मितिः २०६८।९।१५
रमेश पोखरेल (उपाध्यक्ष – साहित्य सन्ध्या)
साहित्य सन्ध्याको ३११ औँ विशेष कार्यक्रमका रूपमा आज नेपाल ल याम्पस, प्रदर्शनी मार्गमा ‘नेपाली साहित्यमा साहित्य सन्ध्याको योगदान’ शीर्षकको नवराज खतिवडाद्वारा लिखित अनुसन्धानात्मक एवम् समालोचनात्मक कृतिको लोकार्पण तथा परिचर्चा गरियो र कविता वाचन गरियो । ठिक १.३० बजे सन्ध्याका उपाध्यक्ष रमेश पोखरेलको सञ्चालन र अध्यक्ष राम विनयको अध्यक्षतामा सुरु भएको उक्त विशेष कार्यक्रममा नेकपा एमाले स्थायी समिति सदस्य के.पी.शर्मा ओली प्रमुख अतिथि हुनु हुन्थ्यो भने एमालेकै स्थायी समिति सदस्य एवम् चर्चित साहित्यकार द्वय प्रदीप ज्ञवाली र प्रदीप नेपाल, नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति गङ्गाप्रसाद उप्रेती, प्राज्ञ बूँद राना, साहित्य सन्ध्याको संस्थापना कालका अभियन्ता एवम् सन्ध्या काठमाडौँ आएपछिका पनि अभियन्ता तथा सभासद अग्नि खरेल, वरिष्ठ साहित्यकार आनन्ददेव भट्ट, जन साहित्यिक मञ्च नेपालका अध्यक्ष डा.जीवेन्द्र देव गिरी, जसामञ्च नेपालका संस्थापक महासचिव कृष्णप्रसाद घिमिरे, साहित्य सन्ध्याका सल्लाहकार वासुदेव अधिकारी, सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नागे, कृतिकार नवराज खतिवडा र उनका पिता गुरुप्रसाद खतिवडा, शोध निर्देशक सह प्रा. हेमनाथ पौडेल, समीक्षक भागवत आचार्य, अनेरास्ववियुका अध्यक्ष माधव ढुङ्गेल अतिथिका रूपमा उपस्थित हुनु हुन्थ्यो ।
साहित्य सन्ध्याकी सदस्य प्राज्ञ गायत्री विष्टले उपस्थित सबै वरिष्ठ एवम् साहित्यिक महानुभावलाई स्वागत गर्नु भएर थालनी गरिएको उक्त कार्यक्रममा ‘नेपाली साहित्यमा साहित्य सन्ध्याको योगदान’ नामक कृतिको समीक्षा समीक्षक भागवत आचार्यले गर्नु हुँदै २०३३ सालदेखि सप्तरीको राजविराजबाट तत्कालीन समयमा नेपाली साहित्यको उत्थान गर्ने उद्देश्यका साथ सञ्चालन गरिएको साहित्य सन्ध्याले पैँतिस वर्षको ऐतिहासिक जीवन यात्रा तय गरेको, विभिन्न आरोह अवरोह पार गरेको, साहित्य सन्ध्या शीर्षकमै पत्रिका प्रकाशन गरेको, अविच्छिन्नता र निरन्तरताको प्रतीक बनेर यति लामो यात्रा तय गरेको, हरेक वर्ष ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’द्वारा हालसम्म अट्ठाइस जना स्रष्टालाई सम्मानित गरेको, ज्येष्ठ स्रष्टा सम्मान गरेको, महिला साहित्यकारको परिचय दिन ‘चेलीको चौतारी’ नामक कृतिको प्रकाशन गरेको लगायतका सबै पक्षलाई विश्लेषण गर्दा नेपाली साहित्यको इतिहासमै यति लामो निरन्तरता कायम राख्ने र सक्रियता देखाउँने एक मात्र यो संस्था अत्यन्तै उदाहरणीय एवम् महत्त्वपूर्ण रहेको निष्कर्ष एवम् ठहर कृतिले गरेको मात्र होइन स्नातक तहमा गरिएको अनुसन्धान भए पनि यो अन्त्यन्तै उत्कृष्ट तहको रहेको धारणा प्रस्तुत गर्नु भयो ।
शोध निर्देशक एवम् समालोचक सहप्रा.हेमनाथ पौडेलले त्रिभुवन विश्व विद्यालयका स्वीकृत सीमाभित्र रहेर अनुसन्धान गर्नु पर्दा अनुसन्धाताले केही खुम्चिनु परेको भए पनि बडो मिहिनेतसाथ शोध ग्न्थ तयार पारेका र त्यही शोधग्रन्थलाई साहित्य सन्ध्याको हालसम्मकै सक्रियता थपी, परिमार्जन समेत गरी कृतिका रूपमा प्रकाशन गरेकाले यो कृति पठनीय र स्तरीय रहेको, साहित्य सन्ध्याको मात्र नभएर सङ्क्षिप्तै भए पनि समग्र नेपाली साहित्यको रोहमा साहित्य सन्ध्याको इतिहास र योगदान खुट्याउँने कार्य गरेका हुँदा स्रष्टाको यो कार्य प्रशंसनीय रहेको विचार व्यक्त गर्नु भयो ।
राजविराजमा साहित्य सन्ध्या सञ्चालन हुँदाका र काठमाडौँ अएपछि नेपाल ल क्याम्पसमा पुनः सञ्चान गर्दाका अभियन्ता एवम् हालका विज्ञ कानुनविद् तथा सभासद अग्नि खरेलले राजविराजमा नेपाली भाषाको प्रचलन नै कम रहेको अवस्थामा नेपाली भाषा र साहित्यको उत्थान गर्ने र साहित्यकै माध्यमबाट सामाजिक रूपान्तरणको अभियानलाई थोरै भए पनि योगदान गर्ने उद्देश्यका साथ सानो अवस्थाबाट लुकिछिपी सुरु गरिएको अभियानले पैँतिस वर्ष पार गरेको र अहिले वार्षिक पुरस्कार स्थापना लगायत सामाजिक सांस्कृतिक रूपान्तरण अभियानको अभिन्न एवम् जिम्मेवार संस्थाका रूपमा साहित्य सन्ध्याले इतिहास बनाएको पाउँदा गौरवानुभूति भएको भन्दै आफू कानुन व्यवसायमा लागेका कारण सन्ध्याको १२ औँ कार्यक्रमदेखि नै अनियमित भए पनि संस्थाले इतिहास खोतलेर फेरि बोलाएकोमा धन्यवाद व्यक्त गर्नु भयो र यस्तो ऐतिहासिक संस्थाको योगदान खुट्याउँने गरी शोधकार्य गरी कृतिका रूपमा प्रकाशन समेत गरकामा स्रष्टालाई पनि धन्यवाद दिनु भयो ।
साहित्य सन्ध्या काठमाडौँमा सञ्चालन भएपछिका सक्रिय अभियन्ता वासुदेव अधिकारीले ठुलो महत्वाकाङ्क्षा नराखी खास विचारले निर्देशित भए पनि साझा मञ्चको रूपमा साहित्य सन्ध्यालाई परिचालन गरिएको, कविवर युद्धप्रसाद मिश्र, केवलपुरे किसान, पारिजात जस्ता स्रष्टालाई ल्याएर नयाँ पुस्तालाई प्रोत्साहित गर्ने मञ्चका रूपमा विकसित गरिएको, चौथो कार्यक्रमदेखि नै कवि पूर्ण विराम सन्ध्यामा आउनु भएको र पुरस्कारको स्थापना गर्दा पूर्ण विरामकी श्रीमतीको गहना बैङ्कमा राखेर पैसाको जोहो गरिएको, सबै साथीहरूको साथ र सहयोगले गर्दा संस्थालाई जोगाउँन, हुर्काउँन र राम्ररी सञ्चालन गर्न सकिएको जानकारी दिनु भयो र निरन्तर इमान्दार भएर काम गर्ने हो भने इतिहास बनाउँन सकिने रहेछ भन्ने उदाहरण पनि साहित्य सन्ध्याकै माध्यमबाट पेस गर्न सकिएको धारणा राख्नु भयो ।
प्रमुख अतिथि के.पी.शर्मा ओलीले नेपाली समाजको सामाजिक सांस्कृतिक रूपान्तरणमा साहित्यलाई माध्यम बनाएर लागि पर्ने साहित्यकारले आफैँ सचेत र एकीकृत हुनु पर्ने, जातीयता, क्षेत्रीयता जस्ता सङ्कीर्णतातर्फ होइन व्यापकतामा जानु पर्ने, गरिबीको, शोषणको, उत्पीडनको अन्त्यको आग्रह सिर्जनामा समेट्नु पर्ने, जनताका नाममा दुई चार जनाको सुख सयलको शासन टिक्तैन भन्ने धारणालाई अन्य देशका दृष्टान्तका माध्यमबाट सम्प्रेषण गरी सबैलाई सचेत पार्नु पर्ने, भावनाले मात्र समाज परिवर्तन हुँदैन भन्ने तथ्यलाई उजागर गर्नु पर्ने विचार व्यक्त गर्दै साहित्य सन्ध्याले गरि रहेको योगदानको भने आफूले पनि वरपरबाट नियालि रहेको र यो यात्रा निकै सकारात्मक एवम् उदाहरणीय बनेको पाएको मूल्याङ्कन सहित यो संस्थाले नेतृत्वदायी भूमिका पनि खेल्नु पर्ने सुझाव समेत दिनु भयो । उक्त विशेष गोष्ठीमा जगन्नाथ आचार्य, ललिता दोषी, राम आचार्य, रमेश पोखरेल र पूर्ण विरामले आआफ्ना कविता, गीत वाचन गर्नु भएको थियो ।
गोष्ठीका अध्यक्ष राम विनयले साहित्य सन्ध्याले यति लामो अवधिसम्म हरेक महिना विशेष कुनै समसामयिक विविध विषयमा विशेष परिचर्चा गर्ने र कविगोष्ठीको आयोजना गरि रहेको छ । संस्थाको यति लामो इतिहास र कर्मलाई ठम्याई नेपाली साहित्यमा यसको योगदान रहेको छ भन्ने ठानी अनुसन्धाता नवराज खतिवडाले शोधकार्य गर्नु भएको र त्यसै शोधलाई कृतिको रूप प्रदान गर्नु भएकोमा उहाँलाई धन्यवाद दिनु भयो र हामीले निस्वार्थ तर उद्देश्यपरक रूपमा सञ्चालन गरेको संस्थाको योगदानको मूल्याङ्कन गर्ने कार्य भएकोमा गौरवबोध भएको धारणा पनि व्यक्त गर्नु भयो । साथै हाम्रो आग्रहलाई स्वीकार गरी उपस्थित भइ दिनु भएका प्रमुख अतिथि, अतिथि लगायत उपस्थित सबै साहित्यकार, शुभ चिन्तक महानुभावलाई धन्यवाद समेत दिनु भयो ।