहिले हाम्रो मुलुकको संस्कृति, मूल्य, मान्यतामाथि नाङ्गो हस्तक्षेप गरि रहेको, कुनै एक जातिको भाषामा मात्र सङ्कट परेको नभई नेपाली भाषा नै अङ्ग्रजी दबदबाका कारण सङ्कटमा पर्ने अवस्था रहेको, आफ्नो संस्कार, संस्कृति, मूल्य मान्यता जोगाउन नसक्ने अवस्था उत्पन्न भएको, राजनीति समेत निर्देशित रहेको अहिलेको अवस्थामा जातीय एकता र सद्भावका लागि राज्यले, पार्टीहरूले गर्नु पर्ने काम एक्लो प्रयत्नले ताराबहादुर बुडाथोकीले गर्नु अनुकरणीय कार्य हो भन्नु भयो ।
डा.कृष्णप्रसाद न्यौपानेले लोक संस्कृति भनेको मान्छेको जीवन पद्धति हो त्यसैले मान्छेका जीवनमा गरिने विभिन्न कर्महरूमा लोकभाका गुञ्जिएका हुन्छन् तर यिनको संरक्षणमा चासो राख्नु, जोगाउनु महत्त्वपूर्ण कार्य हो । यस्तो बृहत् कार्य राज्यले गर्नु पर्ने हो तर हामीकहाँ राज्यले लोकभाकाको मर्मलाई, सम्वेदनशीलतालाई महसुस गर्ने परम्परा विकसित नभइ सकेको अवस्था छ र व्यक्तिगत प्रयत्नले यस्ता कार्य गरिनु अत्यन्त सराहनीय छ भन्नु हुँदै अनुसन्धानको शास्त्रीय शैलीको प्रयोगका माध्यमबाट स्रोत, सन्दर्भ आदि उल्लेख गरी अलि बढी व्यवस्थितता प्रदान गर्न सकिएको भए चाहिँ यो कृति अत्यन्तै महत्त्वपूर्ण हुने थियो भन्नु भयो । प्रा.डा.जीवेन्द्र देव गिरीले संस्कृति भनेको मान्छेको जीवन हो र यो मान्छेको अस्तित्व रहुन्जेल जीवित रहि रहिन्छ । लोकभाकाले जनताको एकताको डोरीलाई कसिलो पारेर बाँधेर राखेको हुन्छ । पूर्व र पश्चिमका मान्ेछका जीवन भोगाइ उस्तै हुन्छन् तर अभिव्यक्तिको शैली भने अलि फरक पाइन्छ । लोक जीवनका अभिव्यक्तिलाई पूर्व र पश्चिमसँग गाँस्न सक्ने एकताको सशक्त सूत्र भनेकै संस्कृति हो । यो व्यापक, गहन र सम्वेदनशील हुन्छ । यति व्यापक कुरालाई एक्लो प्रयत्नले खोज्नु, सङ्कलन गर्नु, प्रकाशन गर्नु चानचुने कुरा होइन । यी २१ जातिका लोक सुसेलीले अलग अलग कृति तयार हुन सक्छन् त्यसैले यस्तो सत्कार्यका लागि ताराबहादुर बुडाथोकीलाई हार्दिक हार्दिक धन्यवाद छ भन्नु भयो ।
प्रमुख अतिथि साहित्यकार प्रदीप ज्ञवालीले राष्ट्रको पहिचान भनेको नै संस्कृति हो तर यो पहिचान एकल हुन सक्तैन । मान्छे भन्ने बित्तिकै उसको एकल पहिचान हुनै सक्तैन । सबै जातजातिलाई जोड्ने सामथ्र्य लोक साहित्यमा हुन्छ । अहिले पश्चिमाले सशक्त हतियार ठानेर सांस्कृतिक आधिपत्य जमाउन खोजि रहेका छन् । यस्तो वेलामा हामीले साझा संस्कृतिको निर्माण गर्नु पर्ने, साझा सांस्कृतिक मानक तयार पार्नु पर्ने, प्रगतिशील मूल्यको स्थापना गर्नु पर्ने, प्रविधिको प्रयोगमा दक्षता अभिवृद्धि गर्नु पर्ने आवश्यकता रहेको छ । सांस्कृतिक रूपान्तरणको लडाइँ कठिन हुन्छ तापनि यो रूपान्रतणको आन्दोलन एकतावद्ध भएर गर्नु पर्दछ । सबै जातजातिका संस्कृतिको संरक्षणमा सबै लाग्नु पर्दछ । यही उद्देश्यले हुन सक्छ ताराबहादुर बुडाथोकीले गर्नु भएको यो प्रयत्न अत्यन्त सार्थक रहेको छ, म उहाँलाई हार्र्दिक बधाइ दिन्छु भन्नु भयो ।
जन साहित्यिक मञ्च, नेपालका का.वा.अध्यक्ष रमेश पोखरेलले सांस्कृतिक रूपान्तरण जबरजस्ती हुन सक्तैन, हतियारको त्रासले पनि हुन सक्तैन, यसका लागि मानसिक रूपान्तरण आवश्यक छ । त्यसै कारण डा. मोदनाथ प्रश्रितको एउटै कविता निरङ्कुश समयमा पनि शक्तिशाली लाग्थ्यो र गाइन्थ्यो । केही अतिवादीहरूले हतियारको सन्त्रासले सांस्कृतिक मूल्य र मान्यतामा प्रहार गर्न खोजे तर आफैँ त्यस दुष्कर्मको सिकार भए । लोक जीवनका भोगाइ वा अभिव्यक्तिका रूपमा रहेका लोकभाकालाई सङ्कलन गरेर जीवन्त पार्ने, उजागर गर्ने अनि प्रकाशन गर्ने जस्तो गहन कार्य गर्ने स्रष्टा धन्यावादका पात्र हुनु हुन्छ, हाम्रो निम्ता स्विकारेर आइ दिने सबै सबै धन्यवादका पात्र हुनु हुन्छ भन्दै सबैलाई धन्यवाद दिनु भयो । समारोहका अध्यक्षले पनि विशेष समारोहमा आइ दिने सबैलाई हार्दिक आभार वयक्त गर्नु भयो र कार्यक्रमको समापन गर्नु भयो ।